विकासन्युज

नेपाली बजारमा भित्रियो आइसर इन्जिन आयल

काठमाडौं । नेपालका लागि आइसर कमर्सियल भेइकल्सको आधिकारिक वितरक बतास एमएडब्लु कमार्सियल भेइकल प्रालिले नेपाली बजारमा आइसर इन्जिन आलय भित्र्याएको छ । टंगालस्थित बतास एमएडब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएको जानकारी दिए । सो कार्यक्रममा बतासले आइसर इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एमएडब्लु प्रतिबद्ध रहेको उनले बताए । गुणस्तरीय ल्युब प्रयोग गरि आफ्नो गाडीको कार्य क्षमता बढाउनुको साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै आफ्नो सवारी साधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकहरूका लागि आइसर उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प भएको बताउदै प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको बताए । आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ । भल्वो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइसर ग्राहकको पहिलो रोजाई बन्दै आइरहेको कम्पनीको भनाइ छ । विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्यधिक लोकप्रिय ब्रान्ड दावी गरिएको आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

अभिशाप बन्दै तयारी खाना : बच्चालाई सानैदेखि मोटोपन र क्यान्सर गराउन सक्ने

काठमाडौं । दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन् । यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन् । जतिबेला पत्रिकामा यो खबर निस्किएको थियो, त्यस समाचारको फेटोकपी नक्साल नजिकैको एकजना चौधरी भाइको पसलमा कसैले छाडेको रहेछ । त्यही बेलामा ती चौधरी भाइको सानो नानीलाई उनकी आमाले स्कूल जाने बेलामा स्कूलको टिफिनमा ‘खानेकुरा बनाउन भ्याएन, यही नै लैजाउ’ भनेर एक चाउचाउ हालिरहेकी ती महिलालाई त्यो फोटोकपी एकप्रति दिइयो । उनले कनिकुथी गरेर पढिन् र ‘क्यान्सर’ शब्द पढेपछि त उनी छोरालाई हेर्न थालिन् । अनुहार अँध्यारो भयो तर छोराबाट उनको खाजा चाउचाउ लिन सकिनन् । ‘आजलाई भयो, अब के गरुँ त मान्दैन,’ उनले भनिन् । घरपरिवारका मानिसले प्रायः आजको भोलि नै कुनै समस्या नहुने भएकाले यसरी खाना खाँदैमा केही खराबी हुँदैन भन्ने ठान्छन् तर जसरी चुरोट र रक्सीले आजको भोलि नै नराम्रो प्रभाव पार्दैन, त्यसैगरी यसरी खाइने पिज्जा, बर्गर, चाउचाउले पनि एकै दिनमा नराम्रो प्रभाव पार्दैन । चुरोट र रक्सी चाहिँ बच्चाले माग्यो वा झगडा गर्यो भनेर कुनै पनि आमाबाबुले बालबालिकालाई दिँदैन भने यसरी तयारी खानेकुरा मात्रै दिने किन होला रु भन्ने प्रसङ्ग उठ्छ नै । यस विषयमा झण्डै २५ वर्षअघि रजनी जोशीले आफ्नो स्नातकोत्तरको शोधपत्रमा यस्तै विषयमा अध्ययन गरेकी थिइन् । प्रायः महिलाले यो स्वास्थ्यकर हुन्छ भनेर विज्ञापन आउँछ त्यसैले राम्रो होला भनेर दिएको वा समय नभएकाले किनेर प्याकेटमा दिएपछि भइहाल्ने भनेर वा बच्चालाई एकदम मनपर्छ र बच्चाले खान्छु भनेर, झगडा गर्छ, अरूले खाएको देखेपछि उसलाई खान मन लाग्छ अनि कसरी नदिने ? आदिजस्ता उत्तर आएका थिए । अहिले पनि आमाबाबुलाई सोध्यो भने त्यसैगरी