सीआईबीको हिरासतबाट छुटे १० जना बैंकर, सकियो अनुसन्धान
काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन् । अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बताएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सीआईबीले १५ माघमा न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरूले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो ।
चलचित्र समाजलाई रूपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम हो : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक रहेको बताएकी छिन् । बिहीबारदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौं संस्करणको उद्घाटन समारोहमा मन्त्री शर्माले यस्ता महोत्सवले संस्कृतिसँगै चलचित्रकर्मीको विचारलाई आदानप्रदान गर्ने बताइन् । ‘चलचित्र मनोरञ्जन मात्र नभई समाजलाई रूपान्तरण गर्ने सशक्त र प्रभावशाली आमसञ्चारको माध्यम हो । यसले पार्ने प्रभाव र दिने सन्देशका विषयमा हामी ज्ञात हुनुपर्छ,’ उनले भनिन्, ‘सिङ्गो नेपाली चलचित्रकर्मी हाम्रा लागि खुला स्टुडियो हुन् । हिमाल, पहाड र तराईका सुन्दरतासँगै कला र संस्कृतिको विविधताले चलचित्रलाई झन् सुन्दर बनाउँछ ।’ मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बजेटका सन्दर्भमा छलफलको प्रक्रियामा रहेकाले आवश्यक कार्यक्रमका लागि चलचित्र विकास बोर्डलाई आफ्नो योजनामा राखेर ल्याउन आग्रह गरिन् । उनले चलचित्रसम्बन्धी ऐन बन्ने प्रक्रियामा रहेको भन्दै सुझाव प्राप्त भइरहेकाले विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । ‘अहिले २०२६ सालको ऐनमा नै चलचित्र क्षेत्र सञ्चालित रहेकामा ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन’ प्रस्ताव गरिएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यसका लागि आवश्यक सुझाव, विद्यमान समस्यालगायत सुझावसहित योजना ल्याउन सरकारकातर्फबाट आग्रह गर्दछु ।’ यही चैत ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिइन् । ‘कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित चलचित्र महोत्सवमा समावेश हुनु सुखद पक्ष हो । हामी यसलाई अझै भव्य बनाउन अग्रसर छौँ । यसले विश्वभरका चलचित्रकर्मीलाई एकैस्थानमा छलफल र सहकार्य गर्ने वातावरण बनाएको छ ।’ महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी आवश्यक नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बताए । कार्यक्रममा निर्देशक प्रकाशबहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्केलगायत उपस्थित थिए । महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ : अफरोडमा पनि गज्जबको पफर्मेन्स
काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउण्ट मोटर्सले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेको छ । कम्पनीले शुक्रबार अफरोडमा स्ट्रेन्थ टेस्ट गरेको हो । कम्पनीले १०० जनाभन्दा बढी सेलिब्रेटी, मिडियाकर्मी र शोसल मिडियामा प्रभाव पार्ने मानिसहरूलाई सहभागी गराएर ‘स्ट्रेन्थ टेस्ट’ गराएको छ । धुलिखेलमा रहेको डर्ट ट्याम्पलमा विशेष ट्रयाक बनाएर ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरूले आफैंले ड्राइभ गरेका थिए । अफ्ठ्यारो बाटोमा पनि गाडीले राम्रो पफर्मेन्स दिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । एमजी फोर बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ । कारमा ६४ किलोवाट ब्याट्री र यसको मोटर पावर ९९ किलोवाट रहेको कम्पनीले जनाएको छ । फुल अप्सनमा सार्वजनिक गाडीको लक्जरी मोडलको मूल्य ४९ लाख ९९ हजार छ । ४४० किलोमिटर रेञ्जमा सार्वजनिक गाडीको अधिकतम टर्क २५० एनएम छ । गाडीले १५० किलोवाटसम्मको फास्ट डिसी चार्जर सपोर्ट गर्छ ।रियर ह्विल ड्राइभ रहेमो एमजी–४ को टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ । गाडीमा इन्डिपेन्डेन्स सस्पेन्सर हुँदा अफरोड बाटोमा कुदाउन सहज हुन्छ। कम्पनीले कम्फर्ट सेगमेन्टमा ४१ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ । एमजी–४ ह्याचव्याग स्पोर्टी गाडी हो।
हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखालाई इनरुवामा स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीबाट मिति २०८० साल चैत्र १ गते देखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनाली गरेकी थिइन् । उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो । हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम ६,५०० भन्दा बढी पोस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता छ : सीईओ सुब्बा
