विकासन्युज

जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त, आजै शपथ

काठमाडौं । जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्रीको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यससँगै नवनियुक्त राज्यमन्त्रीले आजै शपथ लिने योजना छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा हुँदैछ । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

टिआरसी विधेयक अन्तिम चरणमा छ, छिट्टै संसदमा पेश गर्छौं : मन्त्री गिरी

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् । महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै  टुङ्गो लगाइने बताएका हुन् । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए । मन्त्री गिरीले भने, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौं ।’ खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उनले बताए । अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उनले बताए । विधेयक पास भैसकेपछि कतैबाट बिरोधका स्वरहरु ननिस्कुन् भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताए । त्यस अवसरमा उनले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा समेत राखे । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उनको भनाइ छ । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे ।  उनले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताए । सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राखे । मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पैँयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक भएका छन् । रासस

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए । ‘नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’ सरकार उच्च आर्थिक बृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे । नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे । ‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने गर्ने ऐतिहासिक सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ, हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु ।’ नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे । उनले भने, ‘लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।’ भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरू, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागीता रहेको थियो । सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यको रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए ।

होलीमा पक्राउ परेका २७७ जनामध्ये १०५ जना छुटे

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । ‘फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो । फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो । रासस

