विकासन्युज

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उक्त पदको लागि हालसम्ममा उनीहरु दुई जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै, कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहेका छन् । यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको निर्वाचन भने मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा हुने छ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।

छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन मुसिकोट नगरको निर्देशन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक/सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ । रासस

एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

काठमाडौं ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन फागुन २५ गतेदेखि फागुन २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ । देशभरिकै कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्य सहितको सहभागितामा सम्मेलन भएको थियो । उक्त सम्मेलन संस्थाको हाल सम्मकै ठूलो तथा भव्य कार्यक्रम मध्ये एक रहेको थियो । संस्थाको सञ्चालक समितिका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले आ–आफ्नो तर्फबाट स्वागत मन्तव्य राखेका थिए । उक्त सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरत सिंह थापाले लघुवित्तले गरिवी न्यूनिकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोको बारेमा प्रस्तुति दिएका थिए । उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जिवन, जगत, काम र जिवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा निकै नै रोमान्चक तरिकाले सहभागी सम्पूर्ण कर्मचारीहरुलाई निकै नै उत्प्रेरित हुने तरिकाले प्रेरणदायी प्रस्तुति दिएका थिए । उक्त शाखा प्रमुख सम्मेलनमा सहभागी भएका केहि शाखा प्रमुखहरुले लघुवित्तमा आफ्नो यात्रा, संर्घष र सफलतका विषयमा प्रस्तुति दिएका थिए । संस्था स्थापना कालदेखि निरन्तर रुपमा कार्यरत रहेका कर्मचारीहरुलाई संस्थाका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेद्वारा सम्मान गरिएको थियो । संस्थाले सम्मेलनमा सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाका विभिन्न नगरपालिकाहरुमा रहेका ५ वाट आधारभुत विद्यालयहरुका प्रधानाध्यापकज्यूहरुलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामाग्रीहरु वितरण गरेको थियो । विभिन्न शाखाबाट आएका सदस्यहरुले आफ्नो सफलताको कथा प्रस्तुत गरे पश्चात् उनीहरुको संघर्ष र सफलतामा हौसला प्रदान गर्दै सम्मानका साथ मायाको चिनो पनि प्रदान गरिएको थियो । संस्थाले देशको अर्थतन्त्रमा लघुवित्त संस्थाको योगदान, बचतको महत्व, कर्जाको सदुपयोगिता, डिजिटल बैकिङ्ग लगायतको विषयमा वित्तीय साक्षरता पु-याउने हेतुले आइतबार बिहान सौराहमा प्राभातफेरी कार्यक्रम समेत गरेको थियो ।

हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको पदमा रोहित गुप्ता नियुक्त भएका छन् । उनी टेली डिरेक्ट प्रा.लि.को तर्फबाट बाँकी कार्याकालको लागि नियुक्त भएका हुन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट राजीव मोर र शुभेच्छा खरेल नियुक्त भएका छन् । उनीहरुलाई ४ वर्षको लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जानकारी गराएको छ ।

मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ सेवा अस्थायी रुपमा बन्द रहने भएको हो ।

यी हुन् सबैभन्दा बढी निर्यात हुने २० वस्तु

काठमााडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालबाट निर्यात हुने मुख्य २० वटा वस्तुमध्ये अधिकांशको निर्यात बढेको छ । जसमा गत आवको ७ महिनाको तुलनामा जस्तापाताको निर्यात ७३ प्रतिशतले निर्यातमा वृद्धि भएको छ भने अन्य १० वस्तुको निर्यात पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको ७ महिना अवधिमा नेपालबाट ४ अर्ब ३ करोड ८४ लाख रुपैयाँ बराबरको जस्तापाता निर्यात भएकोमा चालु आवको ७ महिनामा भने निर्यात बढेर ६ अर्ब ९८ करोड ७० लाख ७० हजार रुपैयाँ को निर्यात भएको छ । जुन गत आवको तुलनामा ७३ प्रतिशतले धेरै हो । पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा नेपालबाट निर्यात हुने जस्तापाताको निर्यात क्रमशः बढ्दो परिमाणमा भएको देखिएको छ । सन् २०२१/२२ मा २ अर्ब ८४ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको जस्तापाता नेपालमा निर्यात भएको थियो भने सन् २०२२/२३ मा बढेर ७ अर्ब ७० करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समयमा नेपालबाट निर्यात हुने सबैभन्दा दोस्रो बढी मूल्यको वस्तु उनको धागो रहेको देखिएको छ । चालु आवको ७ महिनामा ६ अर्ब २७ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको उनको धागो निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ९९ करोड १७ लाख ६० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । त्यस्तै, जस्तापाता, उनको धागो बाहेक जुस, जुटका सामग्री, रेडिमेड गार्मेन्ट, ओइल केक, टेक्सटाइल, चाउचाउ, आयुर्वेदिक औषधि, अदुवा र जुत्ता-चप्पलको निर्यातमा वृद्धि भएको छ । तर, गत आवको तुलनामा पाम तेलको निर्यातमा भने भारी गिरावट भएको छ । गत आवको ७ महिनामा नेपालबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएकोमा चालु आवको ७ महिनामा भने जम्मा ३ अर्ब ५९ करोड १० लाख ९० हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । तथ्यांकअनुसार अघिल्लो आवको तुलनामामा निर्यात हुने मुख्य वस्तुहरुमा उनीको पाम तेल बाहेक कार्पेट, अलैँची, चिया, पस्मिना, हस्तनिर्मित सामग्री र रोजिनको निर्यात घट्न पुगेको छ ।

