बंगलादेशसँग विद्युत व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत व्यापारको नजिक पुगेको बताए । ‘चीनतिर पनि विद्युत व्यापारको ढोका खुल्दै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।’ जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उनले संयुक्तराष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको समेत स्मरण गरे । ‘हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यति उपलब्धि पर्याप्त थिएनन् ।’
सिटिजन्स बैंकले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेका छन् । सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो । बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको हो । वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ । समरोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।
क्यामेरा बन्द गर्ने हो भने प्रधानमन्त्रीको विपक्षमा दुई तिहाई हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा क्यामेरा बन्द गर्ने हो भने प्रचण्डको विरुद्धमा दुई तिहाई विपक्षमा हुने बताएका छन् । संसदमा सम्बोधन गर्दै महामन्त्री शर्माले सो बताएका हुन् । ‘राजनीतिक रुपमा अविश्वास छ, गणीतिय रुपमा विश्वासको जोहो हुँदैछ’, महामन्त्री शर्माले भने, ‘यहाँ आँखा चिम्लिन लगाउने हो भने, टेलिभिजनका क्यामेराहरु बन्द गर्ने हो भने सम्माननीय प्रधानमन्त्री ज्यू अघिल्लो पटक झण्डै दुई तिहाईको विश्वास तपाईंसँग थियो, आज क्यामेराहरु बन्द गर्ने हो भने सत्तापक्षमा छौं त्यसैले टेबुल ठोक्नुहुँदैन भन्ने कुराबाट माथि उठ्ने हो भने आज झण्डै दुई तिहाईको विश्वास तपाईंबाट फिर्ता भएको छ भन्ने कुरा म यहाँ सत्ता पक्षमा बसेका साथीहरुको अनुहार पढेर भन्न सक्छु ।’ साथै उनले नेपाली कांग्रेस र एमाले मिलेमा प्रचण्डको के हालत होला भनेर पनि प्रश्न गरेका छन् । ‘पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभिए भने नी, धोका खाएकाहरु एक हौं भनेर नारा लाग्यो भने नी तब राजनेताको गद्दीको हालत के होला नी सम्माननीय प्रधानमन्त्री ज्यू’, उनले भने ।
टाटा र पीएसएमसीले ९ खर्ब लगानीमा सेमिकन्डक्टर चिप उद्योग खोल्दै
काठमाडौं । भारतीय व्यावसायिक घराना टाटा समूह र पीएसएमसीले ९ खर्ब १० अर्ब रुपैयाँ लगानीमा मेगा सेमिकन्डक्टर फेब्रिकेसन सुविधा निर्माण गर्ने निर्णय गरेका छन् । टाटा समूहले पीएमसीसँगको सहकार्यमा फेब्रिकेसन सुविधा स्थापना गर्न लागेको छ । यो सुविधाले प्रत्येक महिना ५० हजार वेफर उत्पादन गर्न सक्छ । भारतको पहिलो अर्धचालक चिप सन् २०२६ मा बाहिर आउन सक्ने बताइएको छ । ताइवानको पावर चिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन वा पीएसएमसीका अध्यक्षले टाटा समूहसँग गुजरातको धोलेरामा निर्माण भइरहेको प्लान्टले २८ नानोमिटर चिप्स बनाएर सञ्चालन सुरु गर्ने बताएको छ । जसलाई पछि २२ नानोमिटरमा ल्याउन सकिने छ । गुजरातको धोलेरामा उक्त लगानीमा निर्माण हुने मेगा सेमिकन्डक्टर फ्याब्रिकेसन सुविधा टाटा इलेक्ट्रोनिक्स र पीएसएमसीले संयुक्त रूपमा सञ्चालन गर्नेछन् । यस निर्माण सुविधाले प्रतिमहिना ५० हजार वेफरहरू उत्पादन गर्ने छ र नेक्स्ट जेनेरेसन फ्याक्ट्री अटोमेसनमा पनि काम गरिरहेको छ । कम्पनीले डाटा एनालिटिक्स र मेसिन लर्निङ प्रयोग गरेर उद्योगको उत्कृष्ट कारखाना दक्षतामा काम गर्न गइरहेको छ । उच्च क्षमताको कम्प्युटर चिप्स बनाउनुका साथै यस सुविधाले विद्युतीय सवारीसाधन, टेलिकम, डिफेन्स, अटोमोटिभ, कन्जुमर इलेक्ट्रोनिक्स, डिस्प्ले पावर, इलेक्ट्रोनिक्स आदिमा प्रयोग हुने पावर म्यानेजमेन्ट चिपहरू पनि बनाउने छ । पावर चिप्स हाई भोल्टेज, हाई करेन्ट एप्लिकेसनका लागि डिजाइन गरिन्छ। पीएसएमसी तर्क र मेमोरी फाउन्ड्री क्षेत्रमा एक अग्रणी कम्पनी हो मेमोरी पीएसएमसीको ताइवानमा ६ वटा अर्धचालक फाउन्ड्री छन् । मोदी मन्त्रिपरिषद्ले भारतमा तीन सेमिकन्डक्टर योजनाहरूको प्रस्तावलाई अनुमोदन गरेको छ, जसमध्ये दुई गुजरात र एक असममा छन् । तिनीहरूको अनुमानित लागत १२ खर्ब ६० अर्ब रुपैयाँ छ । भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भने, ‘सामान्य सेमिकन्डक्टर फ्याबले तीन/चार वर्षमा उत्पादन सुरु गर्छ, तर हामी त्योभन्दा चाँडै उत्पादन सुरु गर्ने योजनामा छौं।’ एजेन्सी
