विकासन्युज

अर्थमन्त्रीको टुंगो नलागेपछि ७० अंकले घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार ठूलाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३८ प्रतिशत अर्थात् ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको हो । सत्ता गठबन्धन परिवर्तन भएपछि सोमबार ६ प्रतिशतले बढेको सेयर बजार मंगलबार भने ठूलो अंकले घटेको हो । साेमबार नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको थियो । एक दिन अगाडि सकारात्मक सर्किट लागेकाे पुँजी बजारमा दोस्रो दिन नै उच्च अंकले घटेको हो । सोमबार गठबन्धन परिवर्तन हुँदा अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुनकाे आउने चर्चा थियो । तर, मंगलबार पाैडेलकाे नाम चर्चामा छैन । पुन नै अर्थमन्त्री बन्ने चर्चा छ । यसले लगानीकर्ताकाे मनाेवल घटेकाे बुझ्न सकिन्छ । आज दिनभरमा ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार म्युचुअल फण्ड समूह ०.६६ प्रतिशत बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ । आज बैंकिङ समूह ३.०१ प्रतिशत, विकास बैंक समूह ३.६५ प्रतिशत, फाइनान्स समूह २.७५ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६९ प्रतिशत, जलविद्युत समूह ४.३० प्रतिशत, लगानी समूह ३.४८ प्रतिशत, जीवन बीमा समूह ३.४९ प्रतिशत, उत्पादन समूह ४.२० प्रतिशत, लघुवित्त समूह १.२७ प्रतिशत, निर्जीजन बीमा समूह २.६० प्रतिशत, अन्य समूह ४.३५ प्रतिशत र व्यापार समूह २.१५ प्रतिशतले गिरावट आएको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । यस कम्पनीको सेयर मूल्य २ हजार ३२८.६० रुपैयाँ घटेर २० हजार ९६२ रुपैयाँमा झरेको छ । जोशी हाइड्रोपावर ९.९९ प्रतिशत अर्थात ३८.४० रुपैयाँ घटेर ३४६ रुपैयाँमा सीमित भएको छ । यस्तै, बोटलर्स नेपाल (तराई)को ९.४५ प्रतिशत अर्थात् १ हजार ५४४.४० रुपैयाँ घटेर १४ हजार ८ सय रुपैयाँमा सेयर मूल्य झरेको छ । बजारमा भारि अंकको गिरावट भएपनि गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशत अर्थात् ७९.९० रुपैयाँ बढेर ९९५ रुपैयाँ पुगेको छ । साथै, मंगलबार सोनापुर मिनिरल्सको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयाँ, घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

एक वर्षभित्र सक्नुपर्ने पुल ७ वर्षसम्म अलपत्र, जोखिम मोलेर आवतजावत गर्नुपर्ने

बेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन । पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिसरपैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् । समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए । ‘बर्खामा आउने खोलाले बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्न समस्या हुन्छ’, उनले भने, ‘पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।’ ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको स्थानीय दिलबहादुर खत्रीले बताए । ‘सुविधासम्पन्न बाटो र पुल नहुँदा कोही बिरामी परे पनि लैजान समस्या हुने गरेको छ । एम्बुलेन्स आउन मान्दैनन्,’ उनले भने, ‘समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान जाने डर रहन्छ ।’ खोलामा पुल नहुँदा स्थानीय अहिले पनि कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । यथाशिघ्र पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । ‘पुल बन्ने भनेको यत्रो समय बितिसक्दा पनि बनेको छैन’, स्थानीय गणेश रावतले भने, ‘यहाँका नागरिक सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । अब त निर्माण हुन्छ भन्ने आशा पनि छैन ।’ विसं २०७४ फागुन १५ गते सक्ने गरी विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले पाँच करोड ४७ लाख रुपैयाँमा उक्त पुल निर्माणको ठेक्का पाएको थियो । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत्र ३० गते काम सक्नुपर्ने भनिएकामा निर्माण अलपत्र बनेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए । ‘पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ’, उनले भने, ‘निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।’ सिग्देलका अनुसार एक महिनाअघि निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भए पनि सामग्रीको अभावले काममा ढिलाइ भएको बताउँदै आएको छ । रासस

भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा

भियतनाम । भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो । मङ्गलबार दिउँसो वायु निगरानी वेबसाइट आइक्युएयरको विश्वका सबैभन्दा प्रदूषित सहरहरूको तालिकामा हनोई शीर्ष स्थानमा छ । फोक्सोमार्फत रक्तप्रवाहमा प्रवेश गर्न पर्याप्त क्यान्सर बनाउने सूक्ष्म कणहरू पिएम २.५ प्रदूषकहरूको स्तर ‘धेरै अस्वास्थ्यकर’ का रूपमा वर्गीकृत गरिएको छ र विश्व स्वास्थ्य सङ्गठनको वार्षिक दिशानिर्देशअनुसार यो २४ गुणाभन्दा बढी छ । हालैका वर्षहरूमा हनोईलाई बारम्बार विश्वको सबैभन्दा प्रदूषित सहरमा सूचीबद्ध गरिएको छ । आंशिकरूपमा व्यापक निर्माण र प्रत्येक दिन राजधानीमा ठूलो सङ्ख्यामा मोटरसाइकल र कारहरूबाट हुने उत्सर्जनलाई यसको प्रमुख कारक मानिएको छ । त्यस्तै उत्तरमा कोइला खानीबाट हुने कार्बन उत्सर्जन र कषि जलनले समस्या थप बढेको छ । ‘पछिल्ला केही दिनमा हावाको गुणस्तर अत्यन्त खराब भएकाले बाहिर निस्कँदा मैले मास्क लगाउनुपरेको छ’, कार्यालयका कर्मचारी गुयेन मिन्ह हुआङले भने, ‘सास फेर्न कठिन छ, मलाई बारम्बार हाछ्युँ आएकाले बाहिर निस्कने समयलाई सीमित गर्नुपरेको छ ।’ उच्च आद्र्रताले बाक्लो कुहिरोले हनोईलाई ढाकेर वायु प्रदूषणमा भएको वृद्धिले दृश्यता कम हुँदा गत महिना दर्जनौँ उडान प्रभावित भएका थिए । मौसम पूर्वानुमानकर्ताहरूले विशेषरूपमा भियतनामको उत्तरपूर्वी पहाडी क्षेत्रहमा बाक्लो धुवाँको नियमित चेतावनी जारी गरेका छन् । वायु प्रदूषणमा विश्व बैंकको पछिल्लो प्रतिवेनमा हनोईमा ४० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दिशानिर्देशहरूभन्दा करिब पाँच गुणा धेरै सघनताको सम्पर्कमा रहेको उल्लेख छ । वायु प्रदूषणको जोखिमसँग स्ट्रोक, हृदय रोग र फोक्सोको क्यान्सरजस्ता गम्भीर स्वास्थ्य जोडिएका डब्लुएचओले बताएको छ । रासस

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छरछ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए ।

महशुल वृद्धि नगर्न उद्योग संगठनको माग, अध्यक्ष भन्छन् : उपभोक्ता महंगाईको मारमा

काठमाडौं । उद्योग संगठन मोरङले विद्युत महशुल वृद्धि नगर्न माग गरेको छ ।  विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको भनि विभिन्न संचार माध्यममा आएको समाचार प्रति उद्योग संगठन मोरङको ध्यानाकर्षण भएको भन्दै हाल विद्युत महशुलमा कुनै प्रकारको वृद्धि नगर्न माग गरेको हाे । उद्योग ब्यवसाय क्षेत्रले दैनिक दश घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या भोग्दै आएको वर्तमान समयमा निरन्तर विद्युत उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न संगठनले जोड दिएको छ । विभिन्न कठिनाईको सामना गर्दै हाल संचालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले हाल उपभोग गर्दै आएको प्रति यूनिट विद्युत तुलनात्मक रुपमा अन्य मुलुकको भन्दा बढी रहेको अवस्थामा फेरिपनि विद्युत महशुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष प्रभाव वस्तुको उत्पादन मुल्यमा पर्न गई आम उपभोक्तामा महंगाईको मारमा पर्ने संगठनका अध्यक्ष राकेश सुरानाले जनाएका छन् । अध्यक्ष सुरानाले पूर्व सूचना विना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाई भएको जनाए। उनले विद्युतको पुरानो संरचनाका कारण सानो झरी, बर्षा, हावामा समेत अत्यधिक पावर कट भई उत्पादन प्रकृया रोकिनाले जेनेरेटर संचालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्रस आई स्वदेशी उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता नै ह्रास आईरहेको बताए । प्राधिकरणको महशुल भुक्तानीमा विलम्व हुदा उपभोक्तासंग जरिवाना लिने तर विद्युतको गुणस्तरका कारण उद्योगको मिल मेशिनेरीमा आउने खराबीको जिम्मेवारी कस्ले लिने ? भनि उनले प्रश्न गरे । संगठनलेहाललाई उद्योगहरुले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युतको गुणस्तर, बारम्वार भईरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युतको उपलब्ध गराउन प्राधिकरणसंग माग गरेको छ । त्यसैगरी अन्य सार्क राष्ट्रहरुले निर्धारण गरेको विद्युत महशुललाई समेत मध्यनजर गरी सर्वसाधारणको दैनिकी जीवनसंग सम्बन्ध राख्ने विद्युत महशुल हाललाई यथावत राखी कुनै प्रकारको वृद्धि नगर्न संगठनले विद्युत नियमन आयोग समक्ष माग गरेको छ ।

