विकासन्युज

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनले पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको नयाँ रेकर्डलाई पछि पार्दै सुन आजसम्म कै उच्च मूल्यमा पुगेको हो । सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य बढेर एक लाख २३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मुल्य हो । त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

खेलकुदको विकासमा एनसेलको साथ, ‘जिम्मेवार कर्पोरेट नागरिक’को रुपमा सहयोग

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ । मंगलबार सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो । ‘हाम्रो साथ नेपाली क्रिकेटलाई’ भन्ने थिमका साथ एनसेलले यी खेलहरूमा सहयोग पुर्याएको हो । यसैगरी ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायतका फुटबल खेलमा आबद्ध भएको थियो । विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको थियो । ‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ । चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गर्दै एनसेलले १ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो । एनसेलले गत भदौमा आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ । यसैगरी गल्फमा, गल्फ र पर्यटन प्रवर्द्धनसहित आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने उद्देश्यले यही चैत १ देखि ३ गतेसम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ हुँदै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका पनि यो कार्यक्रममा सहआयोजकका रूपमा आबद्ध भएका छन् । एनसेलले ‘बाह्रखरी’सँग सहकार्य गर्दै ५ वर्षदेखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । यसबाहेक गत मंसिरमा ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ पनि आयोजना गरिएको थियो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । खेलाडीहरू राष्ट्रिय गौरव हुन् र यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्छ ।

इटालीमा बढ्दै मोटोपनको समस्या

एजेन्सी। इटालीमा मोटोपनको समस्या बढ्दै गएको छ । इटालीका स्वास्थ्य संस्थानले इटालीमा बढ्दो तौलको चेतावनी दिएको हो । अधिक तौल जनसंख्याको प्रतिशत इटालीमा बिस्तारै बढिरहेको तथ्यांकले देखाएको छ । इटाली लामो समयदेखि संसारको सबैभन्दा स्वस्थ देशहरूमध्ये एक हो । इटालीमा तौलको समस्या भएका अधिकांशलाई अधिक तौलको रूपमा वर्गीकृत गरिएको छ । जसलाई विश्व स्वास्थ्य संगठनले अत्यधिक बोसो जम्मा भएको अवस्थाको रूपमा परिभाषित गरेको छ । त्यो वर्ग जनसंख्याको ३२.६ प्रतिशत हो । तीनमा लगभग एक व्यक्ति मोटोपनको समस्याबाट पीडित छ । आइएसएसको तथ्यांकअनुसार यो समस्या देशको दक्षिणी भागहरुमा बढी छ । इटालीका २१ क्षेत्रहरू वा स्वायत्त प्रान्तहरूमध्ये सातलाई तौल–सम्बन्धित वर्गहरूमध्ये कम्तिमा एउटामा राष्ट्रिय औसतलाई बढावा दिइरहेको देखिन्छ । र ती सबै दक्षिणमा छन् । देशमा लोकप्रिय भूमध्य–शैली आहार, जसले प्रशस्त फलफूल, तरकारी, नट, सम्पूर्ण अन्न र स्वस्थ बोसोलाई जोड दिन्छ । लामो समयदेखि इटालियनहरूलाई फिट रहन मद्दत गर्ने प्रमुख कारक मानिन्छ ।