उत्तर आउँछ होला र अहिले त्यसमा सित्तैमा उपहार पाइने भनेर जोडिएपछि बालबालिकाहरु झन् होमिएर किन्छन् र उनीहरुको खाजा, खाना सबै त्यही बन्छ । यस्ता खानेकुराहरुले मोटोपन र क्यान्सर दुईवटै असर गर्छन् र मोटोपन फेरि आफैँमा अनेकथरिका समस्या सृजना गर्न सक्छ । सानो उमेरको माटोपन भएकाहरुको पछि मुटुको रोग, चिनी रोग आदिजस्ता समस्या त हुन्छन् नै । मोटोपन कारणले गर्दा पछि ढाड र घुँडा दुख्ने समस्या आउँछ । यसका साथै यस्ता तयारी चाउचाउहरुको खानाका कारणले हरियो तरकारी, भात, रोटी, दालजस्ता पोषणयुक्त खानेकुरा खान त्यति मन लाग्दैन । अनि त्यसपछि विभिन्न किसिमका भिटामिनहरुको कमी हुन जान्छ । यस्ता तयारी खानेकुराहरुको विषयमा र त्यसले पर्ने नकारात्मक असरहरुका बारेमा बालरोग विशेषज्ञहरुले लेख्दै आउनुभएको छ । टेलिभिजन, रेडियोहरुमा जसरी पैसा तिरेर यस्ता खानेकुराहरुका बारेमा विज्ञापन आउँछ, त्यसैगरी स्वास्थ्यका खानेकुराका बारेमा कतै विज्ञापन आउँदैन । नेपालका डाक्टरहरुले मात्र होइन, विश्वभरिका डाक्टरहरुले बच्चाहरुले खाने तयारी खानेकुराको विज्ञापन र त्यसको विरोधमा बोलिरहेका छन् । तयारी खानेकुरामा रहेको नुन, बोसो, चिनी आदिले बच्चाहरुलाई सानैदेखि अस्वस्थ्यकर खानेकुरा र क्यान्सरका लागि जग बस्छ भनेर लेखेका छन् । अष्ट्रेलियाको क्यान्सर परिषद्का एकजना सदस्य डा टेरी स्लेमिनले भनेका छन्, ‘विभिन्न किसिमका विज्ञापनहरुमा बालबालिका प्रयोग गरेपछि बालबालिकाले त्यस्ता खानेकुरा चाहन्छन् । बच्चाहरुलाई यस्तो बानी परेपछि उनीहरुको जीवन नै आवश्यक हुन्छ । अष्ट्रेलियाको क्यान्सर परिषद्ले त्यहाँको सरकारलाई यसरी विभिन्न किसिमका प्याकेटका तयारी खानेकुराको विज्ञापनमा जथाभावी बालबालिकालाई प्रयोग नगर्नका लागि नियम बनाउन आग्रह गर्नेछ ता कि यस्ता खानेकुराहरुको प्रयोगले भविष्यमा हुने क्यान्सर बच्चालाई नलागोस् ।’ यसरी तयारी खानेकुराहरुले बालबालिका र वयस्कलाई पनि क्यान्सरको खतरा निम्त्याउँछ । यसरी तयारी र प्याकेटमा राखेका खानेकुराहरुले महिलाको शरीरका चिनीको मात्र बढाउँछ । तौल बढाउँछ र स्तन क्यान्सर, पाठेघर क्यान्सर र मूत्रनलीको क्यान्सरको सम्भावना बढाउँछ । त्यस्ता तयारी खानेकुराहरुमा मैदा, बोसो र रासायनिक पदार्थ मिसिएको हुनाले यस्ता समस्या देखिन्छन् । ६५ हजार महिलामा १३ वर्षसम्म गरिएको अध्ययनअनुसार दुई हजार चार सय ७८ जना महिलाको महिनावारी रोकिएपछि पनि यस्ता खानेकुराहरुको प्रयोगले स्तनको क्यान्सरको खतरा बढाउन सक्छ । एक लाख ८८ हजार रजोनिवृत्ति भएका महिलालाई सोधिएको प्रश्नमा उनीहरुले कस्तो किसिमको खाना खान्छन् रु के ख्वाइन्छ भनेर अध्ययन गरिएको थिया । तीमध्ये जो महिलाले यसरी तयारी प्याकेटका खानेकुराहरु खाएको कुरा बताए । उनीहरुमध्ये ३५ हजारलाई स्तन क्यान्सर भएको देखियो । ‘यी अध्ययनले खानेकुरामा बढी चिल्लो पदार्थ स्तन क्यान्सरसँग सम्बन्ध रहेको देखाइएको छ’ भनेर डा आन्ना तेहीबाउट (ब्रिटेनले) लेखेकी छिन् । बालबालिकालाई यस्तो खाना खान हुँदैन भनेर स्कूलमा शिक्षकले वा घरमा आमाबाबुले भन्दैनन् । कतिपयलाई त यस्ता खानेकुराहरुको खाए नराम्रो के