पूर्ण डिजिटाइजेसनमा अध्यागमन, कछुवा गतिमा महालेखा

काठमाडौं । अध्यागमन विभागको डिजिटाइजेसन सुविधाले पर्यटन नेपालको पर्यटन व्यवसाय नै फस्टाउने देखिएको छ । विदेशीहरू नेपालमा आउनको लागि भिसा प्राप्त गर्ने प्रक्रियामा शुल्क भुक्तानी बाहेक सम्पूर्ण प्रक्रियालाई विभागले अहिले पूर्ण डिजिटाइज बनाइसकेको छ । जसले गर्दा गर्दा नेपाली एजेन्सी वा सम्पर्क सहयोगको माध्यमबाट नेपाल आउन चाहने विदेशीहरुले शुल्क भुक्तानी गरेर भिसा प्राप्त गर्न सकिने अपेक्षा गरिएको हो । नेपाल होटेल एशोसिएसनका महासचिव साजन शाक्यले विभागले दिने भिसा सेवामा डिजिटाइजेसन गराएपछि नेपाल आउने पर्यटकहरुले विगतमा पाउने हैरानी हटेको बताएका छन् । उनले विगतमा पर्यटकहरु भिसा प्रकृयाको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा बस्नुपर्ने समस्या हटेको बताउँदै पर्यटकहरुले नेपाल आउने प्रकृया सहज भएको प्रतिक्रिया दिएको बताए । ‘विभागको डिजिटाइजेसन धेरै राम्रो उपलव्धि हो, यसले विदेशी पर्यटकहरु एयरपोर्टमा आउँदा घण्टौं लाइन बस्नुपर्ने अवस्था हटेको छ’, महासचिव शाक्यले भने, ‘अहिले विदेशबाट नै भिसा बुक गरेर पनि लिन सकिन्छ, गर्दा धेरै सजिलो भएको छ ।’ उनले अध्यागमनले दिने सेवाको कारण नेपाल आउने प्रक्रिया झन्भटिलो नहुँदा पर्यटकको संख्यामा समेत वृद्धि हुनसक्ने बताएका छन् । ‘अब धेरै राम्रो हुन्छ, विमानस्थलमा जुन घण्टौं लाइन बस्नुपर्ने अवस्था थियो, हाम्रो समस्या भनेको नै भिसाको लागि विमानस्थलमा घण्टौं कुर्नुपर्ने विषय थियो, अब पासपोर्ट देखाएर छाप लगाएपछि हुनेभयो’, शाक्यले भने, ‘पहिला होटेल बुक गर्न गाह्रो थियो, अहिले रुम पनि उहीँबाट बुक गर्न सकिने भिसा पनि आँफैले प्रिन्ट गर्न सकिने भयो, भिसा मोबाइलमा राखेर पनि देखाउन सकिने भयो ।’ विगतमा भिसा लिनकै लागि लाइनमा बस्नु पर्ने, त्यहाँ नगद पैसाको पनि समस्या हुने भएकाले पर्यटकहरुले आफूहरुलाई गुनासो गर्ने गरेकोमा अब त्यो गुनासो नआएको बताए । अध्यागमन विभागलाई पूर्ण डिजिटाइजेसन बनाउन अहिले निलम्बनमा रहेका महानिर्देशक रुद्रसिंङ तामाङले पहल गरेका थिए । विदेशबाट शुल्क प्रणाली बाहेक आगमन भिसामा सम्पूर्ण प्रकृयाहरु डिजिटाइज भएपनि भुक्तानी प्रणाली भने डिजिटल हुन सकेको छैन । अध्यागमन विभाग पूर्णरूपमा डिजिटाइजेसन हुँदा नेपालको भिसा प्रदान गर्न विदेशबाट गर्नुपर्ने भुक्तानी प्रणालीको जिम्मेवार निकाय महालेखा नियन्त्रक कार्यालय भने कछुवा गतिमा काम गरिरहेको छ । महालेखा नियन्त्रक कार्यालय कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाका प्रमुख रामचन्द्र