विकासन्युज

सरकारले महत्वपूर्ण विधेयक ल्याउन ढिला गर्न हुन्न

काठमाडौं । हामी जनताबाट निर्वाचित भएपछि साढे एक वर्षसम्म संसद्मा भूमिका खेल्ने अवसर प्राप्त भयो । करिब एक वर्ष सरकारमा रहेर पनि काम गरियो । सरकारमा रहँदा पनि संसदीय गतिविधिमा सक्रियरुपमा काम पनि गरियो । सरकारमा रहँदा जिम्मेवारी प्राप्त गरेको मन्त्रालयको कामलाई गति दिनुका साथै संसदीय गतिवधिलाई पनि आगाडि बढाइयो । मन्त्रालयकातर्फबाट पनि जनसरोकारका विषयलाई प्राथमिकता दिने प्रयास गरेँ । सदनबाट गरिनुपर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाइयो भने मन्त्रालयको जिम्मेवारीअनुसार तात्कालीक र दीर्घकालीन महत्वका कामका साथै सानातिना समस्यालाई पनि सम्बोधन गर्ने प्रयास गरियो । सरकारमा बसी काम गर्दाको अनुभव पनि भयो र सरकारको भूमिकामा पनि रहेर जिम्मेवारी पूरा गरियो । तथापि अपेक्षाकृतरुपमा संसदीय भूमिका प्रभावकारी हुन नसकेको मेरो बुझाइ हो । संसद्मा जसरी योजनाबद्धरुपमा कानुन निर्माण हुनुपर्ने हो त्यति नभएको अवस्था छ । धेरै कानुन निर्माण हुन सकेका छैनन् । संसद्को अघिल्लो अधिवेशनले जति कानुन निर्माण गर्नुपर्ने हो त्यति निर्माण गर्न नसकेको सत्य हो । राष्ट्रियसभामा उत्पत्ति भएर प्रतिनिधिसभामा पेस भएका कतिपय कानुनले पूर्णता नै पाउन सकेनन् । ती कानुनहरु अघि बढाउन निकै ढिलासुस्ती भएको छ । सबै कामको ‘जग’ नै कानुन हो । त्यसैले संसद्बाट जतिसक्दो चाँडो कानुन निर्माण गर्नुपर्छ । कानुन बनाउने काम ढिलासुस्ती भएको छ । यसपटकको संसद्ले केही महत्वपूर्ण कानुनहरु सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षालगायतका ऐन कानुन निर्माण गर्नेमा विश्वास छ । मैले पनि कानुन निर्माण र राष्ट्रिय मुद्दाका साथै आत्मनिर्भर अर्थतन्त्रको विकासमा आफ्नो भूमिका निर्वाह गरिरहेको छु र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने नै छु । सांसदहरु विधायिकाको भूमिकासँगै विकास निर्माणमा पनि जोडिनुपर्छ । सरकारले बजेट विनियोजन गर्दा सन्तुलित नहुनेजस्ता कुराले पनि जनचाहनाअनुरुप सन्तुलित विकासका लागि सांसदले त्यसमा चासो दिनुपर्छ । तर, सांसदको प्रमुख दायित्व कानुन निर्माण हो । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसद्मा हुने छलफलमा सक्रिय सहभागी भई सुझाव दिने र बजेटको कार्यान्वयनमा सहजीकरण गर्ने अर्को प्रमुख काम पनि सांसदकै हो । सरकार र जनताबीच सेतुको भूमिका निर्माण गर्ने पनि जनप्रतिनिधिको दायित्व भएकाले यसलाई मध्यनजर गरेर आगामी दिनमा संसद्को भूमिकालाई थप प्रभावकारी बनाउन जिम्मेवारपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । संसद्का गतिविधिलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्नेमा हाम्रो गम्भीररुपमा ध्यान केन्द्रित हुन्छ । मूलतः संविधान र सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण अति आवश्यक छ । सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, सङ्घीय शिक्षालगायतमा महत्वपूर्ण कानुन निर्माणलाई अहिलेको अधिवेशनले तीव्रता दिनुपर्नेछ । तर, यो बजेट अधिवेशन पनि भएकाले एकतिर कानुन निर्माणलाई तीव्रता दिनुपर्यो र अर्कोतर्फ बजेट निर्माणलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी छ । बजेटका सिद्धान्त र प्राथमिकताबारे संसद्मा छलफल भइरहेको छ, त्यहाँका सुझाव समेटेर सरकारले बजेट ल्याउनुपर्छ । सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरेर पारित गर्नुपर्ने दायित्व पनि सांसदको छ । अर्कोतर्फ संसद्मा थुप्रिएर रहेका र कतिपय सरकारले छिटोभन्दा छिटो संसद्मा पेस गर्नुपर्ने कानुनहरु पेस गरेर कानुन निर्माणलाई गति दिनुपर्ने हुन्छ । बजेट निर्माण गर्दा कसरी उत्पादन क्षेत्रमा लागानी बढाउन सकिन्छ, बढीभन्दा बढी रोजगारीका अवसर कसरी सिर्जना गर्ने, विधि निर्माणलाई प्राथमिकता राखेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनेगरी बजेट केन्द्रित हुनुपर्छ । राजस्व सङ्कलन बढाउने, स्रोत साधन बढाउने तथा योजना आवश्यकता र प्राथमिकताका आधारमा वर्गीकरण गरिनुपर्ने आवश्यकता छ । अर्को कुरा विगतमा अगाडि बढाइएका अधुरा योजनालाई सम्पन्न गराउने, मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने, उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने र जनतालाई सेवासुविधा दिने नयाँ योजना छनोट गरी बजेटको सुनिश्चितता गरिनुपर्छ भन्ने मेरो सुझाव छ । रासस (कुराकानीको सम्पादित अंश)

बजारमा परिसूचकसँगै घट्यो कारोबार, अधिकांश समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा परिसूचक १०.६२ अंकले घटेको छ भने कारोबार रकम ५६ करोडले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक गत बिहीबारको तुलनामा ०.५१ प्रतिशतले घटेर २०७०.२५ बिन्दुमा झरेको छ । त्यस्तै, आइतबारको बजारमा ३ अर्ब ३८ कम्पनीको सेयर कारोबार भएको छ । यसअघि अर्थात गत बिहीबारको बजारमा भने ३ अर्ब ९४ करोडको सेयर किनबेच भएको थियो । आइतबार सर्वाधिक सेयर कारोबार हुनेको सूचीमा शिवम् सिमेन्ट रहेको छ । जसको एकैदिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै सेयर मूल्य पनि एकैदिन २१.९० रुपैयाँले बढेर प्रतिकित्ता ५७६ रुपैयाँ पुगेको छ । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर प्रतिकित्ता २८७.१० रुपैयाँ पुगेको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार टप लुजरको अग्रस्थानमा भने वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य एकैदिन ९०.५० रुपैयाँ अर्थात ७.८३ प्रतिशतले घटेर प्रतिकित्ता १०६६ रुपैयाँमा झरेको छ । आइतबार कारोबारमा आएका अधिकांश समूह राताम्मे देखिएका छन् । विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह बाहेक बाँकी समूह घटेर राताम्मे देखिएका हुन् ।

सीजी इम्पेक्सले १५१ प्रतिशतसम्म लाभांश खुवाउँछ निर्वाण चौधरीलाई

काठमाडौं । एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रा.लि.ले निर्माण चौधरीलाई १५१ प्रतिशतसम्म लाभांश खुवाएको छ । कम्पनीले आफ्ना सेयरधनी निर्माण चौधरी र वरुण चौधरीलाई विगतका दुई आर्थिक वर्षमा १५१ प्रतिशतसम्म लाभांश खुवाएको हो । आर्थिक वर्ष २०२२–२३ मा भने कम्पनीले नाफाको ६३ प्रतिशत मात्रै लाभांश वितरण गरेको छ । कम्पनीको व्यापारमा घटबढ भएसँगै नाफासँगै कम्पनीले वितरण गर्ने लाभांशमा पनि घटबढ देखिएको हो । कम्पनीले आर्थिक वर्ष २०२३ मा कूल ६ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष अर्थात २०२२ को तुलनामा घटी हो । आर्थिक वर्ष २०२२ मा कम्पनीले ७ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । एलजी ब्रान्डको आयातकर्ता तथा आधिकारिक विक्रेता सिजी इम्पेक्स सन् २००४ मा स्थापित भएको थियो । जुन हाल सीजी ब्रान्डको विद्युतीय घरायसी सामाग्री बिक्री वितरण गर्ने स्वदेशी डिलर पनि हो । सीजीआईले ब्ल्याक एण्ड डेकर, क्रोम्टन एण्ड पिजन जस्ता साना साना ब्राण्डेड घरायसी सामाग्रीहरु समेत बिक्री वितरण गर्दै आएको छ । सीजी इम्पेक्स नेपालका प्रतिष्ठित व्यापारिक घराना चौधरी समूहअन्तर्गतको एक स्थापित इकाई समेत हो । कम्पनीको प्रमुख सेयरधनीको रुपमा निर्वाण चौधरी रहेका छन् । जो एक्लैको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, बाँकी रहेको १५ प्रतिशत सेयर भने वरुण चौधरी रहेको छ । दुबै जना नेपालका प्रतिष्ठित उद्योगी विनोदकुमार चौधरीका छोराहरु हुन् । कम्पनीले हालै ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले दीर्घकालिन अवधिको लागि अर्थात २ अर्ब रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबीबीबीको रेटिङ्ग दिएको छ । त्यस्तै, बाँकी रहेको अल्पकालिन अवधिको कर्जालाई भने इक्राएनपी एथ्री प्लसमा अपग्रेड गरिएको र ‘इस्यूअर नट कोअपरेटिङ’को सूचीबाट हटाइएको छ ।

