विकासन्युज

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसद्वारा संसद अवरोध

फाइल तस्बिर काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसले संसदको बैठकलाई अवरोध गरेको छ । गृहमन्त्री रवि लामिछाने पनि अनुसन्धानको घेरामा भएको र उनले राजीनामा दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसदको नियमित बैठकलाई अवरोध गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा बजेटको सिद्धान्त तथा प्राथमिकताको विषयमाथि छलफल हुन सक्ने तर, गृहमन्त्रीले कार्यसूचीअनुसार प्रतिनिधिसभामा प्रस्तुत गर्न खोजेको राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न नदिने बताएका छन् । संसदको बैठक नियमित रुपमा सञ्चालन हुन नसकेपछि सभामुखले केहीबेरलाई बैठक स्थगित गरेका छन् ।

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा. आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् । त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा. जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाट नै उपाध्यक्षसमक्ष राजीनामा दिएकी छन् ।

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले एक समझौतामा हस्ताक्षर गरेका छन् । बिहीबार दुई निकायबीच नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरूको सहजीकरणका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा हस्ताक्षर समारोहमा एभरेष्ट बैंक लिमिटेड (ईबीएल) का प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो । नेपाल–भारत रेमिटेन्स सेवामा आफ्नो अग्रणी अनुभवको श्रेय लिएको एभरेस्ट बैंकले यस रणनीतिक साझेदारीले दुइदेशबीचको भुक्तानी लाई थप सहज बनाउँदै जाने बताईएको छ । बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरि, बैंकका ग्राहकहरूले नेपाल र भारत बीचको कारोबार सहज र तत्काल गर्न सक्नेछन् , जुन दुवै देशहरू बीचको वित्तीय कनेक्टिभिटीमा एक महत्वपूर्ण कार्य हुन सक्दछ । यस सम्झौताले विशेष गरि, हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू, र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पुर्याउनेछ। आफ्नो ग्राहकोहरूको विभिन्न आवश्यकताहरूमा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रखेको एभरेस्ट बैंकले एस सम्झौताबाट दुइ देस बिच हुने वित्तीय करोबरका कठिनाइहरूबाट मुक्त गर्ने र सहजता सुनिश्चित गर्ने लक्ष्य राख्दछ। एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्युआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ, जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पेप एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी आफ्नो करोबर को भुक्तनी गर्न सक्दछन् ।

डेङ्गुको सङ्क्रमण बढ्दो : यी हुन् लक्षण 

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो । गत वर्ष गर्मी मौसममा तनहुँ डेङ्गुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार डेङ्गुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो । आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेङ्गुको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए । उनका अनुसार गत गर्मीमा यहाँका एक सयभन्दा बढी सङ्क्रमित भएका थिए । ‘गत वर्षको गर्मीमा डेङ्गुबाट जनधनको क्षति भएको थियो । अब वर्षात् सुरु हुने समय भएकाले स्थानीयमा सजगता अपनाउनुपर्ने अवस्था छ’, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने, ‘लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी काम सञ्चालनमार्फत नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यसको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्नुपर्छ ।’ डेङ्गु नियन्त्रणका लागि गाउँपालिकाले छवटै वडा कार्यालय, आठ स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिसकेको छ । उपाध्यायले भने, ‘सबै वडा कार्यालय, सङ्घसंस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र आम जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ ।’ उनका अनुसार यसक्रममा लामखुट्टेको बासस्थान खोजी गरी फूल पार्ने ठाउँ र लार्भा नष्ट गरिनेछ । अभियानका क्रममा आआफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने, टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिनेलगायत लामखुट्टे नष्ट गर्ने विधिका बारेमा स्थानीयमा जनचेतना जगाउने काम थालिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायको भनाइ छ । बिहान र साँझपख डेङ्गुको लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म घरबाहिर नजाने, जानैपरे शरीर पूरै छोपिने किसिमका लुगा लगाउने, खेतबारी तथा पशुपालनसम्बन्धी काम गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ । एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दह्रो हुने, वाकवाकी लाग्ने, पखाला लाग्नेलगायत स्वास्थ्यमा समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । गत गर्मी महिनामा डेङ्गु समस्याका रुपमा देखा परेकाले यसको अहिल्यैदेखि नै नियन्त्रण आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले गत गर्मी महिनाको सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए । उनका अनुसार गत गर्मीमा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गु सङ्क्रमित भएका थिए । कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा रहेका उनको भनाइ छ । डेङ्गुका लक्षण ‘एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सातदिनसम्म रहिरहन सक्दछ’, जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, ‘यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गुका लक्षण हुन् ।’ पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सुत्ने बेला सधैँ झुलको प्रयोग गर्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

