रित्तिदै त्रिभुवन विश्वविद्यालय, खाली हुन थाले कक्षा कोठा
काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पनि विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको छ । प्लस टु तथा स्नातकसम्म पढाइ हुने कलेजहरूले विद्यार्थीको संख्या घटिरहेको बताइरहँदा त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर र दर्शनाचार्य (एमफील) अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको हो । एउटा सेमेस्टरमा एक सय जनासम्म हुनु पर्ने विद्यार्थी १४/१५ जना मात्रै रहेको बुझिएको छ । एमफीलमा पनि ३५ जनाको सिट संख्या रहेकोमा १५/२० जना मात्रै विद्यार्थी भर्ना भएको त्रिविले जनाएको छ । विगत पाँच वर्षदेखि घट्दो अवस्थामा रहेको विद्यार्थीको संख्या २०८० सम्म आइपुग्दा ह्वात्तै घटेको त्रिविको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायका १६ वटा विभागमा अहिले कुल २ सय ४३ विद्यार्थी मात्र छन् । केन्द्रिय शिक्षाशास्त्र विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल १६ वटा विभागमा एक हजार ३५० जना विद्यार्थी आवश्यक रहेकोमा २४३ जना मात्रै रहेको बताउँछन् । समाजशास्त्र पढ्ने विद्यार्थी पाउनै मुस्किल त्रिभुवन विश्वविद्यालयको केन्द्रिय समाजशास्त्र विभागमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि घटेको छ । केही वर्ष पहिले करिब दुई सय विद्यार्थीसम्म भर्ना हुने विभागमा अहिले मुस्किलले ३० जना छन् । सो विभागका सहायक प्रमुख रोजिना महत गत विगतका वर्षहरूको तुलनामा अहिले विद्यार्थीको संख्या ह्वात्तै घटेको बताउँछिन् । एमफीलमा समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीको संख्या भने बढेको उनको भनाइ छ । अहिले एमफील अध्ययन गर्ने विद्यार्थीको संख्या ६० पुगेको छ । जबको एमफीलमा ३५ जनाको मात्रै सिट रहेको थियो । उनका अनुसार स्नातकोत्तरमा ३० जना विद्यार्थीलाई भर्ना गराउनका लागि तीन पटक सूचना निकालेर भर्ना गराउनु परेको हो । उनी स्नातक तहका विद्यार्थीको परिक्षाफल सार्वजनिकमा ढिलाइ हुँदा स्नातकोत्तरमा विद्यार्थीको अभाव हुने गरेको तर्क दिन्छिन् । यस्तै, मानवशास्त्र (एन्थ्रोपोलोजी) विभागमा पनि विद्यार्थीको संख्या न्यून नै छ । स्नातकोत्तरमा आवश्यक सिट संख्या एक सय भए पनि अहिलेसम्म मुस्किलले १४ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । मानवशास्त्र विभाग सहायक प्रमुख उडेन श्रेष्ठका अनुसार दुई/तीन पटक प्रवेश परीक्षा लिए पनि जम्मा १४ जना विद्यार्थीले मात्रै भर्ना गरेका छन् । गत वर्ष २० जना विद्यार्थी भर्ना भएका थिए । श्रेष्ठका अनुसार कुनै तीन वर्षे र कुनै चार वर्षे स्नातक हुँदा पनि समस्या भएको बताउँछन् । उनले पनि विद्यार्थीको परिक्षाफल समयमै प्रकाशित नहुँदा विद्यार्थीको संख्या न्यून भएको धारणा राख्छन् । यो विभागमा एमफिलमा ३५ जनाको सिट संख्यामा भए पनि १५जना विद्यार्थी मात्रै भर्ना भएका छन् । गत वर्ष २२ जना विद्यार्थी भर्ना भएकोमा अहिले १५ जना विद्यार्थी मात्रै रहेको उनले बताए । आईटीमा व्यवस्थापनको कमजोरी विश्वविद्यालयको अन्य विभागमा विद्यार्थीको संख्या घटे पनि कम्प्यूटर विज्ञान र सूचना प्रविधि विभागमा भने विद्यार्थी खासै घटेका छैनन् । आवश्यक सिट संख्याको हाराहारीमा विद्यार्थी रहेको विभागले जनाएको छ । कम्प्यूटर विज्ञान र सूचना प्रविधि केन्द्रीय विभागका प्रमुख सविन सायामी अन्य विभागको तुलनामा यस विभागमा विद्यार्थी नघटेको बताउँछन् । उनका अनुसार गत वर्ष यस विभागमा ६० जना विद्यार्थीका लागि सिट भए पनि ५० जना मात्रै भर्ना भएका थिए । उनी त्रिभुवन विश्वविद्यालयको प्रणालीले नै विद्यार्थी घटेको बताउँछन् । ‘अब यो विभागले आफ्नो शैक्षिक प्रणाली परिवर्तन गर्नुपर्छ, नभए आगामी वर्षमा विद्यार्थीको संख्या