विकासन्युज

उपभोक्ताको रोजाइमा कोदोको बिस्कुट, माग धान्नै मुस्किल

गलकोट । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको  छ । काठेखोला गाउँपालिका( ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गरेको कोदोको बिस्कुट उत्पादन तीन महिनामै  माग धान्न नसक्ने अवस्थामा पुगेको हो । पुरानो खाद्य बालीका रूपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उनले बजारमा पठाएका थिए ।बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको हो । ३४ वर्षीय युवा श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गरेका हुन् । उनले उद्योग फस्टाउन थालेपछि पाँचजनालई प्रत्यक्ष रोजगारी दिएका छन् । गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि श्रीसले उत्पादन सुरु गरेका हुन् । ‘कोदोको बिस्कुटको माग दैनिक १५ हजार थान छ तर मेरो उद्योगको क्षमता दैनिक एक हजार पाँच सय छ,’ उनले भने, ‘मैले उपभोक्ताको माग पूरा गर्नै सकेको छैन ।’ मागको ३० प्रतिशत मात्रै कोदोको बिस्कुट बजारमा पठाउन सकेको उनले बताए । अझै ७० प्रतिशत माग पु¥याउन बाँकी छ । त्यसका लागि भारतबाट अत्याधुनिक बिस्कुट बनाउने उपकरण भित्र्याउने तयारीमा श्रीस छन् । एक महिनाभित्र उक्त उपकरण आएपछि मागअनुसार उत्पादन  हुने उनको भनाइ छ । विसं २०७७ मा स्थापना गरिएको उद्योगले अहिले कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पुर्‍याएको हो । गाउँमा उत्पादन भइरहेको कोदोको महत्व जगाउँदै कोदोको स्वादमा जागा इन्टरनेसनल इन्भेष्टमेन्ट एन्ड रिसर्च सेन्टर प्रालिको नामबाट बिस्कुट बजारमा पुर्‍याइएको हो । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउन अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको श्रीसले बताए । उनले ४० लाख लागतमा नयाँ उपकरण भारतबाट ल्याउन लागेको जानकारी दिए । कोदोको बिस्कुटले यत्तिको  लोकप्रियता कमाउला भनेर उनले सोचेका थिएनन् । उनका अनुसार छिमेकी जिल्लासँगै विदेशबाट समेत बिस्कुटको माग हुन थालेको छ । उनले जापानमा समेत आफ्नो बिस्कुट प्रदर्शन भइसकेको बताए । घरेलु उद्योगको हिसाबले सानो पूँजीमा सुरु गरेको उद्योगमा राष्ट्रिय उद्योगको जस्तो माग आएपछि थप संरचना निर्माणको काम सुरु गरेका छन् । ‘धान्नै नसक्ने माग आयो, अहिले उद्योगको क्षमता विस्तारमा लागेको छु, २० लाखमा सुरु गरेको उद्योग अबको एक महिनामा करोड लागत पुग्छ, मागअनुसारको बिस्कुट उत्पादनका लागि एक महिना लाग्छ,’ श्रीसले भने, ‘अहिले नयाँ उपकरणका लागि संरचना निर्माण भइरहेको छ, कोदोको बिस्कुटको माग धान्न नसकेर फोन उठाउनै नसक्ने भएँ ।’ सिए पढ्ने सपना अधुरै राखेका श्रीसल पाँच वर्ष काठमाडौंमा रेष्टुराँ चलाएका थिए । उनी कोरोनाकालमा गाउँ फर्केपछि बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन् । कुनै समय गरिबको खानाका रूपमा चिनिएको कोदोको परिकारको महत्व बढेपछि श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरेका छन् । अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई २० रुपैयाँमा बजार पठाउनु भएको छ । जसलाई नेपाल सरकारले गुणस्तरको चिह्नसमेत प्रदान गरिसकेको छ । उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ अनुदान दिएको छ । गाउँमै पाइने कच्चापदार्थ कोदोलाई बहुमूल्य बनाउन बिस्कुट निर्माण गरेको उनको भनाइ छ ।  बिस्कुटमा धेरै मात्रमा कोदोको पीठो भए पनि गहुँ, घीउ र तेलको समिश्रण हुने गरेको छ । अग्र्यानिक कोदोबाट उत्पादित बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा पुग्ने उनको भनाइ छ । रासस