मानव विकास सूचकाङ्कमा नेपाल १४६औँ स्थानमा

काठमाडौं ।  मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक सय ४६औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क मान शून्य दशमलव ६०१ छ । जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ । सन् २०२१ मा नेपाल एक सय ४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा शून्य दशमलव (१) ले प्रगति गरेको छ । जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान शून्य दशमलव पाँच सय ५० देखि शून्य दशमलव ६९९ बीचको श्रेणीलाई जनाउँछ । ‘सन् १९९० देखि २०२२ को बीचमा नेपालको जन्ममा सरदर आयु १५ दशमलव सात वर्षले, विद्यालय जाने औसत वर्ष पाँच दशमलव चार प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष दुई दशमलव एक वर्षले परिवर्तन भएको छ । यसैगरी, नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय ९जिएनआई० करिब एक सय ६५ दशमलव सात प्रतिशतले परिवर्तन भएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२२ मा महिलाको मानव विकास सूचकाङ्क शून्य दशमलव पाँच सय ६२ र पुरुषहरुको शून्य दशमलव छ सय ३५ रहेको छ जसका कारण लैङ्गिक विकास सूचकाङ्कको मान शून्य दशमलव आठ सय ८५ हुन आउँछ ।’ प्रतिवेदनले असमान विकासको गतिले आर्थिक रुपमा कमजोरलाई झन् पछाडि धकेल्दै असमानता र राजनीतिक ध्रुवीकरण विश्वव्यापी स्तरमै बढ्दै गइरहेको उल्लेख गरेको छ । गतिरोधको अन्त्यः ध्रुवीकृत विश्वमा सहकार्यको पुनःकल्पना’ शीर्षकको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले विश्वव्यापी मानव विकास सूचकाङ्कमा आएको सुधारलाई आंशिक, अपूर्ण र असमान रहेको देखाएको छ । मानव विकास सूचकाङ्कले कुनै पनि देशको प्रतिव्यक्ति कूल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गर्दछ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार वस्तुको विश्वव्यापी व्यापारको ४० प्रतिशत हिस्सा तीन वा त्योभन्दा पनि कम देशहरूमा केन्द्रित छ । सन् २०२१ मा विश्वका प्रत्येक तीनवटा ठूला प्रविधिसम्बन्धी कम्पनीहरूको बजार पूँजी ९० प्रतिशतभन्दा बढी देशहरूको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी०भन्दा बढी हुन पुगेको थियो । विश्वव्यापी असमानताहरूलाई आर्थिक केन्द्रिकरणले झन् बढाएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘प्रतिवेदनले दुई दशकअघि धनी र गरिब राष्ट्रहरुबीचको असमानता घट्दै गइरहेको क्रम हाल उल्टिन गएको खुलासा गरेको छ । समाजहरूबीचको विश्वव्यापी अन्तरसम्बन्धका बाबजुद पनि हामी असफल हुँदै गइरहेका छौँ । प्रतिवेदनले औँल्याएका चुनौतीहरूको सम्बोधन गर्न हाम्रा अन्तरनिर्भरताका साथै हाम्रा क्षमताको सबलीकरण गर्नुपर्छ’, युएनडिपीका प्रमुख अकिम स्टाइनरले भने, ‘यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्छ । जलवायु परिवर्तन, डिजिटिकरण वा गरिबी र असमानताको क्षेत्रमा सामूहिक रुपमा काम गर्न नसक्नुले मानव विकासमा बाधा पारेको छ । साथै ध्रुवीकरणलाई पनि तीव्र बनाउँदै विश्वभरका मानिस र संस्थाहरूमाथिको आस्था झन्  कमजोर हुने खतरा छ ।’ युएनडिपीका आवासीय प्रतिनिधि आइशानी मेडागङ्गोडा लाबेले नेपालले विगत पाँच दशकमा प्रगति गरे पनि कोभिड महामारीपछि यो प्रगतिमा गतिरोध आएको बताए । ‘युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता, आर्थिक वृद्धि, साथै संस्थामाथिको विश्वासमा गतिरोध आएको छ । तीनै तहका सरकारबीच मात्र नभई निजी क्षेत्र, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आम जनतासँग पनि सहकार्य गर्नु अपरिहार्य छ,’ उनले भने, ‘सङ्घीय सरकारले पारदर्शिता, जवाफदेहिता र निष्ठामा बढी ध्यान दिनुपर्नेछ । प्रादेशिक र स्थानीय सरकारहरूले योजना र सेवा प्रवाह बढाउने, साथै नागरिक समाज सङ्गठनले आशा र विश्वास पुनर्जीवित गर्न जनताको सहभागिता र आवाजलाई अझ प्रवद्र्धन गर्न सक्छन् । यसरी बहुपक्षीयताको मार्ग अवलम्बन गरे समाजमा सबैलाई फाइदा पुग्छ ।’ प्रतिवेदनले आजको युगमा विश्वव्यापीकरणको विकल्प नरहेको र आर्थिक अन्तरनिर्भरता उच्च रहेको उल्लेख गरेको छ । विश्वको कुनै पनि देश आफैमा आत्मनिर्भर नरहेको र सबै देशहरु कम्तीमा २५ प्रतिशत वा  कुनै एक प्रकारको वस्तु वा सेवाहरूको आयातमा निर्भर रहेको देखाएको छ । रासस

आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साँझ पाँच बजेका लागि बैठक बोलाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुनेछ । आयोगले सात सुन तस्करी प्रकरणमा अनुसन्धान फितलो भएको निष्कर्श निकालेको छ । यसमा विभिन्न व्यक्तिको संलग्नता रहेको र अनुसन्धान अधिकृतले भीआईपीलाई बचाउनका लागि फितलो अनुसन्धान गरेको उल्लेख गरेको छ ।

झापाका दुई खानेपानी आयोजनालाई ३२ करोड बजेट विनियोजन

झापा । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि ३१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर(६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्य सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गरिएको उक्त क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताए । सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि १७ करोड ८९ लाख रुपैयाँ र काँकडभिट्टा खानेपानी आयोजनाका लागि १३ करोड ९७ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको हो । चालू आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्ममा ठेक्का प्रक्रिया सुरु भएर तीन वर्षभित्र योजना सम्पन्न हुने शर्माले जानकारी दिए । दुवै आयोजनाका लागि यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ठेक्का प्रक्रियामा जाने र बहुवर्षीय स्रोत सुनिश्चित गर्ने सहमति भएको सांसद शर्माले बताए । जनघनत्व बढिरहेको दुवै क्षेत्रमा खानेपानी सुविधा विस्तारको खाँचो पूरा गर्न यी परियोजनाको निर्माण महत्वपूर्ण रहेको उनको भनाइ छ । झापा–१ को बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी, धुलाबारी, चारआली र धाइजन क्षेत्रमा खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । सांसद शर्माले धुलाबारी, बाहुनडाँगी, ज्यामिरगढी र चन्द्रगढीलगायत खानेपानी योजनामा बजेट उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए । रासस

भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना

भियतनाम । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । तीमध्ये केहीको १२ वटा स्थानीय अस्पताल र मेडिकल सेन्टरमा उपचार भइरहेको छ भने केहीलाई घरमै उपचारको लागि औषधि दिइएको भियतनाम समाचार एजेन्सीले जनाएको छ । अधिकारीहरूले बुधबार राति पर्यटक र स्थानीयसहित पहिले अस्पताल पुगेका ६० जना विषाक्त खानाका कारण विरामी परेको पुष्टि भएको जनाएका छन् । भिएनएक्सप्रेसका अनुसार उनीहरु सबैले यसअघि मध्य तटीय शहरको ट्राम आन्हस्थित एक रेस्टुरेन्टमा कुखुराको मासु र खाना खाएका थिए । न्हा ट्राङ स्वास्थ्य विभागका अनुसार बिहीबार दिउँसो थप सङ्क्रमित भेटिएका छन् । अनुसन्धानका लागि बिक्री सम्झौता र खाद्य सामग्रीसँग सम्बन्धित अन्य कागजात पेश गर्न भनेको तर सञ्चालकले कागजात पेश नगरेकोले रेस्टुरेन्टलाई अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयको खाद्य सुरक्षा विभागले शुक्रबार जानकारी गराएको छ । रासस