हुन्छ र भन्ने धारणा हुन्छ । त्यही आमाबाबुले चुरोट खाने बालबालिका गाली गर्छन्, सम्झाउँछन् तर तयारी खानेकुरा, प्याकेटका चाउचाउ, विभिन्न किसिमका चिजबल्स र आदि खान उल्टै पैसा दिन्छन् । आमाबाबुलाई पनि यस्ता खानेकुराले पछि जीवनभरको रोग निम्ताउँछ भन्ने थाहा हुँदैन । ‘बालबलिकालाई हात धोएर खान खाउ नत्र बिरामी भइन्छ’ भन्ने आमबाबुले ‘प्याकेटका खानेकुरा नखाउ, बिरामी भइन्छ भन्दैनन्’ किनभने उनीहरुलाई यसको बारेमा कसैले पनि जानकारी दिएको छैन । क्यान्सर त एउटा समस्या भयो, त्यसैगरी हड्डीहरु कमजोर हुनु, मुटुका अरू रोगहरु हुनु पनि खानेकुरासँग जोडिएका छन् । सानोको जग नै गलत बसेपछि, शरीर सानैदेखि कमजोर हुन्छ र ठूलो भएपछि अनेक थरिका रोगहरु हुन थाल्छन् । यदि साना साना नानीहरुलाई उनीहरुले बुझ्ने भाषामा यस्ता खानेकुराहरुले विगार गर्छन् भनेर बुझाइयो र छलफल गरियो भने समस्या केही हुँदैनन् । अमेरिकामा ३० प्रतिशत बच्चाहरु र ६० प्रतिशत बयस्कहरुमा मोटोपन रहेको पाइन्छ । यसको मुख्य कारण नै प्याकेटका खानेकुराहरु हुन् र यसले गर्दा प्रतिवर्ष १७१ विलियन डलर सरकारले खर्च गर्नुपर्छ । प्याकेटमा राखेका खानेकुराहरुको स्वाद बढाउने कुरा नै विभिन्न किसिमका रासायनिक पदार्थ र चिल्लो पदार्थ हुन् । यिनले खानेकुरा प्याकमा राखेपछि लामो समय बिग्रन दिँदैन । त्यसैले प्याकेटमा भएका खानेकुरा सधैँ ताजा जस्तै त देखिन्छन् तर वास्तवमा यी हानिकारक नै हुन्छन् । मलेसियामा उपभोक्ता सङ्घ आफैँले एक अध्ययन गरेर बताएको छ । सङ्घले २००८ मा अप्रिल देखि जुनमा नेपाल, फिजी, सिङ्गापुर, भारत, चाइना, थाइल्यान्ड र इन्डोनेसियामा एक अध्ययन गरेको थियो । यस्ता खानेकुराहरुको प्रयोगले हाम्रा बालबालिक मानौँ बमको अदृश्य गोलामा बसिरहेका छन् । यस्ता विज्ञापनहरु विभिन्न स्कूलमा गएर खिचिन्छ, बालबालिकालाई लोभ्याइएका र फेरि उनीहरुलाई नै यस्ता प्याकेटका खानेकुरा खान दिएर बालबालिकाको पढाइस्तर कमजोर देखियो । तयारी खानाले बालबालिकाको शारीरिक र मानसिक दुवै रुपमा कमजोर बनाउने हुँदा यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । बालबालिकाले तयारी खाना खाँदा उनीहरुलाई रोग हुने कारणले यस्तो बानीका लागि विभिन्न किसिमका विज्ञापनले प्रेरित गर्ने र बालबािलकाले खाएको देखेर विज्ञापनको नक्कल गर्ने हुनाले अष्ट्रेलियाको चिकित्सक सङ्घले  यसरी खानेकुराको विज्ञापन गर्न नै प्रतिबन्ध लगाउन माग गरेको छ । यसरी अन्य देशका डाक्टरहरुले बालबालिकाको स्वास्थ्यका लागि आवाज उठाइरहेका बेलामा नेपाली चिकित्सकहरु र स्वास्थ्यकर्मीले पनि आवाज उठाउनुपर्ने देखिन्छ । केही दिनअघि काठमाडौँमा माइक्रोबसमा चढेको बेलामा १२ कक्षामा अध्ययरत दुई किशोरीले दुईवटा चाउचाउ खाइरहेको देखेर मैले उनीहरुलाई १० वर्षअघि ‘तयारी खानेकुरा घातक’ भनेर लेखिएको समाचारको फोटोकपीको एकप्रति दिएँ । चाउचाउले क्यान्सर पनि हुन्छ भन्ने त थाहा थिएन भन्दै आँखाभरि आँसु गरेर एक किशोरीले खाँदै गरेको चाउचाउको प्याकेट झोलामा राखिन् । माइक्रोमा बसेका अन्य यात्रुले पनि भने यो त खराब कुरा हो तर यस्तो वस्तुको नराम्रो असरका बारेमा बाहिर ल्याउन आवश्यक छ । साँच्ची नै यसका बारेमा धेरै जनालाई जानकारी पनि छैन । जबसम्म यसबारेमा नागरिक स्तरमा सचेतना बढाउन सकिँदैन तबसम्म क्यान्सलगायत रोगहरुको सङ्क्रमण झन् बढ्दै जाने निश्चित छ । रासस (लेखक जनस्वास्थ्यविद् हुन्)