गोदाममै सड्यो करोडौंको चिनी

पाल्हीनन्दन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा १ हजार ८ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरूपमा भित्र्याएको चिनी गुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भनेपछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो । भन्सार कार्यालयका सुुचना अधिकारी मोहराज जैसीका अनुसार प्रहरीले अवैधरूपमा भित्र्याइएको कपडा, मोबाइलका पार्टस, हार्डवेयर, विभिन्न प्रकारका मोबाइल कभरसमेत भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान लिलाम गर्ने प्रक्रिया लामो हुँदा लिलाम गर्न ढिला भएको छ । ‘समान लिलामका लागि सूचना सार्वजनिक गर्दा व्यापारीहरूले सामानको मूल्य बढी भयो भन्दै लिलाम सकार गर्न नमानेपछि एक करोड मूल्य बराबरको समान गोदामभित्र सडिरहेको छ,’ सूचना अधिकारी जैसीले भने । उद्योग वाणिज्य सङ्घ र भन्सार कार्यालयले समानको बजार मूल्य तोकेका आधारमा बरामद गरिएका सामानहरुको मूल्य तोकेर सामानसहित कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सुरक्षाकर्मीहरूले रातदिन सीमाक्षेत्रमा खटेर पक्राउ गरेका अवैध मालसामान भन्सार कार्यालयले समयमै लिलाम नगर्दा दुई करोड मूल्य बराबरको विभिन्न समान गोदाममै सडेको हो ।

बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकछि जीर्णोद्धार

जनकपुर । बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज) को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार नहुँदा ब्यारेजको संरचना समाप्त हुने खतरा थियो । सर्लाही तथा रौतहटका किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो आयोजनाले सम्बन्धित किसान तथा जलउपभोक्ता समितिको संयुक्त बैठकको निर्णयानुसार सो आयोजनाको ब्यारेजसहित संरचनाको मर्मतसुधार कार्य सुरु भएको हो । आयोजनाको विशेष पहलमा ३० जलउपभोक्ता समिति तथा किसानको बैठकले तत्काल सिँचाइका लागि दिँदै आएको पानी बन्द गर्ने निर्णयसमेत गरेको छ । यही वैशाख १३ गतेदेखि आगामी जेठ २० गतेसम्म सो ब्यारेजको मर्मतसुधार गर्नुपर्ने भएकाले सो अवधिमा कुनै पनि बाली उत्पादन नहुँदा तथा पानी आवश्यक नभएको अवस्थामा मर्मतसुधार अगाडि बढाइएको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए । दुई वर्षअगाडि सो ब्यारेजको मर्मतसुधारका लागि ‘टेन्डर’ आह्वान भए पनि किसानले पटक पटक पानीको माग तथा ठेकेदार कम्पनीको ढिलासुस्तीले ब्यारेज मर्मतसुधारमा समस्या आएको थियो । आयोजनाका डिभिजनल इन्जिनियर अनुभव चौधरीले लामो समयदेखि ब्यारेजको मर्मतसुधार नहुँदा ब्यारेजको तल्लो पक्की ढलान पूर्णरुपमा फुटेको, ढोका कमजोर भएका, प्लास्टर उप्किएपछि रडहरु देखिएको तथा रड खिया लाग्ने अवस्थामा पुगेको, पर्खाल भत्किएको, जथाभावी फोहोरमैला जमेकाले सुधारको कार्य भइरहेको बताए । ब्यारेजको सरसफाइ, रङ्गरोगन, सिमेन्ट ढलान, तारजाली बिछ्याउने, बिम्व राख्ने, पर्खाल निर्माण, ढोका मर्मतसुधारलगायत कार्य भइरहका छन् । ‘६५ लाखको लागतमा ब्यारेजको मर्मत भइरहेको छ’, इन्जिनियर चौधरीले भने । विसं २०३५ मा नेपाल सरकारको लगानीमा निर्माण सुरु भएको सो आयोजनाले २०५० सालदेखि सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो आयोजनाको ब्यारेजमा ५० ढोका तथा दुई मूल नहर रहेका छन् । पूर्वतर्फ ६४.४ क्युसेक पानीको बहाव क्षमता तथा पश्चिमतर्फ ४८.४ क्युसेक पानीको बहाव क्षमता रहेको छ । पूर्वी नहरबाट २२ हजार ६ सय हेक्टर तथा पश्चिमी नहरबाट २३ हजार तीन सय ४० हेक्टर जमिनमा सिँचाइ भइरहेको उनले बताए । पश्चिमी मूल नहरअन्तर्गत रौतहटको भलोहिया, वहुवरी तथा वग्ही गरी तीन शाखा तथा सर्लाहीको मानपुर, गढैया र लक्ष्मीपुर गरी तीनवटा शाखा रहेका छन् । ती शाखाबाट पनि उपशाखा र नहरबाट खेतमा सिँचाइ गर्ने काम भइरहेको छ । सो आयोजनाको एक लाख २२ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य छ । सुनकोशी मरिनडाइभर्सन निर्माण भएपछि सो आयोजनालाई २०८२ सालदेखि ६७ क्युसेक पानी उपलब्ध हुने तथा त्यसबाट धनुषा, महोतरी, सर्लाही, रौतहट र बारा जिल्लामा समेत सिँचाइ हुने आयोजनाले जनाएको छ । सो आयोजनामा तीन सय कर्मचारी कार्यरत छन् । आयोजनाको चालु आर्थिक वर्षमा ८३ करोड बजेट रहेको छ । सो आयोजनाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ६० प्रतिशत भएको इन्जिनियर चौधरीले जानकारी दिए । यसअघि २०५० सालमा गएको बाढीबाट आयोजनामा क्षति पुगेको थियो ।

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन । पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए । कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा उक्त क्षेत्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ । चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती बिस्तार भएको छ । बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए । भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उनले जानकारी दिए। सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ । गत वर्ष रु २० करोड बढीको सुन्तला बिक्री भएकामा यस वर्ष रु १८ करोडको मात्रै उत्पादन भएको छ ।

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरेको छ । प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा नगरपालिकाभित्रका १५ वटा वडामा स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण लगायतको घुम्ती शिविर गरेको हो । राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित घुम्ती शिविर वडा नं १० पाथेकाबाट सुरुआत भएको नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी दिए। शिविरमा फिजियोथेरापी डाक्टर, मेडिकल अधिकृत र टेक्निसियन (स्वास्थ्य प्राविधिक) सहभागी छन् । मेडिकल अधिकृतको सिफारिसका आधारमा अपाङ्गता भएका व्यक्तिलाई शिविरमै अपाङ्गता परिचयपत्र वितरण गर्ने नगरपालिकाले जनाएको छ । हालसम्म आठ सय २४ जनाले शिविरबाट परिचयपत्र पाइसकेका छन् । यही वैशाख १३ गतेदेखि सुरु भएको घुम्ती शिविर वैशाख २७ गते वडा नं १ दिक्तेलमा पुगेर समापन हुने छ । घुम्ती शिविरमा अपाङ्गता भएका व्यक्ति बिरामी अवस्थामा भेटिएमा निःशुल्क औषधि वितरण तथा गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि बाहिर रिफर गरिने आयोजकले जनाएको छ । नगरपालिकाभित्रका प्रत्येक वडामा आयोजना गरिएको घुम्ती शिविरमा अपाङ्गता भएका व्यक्तिका लागि वैशाखी तथा ह्विल चेयर उपलब्ध गराउन आकारको नापसमेत लिइएको छ । उक्त नापको आधारमा वैशाखी तथा ह्विल चेयर निःशुल्क उपलब्ध गराउने शाखा प्रमुख राईले जानकारी दिए। नगरपालिकाको पूर्ण स्वामित्वमा शिविर सञ्चालन गरिएको हो । आगामी २०८३ सालको पुस मसान्तसम्म कार्यक्रम सञ्चालन गरिने त्रिपक्षीय सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने जनाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक हजार एक सय ८३ जना अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेसन नेपालको ३५/३५ प्रतिशत तथा स्थानीय तहको ३० प्रतिशत लगानीमा शिविर सञ्चालन गरिएको छ । उक्त कार्यक्रम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगै जिल्लाका दशैवटा स्थानीय तहमा सम्झौता गरिएको छ ती सबै स्थानीय तहमा उक्त कार्यक्रम तीन/तीन वर्ष सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।

महाँकाल विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटिने बताएका छन् । प्रज्ञा-स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए । ‘उपत्यकाभित्र रहेको ललितपुरको यो क्षेत्र विकासका दृष्टिकोणले दुर्गम बनाइएको महसुस गरेँ । एक घण्टामा काठमाडौं पुग्ने गरी सडकको विस्तार आवश्यक छ । यहाँको सडक सञ्जालको स्तरोन्नतिका लागि यस पटकको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्ने व्यवस्था हुनेछ,’ उनले भने । प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्ने र सङ्घले पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताए । आफ्नो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर स्थापित गरेको स्मरण गर्दै उनले खेल क्षेत्रलाई व्यापकता दिन खेलाडीले अनुशासितरूपमा खेल प्रदर्शन गरी सभ्य र भब्य बनाउन आग्रह गरे । उद्घाटन कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिकामा बैतर्णीधाम, कालेश्वर महादेव मन्दिर, लोङ्तोङ गुम्बा, सिम्बा झरना, चनढुङ्गालगायत क्षेत्र रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन आवश्यक बजेटका लागि सङ्घीय तहबाट व्यवस्थापन गरिदिन आग्रह गरे । प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका लागि गरेको योगदानको स्मरण गर्दै समाज र राष्ट्रका लागि उनले अतुलनीय योगदान पुर्‍याएको बताइन् । विकासको दृष्टिकोणले पछाडि परेको यस क्षेत्रको कृषि, पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा यस किसिमको खेलकुद प्रतियोगिताबाट स्थानीय विकासका लागि अवसरको ढोका खोल्न मद्दत पुग्ने बताइन् । महाँकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा भइरहेको प्रतियोगिताको सुभारम्भको पहिलो खेलमा महाँकाल गाउँपालिका ‘ए’ र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको संयोजक गोलेले जानकारी दिइन् । कुल पुरस्कार राशि १२ लाख रहेको उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले दुई तथा तृतीय हुने दुई टोलीले एक–एक लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार पुरस्कार दिइने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको सो प्रतियोगिताको सह आयोजक ललितपुर जिल्ला खेलकुद विकास समिति रहेको छ । प्रतियोगितामा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहरमुक्त बनाइने

मुग्लिन । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ । परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना  प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर संकलन तथा ‘रिसाइकल’ गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको कार्यक्रम उनले बताए । उनले भने, ‘क्याप परियोजना विश्वबैंकको आर्थिक सहयोगमा  क्रिएशन नेपालद्वारा सञ्चालित परियोजना हो, जसले प्लास्टिकको फोहर संकलन संयन्त्रलाई सुदृढ गर्दै प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ ।’ चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्लास्टिकजन्य फोहरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भएकाले अध्यक्ष गुरुङले गाउँपालिकाले यस अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । नदी सरसफाइ भएसँगै त्रिशूली नदीमा  जलयात्रा पर्यटन वृद्धि हुने उनको आशा छ । परियोजना प्रमुख उपाध्यायका अनुसार त्रिशूली नदी सरसफाइ अभियानका लागि गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिने छ । त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहर सङ गरी त्यसलाई रिसाइकल गरी मुल्य श्रृङ्खलामा परिणत गरिनेछ । रिसाइकल गरी आम्दानीको स्रोत बनाएपछि प्लास्टिकजन्य फोहर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । स्थानीय तहका लागि प्लास्टिकजन्य फोहर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायतका काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहरलाई कसरी  वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिक मुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने  परियोजनाले जनाएको छ ।

बन्द भएको ६ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु

टक्सार । उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनः आजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिएका थिए । उनका अनुसार काठमाडौंबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ । उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भने, ‘समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।’ वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । ‘अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौंबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौं जाने तालिका बनाएका छौं,’ उनले भने । विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौं उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ । हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए । उनले भने, ‘अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।’ वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो । प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शंकरप्रसाद आचार्यको भनाइ छ ।