एमसीडोडोका दुई इयरबर्ड नेपालमा सार्वजनिक

काठमाडौं । एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड सार्वजनिक गरेको छ । कम्पनीले एचपी ३३०० र एचपी ३२९० इयरबड नेपालमा सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको ब्राण्ड एमसीडोडोले यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने जनाएको छ । कम्पनीका अनुसार एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ । भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरु उपलब्ध छन् । एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ । यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ । निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मुल्य ४ हजार ८८० रुपैयाँ रहेको छ । त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचको रहेको छ । एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरुले मात्र ३ हजार ७८५ रुपैयाँमा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ । इयरबर्डहरु देशभरका रिटेल स्टोरहरु तथा दराज एप मार्फत अनलाइन पनि खरिद गर्न सकिने छ ।

स्थानीयवासीका सक्रियतामा जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै

पाँचथर । पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वका हुन्छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै प्रचारप्रसारमा जोड दिइँदै छ । हुन त सबै पर्यटकीयस्थलमा बजेट पुग्न सकेको छैन भने बजेट पुगेका स्थल पनि पर्यटकको आकर्षण बनिसकेका छैनन् । तर फिदिम नगरपालिका–१३ को जेभाले भने स्थानीयवासीको सक्रियतामा धार्मिक र पर्यटकीयरुपमा विकास भइरहेको छ । फिदिम बजारबाट फिदिम–फालोट सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । फिदिम–फालोट सडकमा पर्ने फिदिम–१२ को डेरी बजारबाट कच्ची सडक हुँदै जेभालेसम्म पुग्न सकिन्छ । स–साना थुम्काको मध्यम टाकुरो, विशेष प्रकारका चट्टानहरुको सानो पहाड, खोचमा गुप्तेश्वर महादेव स्थानले सज्जित छ जेभाले । जेभालेबाट माथिपट्टि बूढीथाम धार्मिकस्थल छ । फिदिम–१३ को झुरुप्प घर रहेको सुन्दर बस्तीको शीरमा जेभाले सजिएर बसेको छ । जेभालेबाट फिदिम नगरपालिकाका अधिकांश वडासहित पाँचथर, तेह्रथुम र धनकुटाका सयौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । पाथीभरादेखि कुम्भकर्ण हिमालसम्म दूरदृश्यका लागि पनि जेभाले उपयुक्त छ । अहिले जेभाले गुराँस र चापको सुगन्धले मगमगाएको छ । हातमा गुराँस टिपेर लुङरुपाको बस्तीमाथि हल्लाउँदा कम आनन्द पक्कै हुँदैन । गुप्तेश्वर महादेव स्थान दर्शनार्थीको मनोकाङ्क्षा पूरा गर्न तम्तयार भए झैं लाग्छ यहाँ पुग्दा । तर यति आकर्षणले स्थानीयवासीलाई पुगेको छैन् । अहिले त जेभाले थुम्कैपिच्छे संरचना बनाउन भ्याइनभ्याइ छ । कच्ची सडक हुँदै गुप्तेश्वर महादेव स्थानको प्रवेशद्वारमै पुगिन्छ । माथिपट्टि केही घर रहेको पञ्चमी भञ्ज्याङ पर्यटकको स्वागतमा तम्तयार देखिन्छ । बस्तीमा सफाचट सार्वजनिक शौचालय छ । दुई टाकुराको बीचमा अहिले आकर्षक खेलमैदान निर्माण भइरहेको छ । खुला