आफ्नै समस्याले निःसन्तानपन विज्ञ बनेकी स्वस्ति, जीवन साथी पनि चिकित्सक

काठमाडौं । कोखको सोख सबै आमाबुबामा हुन्छ । जब कोख खाली हुन्छ नि त्यसपछि मात्रै थाहा हुन्छ ‘पीडा’ । परिपक्व उमेर भइसक्दा पनि जब छोराछोरी जन्मिदैनन् नि तब समाजले प्रहार गर्ने असह्य वाणहरूको दुखाइ भोग्नेहरूलाई मात्रै थाहा हुन्छ । त्यो प्रहारको पीडा डा. स्वस्ति शर्माले पनि नराम्रोसँग भोगेकी छन् । भनिन्छ नि, ‘हरेक कहाली लाग्दो रातपछि एउटा सुन्दर बिहानीको उदय हुन्छ ।’ हो, त्यो कहाली लाग्दो रातको भोगाइ डा. स्वतिले पनि भोगेकी छन् । तर, अहिले उनी रातपछिको सुन्दर बिहानीको स्वाद लिँदैछिन् । मान्छेको स्वास्थ्य न हो, हरेक उतार-चढाव र आरोह-अवरोहहरू भोग्नुपर्छ । हुन त हामी सोच्छौं, हाम्रो उपचार गर्ने चिकित्सक कहिल्यै बिरामी हुन्नन् होला भनेर । तर, उनीहरूको पनि स्वास्थ्य न हो । समस्या सबैलाई हुन्छ । तर, त्यो समस्याको समाधान कसरी खोज्ने ? समस्याको समाधान कसरी गर्ने ? भन्ने विषयमा व्यक्ति सजग बन्न सक्यो भने अवश्य पनि समस्याबाट छुटकारा पाउन सकिन्छ । डा. स्वस्ति शर्मा निःसन्तानपन स्वास्थ्य क्षेत्रमा प्रचलित नाम हो । उनी प्रसूति तथा स्त्रीरोग एंव निःसन्तानपन विशेषज्ञ हुन् । उनले हजारौं महिलालाई स्वस्थ बनाइ आमा बनाइसकेकी छन् । यो अवस्थामा आइपुग्न भने उनी आफैंले ठूलो संघर्ष र चुनौतीका पहाडहरू चढ्नुपर्यो । सयौं महिलालाई महिनावारी गडबडीदेखि प्रजनन् क्षमताबारे जानकारी दिने स्वस्तिले नै सुरुमा सोही समस्या भोगिन् । उनले हरेक चिकित्सकसँग आफ्नो समस्या सुनाइन् । तर, समस्याको समाधान पाइनन् । तर, आफू अध्ययन गर्दा गर्दै आफ्नो समस्या पहिचान गरिन् । ठूला अस्पतालका चिकित्सकले पहिचान गर्न नसकेको उनको समस्या उनले अध्ययन गर्दा गर्दै पत्ता लगाउन सकिन् । डा. स्वस्तिलाई पनि सन्तान जन्माउन धेरै समस्या भयो । उनको जुम्ल्याहा बच्चा नै खेर गए । आइसीयूमा बस्नुपर्ने अवस्था आयो । अर्को पटक नलिमा बच्चा बस्योे । ३० वर्षदेखि बच्चा जन्माउन कोसिस गरिन् तर सकिनन् । ‘भनेजस्तो नहुने रहेछ, कहिलेकाँही आफै डाक्टर भएर पनि आफ्नै लागि केही गर्न नसकिँदो रहेछ, आफैंले स्वास्थ्य समस्या भोगनुप¥यो,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । डा. स्वस्तिको अहिले एउटा छाेरी छिन् । एउटा आमालाई सन्तानको वियोगमा छटपटाउनुको पीडा हामी अनुमानमात्र गर्न सक्छौं । उनलाई पनि खेर गएका जुक्ल्याहा बच्चाको अझै पनि सम्झना आउँछ । उनले आफ्नो हातको नाडीमा जुम्ल्याहा बच्चाका ट्याटु समेत राखेकी छन् । उनी ३५ वर्षभित्र बच्चा पाउनु उत्तम समय भएको बताउँछिन् । तर, उनले भने ३६ वर्षको उमेरमा बच्चा पाइन् । कारण थियो उनको स्वास्थ्य समस्या । अरूलाई सल्लाह दिँदै हिँड्ने तपाईंले किन सन्तान पाउन ढिला भन्ने जिज्ञासामा उनले भनिन, ‘डाक्टर भएर सबै स्वास्थ्य समस्या समाधान गर्न नसकिँदो रहेछ ।’ के थियो समस्या ? स्वस्ति महिनावारी हुँदा असाध्यै पेट दुख्थ्यो । महिनावारी पनि समयमा नहुने समस्या थियो । एनिमिया भएर रगत नै चढाउनु पर्ने अवस्था हुन्थ्यो । उनलाई हर्मोनको औषधीले महिनावारी गराउने त्यही औषधीले रोक्ने गर्नुपथ्र्यो । उनी चीनमा पढ्न जाँदा पनि एक झोला औषधी बोकेर गएको अहिले पनि सम्झन्छिन् । महिनावारी गडबड हुँदा औषधी के खाउँ भनेर नेपालमा फोन गर्थिन् । उनले पढ्दापढ्दै आफूलाई ‘पोलिसिस्टिक ओभिज’ भएको थाहा पाइन् । ‘हर्मोनकै गडबडले मलाई यस्तो समस्या भइरहेको रहेछ भन्ने पछि थाह पाएँ,’ उनी भन्छिन, ‘असाध्यै पेट दुख्थ्यो, केहीले बिहे गरेपछि ठिक हुन्छ भन्थे, केहीले २०÷२२ को उमेरमा ठिक भइहाल्छ भन्थे । तर, कारण म आफैंले पढेर थाहा पाएँ ।’ त्यसपछि बनिन् विज्ञ उनी आफूले भोगेको पीडा र समस्याले नै यो विषयमा अध्ययन गरेको बताउँछिन् । ‘म एउटा डाक्टर त बिरामी पर्दा कहाँ जाउँ, कसलाई जचाँउ भन्ने भयो,’ उनी भन्छिन्, ‘मेरो जस्तै समस्या भोग्ने धेरै दिदीबहिनी पनि होलान्, अब मैले यो विषयको अध्ययन गर्नुपर्छ भन्ने लाग्यो र यो क्षेत्रमा लागें ।’ ओम अस्पतालमा डाक्टर भोला रिजाललाई भनेर यो विषयमा अध्ययन गरेको उनी सुनाउँछिन् । ‘जब म यो विषयमा अध्ययन गर्न थालें, त्यसपछि बल्ल थाहा पाएँ यो त यस्तो पो रहेछ,’ उनी भन्छिन्, ‘आफूले भोगेर पनि होला, म महिलाको हर्मोन गडबडीको कुरा सहज बुझ्छु, उनीहरूलाई देख्दा माया लाग्छ र आफ्नो पीडाको याद आउँछ ।’ डा. स्वस्ति चिकित्सक पेशामा आवद्ध भएको १७ वर्ष भयो । निःसन्तानपन क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो । यो बिचमा उनलाई धेरै अनुभव भयो । उनले टेस्टट्यूव बेबीबाट मात्रै दुई हजार बढी दम्पतिलाई आमाबुवा बन्ने अवसर दिइन् भने झण्डै ६ हजार बढीलाई यो विषयमा सुझाव सल्लाह दिइन् । काम गदै जाँदा सुख र दुःखहरू अनुभव गरेकी छन् । जब उनले गरेको काम सफल हुन्थ्यो, सेवाग्राहीले वाहवाही दिन्थे । तर, जब मिहिनेतका साथ काम गरे पनि त्यो सफल हुँदैन त्यसपछि गाली खानुपथ्र्यो । टेस्टट्युव बेबी सतप्रतिशत नै ग्यारेन्टी हुन्छ भन्न नसकिने तर्क उनको छ । काठमाडौंमा जन्म, विदेशमा पढाइ डा. स्वस्ति काठमाडौंमै जन्मिन् । स्कुले जीवन काठमाडौंमै पढिन् । उनको आमा जनकपुरको र बुवाको घर नेपालगञ्ज । बुबा न्यायाधीस र आमा शिक्षक । उनले वि.सं २०५३ मा मा एसएलसी (हालको एसईई) पास गरिन् । काठमाडौंको मोर्डेन स्कुलबाट प्लसटु गरिन् । त्यसपछि वि.स २०५८ मा उनी चीनमा एमबीबीएस पढ्न गइन् । साढे चार वर्षमा एमबीबीएस पास गरिन् । चीनको पढाइपछि नेपाल आएर एक वर्ष इन्र्टनसिप गरिन् । त्यसपछि प्रसूति गृहमा काम सुरु गरिन् । केही समयपछि उनले नेपालगञ्ज मेडिकल कलेजबाट एमडी गरिन् । तीन वर्ष एमडी गरेर काठमाडौँ फर्किन् । उनले किष्ट मेडिकल कलेजमा लेक्चररको रूपमा समेत काम गरिन् । उनीसँग काठमाडौंका विभिन्न अस्पतालमा काम गरेको अनुभव छ । निःसन्तानपन भनेर भिनस हस्पिटलमा आईभीएफ सेन्टर खोलेपछि उनले त्यहाँ पनि काम गरिन् । सोही विषयमा अध्ययन गर्न कोरिया गइन् । त्यसपछि ग्रिनसिटीमा आफ्नै आईभीएफ सेन्टर खोलिन् । विभिन्न