५८ लाख बढीको औषधीसहित ट्रक नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले वीरगञ्जबाट औषधीसहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगर –१७ स्थित आईसिपीको चेकप्वाईन्टबाट बुधबार साँझ सशस्त्र प्रहरीले करिब ५८ लाख ५७ हजार रुपैयाँबराबरको औषधीसहितको एउटा ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको बिलमा उल्लेख भएभन्दा फरक अन्य सामान समेत रहेको भन्ने विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो । औषधी र सामान कहाँका लागि लगिएको भन्ने खुलेको छैन । नियन्त्रणमा लिइएको औषधी तथा ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइए प्रहरीले जनाएको छ ।
बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघरका सञ्चालक पक्राउ
काठमाडौं । बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन राई रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई मङ्गलबार पक्राउ गरी सार्वजनिक गरेको हो । उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धारसमेत गरेको र पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिइएको प्रवक्ता ढकालले बताए । उनले भने, ‘उक्त विषयमा थप आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तको समेत प्रहरीले खोजी गरिरहेको छ ।’ रासस
समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको बिहीबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताइन् । उनले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गरेकी थिइन् । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराइन् । मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।’ केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाड्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ, यही चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सम्पन्न गर्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण थाल्छौँ, शैक्षिकसत्र सुरु हुदाँसम्म पूरै सेटमा सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउँछौँ ।’ आउँदो शैक्षिकसत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान छापिसकेको र बाँकी १८ लाख थान पुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । केन्द्रले आउँदो शैक्षिकसत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिकसत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिकसत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको हो । प्रबन्ध निर्देशक झाले यस वर्ष कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलबध गराउने बताए । उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४सैँ घण्टा चलिरहेको जानकारी दिए । पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा अनि मात्र उपत्यकामा पुस्तक वितरण गरिने छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा आउटलेटबाट पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । उनले भने, ‘हामीले अहिले २४सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्षजस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौँ र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ ।’ शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ । प्रबन्ध निर्देशक झाले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए । आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए पनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्न सक्ने उनको भनाइ छ । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई नदिई केन्द्रलाई दिएको हो । रासस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ
काठमाडौं । लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार निजलाई एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । इलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकास बसेलसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलीग्राम र डिजिटल तराजु एक थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता ढकालले बताए । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् । अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । आमाको माया छात्रावासका अध्यक्ष श्री भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।
जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणमा समस्या देखापर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले बिहीबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिएको बताए । ‘जलवायु परिवर्तनबाट समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपका घटना उत्पन्न हुँदै गएका छन्, सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक छ’, उनले भने । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरबाट देखिएको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीन खोज र स्थानीय ज्ञानको उपयोगमा लाग्नुपर्ने बताए । जलवायु परिवर्तनको असर विश्वका हरेक कुनाकुनामा देखा परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताए । ‘जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीयरूपमा घटाउनुपर्छ’, प्रधानमन्त्री दाहालले भने । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणाम ज्यादै महत्वपूर्ण भएको उनको भनाइ थियो । जलवायु परिवर्तनको असरका कारण पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको विस्फोट तथा खडेरी बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता प्रकोपले गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका बताए । पछिल्लो प्रतिवेदनअनुसार प्राकृतिक हिमशृङ्खला र विश्वव्यापी स्रोत एकतिहाइ गुमेको उनले बताए । यस्ता हानिनोक्सानीले जैविक विविधतालाई मात्र नभई तटीय क्षेत्रमा रहेका अर्बौं मानिसको जीविकोपार्जनलाई समेत खतरामा पारेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । युनाइटेड अरब इमिरेटस् ९युएई०को दुबईमा सम्पन्न कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गर्दै आएको प्रधानमन्त्री दाहालले बताए । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जलवायु परिवर्तनको असरका कारण नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या परेको बताए । ‘जलवायु परिवर्तनको असरले नेपालको स्वास्थ्य क्षेत्र ठूलो जोखिममा परेको छ, यो मुलुकका लागि चुनौतीको विषय हो’, उनले भने । उपप्रधानमन्त्री यादवले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले यसबाट हुने जोखिम न्यूनीकरणका लागि विभिन्न देशसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको दिगो विकासका लागि आजैदेखि सोच्नुपर्नेबेला आएको बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि राष्ट्रियस्तरबाट विशेष नीति बनाएर अन्तर्राष्ट्रियस्तरसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा नास्टका उपकुलपति डा दिलीप सुब्बा, सचिव डा रवीन्द्रप्रसाद ढकाल, जलवायु स्वास्थ्य फाउण्डेशन अमेरिकाकी प्रतिनिधि क्लेयर ल्याङ्गली, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) युकेकी उपमहानिर्देशक इजाबेला कोजीइललगायतले जलवायु परिवर्तनले विश्वलाई नै असर पारेको भन्दै यसको नियन्त्रणका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य र वातावरणका क्षेत्रमा पारेका असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ तथा कसरी एकताबद्ध भएर नयाँ खोज र अनुसन्धानमा जुट्न सकिन्छ भन्नेबारेमा बृहत् छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रमोद जोशीले जानकारी दिए । रासस
चिनियाँ उत्पादनमा मूल्य वृद्धि
चीन । चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ वटा प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ । रासस
प्रतिनिधिसभा बैठक : सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारकोको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गरे । उनीहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गरे। सांसदहरुले अनुचित लेनदेन ९मिटरब्याज०पीडितसँग भएका सहमति छिटो कार्यान्वयन हुनुपर्ने, चक्रपथको ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको, बोलपत्र खुला गरिए पनि सडक निर्माण सुरु नभएको, स्वर्गद्वारी जग्गाका मोही किसानले चलाएको आन्दोलनको माग सम्बोधन हुनुपर्ने, शिक्षा र स्वास्थ्यका राज्यको दायित्व र लगानी बढाउनुपर्ने, मिर्गौला रोगबाट बच्न सचेतना फैलाइनुपर्ने, सुनकोसी नदीको धाप्लाङ पसल निर्माण रोकिन नहुने, रोजगारी सिर्जना गर्नुपर्ने, दाइजो नपाउँदा विवाह रद्द गर्नेलाई कारबाही हुनुपर्ने आवाज उनीहरुले उठाएका छन् । सांसदहरुले मध्यवर्ती क्षेत्रका जनतालाई विकासको अनुभूति दिन, किसानले मल नपाएको रोदनको सुनुवाइ गर्न, प्रादेशिक अस्पतालमा पूर्वाधार विकास गरिनुपर्ने, गोरखाको पालुङटारमा यथाशीघ्र कृषि क्याम्पस सञ्चालन गर्न माग गरे । उनीहरुले योगमाया आयुर्वेदिक विश्वविद्यालयको निर्माणलाई गति दिन, हात्तीको आक्रमणबाट स्थानीयलाई जोगाउन, आगामी आर्थिक वर्षको बजेट महिलामैत्री बनाउन पनि माग गरे । शुन्य समयमा सांसदहरु बिजुला रायमाझी, विद्या भट्टराई, बीना लामा, श्यामकुमार घिमिरे, विनिताकुमारी सिंह, शान्ति विक, शान्ति श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, शङ्कर भण्डारी, सपना राजभण्डारी, सरस्वती बजिमय, सरस्वती सुब्बा, सराज अहमद फारुकी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुशीला श्रेष्ठले समसामयिक विषयमा आवाज उठान गरे । साथै सांसदहरु सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सूर्यबहादुर थापा क्षेत्री, सोभिता गौतम, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हितराज पाण्डे, हेमराज राई, ज्ञानबहादुर शाही, ज्ञानु बस्नेत सुवेदी र ज्ञानेन्द्रबहादुर कार्कीले शुन्य समयमा भाग लिए ।