यो सरकार मैले र प्रचण्ड मिलेर बनाएको हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनमा आफ्नो र प्रचण्डको मुख्य भूमिका रहेको बताएका छन् । आज संसदमा बोल्दै अध्यक्ष ओलीले सरकार परिवर्तनमा विदेशीको भूमिका भएको विषयतर्फ ईंगित गर्दै सो बताएका हुन् । ‘प्रचण्ड जी मुख्य हो साथ दिने मैले हो यो सरकार परिवर्तन गर्ने यति कामको जस त हामीलाई दिनुस न’, अध्यक्ष ओलीले भने । साथै उनले प्रधानमन्त्रीको विश्वासको मत प्रस्तावमा सबैले मत हाल्न आवश्यक भएको पनि बताए । उनले नेपाली कांग्रेसले अघिल्लो वर्ष प्रचण्डलाई समर्थन गर्ने अहिले किन गर्न नहुने भन्दै प्रश्न समेत गरेका छन् । ‘नेपाली कांग्रेसले पोहोरसाल भोटै नमागीकन हौसिएर नयाँ ब्याट्री हालेजस्तोगरी समर्थन गरेको थियो, यसपाली किन नहाल्ने ?’, अध्यक्ष ओलीले भने ।
विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाइन् । उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नगरी सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने बताइन् ।
अहिले मैले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसले दिएको विश्वासघातमा खडा भएको हो : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको आधारमा भएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दै आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई दुई पटक प्रधानमन्त्री बनाएको र आफू एक पटक मात्रै प्रधानमन्त्री भएको समेत बताएका छन् । उनले आफ्नो विकास र समृद्धिको लागि सरकार पुर्नगठन आवश्यक भएर गरिएको समेत बताएका छन् । ‘सरकार पुर्नगठन गर्नैपर्ने अवस्थाको मैले महसुस गरेँ । हामीले विकास र समृद्धि जुन संकल्पका साथ अगाडि बढाउन खोजेका थियौं त्यो यो बाट सम्भव छैन भन्दै आएको थिएँ, तर त्यो गठबन्धनबाट सम्भव भएन । नेपाली कांग्रेसका केही साथीहरुले निजी ढंगले आक्षेप पनि लगाउनुभयो’, उनले भने, ‘निजी आरोप र प्रत्यारोपका लागि आज यो उपयुक्त ठाउँ पनि होइन । तर, संसदको रेकर्डमा रहेका विषयको प्रतिवाद नगर्दा इतिहासमा राम्रो जान्न की भनेर केही भन्ने कोशिश गर्छु ।’ उनले आफूले नेपाली कांग्रेसभित्रका विचार समूहले प्रतिवाद गरिरहेको मैले महसुस गरेको र आजित भएको बताए । ‘पछिल्लो समयमा कांग्रेस भित्रका विचारसमूहले गरेको विरोधले म आजित भएको थिएँ, र अहिले नेपाली कांग्रेसभित्र देखिएको युद्धविरामले म खुसी भएको छु । त्यसले देशको लोकतन्त्र सुदृढ बनाउन जोडबल नै पुग्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा गुरूङ नियुक्त
काठमाडौं । नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा युवा उद्यमी प्रविण गुरूङ नियुक्त भएका छन् । नेपाल व्यवसायी संघको प्रमुख संरक्षकमा कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेश विक्रम ढकाल र प्रमुख सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपमहासचिव एवं कतारका सफल व्यवसायी गुरुङ्ग मनोनित भएका छन् । गुरूङ यसअघि एक कार्यकाल संघको सल्लाहकार रहिसकेका छन् । गुरूङ करिब २ दशकदेखि कतारमा रहेर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । अहिले नियुक्त सल्लाहकारको अवधि आगामी ४ वर्ष अर्थात् सन् २०२८ सम्मको हुनेछ । संघको २०२४-२८ कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको दोस्रो पूर्ण बैठकबाट सोहि कार्यकालका लागि ढकालको संयोजकत्वमा संरक्षक समिति र गुरुङ्गको संयोजकत्वमा सरल्लाहकार समिति गठन गरिएको हो । संरक्षक समितिको सदस्यहरुमा डा. देव काजी डंगोल, बद्रि प्रसाद पाण्डे र समिर मास्के रहेका छन भने सल्लाहकार सदस्यहरुमा सागर नेपाल, प्रोफेसर मोहम्मद रमजान मिया (कानुनी), ई. अर्जुन भट्टराई, विकास प्रसाई, परशुराम दाहाल, धन बहादुर बलायर र होमनाथ शर्मा छन् । कतारलाई व्यवसायिक कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेटेर संरक्षक तथा सल्लाहकार समिति गठन गरको संघले कतार सरकारमा रजिष्ट्रर भई मान्यता प्राप्त पहिलो र एक मात्र सामाजिक संस्थाका रुपमा आफूलाई स्थापित गरेको छ । नेपाल सरकारसंग समेत एमओयू गरि आधिकारीकता प्राप्त गरेको संघले नेपालमा भएका विभिन्न दैविक प्रकोप लगायत विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने विभिन्न व्यवसायीक परियोजना सहित दिर्घकालिन योजनाहरुलाई समेत तिव्रता दिएको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिए ।