विकासन्युज

पदम लिम्बूको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समशेर राईले बताए । बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि निर्णय गरिसक्नुपर्ने अबण्डाको रकमसम्बन्धी सामाजिक विकास मन्त्रालयद्वारा प्रश्तावित एजेण्डालाई पास गरेको छ । मन्त्रिपरिषदबाट अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि बजेटमा रकम अपुग भएकाले थप रकम निकासा गर्ने निर्णय समेत भएकोे छ । यस्तै, अर्को नीतिगत व्यवस्था नहुन्जेलसम्मका लागि करार सेवाका कर्मचारीको म्याद थप्ने निर्णय समेत बुधवार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले भने सुरक्षित आप्रवासन स्रोत केन्द्रसम्बन्धी निर्देशिका पनि स्वीकृत गरेको जनाएको छ ।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल ९एपिएफ०ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो । एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ । कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित हात पारेको छ भने यससँगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर भएका छन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्त्वपूर्ण कुरा रहेको बताए । उनले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताएका छन् । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको जनाउँदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेलगायतले सदरमुकामबाट टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा प्रतियोगिता भएको हो । गत फागुन १८ गतेदेखि छ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो । रामपुरमा पहिलोपटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ ।

काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौं । काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी) परिचालन गर्न सुरुआत गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरेको हो । प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए । पहिलो चरणमा काठमाडौं जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त÷प्रभागबाट जिपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ । टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ । उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताए । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जिपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौं उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताए । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिँदै आएको बताए ।

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ

काठमाडौं । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् । कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताए । चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने उनको भनाइ थियो । ‘सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीको बेलामा चीनले लिएको आर्थिक नीतिले विश्वको अर्र्थतन्त्रमा केही सहयोग पुगेको थियो, नेपाल छिमेकी मुलुक भएको कारण चीनको नीतिले नेपाललाई प्रभाव पर्दैन भन्न मिल्दैन’, उनले भने । कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताए । उनले चिनियाँ राष्ट्रपति सीजिन फिङको नेपाल भ्रमणले नेपालको विकासमा केही आशा जागेको उल्लेख गरे। नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको बताए । उनले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गरे । निर्यात व्यवसायी महासङ्का अध्यक्ष शङ्कर पाण्डे, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिशचन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुली, चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेललगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन हिसाबले विकसित हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए । उनीहरूले दुई देशबीच भाषाको समस्या, चीनमा व्यापारको समयमा लेनदेनको समस्या, सामान पठाउनका लागि बोर्डरमा प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपरेको बताएका थिए । चाइना मिडिया गुप्र, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षा, नेपाल–चीन युवामैत्री सङ्घका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकाले नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई दियो समर्थन मूल्य

पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका हुन् । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको हो । पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गरे । यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ । न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने किसानमा चिसापानी च्याउ फार्म पोखरा–२२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्यबापत ११ हजार एक सय ६६ केजी च्याउको रु चार लाख ८५ हजार नौ सय ४० प्राप्त गरे । भुर्जङ्खोला च्याउ फार्म पोखरा-१९ का सुष्मा सुनार गहतराजले सात हजार पाँच सय ६० केजी च्याउको रु तीन लाख ६२ हजार नौ सय २०, शोभा अग्र्यानिक मल्टिएग्रो फार्म पोखरा-२६ का मुकुन्द खड्काले नौ हजार सात सय १४ केजी च्याउको रु तीन लाख १७ हजार ४४, ग्रिन लाइम मसरुम फार्म पोखरा-२४ का चोविन्द्रबहादुर कुँवरले रु तीन लाख एक हजार सात सय ४० पाएका छन् यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा-३३ का प्रताप सुवेदीले नौ हजार एक सय १३ केजी च्याउको रु तीन लाख आठ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा-११ का ध्रुवबहादुर थापाले पाँच हजार दुई सय २५ केजी च्याउको रु एक लाख ७४ हजार दुई सय २६, भोर्लेटार च्याउ उद्योग पोखरा(३२ का मनोरञ्जन पौडेलले छ हजार दुई सय तीन केजी च्याउको रु एक लाख ६८ हजार सात सय छ पाएका छन् । अधिकारी अग्र्यानिक च्याउ फार्म पोखरा-१४ का मीना अधिकारीले दुई हजार सात सय २४ केजी च्याउको रु ८३ हजार चार सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा-१४ का हरिमाया अधिकारीले एक हजार दुई सय ५६ केजी च्याउको रु ४९ हजार छ सय महानगरबाट समर्थन मूल्य प्राप्त गरेका छन् । यसैगरी एसके कँडेल कृषि फार्म पोखरा-२८ का सन्तोष कँडेलले तीन हजार नौ सय ५० केजी सिमीको रु ६९ हजार नौ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले तीन हजार छ सय ७० केजी सिमीको रु ६२ हजार आठ सय ९०, राति पोखरी कृषि फार्म पोखरा-२२ का अग्निमाया बरालले आठ सय २५ केजी सिमीको र एक हजार सात सय ५४ केजी गोलभेँडाको रु ३५ हजार चार सय २१, निलम कृषि फार्म पोखरा-१४ का यामबहादुर घर्तीले दुई हजार ६७ केजी गोलभेँडाको रु २३ हजार चार सय ७५ बुझे । रोशन एण्ड रोहित कृषि फार्म पोखरा-१४ का रमेश खनालले २१ हजार तीन सय १४ केजी गोलभेँडाको दुई लाख १९ हजार तीन सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा-१४ का बुद्ध गुरुङले एक हजार ७५ केजी सिमी र दुई सय ८२ केजी गोलभेँडाको रु १५ हजार पाँच सय २४ र हरियाली कृषि फार्म पोखरा-३३ का शुकदेव सुवेदीले दुई सय ९१ केजी कोदोको रु आठ हजार सात सय ३० पाए । किसानलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका किसानको साथमा रहेको बताए। ‘कृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र किसानका लागि निकै महत्त्वपूर्ण छन्,’ प्रमुख आचार्यले भने । कृषि व्यवसायमा लागेका किसान हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले व्यहोर्नुपरेको नोक्सानीमा मल्हम लगाउन महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ । रासस

