सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउने तयारी
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । यसका लागि केन्द्रले चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सक्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण सुरु गर्नेछौँ, शैक्षिक सत्र सुरु हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउँछौँ ।’ केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सैँ घन्टा चलिरहेको जानकारी दिए । पुस्तक वितरण भने पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरिने भएको छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा प्रादेशिक कार्यालय एवं वितरण केन्द्रबाट बिहानदेखि बेलुकासम्म पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । उनले यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन सक्ने बताए । प्रबन्ध निर्देशक झाले भने ‘गत वर्षजस्तै यस वर्ष पनि कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलब्ध गराउने छौँ, कुनै पनि पुस्तक यस वर्ष पनि अधाव हुँदैन ।’ केन्द्रले आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भएपनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए । आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएपनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने दाबी उनले गरे । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा १ देखि ४ सम्मको मात्रै दिएको छ । पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै शिक्षा मन्त्रालयमा पत्राचार गर्दै पुस्तक छपाइबारे छिटो निर्णय गर्न पत्रचार गरेको भए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गत मङ्सिर १२ मा केन्द्रमै बसेको बेठकमा प्रबन्धक निर्देशक झाले सरकारले यसबारेमा चाँडै निर्णय गरी १ देखि १२ सम्मको आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी केन्द्रलाई दिन माग गरेको थियो । केन्द्रले जिम्मेवारी पाउने आशामा कक्षा ३ कक्षा केही किताब छपाइसमेत गरिसकेका थियो । रासस
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ । ‘प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ’, उनले भने । घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, पोखराका छिमेकी पालिका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन सङ्घ संस्थालगायत रहेका छन् । राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ । प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताए । पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताए । ‘पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन न भन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ’, महानगर प्रमुख आचार्यले भने । उनले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए । रासस
राष्ट्रिय वाणिज्य बैंकले दीगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘इनहान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स आगामी शनिबार काठमाडौं आयोजना गर्न लागेको हो । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुन लागेको आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्समा अर्थविद् डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्ने छन् । कार्यक्रममा अर्थविद् एवं माननीय डा. स्वर्णिम वाग्लेको कि नोट्स मन्तब्य हुने छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने बैंकले जनाएको छ ।
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भनेस्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन तस्करी प्रकरण : एआईजी बज्राचार्यलाई कारवाही गर्न सिफारिस
काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो । प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको बुझिएको छ ।
वैदेशिक लगानी प्रतिबद्धतामा उच्च वृद्धि, फागुनमा नै साढे ६ अर्बको प्रतिबद्धता
काठमाडौं । फागुन महिनामा वैदेशिक लगानीको प्रतिबद्धतामा उच्च अंकले वृद्धि भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनामा नेपालमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको नयाँ उद्योग तथा व्यवसाय स्थापना वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । जबकी अघिल्लो माघ महिनामा जम्मा ३४ करोड ५० लाख रुपैयाँ मात्रै नयाँ लगानीको क्षेत्रमा लक्षित गरेर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । विभागका अनुसार फागुन महिनामा १२ वटा विभिन्न क्षेत्रमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । माघ महिनामा १५ वटा नयाँ लगानीको क्षेत्रमा यस्ताे प्रतिबद्धता आएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिना यता फागुनमा आएको वैदेशिक लगानीको प्रतिबद्धताको अंक सबैभन्दा धेरै हो । फागुन महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रका ५८ प्रतिशत, म्यानुफ्याक्चरिङ क्षेत्रमा १७ प्रतिशत, सेवा क्षेत्रमा १७ प्रतिशत र पूर्वाधारको क्षेत्रमा ८ प्रतिशत लगानीक प्रतिबद्धता आएको विभागले जनाएको छ । फागुन महिनामा आएका वैदेशिक लगानीका प्रतिबद्धता भने साना उद्योग लक्षित मात्रै रहेका छन् । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले चालु आर्थिक वर्षको फागनु मसान्तसम्ममा रोयल्टी र लाभांश वापत ८ अर्ब ५० करोड ६६ लाख ७ हजार ९१५ रुपैयाँ लगेका छन् । यस्तो रोयल्टी र लाभांश गत आवको सोही अवधिमा कम्पनीहरुले १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ रुपैयाँ लगेका थिए । तथ्यांकअनुसार नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुको रोयल्टी र लाभांश स्वीकृति गत आर्थिक वर्षको तुलनामा झण्डै अर्ब रुपैयाँले घटेको देखिएको छ । विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा वैदेशिक लगानीकर्ताहरुको आकर्षणमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा १५९२ जना वैदेशिक लगानीकर्ताहरुले लगानीको प्रतिबद्धता जनाएका छन् भने अघिल्लो आवको सोही अवधिमा जम्मा १०६९ जनाले त्यस्तो प्रतिबद्धता जनाएका थिए । विभागका अनुसार अहिलेसम्म नेपालमा ६११२ वटा विभिन्न विदेशी कम्पनीहरुले ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख ३८ हजार ३०५ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीले गृहमन्त्रीलाई भने : कसैको दबाबमा नपरेर सुन प्रकरणमा संलग्नलाई कारवाही गर्नुस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन शुक्रबार बालुवाटार पुगेका गृहमन्त्री लामिछानेलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न निर्देशन दिएका हुन् । ‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न तपाईं अघि बढ्नुस्, , तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय परिचालन गर्नुस्, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्नुस्,’ प्रचण्डले रविलाई भनेका छन् ।