चैत अन्तिम सातादेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने
ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए। सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा शाक्यले गरे । यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए । मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए। मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ ।
बाँसबारी जग्गा प्रकरण : संलग्न सबैको बयान लिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा संलग्न सबैमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् । आइतबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै उनले सो कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा संलग्न सबैमाथि आजैदेखि अनुसन्धान गर्न निर्देशन दिएका हुन् । उनले सो जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि निर्देशन दिएका छन् । अब नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीमाथि बयान सुरु गर्ने बुझिएको छ । सीआईबीले बाँसबारी छालाजुत्ताको जग्गा ठगी गर्ने विषयमा लामो अनुसन्धानपश्चात् व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखाना तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकूरलाई पक्राउ गरेको थियाे । पछि अदालतले उनीहरूलाई छाेड्न आदेश दिएको थियो । कानून विपरित सो उद्योगका तत्कालीन कार्यकारी अध्यक्ष थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सो कम्पनीलाई कारखानाको १० रोपनी जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ । सो बेला कम्पनीको सेयरधनीमा अरुण मात्रै थिएनन् । सो कम्पनीको मुख्य सेयरधनीको रूपमा उद्योगी विनोद चौधरी पनि थिए । सीआईबीले अनुसन्धान गर्दै जाँदा तत्कालीन सेयरधनीहरू पनि अनुसन्धानमा तानिने सीआईबीको भनाइ छ । अहिले च्याम्पियन फुटवेयर कम्पनीको सेयरधनीका रूपमा अरूण र उनकी श्रीमती शिला चौधरी भए पनि त्यतिबेला सो कम्पनीको सेयरधनीकारूपमा विनोदकुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् । मन्त्रालयमा केही समय अघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । त्यस्तै, मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सीईओ बस्यालले गत फागुन ३० गतेदेखि नै लागू हुने गरी आफ्नो कार्यभार सम्हालेका छन् । साविक नेरुडे लघुवित्त वित्तीय संस्था र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भई गत फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । यससँगै संस्थाको केन्द्रिय कार्यालय काभे्रपलान्चोकको बनेपा ८ मा रहेको छ ।
रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् ।
‘मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइन्छ’
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताए । मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिए । सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा पहल भइरहेको बताउँदै उहाँले त्यसका लागि दुवै छिमेकी राष्ट्रसँग पहल भइरहेको बताए । विमानस्थलको निर्माण लागेको ऋणको व्यवस्थापनका सम्बन्धमा पनि पहल भएको उनले बताए । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको योगदानको स्मरण गर्दै उनको नाममा स्थापित पुरस्कारले पोखरामा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई सम्मान गरेका थिए ।
आशा लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
सेयर बजारमा हस्तक्षेप आवश्यक, नागरिक स्टक डिलरको काम छैन-अधिकारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारीले सेयर बजारमा सकारात्मक हस्तक्षेप आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकास तथा विस्तारका लागि सकारात्मक हस्तक्षेपको आवश्यक रहेको बताएका हुन् । उनले नागरिक लगानी कोषका सहभागीहरूलाई प्रतिफल बढाउन आवश्यक रहेको पनि बताएका छन् । उनले पैसलाई बैंकमा मुद्दती निक्षेपकारूपमा नराखेर अन्य क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । उनले पुँजी बजारको गतिशीलतामा जोड दिन लगानी गर्नुपर्ने बताएका हुन् । ‘कुल लगानीको ५१ प्रतिशत मुद्दती निक्षेपमा छ, जसमध्ये ३२ अर्ब २२ करोड रुपैयाँ (१६%) मात्रै सेयर बजार (संस्थापक सेयर समेत)मा छ, पुँजी बजारमा सकारात्मक हस्तक्षेप गर्न आवश्यक छ,’ उनले भने । यस्तै, उनले सहायक कम्पनी नागरिक स्टक डिलरको भूमिका पुँजी बजारमा शून्यजस्तै रहेको धारणा राखे । बोर्डले दिएका निर्देशन पालना गरेन भने नागरिक स्टक डिलरलाई कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।