विकासन्युज

सम्भावना बोकेकी सुमना : बुढानिलकण्ठ र अमेरिकामा अध्ययनदेखि शिक्षा मन्त्रीसम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको पुरानो गठबन्धनको सरकार भत्किएर बनेको नयाँ राजनीतिक समीकरणको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । नेपालदेखि अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक करिअर सुरु गरेकी श्रेष्ठले आफैंले सुधारको पैरवी गर्दै आएको शिक्षा क्षेत्रको जिम्मेवारी सम्हाल्नेगरी जिम्मेवारी पाएकी हुन् । प्रतिनिधिसभा सदस्य भएदेखि नेपालको विद्यालय र विश्वविद्यालय शिक्षाको सुधारका निम्ति उनले खासगरी शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा रहेर देखाएको सक्रियतालाई धेरैले प्रशंसा गर्ने गरेका छन् । सन् १९८४ अक्टोबर १ मा काठमाडौंमा जन्मिएकी श्रेष्ठ काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ हायर सेकेन्डरी स्कूलमा अध्ययन गरेकी थिइन् । त्यसपछि उनले बूढानीलकण्ठ स्कुलमा ए-लेभल इकोनोमिक्स, म्याथमेटिक्स र अहेड म्याथमेटिक्स अध्ययन गरिन् । हाईस्कूलबाट स्नातक गरेपछि श्रेष्ठले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् । श्रेष्ठ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । विसं. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटीग्रुपमा समेत काम गरेकी थिइन् । जब विसं. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बद्लियो । भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रुपले उनलाई नेपाल पठायो । त्यसपछि उनी अमेरिका फर्किएकी हुन् । सुमनाले नेपाललाई नै कार्यक्षेत्र बनाएर काम गर्न थालेपछिका वर्षहरूमा उनी नेपाल र नेपालीका लागि सञ्चालन भएका विभिन्न अभियान र कार्यक्रममा आधारभूत तहमै संलग्न भएकी छिन् । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेर होस् वा काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी उपसमितिलाई नेतृत्व गरेर अथवा रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेर, उनी तत्काल आवश्यक सहयोग, सहायता देखि पुनर्निर्माणसम्मका गतिविधिमा सक्रिय रूपमा सहभागी हुने गर्थिन् । श्रेष्ठले गणितमा स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्शदाताका रूपमा काम गरिसकेकी छिन् । यसका साथै उनले कोसी कोल्याबोरेटिभ व्यवस्थापन तथा प्राविधिक परामर्शदाता कम्पनी, नोवाला बायोटेक, स्वास्थ्य उपकरण सामग्री उत्पादन र बटुका क्रिमरी आइसक्रिम पार्लर लगायतका उद्यम स्थापना गरेकी छिन् । प्रविधि र अर्थशास्त्रमा विज्ञता भएकी सुमनाकाे राजनीतिज्ञको रूपमा सुरुवाती चरणमा मूलतः तीनवटा प्राथमिकता रहेको बताउने गरेकी छन् । पहिलो, रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोश्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरूलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो । नेपालको विश्वविद्यालय र विद्यालय शिक्षा क्षेत्रमा रहेका समस्याहरूको समाधानका लागि नवनियुक्त मन्त्री श्रेष्ठले नीतिगत तहमा रहेर सिर्जनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर, विभिन्न ढंगले बनेको सरकारको गठबन्धनको आयु कति लामो हुनेछ र उनले आफूलाई उपलब्ध हुने समयको कति सदुपयोग गर्नेछिन् भन्ने विषय हेर्न भने प्रतिक्षा गर्नु पर्नेछ ।