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना महामारीपछि प्रविधिले फड्को मारेको छ । समग्र वित्तीय क्षेत्रमा डिजिटाइजेशनको आवश्यकता छ । सहकारीले पनि प्रविधिमैत्री सेवा प्रदान गर्नुपर्छ ।’ साथै उनले सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा कृषि, पर्यटन, शिक्षा लगायतका आठ क्षेत्र पनि प्रविधिसँगै जोडेर लगेको उनको भनाई छ । सोही कार्यक्रममा बोल्दै भैरव टेक्नोलोजी प्रालिका कार्यकारी निर्देशक विजय लिम्बु सेनिहाङले साइबर सुरक्षामा जोखिम रहेको बताए । उनले भने, ‘सुरक्षाका हिसाबले व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ । सुरक्षित तरिकाले डिजिटलाइजेशनको प्रयोग नगर्दा यस्तो जोखिम थप बढुन् छ ।’ उनका अनुसार साइबर खतराका परिदृश्यमा मालवेयर आक्रमण (कम्प्युटर भाइरस), फिसिङ, डाटा चोरी, डीडीएस आक्रमण र तेस्रो पक्ष जोखिम रहेका छन् । साइबर खतराबाट प्रतिष्ठानमा क्षति, संगठन सञ्चालनमा अवरोध र आर्थिक घाटा हुने उनले बताए । साइबर जोखिम एउटा व्यवसायिक जोखिम रहेको बताउँदै उनले पैसाको पछि लाग्ने हुँदा साइबर आक्रमणले आर्थिक घाटा हुने बताए । उनका अनुसार चालु आर्थिक वर्षको सात महिनामा साइबर सुरक्षाका १३ हजार ३३० उजुरी परेका छन् भने ५१ जना पक्राउ परेका छन् । त्यसैगरी, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले प्रविधिको प्रयोगले देशको कुल ग्राहस्थ उत्पादनमा पनि वृद्धि हुने बताए । नयाँ प्रविधिको प्रयोगले जुनसुकै देशमा बसेर काम गर्न सकिने उनको भनाई छ । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले सात सय सहकारी संस्था जोखिम हस्तान्तरणमा साझेदारी गरेर अगाडी बढेको बताए । उनले हामीकहाँ टुल्समा मात्रै छलफल हुने गरेको भन्दै सिप र क्षमतामा छलफल हुन आवश्यक रहेको औंल्याए । सिटिजनले ९२ प्रतिशत काम डिजिटल माध्यमबाट अगाडी बढाएको समेत उनले जानकारी दिए । प्रोफेशनल्ली डिजिटाइजेन भएपनि आम मानिसलाई भने प्रविधिमा जोड्न नसकेको उनको भनाई छ । सबै क्षेत्रमा प्रविधिको अभावले कागजात संकलनमा समय लाग्ने हुँदा कतिपय अवस्थामा दाबी भुक्तानीमा ढिलाई हुने गरेको उनले जनाए । अन्य देशको उदाहरण दिँदै उनले सबै उमेर समुहले प्रयोग गर्न सक्ने गरी प्रविधिको विकास भएकाले नेपालले पनि प्रविधिमा जोड दिन आवश्यक रहेको बताए ।
८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड ५६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो । फागुन महिनामा मात्रै १७९ वटा दाबी वापत ७ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले बताएको छ । हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका कम्पनीले दाबी भुक्तानीमा जोड दिइरहेको छ ।
फागुनमा झिनो अंकले बढ्यो घरजग्गा कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनाको तुलनामा फागुन महिनामा झिनो अंकले घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबारमा झिनो अंकले वृद्धि भएको देखिएको हो । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९२१ वटा संख्यामा मात्रै भएको थियो । माघ महिनामा ५ हजार ४८० वटा नामसारी भएकोमा फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ । माघ महिनामा २५ वटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा थोरै मात्रै अंकले सुधार भएर २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । माघ महिनामा सरकारले यस्तो आम्दानी १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३ सय ८३ रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो । त्यस्तै, कात्तिक महिनामा २६ हजार र मंसिर महिनामा ४१ हजार ८ सय ५१ र पुस महिनामा ४५ हजार २७७ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । कोरोना महामारीपछि लामो समयसम्म मन्दी छाएको घरजग्गाको कारोबार चालु आर्थिक वर्षसँगै निरन्तर सुधारोन्मुख हुँदै गएको कारोबार तथ्यांकले देखाएको छ ।
नेपाली कामदार लैजान कोरियाले थप्यो ३ क्षेत्र, कुन-कुनमा जान पाइन्छ ?
काठमाडौं । दक्षिण कोरियाले थप तीन वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने कोरियाले सन् २०२४ देखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको हो । इपीएस शाखाले बुधबार सूचना जारी गर्दै कोरिया सरकारले थप ३ क्षेत्रमा नेपाली कामदार लैजाने बताएको हो । ‘एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरू दुई वर्षसम्म कामदारको सूचीमा बस्न पाउने छन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था कोरियामा पहिलो पटक जाने कामदार र कोरिया काम गरेर फर्केका कामदार र देश जस्ता विवरण खुलाई कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियाले कामदार माग गरेको छ,’ सूचनामा उल्लेख छ । यस्तै, कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोस्टरमा रहेका कामदारहरूको विवरण फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाएको र कोरिया लैजाने कोटासमेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार फैलाइएकोप्रति वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाको ध्यानार्कष भएको पनि सूचनामा छ ।