विकासन्युज

गर्भावस्थामा सिँढी चढ्नु कति सुरक्षित ?

काठमाडों । जब महिलाहरू गर्भावस्थामा हुन्छन् तब चिकित्सकहरू शारीरिकरूपमा सक्रिय रहन सल्लाह दिन्छन् । अहिले धेरैजसो महिलाहरू स्वस्थ जीवनशैली पालना गर्दैनन् । यस्तो अवस्थामा उनीहरूको गर्भावस्थामा नराम्रो असर पर्छ । धेरैजसो महिला घरको भन्दा बजारको खानेकुरा खान मन पराउँछन् । यस्ता खानेकुराले महिलामात्र होइन बच्चाको विकासमा समेत नकारात्मक असर पार्छ । बच्चाले उचित पोषण नपाएमा उसको मानसिक तथा शारीरिक विकास रोकिने डर हुन्छ । उचित पोषणको अभावमा गर्भमा रहेको बच्चामा स्वास्थ्य समस्या देखिने सम्भावना हुन्छ । त्यसैले चिकित्सकहरू गर्भवती महिलालाई नियमितरूपमा शारीरिकरूपमा सक्रिय रहन सल्लाह दिन्छन् । यसले सामान्य डेलिभरीमा समेत मद्दत पुग्ने उनीहरूको भनाइ छ । कतिपय महिलाहरू सुत्केरी हुनुभन्दा केही समयअघि माथि र तल धेरै सिँढीहरू प्रयोग गर्छन् । यसो गर्दा नर्मल बच्चा जन्माउन सजिलो हुने उनीहरूको विश्वास छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि सिँढी चढ्दा साँच्चै सामान्य प्रसव हुन्छ वा यो मिथकमात्र हो ? यसबारे थप जानकारी पाउनुहोस् । के सिँढी चढ्दा सामान्य डेलिभरीमा सहयोग पुग्छ ? यदि महिला शारीरिकरूपमा फिट छिन् र गर्भावस्थाको कारणले कुनै शारीरिक समस्या छैन भने गर्भावस्थामा सिँढी चढ्दा कुनै समस्या हुँदैन । उनी बिना हिचकिचाहट तल र माथि गर्न सिँढी प्रयोग गर्न सक्छन् । वृन्दावन र नयाँ दिल्लीमा रहेको मदर्स ल्याप आइभिएफ सेन्टरका मेडिकल डाइरेक्टर, स्त्री रोग तथा आईभीएफ विशेषज्ञ डा. शोभा गुप्ताका अनुसार गर्भावस्थाको नवौं महिनामा सिँढी प्रयोग गर्न कुनै समस्या हुँदैन । उनी नवौं महिनाबाट गुज्रिरहेका महिलाहरूको लागि सिँढी चढ्नु धेरै राम्रो रहेको बताउँछिन् । तर, कुनै किसिमको शारीरिक समस्या नहोस् भन्ने कुरामा भने ख्याल राख्नुपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाले सामान्य मानिसजस्तै सिँढीमा छिटो हिँड्नु हुँदैन । महिलाले यस्तो अवस्थामा रेलिङको सहारा लिएर बिस्तारै सिँढी चढ्नुपर्छ । यसो हुँदा जोखिम कम हुने गर्छ । डा. शोभा गर्भवती महिलालाई व्यायाम गर्न पनि सल्लाह दिन्छिन् । उनी भन्छन्, ‘नियमित व्यायाम गर्दा सामान्य प्रसवको सम्भावना बढ्छ ।’ हिँड्नेजस्ता हल्का व्यायाम गर्भवती महिलाका लागि धेरै फाइदाजनक हुन्छ । तर, कुनै पनि प्रकारको व्यायाम गर्दा हतार भने गर्न नहुनेमा उनको जोड छ । व्यायामले तनाव मुक्त गर्छ, शरीरलाई लचिलो बनाउँछ र रक्तसञ्चार सुधार गर्छ । यसरी हेर्दा व्यायामले सामान्य प्रसवको सम्भावना बढाउँछ । गर्भावस्थामा कस्ता गतिविधिहरू गर्नु हुँदैन ? गर्भावस्थाको समयमा महिलाहरूले धेरै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहनुपर्छ । यस्तो बेला के गर्न हुन्छ के हुँदैन यसबारे थाहा पाइराखौँ । एकै पटक धेरै सिँढीहरू चढ्न हुँदैन । छिटो पाइलाहरू लिएर कहिल्यै सिँढीहरू चढ्नु हुँदैन । तीव्र कसरत र भारी लिफ्टिङ गर्न हुँदैन । व्यायाम गर्दा शरीर दुख्ने वा सास फेर्न समस्या हुने गरेर गर्नु हुँदैन । यदि गर्भावस्थामा रगत बगिरहेको छ भने यस्तो बेला व्यायाम गर्न हुँदैन । यस्तो बेला तुरुन्तै डाक्टरसँग परामर्श लिनपर्छ । यदि कुनै महिलाको रक्तचाप कम छ, पहिले गर्भपात भएको छ भने व्यायाम वा सिँढी चढ्ने विषयमा डाक्टरसँग परामर्श लिनुपर्छ । गर्भावस्थामा सिँढी चढ्न र ओर्लिनु एकदमै सुरक्षित हुन्छ । तर, यो अवधिमा महिला होसियार हुनुपर्छ । एजेन्सी 