मन्त्री अधिकारी : सहकारी सुधारेर सफलताको ट्याग भिर्ने अवसर

काठमाडौं । बलराम अधिकारी भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमालेबाट भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बनेका बलराम अधिकारीको मन्त्रीकोरूपमा यो पहिलो इनिङ्स हो । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित अधिकारीले माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाललाई पराजित गरेका थिए । उनी सांसद भने दोस्रो पटक बनेका हुन् । उनी नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । वि.सं २०७० सालमा संविधान सभा सदस्यमा समेत निर्वाचित भइसकेका उनले मन्त्री बन्ने अवसर भने पहिलो पटक पाएका हुन् । लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी ०७४ सालको निर्वाचनपश्चात् लामो समय गुमनामजस्तै रहे । उनी यो अवधिमा पार्टीको विभिन्न पदमा रहेर पनि काम गरे । मन्त्री बनेको पहिलो पटकमै उनले भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । पछिल्लो समय सहकारी क्षेत्र ठूलो समस्यामा छ । अधिकांश सहकारीहरू बचतकर्ताको ठूलो रकम हिनामिना गरेर सञ्चालक समेत फरार अवस्थामा छन् । यही समयमा अधिकारीले सहकारी क्षेत्र सम्हाल्ने जिम्मेवारी पाएका छन् । यो क्षेत्र समस्यामा परेको बेला सहकारी मन्त्री बनेका अधिकारी समस्या समाधान गरेर सफल मन्त्रीको उदाहरण दर्ज गर्न सक्छन् वा पहिलो पटक नै असफल मन्त्रीको ट्याग भिरेर बाहिरिन्छन् त्यो विषय भने हेर्न बाँकी नै छ ।

युवाले नै पाए युवा मन्त्रालयको जिम्मा, को हुन् विराज भक्त श्रेष्ठ ?

काठमाडौं । प्रतिनिधिसभाको सांसद बनेको पहिलो पटक नै मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का नेता श्रेष्ठ सांसद बनेको पहिलो पटक नै युवा तथा खेलकुद मन्त्री बनेका हुन् । यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशका सांसद रहेका उनी पछि रास्वपामा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका हुन् । काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो पहिलो इनिङ्स हो । धेरैले उनलाई सम्भावना भएको युवाकारूपमा हेरेका छन् । उनी रास्वपाको संसदीय दलको उपनेता समेत हुन् ।

‘हाइटेक’ नर्सरीमा भ्रष्टाचार, ८४ लाख ८६ हजार रुपैयाँ नोक्सानी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्नविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार रुपैयाँ बराबरको रकम हानिनोक्सानी गरेको दाबी गरिएको छ । डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्रीले सिम्ता उपभोक्ता समितिलाई भुक्तान गरेको ८४ लाख ८६ हजार रुपैयाँ असुलउपर गर्न र निजहरुमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय र बिगोबमोजिमको जरिवाना गर्न माग गरिएको अख्तियारले जनाएको छ । साथै, सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेञ्जर कमल चित्रकार र भोजप्रसाद उपाध्यायले सिम्ता उपभोक्ता समितिलाई ढुवानीबापतको रकम उपलब्ध गराउन सिफारिस गरेको भन्दै दुवैमाथि क्रमशः ७१ लाख ७७ हजार रुपैयाँ र ८ लाख ७१ हजार रुपैयाँ बिगो कायम गर्न मागदाबी गरिएको छ । सिम्ता ‘हाइटेक’ नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, सचिव चन्द्रप्रकाश थापा र कोषाध्यक्ष मीना पोखरेल हमालले झुठा बिलहरु पेस गरी डिभिजन वन कार्यालय सुर्खेतबाट भुक्तानी लिएको भन्दै निजहरुबाट पनि ८४ लाख ८६ हजार रुपैयाँ असुल गरी कैद र जरिवाना गर्न आयोगले माग गरेको छ । साथै, सिम्ता नर्सरीका लागि फर्जी कागजात बनाई उपभोक्ता समितिबाट भुक्तानी लिएको भन्दै नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जनविरुद्ध ७१ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना गर्न आयोगले मागदाबी गरेको छ । उक्त नर्सरी निर्माणको कार्य नभए पनि सिफारिस गर्ने सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी र वडा नं ५ का वडाध्यक्ष मोहनकुमार बिसीविरुद्ध पनि नर्सरी निर्माणमा मतियार बनेको भन्दै निजहरुविरुद्ध ८४ लाख ८६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।

बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् । नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त हुनुभएको थियो भने अन्य चारजना गत जेठ ७ गते नियुक्त भएका थिए । बागमती प्रदेशमा नेपाल कम्युष्टि पार्टीसहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा ९माओवादी केन्द्र० का नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्तासाझेदार दलहरु एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले सरकार पुनर्गठन गरेका थिए । सङ्घीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा (एमाले) का २७ सदस्य सहित दोस्रो ठूलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

काठमाडौं । नयाँ सत्तासमिकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने नयाँ मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने भएका हुन् । यस पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।

नक्कली थाईभाटसहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । ‘ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्’, प्रहरी प्रवक्ता ढकालले भने । रासस

ज्योति क्यापिटलले ल्यायो ‘नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको छ । उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालक देखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति फाल्गुण २४ गते देखि ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।