सभाकक्ष निर्माण भइसकेको छ भने खेल मैदानसँगै शौचालय र खेल गतिविधि सञ्चालन गर्ने सानो कार्यालय बनिरहेको छ । यही निर्माण कार्यमा धमाधम श्रम गरिरहेको भेटिनुहुन्छ, गजेन्द्र राई । जेभाले बदल्ने हुटहुटीले हरबखत पिरोलिएको कोही मान्छे यहाँ भेटिन्छ त्यो गजेन्द्र राई नै हो । लामो समय शिक्षण पेसामा आबद्ध भई अहिले गाउँ बदल्न कस्सिएका गजेन्द्र राईबारे जेभालेकै होमबहादुर रिमाल भन्छन्, ‘गजेन्द्र सरले पढाउन छोडेपछि हाम्रो गाउँ फेरिएको छ । हिजो कोही मान्छे यहाँ आइपुग्दैन थिए । आज दैनिकजसो घुमघाम गर्ने मान्छे आउन थालेका छन् । बर्सेनि ठूलो मेला लागिरहेको छ ।’ रिमालले भनेजस्तै जेभालेमा एक व्यवस्थित खेलमैदान निर्माण भइरहेको छ । गुप्तेश्वर महादेव स्थानदेखि वनभोज खान तयार पारिएको हुक्मा डाँडासम्म आकर्षक पदमार्ग निर्माण गरिएको छ । हुक्मा डाँडामा वनभोज खान आवश्यक सबै प्रबन्ध मिलाइएको छ । गुप्तेश्वर महादेव स्थानमा प्राकृतिकरुपमा भगवान् शिव र पार्वतीसँग सम्बन्धित दर्जनौँ आकृति रहेका छन् । धार्मिक दृष्टिले यसको विशेष महत्व रहेको यस क्षेत्रको विकासमा सक्रिय गजेन्द्र राईको भनाई छ । उनका अनुसार गुप्तेश्वर महादेव स्थानमा जेभाले नै पुख्र्यौली घर भई हाल अमेरिका बसोबास गर्ने नारद रिमालको परिवारले ३५ लाख रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिदिएका छन् । अब गुप्तेश्वर महादेवको महिमा प्रचारप्रसारको आवश्यकता रहेको राईको भनाइ छ । जेभालेमा व्यवस्थित खेल मैदान निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । यस वर्ष कोशी प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा खेलमैदान व्यवस्थित गर्ने काम भइरहेको राईले बताए । ‘अहिले खेलमैदान मात्रै भएर पुग्छ भन्ने सोचबाट माथि उठेर खेल मैदानसँगै पक्की शौचालय र कार्यालयको व्यवस्था गर्न लागेका छौँ’, राईले भने, ‘शौचालय नहुँदा खेलाडी समस्या पर्ने गरेको देखेर यही काम अन्यत्र पनि होस् भनेर खेलमैदानसँगै खेलाडीका लागि शौचालय र कार्यालय बनाउन लागेका हौँ ।’ विसं २०७५ मा फिदिम नगरपालिकाबाट विनियोजित सात लाख रुपैयाँमा खेल मैदान विस्तार गरी खेल्न लायक बनाइएको थियो । उसो त उक्त खेल मैदान निर्माणको आफ्नै कथा रहेको राई बताउँछन् । शान्तिदीप युवा क्लब र नवआशिष युवा मञ्चले २०६५ सालमा देउसी खेलेर खेल मैदान निर्माणका लागि चार रोपनी जग्गा खरिद गरेका थिए । यहाँ रहेको सिंहसिद्ध आविका नाममा रहेको जग्गामा सोही वर्षबाट श्रमदानमार्फत खेलमैदान निर्माण थालिएको थियो । यस पटक भने खेल मैदानसँगै दुवैतर्फको पहाड काटेर दर्शकका लागिसमेत सुविधा हुने व्यवस्था स्थानीयवासीले गर्न लागेका छन् । खेल मैदानसँगै मेला महोत्सवमा स्टल तथा होटल स्थापना गर्ने ठाउँको व्यवस्था गरिएको छ । वनभोज खाने व्यवस्था मिलाइएको हुक्मा डाँडामा अन्यत्रजस्तो समस्या छैन । यहाँसम्म सडक पुर्याइएको छ भने वनभोज खान आउनेले खानेकुराबाहेक कुनै सामग्री नल्याए पनि वनभोज खान सक्ने प्रबन्ध स्थानीयवासीले मिलाएका छन् । ठाउँ–ठाउँमा डस्बिन राखेर कहीँकतै फोहर हुन नदिने अभियान