शर्माले नेपालको राजस्व प्रणालीमा विदेशी मुद्रा लिने प्रणाली विकास अहिलेसम्म नभएको हुँदा अध्यागमन, पुरातत्व विभाग लगायतले राखेका माग पूरा हुन नसकेको बताए । उनले अहिले केही निकायहरुले विदेशी मुद्रामा राजस्व भुक्तानीको प्रकृयाको प्रणालीको विकास गर्नुपर्ने माग गरेकाले त्यसमा कार्यालयले काम गर्न खोजेको बताए । तर, उनले काम अगाडि बढीनसकेको बताए । उनले राजस्व भुक्तानी प्रणालीमा नेपालभित्र डिजिटल भुक्तानी प्रणाली लागू भएको तर विदशी देशहरुसँग राजस्व भुक्तानीको लागि कुनै समन्वय र काम नभएको बताए । ‘नेपाली मुद्रामा हामीले डिजिटल भुक्तानी गर्यौं, राजस्व आम्दानी प्रणाली अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेसँग अहिलेसम्म इन्ट्रिगेसन भएको छैन, कुनै काम नै भएको छैन’, उनले भने, ‘माग चाहिँ अध्यागमन पुरातत्व विभागको पहिलेदेखि नै थियो अब अवधारणा बनाएर सिस्टम विकास गर्नपर्छ ।’ उनले अध्यागमनको भिसा विदेशी मुद्रामा लिनको लागि विदेशी भुक्तानी सेवा प्रदायकहरुसँग पनि नेपालले इन्ट्रिग्रेट गर्नुपर्ने बताए । तर, उनले कार्यालयले अहिलेसम्म तालिकाबद्धरूपमा काम नगरेको बताए । जसले गर्दा भुक्तानी प्रणालीलाई पूर्ण डिजिटाइज गर्न कति समय लाग्छ भन्ने विषयमा एकिनका साथ भन्न नसकिने समेत बताए । तर, कानुनी भन्दापनि प्राविधिक रूपमा केही कामलाई अगाडि बढाएपछि विदेशी मुद्रलाई भुक्तानी प्रणालीमा जोड्न सकिने उनले बताए । ‘राजस्व संकलनको लागि अहिले हाम्रो आरएनएफ भन्ने प्रणाली छ, त्यसलाई बहुमुद्रालाई स्वीकार गर्ने रुपमा विकास गर्नुपर्यो, मल्टिकरेन्सी एकाउन्टिङ, मल्टिकरेन्सी रिर्पोटिङ’, उनले भने, ‘इकोसिस्टमलाई मल्टिकरेन्सीमा लैजान पर्यो अर्को विभिन्न पेमेन्ट गेटवेहरु छन् तिनीहरुसँग पनि इन्ट्रिगेसन गर्नुपर्यो, अलिअलि पोलिसीमा पनि काम गर्नुपर्छ ।’ सम्पूर्ण विश्व डिजिटाइज भइसकेको र नेपालबाट नै विश्वभरीबाट सेवा सुविधा खरिद प्रक्रियामा डिजिटल भुक्तानी गर्ने सुविधा लिइसकेको सन्दर्भमा सरकारको तर्फबाट भने सानो सुधार नगर्दा विदेशी मुद्रा आम्दानीको ठूलो क्षेत्र पर्यटन क्षेत्र अझै पनि पछाडि परिरहेको छ । कार्यालयका सहसचिवको भनाइअनुसार पनि अझै अध्यागमनको भिसामा लाग्ने शुल्क भुक्तानीमा कहिले डिजिटाइज हुन्छ भन्ने ग्यारेन्टी छैन । गतवर्षदेखि यता नेपालमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । अझैपनि भिसा प्रकृयादेखि कतिपय प्राविधिक विषय र प्रवर्द्दनको पाटोमा सुधार गर्न सकिएमा सहज हिसाबले संख्या वृद्धि हुनसक्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरूको धारणा छ ।