नराम्ररी घट्नेछ, प्रणालीमा सुधार हुन सकेन भने अवस्था झन जोखिम हुन सक्छ,’ उनले भने । उनका अनुसार आईटी विषय पढ्ने विद्यार्थीलाई काम पाउन पनि सहज हुने गरेको छ । उनीहरूलाई स्नातक तह सकिने बित्तिकै कामका लागि धेरै अवसर आउने गरेको उनको भनाइ छ । स्नातकोत्तर र पीएचडी नपढे पनि विद्यार्थीले राम्रो अवसर पाउने गरेको उनले बताए । ‘आईटी पढेका विद्यार्थी कोही मन्त्रालय, कोही निजी कम्पनी, कोही आफ्नै इन्सिच्युट सञ्चालन गरिरहेका हुन्छन् । तर, त्रिविमा पढाइ दिउसो हुन्छ, दिउँसो आफ्नो काम छोडेर विद्यार्थी पढ्न आउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले पनि यो विभागमा विद्यार्थीको संख्यामा कमी भएको हो ।’ अहिले अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यता प्राप्त धेरै कलेजले आईटी विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरेका छन् । अन्य कलेजले सेल्फ स्टडी गराइरहेका छन् । तर, त्रिविमा त्यस्तो छैन । ‘आईटी क्षेत्र विद्यार्थीको अहिलेको रोजाइको विषय हो, अब यो मोडालिटीमा हामी जान सकेनौं भने विद्यार्थीको संख्या घट्दै जान्छ, विभागले पीएचडी पढाउन सुरु गरेको ५ वर्ष भयो, यो वर्ष पीएचडी भर्नाका लागि तीन जना विद्यार्थी भर्ना भएका छन्, ५ वर्षको अवधीमा अहिले सम्म १० जनाले पीएचडीको पढाइ सुरु गरे्का छन्,’ उनले भने । ललितकलाको हालत पनि उस्तै ललितकला केन्द्रिय विभागमा पनि विद्यार्थीको अभाव नै छ । यो वर्ष स्नातकोत्तरमा १६ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष १९ विद्यार्थी भर्ना भएका थिए । विभागका साहयक प्रमुख ज्ञानुराजा महर्जनका अनुसार एमफिलमा यो वर्ष ४ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष पाँच जना विद्यार्थी भर्ना भएका थिए । स्नातकोत्तर र एमफिलमा अध्ययन गर्न कम्तिमा पनि १० जना विद्यार्थी आवश्यक पर्छ । महर्जन भन्छन्, ‘जति विद्यार्थी आए पनि उनीहरूलाई पढाउने गरेका छौं, विद्यार्थीको निकै अभाव छ ।’ नेपालीमा औसत आकर्षण त्रिभुवन विश्वविद्यालयको अधिकांश विभागमा विद्यार्थीको संख्या घट्दा नेपाली विभागमा भने विद्यार्थी बढेका छन् । नेपाली केन्द्रिय विभागमा गत वर्ष भन्दा यो वर्ष स्नातकोत्तर र एमफिल पढ्ने विद्यार्थीको संख्या बढेको छ । तर, आवश्यक सिट संख्या भने त्यहाँ पनि पुरा भएको छैन । गत वर्ष स्नातकोत्तरमा कुल १० जना विद्यार्थी भर्ना भएका थिए । यो वर्ष बढेर संख्या २८ पुगेको छ । तर, यो प्रयाप्त भने होइन । यस्तै, केन्द्रिय बौद्ध अध्ययन विभागमा पनि गत वर्षभन्दा यो वर्ष विद्यार्थीको संख्या बढेको छ । विगतका वर्षमा १४/१५ मात्र विद्यार्थी भर्ना हुने गरेकोमा यो वर्ष भने विद्यार्थीको संख्या बढेको छ । स्नातकोत्तरमा यो वर्ष दई सिफ्ट गरेर १ सय विद्यार्थी भर्ना भएका छन् । यस्तै एमफिलमा पनि विद्यार्थीको संख्या बढेको विभागका प्रमुख डा.चन्द्रकला घिमिरेले बताइन् । उनका अनुसार एमफिलमा यो वर्ष २० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ११ विद्यार्थी मात्र भर्ना भएका थिए । लकडाउनको समयमा यो विभागमा विद्यार्थीको संख्या ह्वात्तै घटेको थियो । तर, यो वर्ष भने विद्यार्थीको संख्या बढेको छ उनको भनाइ छ । किन घट्दैछन् विद्यार्थी ? कुनैबेला विद्यार्थीको चाप देखिने त्रिभुवन विश्व विद्यालयमा अहिले विद्यार्थी खोज्नु पर्ने अवस्था सिर्जना भएको छ । विभिन्न विषयका विभाग प्रमुखहरू विद्यार्थीको संख्या यसरी घट्नुमा दुइटा कारण सुनाउँछन् । एउटा विद्यार्थीहरूको विदेश मोह र अर्को स्नातक तहमा अध्ययनरत विद्यार्थीको समयमै परिक्षाफल सार्वजनिक नहुनु । केन्द्रिय शिक्षा विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल विद्यार्थीको विदेश मोहले विद्यार्थीको संख्या घटेको बताउँछन् । उनी प्लसटु पास गर्ने वित्तिकै विद्यार्थी विदेश पलायन हुँदा त्यसको असर माथिल्लो तहमा परेर स्नातक, स्नातकोत्तर र एमफिलमा विद्यार्थीको संख्या घटेको बताउँछन् । कम्प्यूटर विज्ञान र सूचना प्रविधि केन्द्रीय विभाग प्रमुख सविन सायामी भने त्रिविकै लापरवाहीले विद्यार्थी भर्ना हुन छोडेको बताउँछन् । उनी भन्छन्, ‘पुरानो विश्व विद्यालय अहिले पनि उही पुरानो शैली र प्रणालीमा सञ्चालन भइरहेको छ, अब पनि केही नगर्ने हो भने आगामी वर्ष यति विद्यार्थी पनि पाउन मुस्किल हुन्छ, त्यसैले त्रिविले समयमै सजग बन्नुपर्छ ।’
नेपाल एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने भएका हुन् । उक्त छुट सम्बन्धमा बैंक र हस्पिटालिटीबीच बुधबार सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितिमा सम्पन्न थियो । सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड बाहक तथा वाइएएनओ नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई उक्त ग्रुपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने छ ।
‘सरकारलाई पैसा होइन, पुँजीगत खर्च गर्ने क्षमताको कमी छ’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारसँग अहिले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताए । अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको बताउँदै अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको जानकारी गराए । ‘अहिले सरकारलाई पैसाको अभाव छैन । खर्च गर्ने क्षमता पुगेन । अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको रकम ५ खर्ब भन्दा बढी छ । सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्बको छ । तर सरकारलाई विदेशी विकास साझेदारहरुले सहयोग गछौं । ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको रकम ५ खर्ब छ । निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती छ भन्नुभयो । सरकारले यो सहयोग जुटाउन सक्छ भन्नुभयो । अब जुटाउने होइन खर्च गर्ने हो । प्रतिवद्धता भएको रकम समेत खर्च गर्न सकेका छैनौं । हाम्रो कहाँ कमजोरी हो,’ उनले भने । ‘विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको थियो । तर अहिले ७ प्रतिशतमा छ । १२ वर्षअघि अर्थमन्त्री हुँदा ५ खर्बको बजेट थियो । पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको छ । जनशक्ति त्यो बेला ९ हजार थियो अहिले घटेर साढे ६ हजार भएछ । जनशक्ति ९ हजारबाट घटेर ६ हजारमा आएछ भनेपछि टेक्नोलोजीले कम बनाएको हुनसक्छ । पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सकेनौं । यो विषयमा समिक्षा गर्न आवश्यक छ । विश्वास जगाउने प्रतिवद्धता छ । अर्थमन्त्रीले गर्ने सार्वजनिक वित्तको क्षेत्रका चुनौतीलाई समाना गर्न सकिन्छ । सत्ता र प्रतिपक्ष सबै सांसदहरुको सल्लाह सुझावका आधारमा पुरा गर्न सकिन्छ । देशको समृद्धि,सुशासन,सामाजिक न्याय हाम्रा साझा प्रतिवद्धता हुन् । नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति एकीकृत रुपमा बनाएर लैजान्छौं ।’ उनले थपे । पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समिक्षा जरुरी रहेको उनको भनाई छ । देशको समृद्धि, सुशासन, सामाजिक न्याय सबैको साझा प्रतिवद्धता भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताउँदै उनले विगतमा जस्तो नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति फरक-फरक भएको टिप्पणीलाई अब एकीकृत रुपमा ल्याउने प्रतिबद्धता जनाए ।
चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित
चितवन । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ मा २५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आएका घननाथ महतोले उत्पादनले बजार नपाउँदा थन्काएर राख्नुपरेको गुनासो गरे । उनले भने, ‘केरा बिक्रीका लागि तयार भएको १२ दिन भयो कतै बेच्न सकेको छैन ।’ चितवन केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष समेत रहेका महतो स्थानीय केराले बजार पाउन नसक्दा निकै चिन्तित छन् । भारतबाट आयातित केरा र यहाँ उत्पादित केराको मूल्यमा असमानता भएपछि बजार पाउन नसकेको उनका भनाइ छ । अमित कृषि फर्मका सञ्चालक यज्ञ सुवेदी पनि स्थानीय केरा बजार ल्याउने तयारीमा छन् । तर चितवनमा यही उत्पादित केराले बजार पाउन नसकेको फर्मका सुवेदीले गुनासो गरे । उनले भने, ‘चितवनको बजार ९० प्रतिशत भारतीय केराले ओगटेको छ । स्थानीय केराले यहाँ बजार नपाएपछि पोखरा, बुटवललगायतका बजारमा केरा पठाउने सुरु गरिएको छ ।’ उनले स्थानीय केराको बजारीकरणमा समस्या देखिएको बताए । उनले भने, ‘भारतीय केरा रोक्न व्यवसायीहरुसँग छलफल भए पनि कार्यान्वयन हुन सकेन ।’ उनले ५५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् । भारतबाट केरा आयात गरेर पकाउने र बजारमा ल्याउन गर्दा यहाँ उत्पादित केराले बजार पाउन नसकेको उनको भनाइ छ । चितवनका केरा व्यवसायीहरुसँग पटक–पटक छलफल भए पनि त्यहाँ भएका सहमतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या भएको उनको गुनासो छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई भरतपुरका सूचना अधिकारी इन्द्र ढुङ्गानाले जिल्लामा अहिले एक सय ५० टन केरा बिक्रीका लागि तयारी भइरहेको बताए । यी केराले जिल्लामा बजार नपाउँदा बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । उनले भने, ‘केरा उत्पादन भएर बजारमा आउने समय भयो । भारतीय केराले गर्दा यहाँका केराको बजार बिस्थापित भयो ।’ जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादनमा जिल्लाका आठ सय किसान आबद्ध छन् । उनले भने, ‘जिल्लामा उत्पादित केराको बजार व्यवस्थापनका लागि पहल भइरहेको छ ।’ प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना केरा जोनका संयोजक बिष्णुहरि पन्तले विगतका वर्ष पनि यस्तो समस्या रहेको बताए । बजारीकरणका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ । जिल्लामा उत्पादित केरालाई ग्रेडिङ् गरेर बजारमा ल्याउने तयारी भइरहेको उनले बताए । उनले भने, ‘ग्रेडिङ् गरेर बजारमा केरा ल्याउन लागेका छौँ । यससँगै केरा पकाउने चेम्बर किसानलाई उपलब्ध गराइएको छ ।’ यस वर्ष सातवटा चेम्बर उपलब्ध गराइ केरा पकाउन सहयोग गरिने उनले बताए । रासस
अर्थमन्त्री पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउँछः डा. महत
काठमाडौं । निःवर्तमान अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले वर्तमान गठबन्धन सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । ठूलो आकारको बजेट ल्याउँदा सबै केही क्षण खुशी भएको जस्तो देखिए पनि बजेटले गर्ने दीर्घकालिन दायित्व सिर्जना र घोषणा पूर्तिको बेलामा अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने दाबी गरे । २० खर्बको बजेट बनाउन सरकार लागेको भन्ने सुनेको भन्दै उनले सरकारले सके २० खर्ब मात्रै नभई ३० खर्ब ल्याउँदा पनि फरक नपर्ने तर कार्यान्वयनमा समस्या हुने बताए । ‘मैले सुनिरहेको छु । २० खर्बको बजेट बनाउन सरकार लागेको छ अरे । बनाउनुस् शुभकामना छ । म चाहन्छु सरकारले सकेदेखि २० खर्ब होइन ३० खर्ब बनाउनुस् । तर बजेट प्रश्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने,सबै ठाउँमा बजेट राखेको छु भनेर घोषणा गर्ने र सँगै कार्यकर्ताले चाहेका मागहरुलाई वितरण गरेर पूर्ति गर्दा सबै एकक्षिण खुशी भएको जस्तो देखिएला तर यसले गर्ने दीर्घकालिन दायित्व सिर्जना गर्छ र घोषणा पूर्ति हुँदैन । त्यसपछि अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ला ? अहिले मैले भने ३ खर्ब ३१ अर्ब रुपैयाँ यो वर्ष ऋण र साँवा भुक्तानी गर्नुपर्छ । अर्थमन्त्रीले त्यो कुरा नकार्न सक्नुहुन्न । उहाँले ४ खर्ब ३५ अर्ब त्यसको लागि छुट्याउनुपर्छ । स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग दिनैपर्छ । सामाजिक सुरक्षालाई निरन्तरता गर्ने कुरा गरेको छु । तर जुन दोहोरोपन छ । चाहिने र नचाहिनेलाई पनि दिएका र्छौं । सामाजिक सुरक्षाको ठूला दायित्व पूर्ति गर्नुपर्छ । बाँकी रहेको स्रोतको प्राथमिकरण नगरी खर्च नगर्ने हो भने समस्या हुन्छ ।’ उनले भने । त्यस्तै, उनले स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग रोक्न नमिल्ने बताए । र, सामाजिक सुरक्षालाई निरन्तरता दिँदा आवश्यकताको आधारमा दिने व्यवस्था गर्नु आवश्यक रहेको उनको भनाई छ ।
वातावरण सुधारसँगै बीमितहरुलाई सम्मान गर्दै मेट लाइफ
काठमाडौं । मेट लाइफ नेपालले आफ्नो लिगेसी ट्रीज कार्यक्रमको आधिकारिक सुरुवातको घोषणा गरेको छ । जहाँ कम्पनीले जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक व्यक्तीको सम्मानमा एउटा रुख रोप्ने वाचा गरेको छ । रूखले बीमितको स्मृतिलाई सम्मान गर्ने कम्पनीको भनाई छ । साथै वन विनाशको लडाइँ, सफा हावा, र जनावरहरूको लागि बासस्थान, र भूमि संरक्षण प्रदान गर्ने कम्पनीले जनाएको छ । जीवन बीमा दाबी भुक्तानी गरेपछि, कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने पत्र प्रदान गरिने कम्पनीले जनाएको छ । मृतकलाई सम्मान गर्नुका साथै कार्यक्रम अन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पुर्याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने बताइएको छ । आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गरिने बताइएको छ । २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि यस क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा ७,००० रुख रोपिएका छन् । जब बिरुवाहरुले जरा लिन्छ र आकाशमा पुग्छ, तिनीहरूले आशा, र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन् जसले आगामी पुस्ताहरूका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्ने कम्पनीको दाबी छ । लिगेसी ट्री कार्यक्रम मार्फत रोपिएका ७,००० रूखहरू आर्बर डे फाउन्डेसनले लगभग ७६४ मेट्रिक टन कार्बन डाइअक्साइड निकाल्ने, लगभग ३,२२० ग्यालन पानीको बहावलाई रोक्न, र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषकहरू हटाउने अनुमान गरेको छ । मेटलाइफको दिगोपन प्रतिवद्धतालाई प्रतिबिम्बित गर्दै पुनरुत्थान पहलले दीर्घकालीन रोजगारी, सामुदायिक सहयोग र वातावरणीय तालिम सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ ।
ग्लोबल मनी विकको अवसरमा पूँजीबजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी, काठमाडौं माण्डौ स्थित काठमाण्डौ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ्ग बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बिच उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो । अन्त्यमा सहभागि विद्यार्थीहरुका साथै क्याम्पस व्यवस्थापनलाई आवश्यक सहयोगका लागी धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरियो । उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको छ ।
सिबिआईएल सेक्युरिटिजले सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम
काठमाडौं । सिबिआईएल सेक्युरिटिज लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआईएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ । पुँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बिबिए प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७ गतेका दिन पुँजिबजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सिबिआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।