अस्पतालमा काम गर्दा उनलाई प्रजनन् क्षमताका कुरा गर्दा वा अफ्नो समस्या भन्दा खुल्ला रूपमा राख्न महिलालाई अफ्ठ्यारो परेको महसुस भयो । स्वस्तिलाई लाग्यो यो विषयमा गोप्यरूपमा उनीहरूको कुरा सुन्ने केही विकल्प खोज्नुपर्छ । त्यसपछि उनले साथिहरूसँग मिलेर बबरमहलमा निजी आईभीएफ सेन्टर सञ्चालन गरिन् । अहिले उनी आफ्नै होप फर्टिलिटी सञ्चालन गरेर सेवा दिइरहेकी छन् । उनी कहाँ यस्ता विभिन्न समस्या लिएर दैनिक ३५ जना पुग्ने गर्छन् । महिला र पुरुषको समान समस्या पछिल्लो सयम पुरुषमा पनि प्रजनन् क्षमताको समस्या देखिने गरेको उनी बताउँछिन् । पुरुषमा शुक्रकिटको उत्पादनमा कमी र स्वस्थ नहुने लगायतका समस्या देखिने गरेका छन् । जसले गर्दा पुरुषमा पनि बाँझोपनको समस्या हुन्छ । हामी कहाँ बच्चा नहुनुमा महिलालाई बढी दोष दिने अभ्यास छ । तर, बाँझोपनको समस्या पुरुषमा पनि हुने गरेको उनी बताउँछिन् । यस्तो बेला दुवैजना स्वास्थ्य संस्था गएर जँचाउनु पर्ने उनको सुझाव छ । होप फर्टिलिटीमा निःसन्तान सम्बन्धी जाँच गरी कारण पत्ता लगाएर उपचार गरिन्छ । महिला रोग सम्बन्धी अन्य उपचार पनि हुन्छ । त्यस्तै गर्भवती भएको बेलामा गरिने सबै चेकजाँच पनि गरिन्छ । नेपालमा निःसन्तानपन अथवा बाँझोपनको समस्या बढ्दैछ । भारतमा कुल जनसंख्याको २० प्रतिशत बिबाहित जोडीमा निःसन्तापनको समस्या छ । तर, नेपालमा भने यकिन तथ्यांक छैन । विदेसिएका कतिपय युवाहरू विवाह गर्न नेपाल आउने र विवाहलगत्तै विदेश जाने अभ्यास पनि छ । जसका कारण श्रीमान श्रीमती सँगै बस्न पाउँदैनन् । बाँझोपनको यो पनि एउटा कारण हो । तनाव र खानपान नमिल्दा पनि यस्तो समस्या देखिने उनी बताउँछिन् । चिकित्सक नै जीवनसाथी डा. स्वस्तिका श्रीमान पनि चिकित्सक हुन् । उनी हाडजोर्नी विशेषज्ञका रूपमा सिभिल अस्पतालमा कार्यरत छन् । धेरैजसो श्रीमान श्रीमती एउटै पेशामा हुँदा सहज पनि हुन्छ, असहज पनि । तर, डा. स्वस्ति आफूले चाहेर नै डाक्टरसँग बिहे गरेको बताउँछिन् । ‘डाक्टरले नै डाक्टरको पीडा बुझ्छ,’ उनी भन्छिन्, ‘डाक्टरले कहिल्यै रातदिन भन्न पाउँदैनन्, उसको लागि काम ठूलो हो, मलाई मेरो जीवनसाथी मेरो पेशा बुझ्ने होस् भन्ने थियो, त्यसैले डाक्टर नै रोजें,’ उनले भनिन् । उनी आफू यहाँसम्म पुग्न श्रीमानको भूमिका पनि महत्वपूर्ण रहेको बताउँछिन् । नेपाली समाजमा अपवाद बाहेक महिलालाई बिहेपछि घरको जिम्मेवारी दिइन्छ । ‘मेरो श्रीमानले मेरो कामको लागि कहिल्यै अवरोध गर्नु भएन,’ उनी भन्छिन्, ‘एकअर्काको समस्या बुझेपछि सहजै अगाडि बढ्न सकिन्छ ।’ श्रिमानबिनै आमा बन्न सकिन्छ नेपालमा सबैभन्दा देखिएको समस्या वेरोजगारीको हो । रोजगारी नपाउँदा धन कमाउन विदेश जाने नेपाली युवाको संख्या बढ्दो छ । त्यसमा पनि खाडी मुलुक जाने नेपालीको संख्या बढी छ । खाडी धरै गर्मी हुने ठाउँ हो । यसरी गर्मी ठाउँमा बस्ने पुरुषहरूमा निःसन्तानपन बढी हुने उनी बताउँछिन् । यस्तो समस्याबाट बच्न कतिपय युवा आफ्नो शुक्रकिट भण्डारण गरेर जान्छन् । शुक्रकिट भण्डारण गरेर गएका बिबाहित पुरुष आउन ढिला भयो भने पनि यता श्रीमतीले बच्चा जन्माउन सक्छिन् । डा.