तोलामा १ हजारले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिनिधिसभा : कार्यव्यवस्था परामर्श समिति बैठक
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीले बुधबार लिने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो । बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक/सचेतकहरूको उपस्थिति रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ । सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो ।
बगरखेतीमा आकर्षित हुँदै बाँकेका किसान
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी–५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन् । उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताए । ‘पहिला थोरै थोरै खेती गर्ने गरेका थियाँै, अहिले सामूहिक र व्यक्तिगतरूपमा बगरखेती गर्न लागिपरेका छौँ’, उनले भने, ‘अहिले तर्बुज, खर्बुज र लहरे तरकारी लौका, घिरौला काँक्रालगायतका तरकारी रोपेका छौँ ।’ राप्ती सोनारी–५ बिनौनास्थित ललहीवासीले सामूहिक बगरखेती गर्न थारूको अध्यक्षतामा १६ सदस्यीय ललही बगरखेती समूह गठन गरेका छन् । सामूहिकरूपमा खेती गर्दा सबै कुरामा सहज र रमाइलो हुने गरेको समूहकी सचिव सीता चौधरीले बताए । समूह गठन भएपछि गाउँका सबैजसो दाजुभाइ तथा दिदीबहिनीले खेर गइरहेको बगरमा खेती गर्नेतर्फ चासो दिन थालेको उनको भनाइ छ । समूहका अध्यक्ष थारुले पहिलादेखि नै व्यावसायिकरूपमा बगरमा तर्बुजलगायत तरकारीखेती फलाउँदै आएका छन् । उनले गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको बताए । राप्ती सोनारी –१ जरुवा निवासी मानबहादुर रानामगरले पनि बगरखेती गर्दै आएका छन् । नदीले कटान गरेको बगरमा तरकारी फल्न थालेपछि अहिले गाउँका अन्य साथीभाइसमेत बगरखेतीतर्फ आकर्षित भएको उनले बताए । राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई पाँच लाख रुपैयाँसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले बताए । यस वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही बगरखेती समूह र वडा नं १ का बगरखेती किसान मानबहादर रानामगरलाई पाँच लाख रुपैयाँ बराबरको अनुदानको सम्झौता गरिएको उनले जानकारी दिए । बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे। रासस
‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय’ भन्दै रेशम चौधरीले लेखे स्टाटस
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सत्ता गठबन्धनलाई समर्थन गर्ने वा नगर्ने विषयमा आफ्नी श्रीमती रञ्जिता श्रेष्ठसँग मतभेद भएपछि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले आफूले आफ्नी श्रीमतीलाई सम्झाउन असफल भएको भन्दै आफ्ना मतदातासँग समेत माफी मागेका छन् । चौधरीले आफ्नो पार्टी कुनै पनि गठबन्धनको पछि लाग्न नहुने भन्दै श्रीमतीलाई सम्झाउन खोजेको तर, असफल भएको बताएका छन् । ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ । सन्दर्भ घर झगडा हुँदै होइन,बिषय राजनैतिक हो । मैले जानेको बुझेको यहि हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन र ? तर एकीकृत समाजबादी, जसपा,नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ ? त्यसैले कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडी नलागौँ । नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन,भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धान्त अनुरुप चलौँ । कुरो रह्यो बुढाबुढिको । म उनलाई सम्झाउन कैलाली बाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ ( प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो । मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफुले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदय देखि चाहनेवाला हुन् । मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ । हो,जेलमा मैले लेखेको बिधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि बिधान लेखेको हुँ,दुरुपयोगका लागि होइन । अहिले बिधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ,महाधिवेशन बिधान भन्दा माथी हुन्छ । सत्ता को सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केहिदिनमा अवस्य न्याय देला । तर, याद रहोस्,केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ । सबैलाई लागेको होला,केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ । मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ,त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो, हार होईन । मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’
कर्णाली पुलमा आगलागी भएपछि ७ सदस्यीय प्राविधिक टोलीले थाल्यो परीक्षण
लम्की । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो । पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताए । ‘आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ’ उनले भने । प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने उनले बताए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियो । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो । सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गरेका थिए । गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ । रासस
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाखसम्म लाग्छ भनी दुई जनासँग ६० लाख रुपैयाँ लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए । रासस
अर्थतन्त्र सुधारमा तत्काल पहल गर्न अर्थमन्त्रीलाई उद्योग परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई दिँदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए । उनले भारतले अवलम्बन गरेको जिएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्दै बहुदर भ्याट प्रणालीमा जान आग्रह गरे । अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरूको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरू प्रभावित भइरहेकोतर्फ ध्यानाकर्षण गराए । कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यावसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरूलाई ‘डिक्रिमिनलाइज्ड’ गरिनुपर्ने आवश्यकता रहेको बताए । सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए । प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिएको भन्दै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागु गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ। यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन’ मन्त्री पुनले भने । अर्थतन्त्र केही दबाबमा रहेको भन्दै निर्माण व्यवसायीहरूको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०-४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उनले बताए । बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक रूपमा लिँदै उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रूपमा छलफल गर्ने बताए । सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, स्थायी आमन्त्रित सदस्य गोकुल भण्डारी, गर्भनिङ काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, शिवरतन शारडा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने
काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए । महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए । राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासघका १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेका छन् । छैठौं महाधिवेशन तथा १५ औ वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने महासंघले जनाएको छ। साथै वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।