भन्सार छली ल्याइएको १ सय ४० बोरा प्याज बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट १ सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् । त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताए । यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु दुई लाखबराबरको सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रनाउ भट्टले जानकारी दिए ।

शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने व्यवस्था हटाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्रपार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेकी नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदवहाली गरेकी छन् । पदवहाली गर्दै मन्त्री श्रेष्ठले मुलकको शिक्षा क्षेत्रमा प्रतिबद्ध भएर काम गर्ने बताएकी छन् । उनले सबैभन्दा पहिले सबै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहउपकुलपतिमा शिक्षामन्त्री पदेन रहने व्यवस्थालाई हटाउने निर्णय गरेकी छन् । उनले त्यो ठाउँमा शिक्षा विज्ञलाई राख्ने बताइन् । उनले गुणस्तरीय शिक्षा दिलाउन र विश्वविद्यालयमा हुने राजनीति निषेध गर्ने गरी कानुनको मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणका विरुद्ध संसददेखि सार्वजनिक मञ्चमा आफ्ना धारणा व्यक्त गर्दै आएकी थिइन् । शिक्षा क्षेत्रमा जारी अति राजनीतिकरणलाई कानुनी प्रावधानबाटै निरुत्साहित गर्न जरुरी रहेको भन्दै उनले पहिलो निर्णय पदेन पदका आवरणमा हुने राजनीतिकरण हटाउने बताएकी छिन् । उनले गरेको निर्णयमा भनिएको छ – नेपाली युवालाई नेपालमै गुणस्तरीय प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानुनअन्र्तगत स्थापना तथा सञ्चालनमा रहेको मौजुदा १३ वटा विश्वविद्यालयमध्ये ११ वटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गर्दै विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक भएकोले मौजुदा विश्वविद्यालय सम्बन्धि ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा सोहीबमोजिम सुधार गर्न आवश्यक व्यवस्थाका लागि प्रारम्भिक काम कारबाही अगाडि बढाइने छ । आफ्नो प्राथमिकता बारेमा कर्मचारीसँग बसेर छलफल गरेपछि बल्ल स्पष्ट खाका बनाउने उनले बताइन् । बुधबार अबेर राष्ट्रपति भवनमा सपथ ग्रहण गरेर सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्न आएकी श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

त्रिभुवन विमानस्थलमा चैत १९ देखि उत्तर दिशाबाट जहाज अवतरण गर्न नपाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आगामी चैत १९ देखि उत्तरी दिशाबाट जहाज अवतरण (ल्यान्ड) गराउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार ‘रनेव २०’ को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’ मा काम गर्नुपर्ने भएकाले अवतरण बन्द गर्न लागिएको हो । विमानस्थलको ३ हजार ४५ मिटर लामो रनेवको उत्तरतिरको २ सय ३६ मिटर बन्द हुने प्राधिरकणले जनाएको छ । ‘ठुला जहाजलाई रनवे नपुग्ला भन्ने हो,’ विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘साना जहाजलाई भने समस्या छैन, अर्कोतर्फ निर्माण कार्य हुँदै गर्दा निर्माण सामग्री पनि हुन सक्छन्, त्यसैले रनेव २० बन्द गर्न लागेका हौँ ।’ विमानस्थलको उत्तर क्षेत्रबाट उडान तथा अवतरण गर्न नपाइने सूचना अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत एआईपी (एरोनटीकल इन्फरमेसन पब्लिकेसन) मा प्रकाशन गरेको छ । विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।