चलाइएको छ । आठ लाख रुपैयाँको लगानीमा गुप्तेश्वर महादेव स्थानबाट पदमार्ग निर्माण गरी हुक्मा डाँडासम्म पु¥याइएको छ । विगतमा बाघ भालु भुक्ने भएकाले राई वान्तवा भाषाबाट उक्त स्थानको नाम हुक्मा डाँडा भनिएको राई बताउँछन् । वनभोजस्थलमा शौचालय, खानेपानी र भाँडाकुँडाको व्यवस्था गरिएको छ भने जनश्रमदान र स्थानीयवासीको लगानीमा विद्युत्समेत जडान गरिएको छ । ‘पिकनिक खाँदा आवश्यक पर्ने चम्चादेखि मासु काट्ने सामग्रीसम्म हामीले प्रबन्ध गरिदिएका छौँ, त्यो पनि निःशुल्क’, यहाँको विकास सक्रिय गजेन्द्र राईले भने, ‘शौचालय र वनभोजका लागि आवश्यक सामग्री भण्डार गृहमा जस्तापाता लगाउन बाँकी छ ।’ नगरपालिकाले डिजेल मात्रै उपलब्ध गराइदिँदा स्थानीयवासीले स्काभेटर प्रयोग गरी एक हजार २०० मिटर सडक निर्माण गरेर हुक्मा डाँडासम्म सडक पुर्याएका छन् । दृश्यावलोकनका लागि हुक्मा डाँडा सबैभन्दा उपयुक्त छ । ‘सफा मौसम हुँदा चारैतिर देख्न सकिन्छ । चाप र गुराँस पाइने, चराचुरुङ्गीको आवाजले गुञ्जिने ठाउँ हो यो’, राईले भने । पञ्चमी भञ्ज्याङबाट हुक्मा डाँडा जाने पदमार्गमा निकै आकर्षक चट्टानबाटिका (रक गार्डेन) रहेको छ । यहाँ फरक–फरक आकृतिका ढुङ्गा रहेका छन् भने ढुङ्गाको चेपमा गुफा रहेका छन् । यहाँ पेनगुइन, खरायोको कान जस्ता आकृतिका ढुङ्गा, ढुङ्गामै रुख अडेकोसमेत देख्न पाइन्छ । ‘यस स्थानको प्रवद्र्धनका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्छ । यसका लागि आकर्षक डिजाइन र बजेटको आवश्यकता छ’, राईले भने । प्रकृतिले सुन्दरता भरेको र स्थानीयवासी गजेन्द्र राईको अगुवाइमा सम्वद्र्धन थालिएको जेभालेमा पर्यटक आउन थालेपछि स्थानीयवासी दङ्ग छन् । स्थानीयवासी होमबहादुर रिमालले भने, ‘यहाँ मान्छेहरु घुम्न आएर बजार लाग्न थालेको छ । पहिले चिहानघारी र तर्साउनेजस्तो छ भनेर मान्छे आउन डराउँथे । गजेन्द्र सरले स्कुल छोडेर आएपछि यहाँ सबै कुराको मुहार फेरोको छ ।’ समाजका लागि अहोरात्र खटेका गजेन्द्र सिदिन माध्यमिक विद्यालय फालेलुङमा माध्यमिक तहको अङ्ग्रेजी शिक्षक थिए । तर समाजमा केही काम गर्न आग्रह गर्दा आफूलाई शिक्षकका रुपमा मात्रै लिने भएपछि ०७४ सालको स्थानीय तह निर्वाचनपूर्व उनले शिक्षण पेसाबाट राजीनामा दिए । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका राईले चुनाव जित्न त सकेनन् तर गाउँको विकासको अगुवाइ भने गरिरहेका छन् । ‘धेरै साथीभाइले हार्ने चुनावका लागि उम्मेदवार बन्न किन पेृसा छाडेको पनि भने । तर गाउँको विकास गर्ने मेरो सपनामा मेरो पेसा बाधक बनेको थियो’, उनले सम्झिए । भव्य मेला लगाएर केही रकम सङ्कलन गरी सामाजिक क्षेत्रमा खर्चने, सार्वजनिक शौचालयलाई नमूना बनाउने, सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्नेजस्ता अभियान चलाएका राईको अगुवाइमा यस स्थानमा ०५६ सालमै अनिवार्यरुपमा शौचालय निर्माण र प्रयोग गर्ने अभियान चलेको स्थानीयवासी बताउँछन् । सीमित बजेटलाई समुचित प्रयोग गरेर पर्यटक तान्न थालेको जेभाले विशेषत आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । रासस