नयाँ गठबन्धन : सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ । तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने टिप्पणी गरेका छन् । जनताका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनालाई आत्मसात् गरी वैचारिक र कार्यक्रमिक सहयात्राका लागि गृहकार्य गरिएमा ऊर्जायुक्त गठनबन्धन सावित हुने उनीहरूको भनाइ छ । ती लक्ष्यमा नभई केवल पदीय भागबण्डाको स्वार्थमा ध्यान दिइए जनतामा पुनः निराशा पैदा गर्न सक्ने भएकाले संविधानको प्रस्तावनामा रहेको समाजवदोन्मुख कार्यदिशाका लागि गृहकार्य गरी दिगो र प्रभावकारीरूपमा अघि बढ्न उनीहरूको सुझाव छ । यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन गरी तीन नयाँ मन्त्रीसहितको सरकारका गठन भएको हो । ती दलले सरकार विस्तार तथा साझा न्यूनतम कार्यक्रमका लागि आपसी गृहकार्य र अन्य दलसँग पनि संवाद अगाडि बढाएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै गत निर्वाचनमा गठबन्धन गरेको  कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको सहयात्रा निर्वाचनपछि टुटेको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रका आधारमा २०७९ पुस १० गते एमाले, रास्वपा सहितका समर्थनमा दाहाल प्रधामन्त्रीमा नियुक्त भएका थिए। राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा  कांग्रेस पुनः सरकारमा र एमाले सत्ताबाहिर हुन पुगेपछि निर्वाचनका समयकै गठबन्धन लामो समय जाने अनुमान गरिएको थियो । राजनीतिक उतारचढावका बीच यही फागुन २१ गते ‘पुस १०’ को घटनाक्रम दोहोरिएर एमाले, माओवादी केन्द्रको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेको छ । आन्तरिक र बाह्य कारण जे भए पनि यो घटना एकाएकजस्तै विकसित भएको छ । यो घटनाले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी विजय हासिल गरी करिब दुईतिहाइको समर्थनमा सरकार बनाउन समर्थ हुँदाको समये झैँ  स्मरण ती दलका कार्यकर्तामा हुन पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टीको सम्मिलनमा भएको गठबन्धनलाई ‘सजातीय’ गठबन्धनको पनि सङ्ज्ञा दिइएको छ । अध्यक्ष ओली र दाहालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा एकै पार्टी भएर सरकार र पार्टी चलाउँदाका आन्तरिक विवाद मिलाउन नसक्दा दुईपटक संसद् विघटन (२०७७ पुस ५ र २०७८ जेठ ८) सम्मको घटना हुनु, अध्यक्ष ओली तथा अध्यक्ष दाहाल, नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच बेमेल बढ्नुले पार्टी विभाजन भएको बताइएको छ । विगतमा पनि एकता–विभाजन–एकताको अनुभव बोकेका कम्युनिष्ट पार्टीहरू ती गल्तीबाट माथि उठेर अब पुनः नयाँ शिराबाट सहयात्रामा अग्रसर भएका हुन्–होइनन् ? अहिले नै ठोकुवा गर्ने आधार त छैन र तर नेताहरूले चाहेमा त्यो असम्भव नदेखिएको टिप्पणी गरिएको छ । नयाँ गठबन्धन भएकै दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले वामपन्थी दलहरूबीच पुनः सहायात्रा र एकताको लक्ष्यसहित आफूहरू अघि बढेको सार्वजनिक अभिव्यक्ति दिनुबाट लामो यात्राकै सङ्केत बुझ्न सकिन्छ । वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सहयात्रा गर्न कार्यदलस्तरमा तयारी गरेर लिखित दस्तावेजका साथ आएमा यो गठबन्धन दिगो बन्ने जनाउँदै कांग्रेस र माओवादी केन्द्रको तुलनामा एमाले र माओवादी केन्द्रको सहयात्रा सहज हुने बताए । ‘तर फागुन २१ गतेको चार दलका शीर्षनेताहरूको सहमतिपत्रमा रुपान्तरणकारी कार्यक्रम देखिएको छैन । सैद्धान्तिक र वैचारिकरूपमा सवल र एकीकृत भएर देश र जनताका समस्या सम्बोधन गर्ने हो भने त्यस लयमा जानुपर्छ । नत्र केवल मन्त्रालयको भागबण्डामा सीमित भएको देखिन्छ र भागबण्डा नमिल्दा गठबन्धन टुट्न पनि सक्छ’, नागरिक अभियन्ता श्रेष्ठले भने, ‘टाउको (विचार) नमिलाई टुपीमात्रै बाँधेर लामो सहयात्रा हुँदैन । शरीर (सङ्गठन) र खुट्टा (हिँड्ने बाटो) पनि मिलाउनुपर्छ । त्यसो भएमा यसलाई सानातिना हुरीले ढाल्न सक्दैन ।’ नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले विकसित राजनीतिक घटनाक्रम ‘पुस १०’ कै निरन्तरताअन्तर्गत विकसित भएकाले यसले वाम, लोकतान्त्रिक र रुपान्तरणकारी शक्तिलाई सहयात्रामा ल्याएको टिप्पणी गरे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले राष्ट्रियता, विकास र समृद्धिका आधारमा यो गठबन्धन आवश्यक भएकाले यसप्रति सकारात्मक हुन सकिने बताए । वाम विश्लेषक एवं स्तम्भकार झलक सुवेदीले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीले विगतका ‘इगो’लाई भुलेर नयाँ गठबन्धन टिकाउन सकेमा यसले सकारात्मक ‘भाइब्स्’ निर्माण गर्ने बताए । ‘आगामी २०८४ सालमा हुने निर्वाचनमा वाम गठबन्धन या पार्टी एकताका माध्यमबाट जान सकिने गरी लागेमा यो गठबन्धनको लाभ एमाले–माओवादी केन्द्र दुवैले लिन सक्छन् । देश र जनताका लागि पनि सकारात्मक नै हुनेछ’, उनको भनाइ छ । प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षनेताहरूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई मङ्गलबार साँझ भेटवार्ता गरी सरकारमा सामेल हुन आग्रह गर्नुले वामपन्थी दलहरूबीच टुटेको लय फेरि मिलाउन भने खोजेको देखिएको छ । रासस

२.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

काठमाडौं । पेयपदार्थ उत्पादक कोका-कोलाले २.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क प्रदान गर्ने भएको छ । कोका-कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका-कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका-कोला निःशुल्क प्रदान गर्ने भएको हो । यस प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । अफरले कोका-कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिने कम्पनीको विश्वास छ । अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका-कोला सधैं आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्‍याउनेछ भन्ने हामीलाई विश्वास छ ।’

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको बताए । प्रउ गौतमले ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।’ घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

फागुन ३० देखि एकीकृत कारोबार सुरु गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । यसैगरी, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिइसकेको छ । दुवै संस्था मर्जर भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेसन गर्न दुवै कम्पनीको फागुन २९ गते सबै सेवा अवरुद्ध हुनेछन् ।

भारतीय दुतावासले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली-अंग्रेजी-नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी माग गरेकाे हो । दूतावासले कति संख्या भन्ने खुलाएको छैन । अनुवादक नेपाली–अंग्रेजी–नेपालीमा पोख्त हुनुपर्ने र न्यूतम योग्यता अंग्रेजी-नेपालीमा ग्र्याजुएट गरेको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी टाइपिङसहित कम्प्युटबारे राम्रो जानकारी भएको हुनुपर्ने छ । दूतावासका अनुसार इच्छुक उम्मेदरवार ३५ वर्ष नकटेको हुनुपर्ने छ । आजकाे तीन साताभित्र दूतावासको ठेगानामा इमेल गर्न सकिने बताइएको छ ।