विकासन्युज

काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना  छ । काठमाडौंमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र  चट्याङ्सहित  सामान्य वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ । विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित  छिटपुट  वर्षाको सम्भावना  छ ।

देशका ५१ जिल्लामा २ हजार खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका- २ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए । नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन प्रतिशत जनसङ्ख्यामा ट्रष्टको आर्थिक सहयोगमा खानेपानीको पहुँच पुगेको उनकाे दाबी छ । ‘एकाउन्न जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,’ उनले भने, ‘६१ हजार ६ सय ३४ धारा र चार सय ३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ ।’ ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर- ६ खिबाङ, ४ को पटार, छेम्दी- ३ को दाना बजार, दुवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट एक हजार ९०० जनसङ्ख्या लाभान्वित भएका ट्रष्टका इन्जिनियर लीला शेरचनले जानकारी दिए । उनका अनुसार ती योजनाहरूमा करिब दुई करोड ४१ लाख खर्च भएको छ। साथै आगामी आर्थिक वर्षमा वडा नम्बर- ४ नारच्याङको बेसी र लेखगाउँमा सञ्चालन गरिने योजनाका लागि एक करोड १५ लाख ट्रष्टले खर्च गर्ने उनले बताए । दुई दिनसम्म सञ्चालन भएको ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद् तयारी कार्यक्रम’ को सिकाइ तथा अनुभव आदानप्रदान कार्यशालामा कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय तहका प्रमुख, प्राविधिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । ट्रष्टले हाल १४ जिल्लाका चार नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा खानेपानी योजना सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताजकोट गाउँपालिकाका प्रतिनिधिको सहभागिता थियो । रासस

दुई घण्टा लामो बयान दिएर विनोदले भने : ममाथि राजनीति भयो

काठमाडौं । उद्योगी विनोद चौधरीले बयान दिएर निस्किँदै आफूमाथि राजनीति भइरहेको बताए । उनले आफूमाथि राजनीतिक स्टन्ट भइरहेको पनि बताउँदै स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने धारणा पनि राखेका छन् । सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्किँदै उनले यस्तो बताएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आज बिहान बयान दिएर उनी निस्किएका हुन् । उनले दुई घण्टा बढी समय बयान दिएका छन् । उनी बिहीबार बिहानै बयानका लागि सरकारी वकिल कार्यालय पुगेका थिए । बुधबार सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो । काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।

कृष्णबहादुर महरासँग बिहीबार पनि बयान लिइँदै

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ । उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उहाँसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

५२ करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी । कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि रु ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको हो । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध कार्यालय कञ्चनपुरले जनाएको छ । जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका सबइन्जिनियर प्रकाश खड्काका अनुसार ती दुवै नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ । मोहना र खुटिया नदीमा १२ किलोमिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८-७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग रु ५२ लाखमा ठेक्का सम्झौता भएको सबइन्जिनियर खड्काले बताए । केही प्याकेजको काम पूरा भइसके बताउँदै उनले भने, ‘बाँकी प्याकेजको काम तीव्ररुपमा भइरहेको छ ।’ निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम भइरहेको सबइन्जिनियर खड्काले जानकारी दिए । उनले दुवै नदीमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको बताए । तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । सोही नदीको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर तटबन्ध निर्माण सकिएको जनाइएको छ । मोहना नदीमै पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । कृष्णपुर नगरपालिका–१, मोहना नदीमै छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । यसैगरी, खुटिया नदीको विभिन्न स्थानमा तटबन्ध निर्माण कार्य जारी छ । सो कार्यालयका अनुसार गोदावरी नगरपालिकाको अर्जुन टोलमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण भइरहेको छ । यसैगरी, गोदावरी नगरपालिकाको धनचौँरीमा एक हजार मिटर र धनगढी उपमहानगरपालिका–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण सम्पन्न हुने क्रममा रहेको सबइन्जिनियर खड्काले जानकारी दिए । वर्षायाममा मोहना र खुटिया नदी बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ती दुवै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्ध निर्माण प्रभावकारी हुने जनाइएको छ । यसैबीच, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित पाँचवटा सामुदायिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ वितरण गरिने भएको छ । नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत ग्रामीण भेगका पाँचवटा विद्यालयलाई रु एक करोड १० लाखको स्मार्ट बोर्ड वितरण गरिने भएको हो । सामुदायिक विद्यालयमा पठनपाठन गुणस्तरीय र प्रभावकारी बनाउन उपमहानगरले विभिन्न पाँचवटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ । स्मार्ट बोर्ड र शिक्षकहरूलाई आवश्यक तालिम दिएपछि ती विद्यालयमा प्रविधिको प्रयोग गरी पठनपाठन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । रासस

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीको बयान सुरु

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उद्योगी तथा सांसद विनोद चौधरीको बयान सुरु गरेको छ ।स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा बयानका लागि बोलाइएको हो । सीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोबरमा बयान लिइरहेको हो । अहिले पनि बयान जारी छ । बुधबार सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो । काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।

कर्मचारीलाई गृहमन्त्रीले भने: सेवा प्रवाहमा तत्काल सुधार गर्नुस्, गलत तत्वको सञ्जाल तोड्नुस्

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिएका छन् । सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका अधिकारीलाई बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न पनि आग्रह गरेका छन् । सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि उनले आग्रह गरेका छन् । राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न चेतावनी दिँदै उनले आज्ञापालक होइन, सृजनशील प्रशासक बन्न र नागरिकलाई सम्मान दिन पनि अनुरोध गरेका छन् । औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्न र जिम्मेवारी सक्दिन नभन्न पनि कर्मचारीलाई उनले निर्देशन दिएका छन् । अध्यागमनका कर्मचारीलाई समस्या समाधानका योजना ल्याई लागू गरेर नागरिकका गुनासा सम्बोधन गर्न पनि उनले निर्देशन दिएका हुन् । मंगलबार मात्रै गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो । रासस

मुख्यसचिवको अनियमितता प्रकरणको विषय आगामी मन्त्रिपरिषद् बैठकमा उठाउँछुः रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रिपरिषद्मा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आगामी मन्त्रीपरिषद्को बैठकमा यसबारेमा कुरा उठाउने बताए । उनले भने, ‘मन्त्रीपरिषद्मा यो विषयमा म कुरा राख्छु । अहिले यो विषयमा छलफल भएको छैन । कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन । आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु ।’ मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।