‘डम्पिङसाइट’ भरिएपछि कोरिडोर दुर्गन्धित, यात्रु प्रभावित

ढोरपाटन । बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङसाइट’को असर नजिकैको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण सो ठाउँ हुँदै यात्रा गर्न सकस हुने गरेको सवारी चालक देवीबहादुर सुनारले सुनाए । ‘फोहोर फाल्नका लागि वरिपरी पर्खाल लगाइएको छ तर फोहोर भरिएर सबै सडकमा खसेको छ’, उनले भने, ‘गर्मी पनि बढ्न थाल्यो, अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुन्छ । दुर्गन्धले रिङ्गटा लाग्ला जस्तो हुन्छ । यो बाटोको विकल्प पनि छैन ।’ नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ‘ल्यान्डफिल साइट’ बनाउने योजना बनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन । केही दिन लगातार यो सडक हुँदै यात्रा गरियो भने बिरामी पर्ने अवस्था रहेको बागलुङ नगरपालका–१४ का विरबहादुर क्षेत्रीको गुनासो छ । स्थानीयले नगरपालिकामा गएर धेरै पटक फोहोर व्यवस्थापनका लागि आग्रह गरे पनि हालसम्म सुनुवाई हुन नसकेको उनको भनाइ छ । ‘अव्यवस्थित फोहोर व्यवस्थापनका कारण त्यहाँका झिँगा मालढुङ्गासम्म पुग्छन्, यही सडकबाट दैनिक सयौँ मान्छे ओहोरदोहोर गर्नुपर्छ । हामी पनि हरेक दिन हिड्छौँ’, क्षेत्री भन्छन्, ‘नगरपालिकाले फोहोर उठाउने बेलामै कुहिने र नकुहिने छुट्टाएर व्यवस्थापन गर्नुको विकल्प छैन ।’ बागलुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित डम्पिङसाइट बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । नगरपालिकाले दक्षिण कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग फोहोर व्यवस्थापनका लागि मेसिन ल्याउने तयारी गरेको श्रेष्ठले जानकारी दिए । यसअघि सो कम्पनीका प्रमुख खो यु सेप, सीईओ जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको संयुक्त बैठकले मेसिन ल्याउने निर्णय गरेको थियो । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि विनियोजित एक करोड २० लाख रुपैयाँमा मेसिन खरिद गर्ने तयारी गरेको प्रमुख श्रेष्ठको भनाइ छ । रासस

बिजनेस विस्तार छोडेर ‘ब्यालेन्ससिट म्यानेजमेन्ट’ मा लागे बैंकर

काठमाडौं । कुनै समय व्यवसाय विस्तारमा आक्रामक बनेका बैंक तथा वित्तीय संस्थाहरू अहिले ब्यालेन्ससिट व्यवस्थापनमा लागेका छन् । प्रत्येक महिना ऋण असुली नभएर खराब कर्जा बढ्दै गएपछि बैंकरहरू ब्यालेन्ससिट म्यानेज्मेन्टमा लागेका हुन् । अहिले बैंकरहरू खराब कर्जाको अनुपात बढेर वित्तीय विवरण नै बिग्रिने चिन्तामा छन् । अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा बैंकको तेस्रो त्रैमास पनि उत्साहजनक नआउने बैंकरहरू बताउँछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका बैंकरहरू बिजनेस विस्तार रोकेर रिकभरीमा जोड दिइरहेको बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने शून्यजस्तै भएकाले तेस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको गुनासो छ । लगानीयोग्य रकमको प्रयाप्तता भए पनि अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने उनीहरूको भनाइ छ । अघिल्ला वर्षहरूमा आक्रामक रूपमा लगानी बिस्तार गरेकाले केही बैंकहरूको खराब कर्जाको अनुपात पनि बढ्ने सम्भावना अझै देखिन्छ । पुस सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको खराब कर्जा औसत साढे ३ प्रतिशत छ । अधिकांश बैंकको खराब कर्जा ४ प्रतिशत बढी छ । कतिपय बैंकरहरू अझैं बैंकको खराब कर्जा बढ्ने बताइरहेका छन् । एक बैंकरले अहिले अधिकांश बैंकहरूको खराब कर्जाको अनुपात बढेकोले अहिले बिजनेस विस्तारभन्दा पनि ब्यालेन्ससिट म्यानेज्मेन्टमा लागेको बताए । ‘अहिले बैंकको कर्जाको माग न्यून छ, बैंकले नयाँ बिजनेसभन्दा पनि पुरानो ऋणलाई असुल गर्नतर्फ जोड दिइरहेका छन्,’ उनले भने । ‘तेस्रो त्रैमास पनि दोस्रो त्रैमासजस्तै हुन्छ, अहिले पनि रिकभरी हुन सकिरहेको छैन, खराब कर्जा झन बढ्दो अवस्थामा छ,’ एक अर्का बैंकरले भने । अहिले बैंकहरू आम्दान बढाएर खर्च घटाउनु पर्ने चापमा छन् भने ऋण असुल गर्दै पुँजी कोष सहज बनाउन तर्फ जोड दिइरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकको नीतिगत कडाइको पनि बैंकहरूले यति बेला नै सामना गरिरहेका छन् ।