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । ग्याल्पो ल्होछारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायलाई पर्व शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले शुभकामना दिंदै ग्याल्पो ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, उपराष्ट्रपति यादवले शुभकामना दिंदै ग्याल्पो ल्होछार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर पुग्यो

जेरुसेलम । इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३ अर्ब अमेरिकी डलर) रहेको सरकारी तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ । एजेन्सी

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल नियुक्त गरेको छ । अब यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ । सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो । रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

पोखराको जानकारी दिन ‘पोखरा घर’, पर्यटकीयस्थल बन्ने विश्वास

कास्की । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ । यसको लागत रु पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ । भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताए । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताए । उनका अनुसार पोखराका आउनेका लागि यो घर एउटा महत्वपूर्णस्थल बन्नेछ । ‘पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दलीसमेतको मौलिक बन्ने छ । यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थासँगनै सहकार्य गर्नेछौँ,’ महानगर प्रमुख आचार्यले भने । पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाए । उनले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गरे । उनले भने, ‘महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ । पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ ।’ पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताए । यसैगरी महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले रक्तदान गरे ।

कमाउने थलो बने मेला-महोत्सव, स्थानीय उत्पादकलाई भ्याईनभ्याई

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज सङ्घले आयोजना गरेको मेलामा उनीहरूको दैनिकी व्यस्त बनाएको छ । ‘मेला प्रदर्शनी कक्ष थापेका छौँ । गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ,’ उनले भनिन्, ‘दुनाटपरी निकै रुचाइएको छ । यसले बजारीकरणमा टेवा पुर्‍याएको छ ।’ विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ । गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात संकलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ । ‘दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन् । बिहानै जङ्गल गएर सालको पात टिपिन्छ,’ उनले भनिन्, ‘पात सुकाएर पछि सिन्काले जोडिन्छ । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ ।’ बैतडीको दोगडाकेदार गाउँपालिका–७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् । उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्यााएका छन् । ‘कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ,’ उनले भने, ‘कतिपय वस्तु स्थानीयबाट संकलन गरेर ल्याउँछौँ । प्रचारप्रसार राम्रो भएको छ । बिक्री पनि राम्रै छ ।’ सङ्घको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ । मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरे । ‘स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘दिनहुँ सयौँले अवलोकन गरिरहनुभएको छ । यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ ।’ पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ । त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन् । ‘मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो । एक याममा तीन÷चार लाख आम्दानी हुन्छ,’ कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीका अञ्जुराज डगौँरा भन्नुहुन्छ, ‘मेला महोत्सव हाम्रो लागि कमाउने थलोजस्तै बनेको छ ।’

तनहुँ जलविद्युतमा १७ सय बढी स्थानीयलाई रोजगारी, भौतिक प्रगति ५१.४४ प्रतिशत

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीन मै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘तनहुँकै सबैभन्दा ठूलो आयोजनाको काममा स्थानीयलाई नै प्राथमिकता दिएका हौँ ।’ उनका अनुसार आयोजनाबाट प्रभावित घरधुरीमध्येबाट ३२, प्रभावित वडाबाट एक हजार पाँच सय ७७ र प्रभावित क्षेत्रबाट एक सय ६१ गरी तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये प्याकेज १ मा एक सय ३०, प्याकेज २ मा एक सय ९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् । त्यस्तै तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पिएससीतर्फ नौ र सिडिपीमा एक हजार तीन सय ६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँ बाहिरका एक हजार ४१ र विदेशी एक सय ४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ । सबैमा गरी कूल दुई हजार नौ सय ५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये दुई हजार छ सय ६३ पुरुष छन् भने दुई सय ९३ महिला छन् । ५१ दशमलव ४४ भौतिक, ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति निर्माण सुरु भएको पाँच वर्षको अवधिमा आयोजनाले ५१ दशमलव ४४ प्रतिशत भौतिक प्रगति गरेको छ । यस्तै ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीन प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ । श्रेष्ठका अनुसार प्याकेज १ मा २७ दशमलव ७५ प्रतिशत भौतिक र २३ दशमलव ८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१ दशमलव १४ प्रतिशत भौतिक र ४४ दशमलव शून्य नौ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ मा ७६ दशमलव पाँच प्रतिशत भौतिक र ७२ दशमलव छ प्रतिशत आर्थिक प्रगति हासिल भएको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।’ आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनले बताए । आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खन्ने काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव सात किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७४ टावरहरुको जग हालिएको छ । सोह्र टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छ भने तीन स्थानमा जारी छ । यस अवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरण छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुई सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस