विकासन्युज

एमालेबाट यी ८ जना मन्त्री बन्दै, आज सपथ लिने

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरूको ८ जनाको नाम टुंगो लगाएको हो । एमाले पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

अर्थमन्त्रालयले सहमति नदिँदा नेपाल रिले पेस गर्न सकेन पुँजी वृद्धिको योजना

काठमाडौं । अर्थमन्त्रालयले पुँजी वृद्धिका लागि सहमति नदिँदा नेपाल रिइन्स्योरेन्स (नेपाल पुनर्बीमा) कम्पनीले समयमा योजना पेस गर्न सकेको छैन । पुनर्बीमा कम्पनीले पठाएको योजनामा अर्थ मन्त्रलायले सहमति नदिँदा नेपाल बीमा प्राधिकरणले तोकेको समयमा योजना पेस गर्न नसकेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार नेपाल पुनर्बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेस गरेको छैन । मन्त्रालयको सहमतिपछि मात्रै योजना पेस गर्ने पत्र पुनर्बीमा कम्पनीले पठाएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको थियो । तर, कम्पनीले पुँजी वृद्धिको योजना मन्त्रालयमा पठाइसकेको तर सहमति आउन बाँकी रहेको जानकारी प्राधिकरणलाई गराएको उनको छ । अब मन्त्रालयले सहमति दिएपछि योजना पेस गर्ने प्रतिवद्धता कम्पनको छ । पुँजी वृद्धिको योजना पेस गर्नै ढिला भएपछि प्राधिकरण असफल हुने देखियो नी भन्ने प्रश्नमा कार्यकारी निर्देशक पौडेलले भने, ‘पुँजी वृद्धि गर्न १ वर्षको समय दिएको हो । कम्पनीले एक चरण योजना पठाइसकेको छ । सरकारको ४४ प्रतिशत सेयर स्वामित्व छ । सरकारसँग छलफल गरेर मात्रै पूर्ण योजना पठाउँछौं भनेको छ । सरकारको सहमति अनुसार अघि बढ्ने भनेको छ ।’ नेपाल रिको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । हिमालयन रिइन्स्योरेन्सले भने ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने योजना पेस गरेको छ । हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको रहेको प्राधिकरण स्रोतको छ । कम्पनीको वार्षिक साधारण सभाले समेत हकप्रद सेयर निष्काशन गर्ने एजेण्डा पारित गरिसकेको छ ।

‘ट्र्याक’ खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिँदै

तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मङ्गलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुले जनाएको छ । ‘ट्रयाक’ खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिए । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र थालिएको उनले बताए । जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ । उनले भने, ‘पहिलो चरणमा छ किलोमिटर निरन्तर हुन्छ, बाँकी पाँच किमी एक महिनापछि गरिनेछ ।’ अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिन लागेको कार्यालय प्रमुख आचार्यले बताए । कालोपत्र कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ । विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले जानकारी दिए । रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो । उक्त सडकको चौडाइ सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ । विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य प्रभावित भएको उक्त निर्माण कम्पनीले जनाएको छ । रासस

नापतौलमा ठगी गर्ने चार हजार ७४१ व्यवसायी कारबाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो । कार्यालयका प्रमुख राकेशकुमार झाले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आम उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको बताए । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ, त्यस्तालाई हामीले कारबाहीको दायरामा ल्याएका छौँ,’ उनले भने । कार्यालयले पछिल्लो समय व्यापारीको सहजताका लागि ‘डोर टू डोर’ अभियानसमेत सञ्चालन गरिरहेको छ । ‘डोर टू डोर’ अभियानअन्तर्गत कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान गर्ने, अनियमित गर्नेलाई कारबाही गर्ने, जाँच नवीकरण गर्नेलगायत काम गर्दै आएको कार्यालय प्रमुख झाले बताए। कार्यालयले साउनदेखि पुस मसान्तसम्म एक हजार तीन सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गरेको छ । यसैगरी, चार हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, एक सय दुई पेट्रोल पम्प जाँच र दुई हजार ६ सय १८ ट्याक्सी मिटर जाँच गरेको जनाएको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनलाई तीव्रता दिएको कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि ८० पटक एकल अनुगमन र ५२ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख झाले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताए । ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ’,  उनले भने । कार्यालयले चालु आवको छ महिनामा ९२ लाख ९८ हजार पाँच सय ९२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी नौ जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । रासस

अर्थमन्त्री वर्षमान र गृहमन्त्री रवि बन्ने, कसलाई कुन मन्त्रालयको जिम्मा ?

काठमाडौं । सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा लगभग सहमति भएको बुझिएको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएको बताइएको छ । सहमितअनुसार अर्थमन्त्री माओवादीले लिने सहमति भएको छ ।  माओवादीका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने निर्णय माओवादीले गरिसकेकाे छ । यस्तै, सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन् भने रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बन्ने भएका छन् । नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको बताइएको छ । शिक्षा मन्त्रीमा रास्वपाकी नेता सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन् ।

रास्वपालाई ४ मन्त्रालय, रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित बनेको हो । लामिछानेसहित नयाँ बन्ने मन्त्रीहरूको शपथ आज बेलुकी ५ बजे गराउने तयारी छ । उनको पार्टीबाट उपसभापति डीपी अर्यालले पनि मन्त्रीको सपथ लिइसहेका छन् ।

रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

वीरगञ्ज । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको छ । दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी परेर दैनिक करिब ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको डा सिंहले बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । रासस

नेपाल टेलिकमले ल्यायो सस्तो दरमा डाटा रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ । अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । टेलिकमका अनुसार डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ ।