विकासन्युज

चैत ५ मा एईसीसीको निःशुल्क एजुकेसन फेयर

काठमाडौं । शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था एईसीसीले भदौ ५ गते निःशुल्क ‘अष्ट्रेलिया र क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । यस शैक्षिक मेलामा प्लस टू तथा ब्याचलर्स अध्ययन सकेका तथा सक्न लागेका विद्यार्थीले अष्ट्रेलिया र क्यानडाका १५ भन्दा बढी विद्यालयबाट सतप्रतिशतसम्म छात्रवृत्तिका लागि वास्तविक जानकारी प्राप्त गर्न सक्नेछन् । यो मेला एईसीसीको डिल्लीबजारस्थित कार्यालय रहेको सनराइज बिज पार्क भवनको नवौं तलामा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आयोजना हुनेछ । यो मेलामा निःशुल्क परामर्श सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट

बनेपा । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धमा आइतबार नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र अनुसार नेपाल एसबिआई मर्चेण्टले लघुवित्तको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कामहरु गर्ने छ । साविक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रियस्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

टेलिकमका प्राविधिक अधिकृतविरुद्ध मुद्दा दायर, करोडौं रकम भ्रष्टाचार गरेको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गरेको छ । सिटौलाले साढे एक अर्ब बढीको रकम भ्रष्टाचार गरेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर सिटौलाले कानूनी प्रावधान वितरीत टेलिकमको विना स्वीकृति निजी कम्पनी हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्सनको सेयर खरिद गरी संस्थापक सेयरधनी बनी कम्पनीको निर्देशकको हैसियतमा उक्त कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पारिश्रमिक बुझिएको पाइएको छ । साथै, उक्त कम्पनीको रिजर्भमा रहेको नाफाबाट प्राप्त एक करोड १६ लाख रुपैयाँ आय समेत गरी कूल एक करोड ६१ लाख रुपैयाँ गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको आयोगले पुष्टि गरेको बताएको छ । त्यसैले, आयोगले निज सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

महालक्ष्मी विकास बैंकको सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा ‘नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न गरेको छ । उक्त कार्यगोष्ठी/सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो । साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

विभागीय प्रमुखहरूलाई बालेनले भने : काम गर्दा कसैसँग नडराउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताएका हुन् । ‘गलत गर्नु हुँदैन । गल्ती गर्नेलाई कारवाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन हो ।’ प्रमुख शाहले भने, ‘गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, हेर्नु । काम भइसकेपछि भुक्तानी नरोक्नु ।’ उनले वर्षौंसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै भने, ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णीय योजना कार्यान्वयनमा ल्याएका हौं । यी कार्यक्रमको कार्यान्वयन विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नुहोला ।’ लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले, भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए ।

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता दायर गरिएको हो । आरोपितले ११ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानि नोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेकाले हानिनोक्सानी भएको बिगो असुल उपर मागदाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङलाई प्रतिवादी बनाएको छ । त्यसैगरि महोत्तरीको बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लीलामणी आचार्य र कृष्णप्रसाद गौतम, रम्तेलडाँडा सामुदायिक वनका उपभोक्ताद्वय एमबहादुर थापा मगर र नन्दमाया खनाल तथा रुख कटानमा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दिप नेपालीलाई समेत प्रतिवादी बनाइएको छ । यस्तै सव–डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङगेल र दिलीप महतोले पनि भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत र मालपोत कार्यालय  महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का समेत आरोपित छन् । बर्दिबास नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य शान्तादेवी श्रेष्ठ र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।

पोखरामा डिस्को, दोहोरी र लाइभ म्युजिक रातभर खुल्ने

काठमाडौं । पोखरामा आईतबार साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । आईतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए । उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाए । उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए । ‘आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुनेछन् । साथै डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्नेकुरा जानकारी गराउन चाहन्छु । राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गरिनेछ’, उनले भने । उनले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए ।  

सीजीद्वारा एसी सर्भिस क्याम्प घोषणा

काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ । यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने सीजीले जनाएको छ । एसीको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशत सम्मको छुट, एक्सचेन्जमा ५० सम्मको अतिरिक्त मूल्यांकन र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट दिने अफर रहेको छ । यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अबस्थाको एसी एक्सचेन्ज गर्न सक्ने सीजीले जनाएको छ  ग्राहकले सीजी इलेक्सको बेवसाइट मार्फत आफैले आफ्नो सामानको मूल्यांकन गर्न सक्ने छन् । सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन् । यो अफरले ग्राहकहरूले गर्मीलाई स्वागत गर्न र गर्मीको झन्झट बाट मुक्त हुन सक्नेछन् । सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको जनाएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको जनाएको छ । हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको जनाएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ । सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम सिरिजको सेग्मेन्ट हो। सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी बाण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको छ ।