स्वस्ति अहिले श्रीमान विदेश हुँदा पनि श्रीमतीले बच्चा जन्माउन मिल्ने बताउँछिन् । उनका अनुसार यसरी धेरै महिला आमा बनिसकेका छन् । पुरुषले भण्डारण गरेर राखेको शुक्रकिटलाई उसैको श्रीमतीको अण्डासँग मिसाएर बच्चा जन्माउन मिल्ने उनको भनाइ छ । कोरोनाको समयमा सुर्खेतका एक दम्पतीले जन्माएको बच्चा अहिले ठूलो भइसकेको उनले सुनाइन् । पाठेघरको समस्या, मुटुको समस्या तथा प्रेसरका बिरामी र क्यान्सर लागेर पाठेघर फालेका महिलामा पनि निःसन्तानपनको समस्या हुने गरेको उनी बताउँछिन् ।

ओमोडा ई५ ले ल्यायो पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग

काठमाडौं । ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई५ (ई–फाइभ) ले ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ परीक्षण गरेको छ । सो गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको कम्पनीको भनाइ छ । पानी छिचोल्ने वाटर वेडिङ परिक्षणले ओमोडा ई–फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा ई–फाइभले गाडीको अगाडिको ग्रिल सम्मको पोखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडिको भागको तीन चौथाई भाग छोपेको थियो । त्यसका बावजुद ओमाडा ई फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भयो । सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो । अण्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सिर्जना गरिएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सिर्जना गरी परीक्षण गरिएको हो । सो परीक्षणमा ओमोडा ई–फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ । ओमोडाका सवारी साधन उत्पादनको आधारभूत सिद्धान्त नै सुरक्षा भएको कम्पनीको भनाइ छ । ओमोडा ई फाइभको वाटर वेडिङ र अण्डरबडी स्क्रापिङमा लक्ष्यमा सन्तोषजनक प्रदर्शनले ओमोडाको अधिकतम सुरक्षा प्रदान गर्ने प्रतिबद्धताले झनै मजबुत बनाएको छ । यसले प्रयोगकर्ताको आगामी दिनको यात्रालाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै ओमाडाको सुरक्षा प्रविधिको उत्कृष्ट प्रयोगले सवारी उद्योगकै मापदण्डलाई उचाइमा पु¥याएको छ । सुरक्षाको दृष्टिकोणबाट ओमोडा ई५ सी–एनक्याप, युरो एनक्याप, एनक्याप, ल्याटिन एनक्याप र एसियन एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो । नेपालमा एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई५ गाडी बिक्री–वितरण गरिरहेको छ । यो गाडी नेपाली बजारमा पनि उपलब्ध छ ।

औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् । नेता खनालले नयाँ गठबन्धनले सरकारमा सहभागिताको लागि औपचारिक प्रस्ताव गरेमा आफूहरु सरकारमा संगल्न भएर अगाडि जानसक्ने बताएका छन् । मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । ‘यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुको बीचमा त्यो समझदारी बन्यो । हामीसँग पनि वार्ता भयो । र एउटा सम्मानजनक ढंगले सहमती गरेर जाउ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं’, उनले भने, ‘ यसलाई सकारात्मक ढंगले नै लिन्छौं तर, हामीलाई संलग्न गरिदिनोस भनेर त्यो याचना गर्न चाहीँ जाँदैनौं ।’ बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया नेता खनालले दिएका छन् । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनले बताएका छन् । साथै उनले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए । ‘हामी साझा सवालमा वामपन्थी एकता गरेर जानुपर्छ भन्ने कुरामा उत्तिकै दृढ छौं । र साझा सवाल हामीमाझ प्रचुर विद्यमान छन् । यी कुराहरुमा एकताका लागि हाम्रो प्रयत्न फेरि पनि जारी रहन्छ । हामी उहाँहरुले औपचारिक रुपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्नेकुरा गर्नुभयो । सम्मानजनक ढंगले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रमिक कुराहरुमा, योजनाका कुराहरुमा र भिजनका कुराहरुमा यसरी जान्छौं भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौं’, नेता खनालले भने । नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताएका छन् ।

सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल हुन् । साथै मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् । मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरिएको जानकारी दिए । उनले भने, ‘केन्द्रमा सत्तासमीकरण फेरिएपछि प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपरेको हो, प्रदेशको विकास र समृद्धिका लागि म सबै दलसँग वार्ता, संवाद सहमतिका लागि खुला छु ।’ रासस

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो । तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सवइन्जिनियर सरोजकुमार यादवविरुद्ध रू तीन लाख ४७ हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार गुन्जा कन्सट्रक्सन, खडक नगरपालिका–८ सप्तरीका प्रोपाइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि रू तीन लाख ४७ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । रासस

त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए । उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए । नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा नेदरल्याण्ड्सले  कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए । नेदरल्याण्ड्सले एक सय ६६ रन बनाउँदा पाँचौ विकेटका रुपमा साइब्राण्ड एङ्गलब्रेक्टलाई गुमायो । एङ्गलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिए । साथै छैटौँ विकेटका रुपमा एक सय ७३ रन छँदा तेजा निदामानुरु दुई रनमा आउट भए । नेदरल्याण्ड्सको जितमा बलर टिम भान डेर गुग्टेन पाँच बलमा दुई छक्का र दुई चौकाको सहयोगमा २१ रनको योगदान दिए भने  रोलफ भान डर पर्व दुई बनाए । यी दुवै खेलाडी अविजित रहे । नेदरल्याण्ड्सका लागि ५४ रन र दुई विकेट लिएका लेभिट प्लेयर अफ दि म्याच घोषित भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए । जारी शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुच्छारमा रह्यो । शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजिति गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुछ तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो । रासस