ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने
काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए । महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए । राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासघका १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेका छन् । छैठौं महाधिवेशन तथा १५ औ वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने महासंघले जनाएको छ। साथै वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।
नुवाकोटमा बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ
त्रिशूली । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । ‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो’, प्रनाउ खड्काले भने, ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।’ प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् । रासस
व्यक्तिगत निक्षेपकर्ताको ब्याज घट्दा संस्थागतको बढ्यो, यस्तो छ नयाँ ब्याजदर
काठमाडौं । चैत महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले चैतमा पनि घटाएका हुन् । बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ । तर, नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगतको अन्तर १ प्रतिशत हुने व्यवस्था गरेपछि केही बैंकको संस्थागततर्फको ब्याजदर भनेर बढेको देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने संस्थागततर्फ भने ०.२८ प्रतिशतले ब्याजदर बढेको छ । प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर ७.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ०.८५ प्रतिशत बढेर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कृषि विकास बैंकको संस्थागततर्फ ०.०७ प्रतिशत बढेर ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ०.७८ प्रतिशत घटेर ५.६६६१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि फागुनमा बैंकले संस्थागततर्फ ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ १.०९ प्रतिशत घटाएर ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो । कुमारी बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५१ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बढाएर ६.५१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण थियो । एनएमबि बैंकले व्यक्तिगततर्फ १.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज प्रदान गरेको थियो । प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.७४ प्रतिशत बढाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले फागुनमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो । नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुनमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । हिमालयन बैंकले व्यक्तिगततर्फ ०.६५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटेर ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । एभरेष्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ६.५ प्रतिशत र संस्थागततर्फ ०.५ पतिशत घटाएर ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । मछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.३५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो । नबिल बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत बढाएर ८.५४८ प्रतिशत र संस्थागततर्फ १.५५ प्रतिशत बढाएर ७.५४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।
यसरी बनाउन सकिन्छ खुट्टालाई सुन्दर र चम्किलो
काठमाडौं । चिल्लो र चम्किलो खुट्टा कसलाई मन पर्दैन र ? यस्तो अवस्थामा महिलाहरूले आफ्नो खुट्टालाई सुन्दर र चम्किलो बनाउन सैलुनमा हजारौं रुपैयाँ खर्च गरेर स्पा र पेडीक्योर गराउँछन् । तर, समयको अभाव र व्यस्तताका कारण हरेक महिना आफ्नो खुट्टालाई सुन्दर बनाउन सैलुन जान सकिँदैन । यस्तो अवस्थामा छालाको हेरचाह विशेषज्ञ अञ्जनी भोजले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् र चम्किलो खुट्टा बनाउन पेडीक्योर गर्ने तरिका पनि सेयर गरेकी छिन् । चरण १– बेकिंग सोडा पानीमा खुट्टा भिजाउनुहोस् खुट्टा चम्किलो बनाउन घरमै पेडीक्योर गर्दा पहिले आफ्नो खुट्टाको फोहोर सफा गरेर सुरु गर्नुहोस् । सबैभन्दा पहिले तातो पानीको टबमा १ चम्चा बेकिंग सोडा र १ चम्चा स्याम्पु हालेर राम्ररी मिलाउनुहोस् । त्यसपछि आफ्नो खुट्टा त्यस पानीमा डुबाउनुहोस् र लगभग ५ मिनेट भिज्न दिनुहोस्। बेकिंग सोडाले तपाईंको छालाको मृत कोशिकाहरू हटाउन मद्दत गर्दछ र तपाईंको खुट्टालाई नरम र ताजा देखाउन मद्दत गर्दछ । चरण २– टमाटरले आफ्नो खुट्टा स्क्रब गर्नुहोस् खुट्टा धोएपछि टमाटर स्क्रबले एक्सफोलिएट गर्नुहोस् । यसका लागि एक पाकेको टमाटर लिनुहोस् र यसलाई आधा काट्नुहोस् । अब टमाटरको काटिएको टुक्रामा अलिकति नुन लगाउनुहोस र बिस्तारै खुट्टा दल्नुहोस् । टमाटरमा पाइने प्राकृतिक एसिडले छालालाई चम्किलो बनाउन मद्दत गर्छ भने नुनले छालाको मृत कोशिकाहरूलाई हटाउन मद्दत गर्छ। यसपछि खुट्टा धुनुहोस् । चरण ३– खुट्टामा गहुँको पीठो र दहीको प्याक लगाउनुहोस् यस चरणमा गहुँको पीठो, दही र महको प्याक तयार गर्नुहोस् र त्यसपछि यसलाई आफ्नो खुट्टामा बराबर मात्रामा लगाउनुहोस् । १५ मिनेटपछि खुट्टा पानीले राम्ररी धुनुहोस् र तौलियाले पुछ्नुहोस् । चरण ४– खुट्टा मोइस्चराइज गर्नुहोस् खुट्टा धोएर सुकाइसकेपछि छालालाई हाइड्रेटेड राख्नको लागि मोइस्चराइजर वा शरीरको तेलले खुट्टामा मालिस गर्नुहोस् । घरमा यसरी पेडीक्योर गर्नाले खुट्टाको छालाको मृत कोशिकाहरू हटाउन मद्दत गर्छ, जसले तपाईंको खुट्टा स्वस्थ र चम्किलो देखिन्छ। यति मात्र होइन यसले खुट्टाको टेनिङ हटाउन र हाइड्रेटेड राख्न पनि मद्दत गर्छ । एजेन्सी
खरिदार पदका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं । लोक सेवा आयोगले खरिदारमा दरखास्त आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरहका पदमा आवेदन आह्वान गरेको हो । सूचनामा आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने उल्लेख छ । आयोगका अनुसार लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने छ । यही चैत २० सम्म दरखास्त दिन सकिने छ । त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले परीक्षा मिति पनि तोकेको छ । जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सीप परीक्षण आगामी वैशाख २९ गते बिहान ११ बजे हुनेछ । त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने आयोगको सूचनामा छ ।
चैत महिनाका लागि कृषि विकास बैंकले घटायो ब्याजदर
काठमाडौं । कृषि विकास बैंकले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा भने ६.६६६१ प्रतिशत तोकेको छ । यसअघि फागुनमा संस्थागततर्फ ४.९४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा भने स्थिर राख्दै न्यूनतम ३ प्रतिशतदेखि ४.७६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ५.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
नवलपरासी पूर्वको ‘नमुना’ सदरमुकाम : शिलान्यासको चार वर्षपछि संरचना निर्माण सुरु
मध्यविन्दु । शिलान्यास गरिएको चार वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु हुने भएको छ । जिल्लाको नमूना सदरमुकाममा संरचना निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि संरचना निर्माणको प्रक्रिया सुरु भएको हो । पहिलो चरणमा सदरमुकामस्थलमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुईवटा एकीकृत प्रशासनिक भवन निर्माण गर्ने सरोकारवालाको बैठकबाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । ‘पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण विभाग चितवन कार्यालयमार्फत खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ,’ उनले भनिन्, ‘दोस्रो चरणमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार, सुधारगृह, यातायात सेवा कार्यालय, पूर्वाधार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालय र अन्य कार्यालयको प्राथमिकताका आधारमा कार्यालय निर्माण गर्ने निर्णय भएको छ ।’ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य तत्काल सुरु गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । जिल्ला प्रशासन कार्यालयसहित दुईवटा एकीकृत सेवा कार्यालय भवन निर्माणका लागि १०–१५ दिनमा बोलपत्र प्रकाशन हुने र त्यसको दुई–अढाई महिनामा भवन निर्माणकार्य सुरु हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाले बताए । उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्र जिल्ला प्रशासन कार्यालयसहितको तीनवटा कार्यालय निर्माण सक्नेगरी काम अगाडि बढाइने छ । ‘दुईवटा एकीकृत सेवा कार्यालयमा तत्कालका लागि चारवटा कार्यालय रहन सक्नेछन्,’ उनले भनिन्, ‘सरकारले हालै सुनिश्चित गरेको रु ५० करोडबाट जिल्ला प्रशासन कार्यालयसहितको तीनवटा कार्यालय बनाइने छ ।’ विसं २०७६ वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नमूना सदरमुकाममा अहिलेसम्म बाटो संरचना निर्माण गरी गिट्टी बिछ्याउनेबाहेकका काम हुनसकेको छैन । रकम थोरै भएको र प्रक्रिया अगाडि बढाउनसमेत समस्या भएको भन्दै सघन सहरी तथा भवन निमार्ण विभागले अहिलेसम्म भवन निर्माणको कार्य सुरु गरेको थिएन । जिल्लाको सदरमुकाम कावासोती नगरपालिका–३ मा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी नमूना सदरमुकामको रूपमा प्रक्रिया अगाडि बढाइएको हो । नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घमातहतका १६, प्रदेशमातहतका ११ कार्यालय निर्माण गर्नेगरी प्रारम्भिक गुरुयोजना तयार पारिएको छ । साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, उद्यानलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ । नमूना सदरमुकाम निर्माणकार्य अलपत्र हुँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेका सङ्घ र प्रदेशमातहतका सरकारी कार्यालयले वार्षिक एक करोड रुपैयाँभन्दा बढी रकम भाडा तिरेर कार्यालय राख्न बाध्य भएका छन् ।
लक्ष्मी सनराइज बैंकको ब्याजदर घट्यो
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि फागुनमा साधारण बचतमा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर ९.९९ प्रतिशत र स्प्रेडदर ४.४० प्रतिशत छ ।