नेपाल औषधिले सुरु गर्यो थप तीन ट्याबलेटको उत्पादन

काठमाडौं । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले चैत ४ गतेदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट-डिएफ नामका औषधी उत्पादन सुरु गरेको जानकारी दिए । तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधी दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो । ‘सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौँ’, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए । विस २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । हाल आइतबारदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

सीआईटीले बैंकबाट ब्याज खानु हुँदैन, पुँजी बढाएर सेयर बजारमा हस्तक्षेप गर्नुपर्छ

नागरिक लगानी कोषका योगदानकर्तालाई उच्च प्रतिफल दिनुपर्छ । कोषले संकलित रकमको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै जम्मा गरेको छ । जुन त्यति सान्दर्भिक होइन । नागरिक लगानी कोषले परम्परागत भूमिका मात्रै होइन, शसक्त भएर आफ्नो उद्देश्य पुरा गरेर पुँजी बजारमा स्थायित्व र पुँजी बजारका लगानीकर्ताहरूको विश्वास बढाउन भूमिका खेल्नुपर्छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार २ खर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये ५१.६२ प्रतिशत अर्थात् १ खर्ब ३ अर्ब ४३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको छ । पुँजी बजारलाई प्राथिमिकता दिएर बजारको गतिशील विकासमा योगदान गर्न कोष स्थापित भएको हो । तर, पुँजी बजारमा कोषको सक्रियता न्यून छ । ३२ अर्ब २२ करोड रुपैयाँ (१६.२८ प्रतिशत) मात्रै संस्थापक सेयरसहित पुँजी बजारमा लगानी छ । आगामी दिनमा पुँजी बजारको गतिशील विकास तथा विस्तारका लागि लगानी कोषको संलग्नता तथा सकारात्मक हस्तक्षेपको आवश्यकता छ । पुँजी बजारका लागि नागरिक लगानी कोष महत्वपूर्ण संस्थागत लगानीकर्ता पनि हो । त्यसैले आफ्नो पोर्टफोलियोको ठूलो हिस्सा पुँजी बजारमा लगानी गर्नु भयो भने समग्र बजारलाई स्थिरता दिन सक्ने हैसियत तथा क्षमता छ । त्यसैले आफ्नो क्षमता अनुसारको सक्रियता देखाउनु पर्छ । नागरिक लगानी कोषले ६०÷६५ प्रतिशतसम्म लगानी मुद्दती निक्षेपमा जम्मा गरेको भनेर गुनासो आएपछि केही सधार भएको देखिन्छ । तर, त्यो सुधार अपेक्षित छैन । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नागरिक स्टक डिलर खोल्नु भयो । तर, बजारको आकार बढेअनुसार हस्तक्षेप वा प्रभाव शून्यप्रायः देखिएको छ । माग बढाउने, आपुर्ति व्यवस्थापन गर्ने, बजारलाई स्थायित्व दिने, संस्थागत लगानीकर्ताहरूका निर्णयलाई आम लगानीकर्ताहरूले पछ्याउने अभ्यास हुनु पर्ने हो । तर, त्यो अपेक्षा अनुसार प्रभाव देखिएन । नागरिक स्टक डिलरले मर्चेन्ट बैंकिङको भूमिका निर्वाह गरिरहेको छ । नियामकले कारबाही गरेको अवस्था पनि छ । त्यसकारण नागरिक स्टक डिलरलाई कारबाही गर्न हामीलाई त्यति धेरै मज्जा लागेको छैन । आगामी दिनमा पनि सुशासन कमजोरी देखियो भने नियामकले अभिभावकको भूमिका खेल्ने हो । यदि त्यो स्थिति सिर्जना गर्नु भयो भने नियामकले कारबाही गर्न पछि पर्दैन । हामी कारबाही गर्न चाहँदैनौं । स्टक डिलरको सुशासनमा सुधार हुन आवश्यक छ । नागरिक स्टकले डिलरका रूपमा खेलेको भूमिका प्रभावकारी छैन । कम्पनीको चुक्ता पुँजी बढाउनुहोस् । नागरिक स्टक डिलरको चुक्ता पुँजी १०/२० अर्ब बनाउनुहोस् । त्यसपछि सक्रिय संस्थागत हस्तक्षेप गर्नुपर्छ । सरकारको प्राथमिकताको कम्पनीका रूपमा भूमिका खेलेर गतिशील विकास गर्न सकिन्छ । अर्थात् नागरिक स्टक डिलरको संरचनामा परिमार्जन गर्नुहोस् । नागरिक कोष एक्लैले २० अर्ब पुँजी वृद्धि गर्न सक्दैन भने कोष जस्तै बचत रकम परिचालन गर्ने अन्य कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, राष्ट्रिय जीवन बीमा कम्पनीसँग समन्वय गरेर २० अर्ब पुँजी वृद्धि गर्न सक्छ । त्यसपछि स्टक डिलरको पुनरसंचना वा स्वामित्व परिवर्तन गरेर अघि बढ्ने हो भने पुँजी बजारमा भूमिका प्रभावकारी हुन सक्छ । आजभन्दा ५÷६ वर्ष अगाडि अनुसन्धान गर्दा नेपालको सेयर बजारबाट औसत २० प्रतिशतभन्दा बढी प्रतिफल पाएको देखिएको थियो । उक्त अनुसन्धान विश्व विद्यालयमै टप भएको थियो । त्यसकारण सेयर बजारमा राम्रो प्रतिफल छ । अध्ययन तथा विश्लेषण गरेर पोर्टफोलियो म्यानेजमेन्ट गर्याे भने पुँजी बजारबाट मनग्य कमाउन सकिन्छ । यदि त्यो गर्न सक्यो भने नागरिक लगानी कोषले योगदानकर्ताहरूको अपेक्षा पुरा गर्न सकिन्छ । नागरिक लगानी कोषको भूमिकाको विषयमा धेरै अपेक्षा गरिएको छ । तर, प्रभावकारी देखिएको छैन । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुखहरूलाई आग्रह गरिसकेको छु । नियामकबाट सहयोग गर्न म सकारात्मक छु । (धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा.अधिकारीले सीआईटीको वार्षिकोत्सबमा राखेको धारणाको सम्पादित अंश)

कोका-कोलाले बनायो ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाडौं । कोका-कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । शुक्रबार काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ  इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको हो । कोका-कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए । कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र यसका लागि कोका–कोला सदैव तत्पर रहेको छ । कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भने, ‘कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ । परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौँ ।’

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय साँँखुले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो । दुई दिनसम्म संचालन भएको सो कार्यक्रम विशेषतः ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयक अन्तरकृयामा केन्द्रीत थियो । कार्यक्रमका वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपमेयर श्री समिता श्रेष्ठले ग्राहकलाई सानो सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताए । बिशिष्ट अतिथि वित्तीय संस्थाका संचालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताइन् । प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सहि ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरे । कार्यक्रममा गोकर्णेश्वर न.पा वडा नं. ६ की वडा सदस्य मञ्जु पुडासैनीले आफ्नो मन्तब्यका क्रममा लघुवित्तले समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठुलो मद्दत गरेको र यसबाट उनीहरुको आर्थिक उन्नतिमा ठुलो प्रगती भएको बताइन् । समाजमा हाल विकृती पछि नलागी आर्थिक अनुशासन कायम राख्न सम्पुर्ण सदस्यलाई आग्रह गरेकी छिन् । त्यसैगरि, कागेश्वरी मनोहरा वडा नं. ७ की वडा सदस्य सुनिता बोगटीले आफ्नो ब्यवसाय संचालनको सहयात्री स्वावलम्बन रहेको बताइन् । कार्यक्रममा १५७ बटा केन्द्र मध्ये सर्वोत्कृष्ट तीन वटा केन्द्रहरु गोकर्णेश्वर ८ का क्रमशः प्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ७७, दोश्रो गणेश स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. २० र तेश्रो शंखर स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ६५ लाई प्रमुख अतिथिहरुको को हातबाट प्रमाण पत्र सहित नगद पुरुस्कार दिई सम्मान गरिएको छ । केन्द्र नं. १२० की सदस्य सावित्री पराजुली को छोरा सविन पराजुली २०७९ सालको एस.ई.ई. परिक्षमा उत्कृष्ट अंक ल्याई उतिर्ण भएकोमा बिशिष्ट अतिथिद्धारा प्रमाण पत्र सहित नगद पुरुस्कारले सम्मान गरिएको थियो ।

वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ (फोटो फिचर)

काठमाडौं । वसन्तपुरमा आइतबार होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ । स्थानीय तीर्थलाल तन्डुकारले आइतबार बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए । यसै दिनदेखि काठमाडौंवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ । तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । ‘चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ’, उनी भन्छन् ‘यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।’  होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।