विकासन्युज

पिपुल्स हाइड्रोले ५० प्रतिशत हकप्रद जारी गर्ने, पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जारी पुँजीको दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद सेयरबाट उठेको रकम कम्पनीले आफूले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना ख मा बैंकबाट लिएको ऋण तिर्ने बताएको छ । साथै, कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मेगावाटको निर्माणमा लगानी हाइड्रोले जानकारी गराएको छ । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । कम्पनीले १६औं अर्थात आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभा आगामी चैत ३० गते शुक्रबार हुँदै छ । सभा सो दिन बिहान ११ बजे काठमाडौंको बुद्धनगर क्वालिटी बैंकेटमा हुने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी चैत १५ गते बुक क्लोज गर्दै छ । यससँगै चैत १४ गतेसम्म कायम सेयरधनी मात्रै कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायत संस्थापक सेयरधनीतर्फका ५ जना सञ्चालकको निर्वाचन गर्दै छ ।

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता

काठमाडौं । आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता भएको छ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएसु उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ, अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआइ स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडी बढ्न सक्ने छन् । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ-नयाँ प्रविधि लाई पछ्यादै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताएका छ । बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

बाँसवारी जग्गा प्रकरणमा बयान दिएर निस्किए चौधरी (तस्विरहरु)

काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।

ग्लोबल मनी विक : कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहको निर्देशनअनुसार आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।  ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’ हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको पनि काठमाडौं प्रशासनले जनाएको छ ।

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

इलाम । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो  उत्पादन हुन्छ । ‘प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,’ राईले भने ‘नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ ।’ राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । ‘चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि गर्दैन, बिक्री मूल्य पनि राम्रो पाइन्छ,’ किसान मनबहादुर राईले भने, ‘गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुन्छ ।’ यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, आरवलक्षि, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ अब सुरु हुन लागेको मन बहादुरले बताए । उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ । हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो । उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको छ । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ । ‘पहिले भारतले यहाँको चिया किन्दा सिएफएल परीक्षण गथ्र्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ,’ नगरप्रमुख रणबहादुर राईले भने, ‘यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।’ चियाको टिपाइ सुधार गर्न नगरपालिकाले तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरिरहेको नगरप्रमुख राईले बताए । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भइरहेको छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ पनि अबको केही महिनाभित्रै सञ्चालन हुँदैछ ।’ नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिक उन्मुख अभियान चलाइरहेका छौँ,’ उनले भने । नगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्यमा भने किसानलाई अन्योलता अझै छ । ‘कार्यविधिमा न्यूनतम समर्थन मूल्य भनेर रु ४० तोकेका छौँ । त्यो भनेको ४० प्रतिशत मुना भएको चियाको मूल्य रु ४० हो भनिएको हो,’ नगरप्रमुख राईले भने, ‘यसमा चियाको मुना कति प्रतिशत छ भनेर मापन गर्ने कुरामा किसानमा द्विविधा देखियो । यसको मापन यहीँ फिक्कलमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्छ । यो बोर्डको दायित्व हो ।’ आफूले टिपेको चियामा कति प्रतिशत मुना छ भन्ने कुराको जानकारी चिया तथा कफी विकास बोर्डबाट लिनुपर्ने नगरप्रमुख राईको भनाइ छ । आफ्नो चियाको मुनाको प्रतिशत बराबर रकम उद्योगबाट नपाएको खण्डमा नगरपालिकामा अथवा बोर्डमा किसानले गुनासो गर्नुपर्ने बताउँदै उनले किसानलाई न्यूनतम समर्थन मूल्य दिलाउने कर्तब्य नगरपालिकाको भएको बताए । ‘हाम्रो उत्पादन चैँ अग्र्यानिक हुनुपर्छ । हामी अग्र्यानिक चिया उत्पादनको अभियानमा छौँ । सूर्योदयले ०७४/७५ मा कार्यविधि बनाउँदादेखि हालसम्म भनेको कुरा एउटै हो कि उत्पादनलाई विषादीमुक्त गरौँ, अग्र्यानिक बनाऔँ, टिपाइ सुधारौँ । यो भयो भने विश्व बजारमा यहाँको चियाले प्रतिस्पर्धा गर्न सक्छ । उत्पादन नै विषादीयुक्त हुँदा चिया खेतीको बजार छैन । किसान व्यावसायिक बन्न सक्दैनन् । विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरका बारेमा हामी संवेदनशील बन्नुपर्छ,’ नगरप्रमुख राईले भने । नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । ‘८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रु एक अनुदान दिँदा पनि करोडौँ  लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ,’ किसान रबिन सापकोटाले भने । नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए। ‘चिया क्षेत्रको समस्यामा दिगो समाधान खोज्न किसानलाई सहुलियत दिनुपर्छ,’ उनले भने, ‘किसानलाई मल, सिँचाइ र अनुदानमा सरकारले सहयोग गर्नसक्छ । अझ चियाको अन्तरराष्ट्रिय बजार दिगो बनाउन अग्र्यानिक उत्पादन मात्रै विकल्प हो ।’ नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको ५ वर्ष भयो । चिया उद्योगी र किसानको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, बिक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए वा नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था  कार्यविधिमा गरिएको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुनेगरेको बगान सञ्चालकहरूले बताएका छन् । रासस

काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना  छ । काठमाडौंमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र  चट्याङ्सहित  सामान्य वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ । विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित  छिटपुट  वर्षाको सम्भावना  छ ।

देशका ५१ जिल्लामा २ हजार खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका- २ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए । नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन प्रतिशत जनसङ्ख्यामा ट्रष्टको आर्थिक सहयोगमा खानेपानीको पहुँच पुगेको उनकाे दाबी छ । ‘एकाउन्न जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,’ उनले भने, ‘६१ हजार ६ सय ३४ धारा र चार सय ३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ ।’ ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर- ६ खिबाङ, ४ को पटार, छेम्दी- ३ को दाना बजार, दुवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट एक हजार ९०० जनसङ्ख्या लाभान्वित भएका ट्रष्टका इन्जिनियर लीला शेरचनले जानकारी दिए । उनका अनुसार ती योजनाहरूमा करिब दुई करोड ४१ लाख खर्च भएको छ। साथै आगामी आर्थिक वर्षमा वडा नम्बर- ४ नारच्याङको बेसी र लेखगाउँमा सञ्चालन गरिने योजनाका लागि एक करोड १५ लाख ट्रष्टले खर्च गर्ने उनले बताए । दुई दिनसम्म सञ्चालन भएको ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद् तयारी कार्यक्रम’ को सिकाइ तथा अनुभव आदानप्रदान कार्यशालामा कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय तहका प्रमुख, प्राविधिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । ट्रष्टले हाल १४ जिल्लाका चार नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा खानेपानी योजना सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताजकोट गाउँपालिकाका प्रतिनिधिको सहभागिता थियो । रासस