आफ्नै समस्याले फुरेको दिलिशाको बिजनेस आइडिया

काठमाडौं । उनीसँगै पढेका साथीहरू नेपालमा कोही छैनन् । कहिलेकाहीँ साथीहरूसँग गफ गर्न मन लाग्दा होस् या खाजा खान निस्कँदा कोही हुँदैन । त्यो बेला उनलाई एक्लो महसुस हुन्छ । तर, उनलाई यही कुरा सोचेर बस्ने फुर्सद भने छैन । आफूले सुरू गरेको व्यवसायलाई कसरी माथि उकास्ने, आफुले उत्पादन गरेको वस्तुलाई कसरी लक्षित वर्गमा पुर्याउन सकिन्छ भन्ने ध्याउन्नमा उनी हुन्छिन । उनी अर्थात नाम दिलिशा श्रेष्ठ । उनले महिनावारी पेन्टी उत्पादन गर्ने कम्पनी खोलेर अहिले सोही काम गरिरहेकी छन् । २२ वर्षकी एउटी किशोरीलाई नेपालमै केही गर्नुपर्छ, स्वरोजगार बन्नुपर्छ, त्यो पनि अरू भन्दा फरक व्यवसाय । यो जिज्ञासा हामीले उनीसँग राख्यौं । जवाफमा उनले भनिन्, ‘आफ्नै भोगाइले ।’ दिलिशाको परिवार नेपाली कपडाको म्यानुफ्याक्चरमा पहिल्यैदेखि काम गर्थ्याे। उनी १८ वर्षकी हुँदा उनले पनि काम गरिन् । नेपालबाट अमेरिका, अस्ट्रेलिया पठाउने गर्थिन् । उनी कपडाका बारेमा अलि नजिकबाट बुझ्थिन् । उनलाई अब आफैंले केही गर्नुपर्छ भन्ने त्यही बेलादेखि लागिसकेको थियो । तर, गर्ने के यसको लागि अध्ययन गर्न थालिन् । उनलाई महिनावारी हुँदा सबैभन्दा ठूलो पीडा कसरी रगतको व्यवस्थापन गर्ने भन्ने लाग्थ्यो । बजारको प्याड प्रयोग गर्दा चिलाउने, गन्ध आउने र रगत पुरै लुगामा लाग्दा हरेक महिनाको पाँच दिन पट्यार लाग्दा हुन्थे । महिनावारी व्यवस्थापनका लागि बजारमा प्याड बाहेक धेरै सामानहरू आइसकेका थिए । उनलाई यही विषयमा तर, फरक काम गर्न मन लाग्यो । उनले यो विषयमा अध्ययन गर्न थालिन् । उनले बजारमा आएका महिनावारीको रगत व्यवस्थापन गर्ने सामान प्रयोग गरिरहेका महिलाहरूलाई भेट्न थालिन् । उनीहरूको अनुभव सुनिन् । उनले आफ्नो जस्तै समस्या धेरै महिलाले भोगेको जानकारी पाइन् । त्यसपछि ल्यापटप लिएर सर्च गर्न थालिन् के हुन सक्छ उपर्युक्त सामाग्री । उनले खोज्दै जाँदा अन्डरवेरको बारेमा थाहा पाइन् । अमेरिका लगायत युरोपेली मुलुकमा महिनावारी पेन्टी प्रयोगमा आएको थाहा पाइन् । त्यसपछि उनले अब नेपालमै यही विषयमा काम गर्ने योजना बनाइन् । उनले बनाएको योजना साथीभाइलाई सुनाइन् । कतिपयले राम्रो काम गर भन्दै उत्प्रेणा जगाए, कसैले भने नेपालमा बसेर यस्तो काम गर्दा के होला भन्ने अड्कलाबाजी काटे । दिलिशालाई भने मनबाटै अब म यो काम गर्छु भन्ने लागिसकेको थियो । उनले आफ्नो योजनाबारे घरमा भने बताइनन् । किनकी उनलाई थाहा थियो घरपरिवारबाट साथ पाइँदैन भनेर । किनकी उनको बाआमालाई छोरी पढेर सकेपछि विदेश जाओस् नभए नेपालमै भएपनि राम्रो काम गरोस् भन्ने थियो । ‘परिवारको सोच एकातिर मेरो सोच अर्कोतिर, कुरै मिलेन उनी भन्छिन्, ‘म जे गर्छु भन्ने सोच बनाउँछु, त्यो पुरा गरेरै छाड्छु, चाहे घाटा होस् या नाफा, यो काम पनि मैले सोच बनाएँ, अहिले गरिरहेकी छु ।’ त्यसपछि स्थापना भयो ‘फ्लोई भेन्चर’ कुनै पनि काम गर्ने मन लाग्यो भन्दैमा भोलिदेखि नै गर्न असम्भव छ । त्यसका लागि केही नीति नियमको पनि पालना गर्नुपर्छ । कुनैपनि उद्योग व्यवसाय सुरु गर्दा संस्था दर्ता गर्नुृपर्छ । दिलिशाले नेपालमा महिनावारी पेन्टी उत्पादन गर्ने निर्णयमा उनका चार जना साथीले सहयोग गरे । सबैजना मिलेर कम्पनीको नाम तय गरे । कम्पनीको नाम रह्यो ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ । कम्पनी दर्ता गर्न कहाँ जाने, के गर्ने भन्ने थाहा थिएन । उनले सोध्दै, बुझ्दै थाहा पाइन् । कहिले के नमिल्ने, कहिले केही नमिल्ने हुँदा एउटै कार्यालय पनि दई/तीन पटक धाउनु पर्यो । कतिपय कार्यालयमा जाँदा झर्केर बोल्ने, असहयोगी व्यवहार हुन्थ्यो भने कतिपयले राम्रो व्यवहार गर्थे । ‘आफूलाई काम गर्नुछ भने नम्र हुनुपर्ने रहेछ, ‘आफ्नो काम फुत्काउनु थियो त्यसका लागि पनि म नम्र बालेर प्रस्तुत हुन्थें, धेरै कुराहरू अनुभवले पनि सिकाउँदो रहेछ,’ सरकारी कार्यालयमा भोग्नु परेको भोगाइ सुनाउँदै उनले भनिन् । महिनावारी पेन्टीको उत्पादन दिलिशाको कम्पनीले उत्पादन गर्ने ‘महिनावारी पेन्टी’ हो । यो लगाएपछि महिनावारी हुँदा प्याड लगाउनु पर्दैन । यसले ब्लड निस्कने बित्तिकै सोस्छ । यो कपडा नेपालमा पाइँदैन । भारत र चीनबाट ल्याउनुपर्छ । तर, सिलाउने काम नेपालमै गरिन्छ । यसलाई कसरी तयार पार्ने भनेर एक जनाले फ्याक्ट्रीमै बस्नुपर्छ । सप्लायर्ससँग कुरा गरेर कपडा ल्याइन्छ । सो कपडा म्यानुफ्याक्चरिङमा पठाएर डिजायन कटिङ गरी मास्टरसँग बसेर सिलाउने र त्यसपछि गुणस्तर जाँच गरेर सामान तयार पारिन्छ । यसरी तयार पारिएको पेन्टी बजारमा पठाइने गरिन्छ । दिलिशाले अफिसका लागि घरबाट डाइनिङ टेबुल ल्याइन् । पाँच जना साथीहरू एउटा टेबुलमा बसेर काम सुरू गरे । ‘सास फेर्न बाहिर आउनुपथ्र्यो,’ उनी भन्छिन् ‘कोठाभरी कपडा थिए, खाली ठाउँ नै थिएन ग्वाम्म परेको कोठामा राम्ररी हावासमेत पस्दैन थियो स्वास नै राम्ररी फेर्न मिल्ने थिएन ।’ ८ महिना त्यही गोदामबाट काम सुरु भयो । त्यसपछि न्यूरोडमा दुइटा प्ल्याट भाडामा लिएर काम गर्न सुरु गरियो । अहिले पनि त्यहीबाट काम भइरहेको छ । यस्तो अवस्थाबाट सुरु गरेको व्यवसाय राम्ररी चलिरहेको थियो । अनलाइन, टिकटक, चिनेजानेकाहरूले सामान लिइरहेका थिए । तर, अहिले महिनावारी पेन्टीको माग बजारमा बढेको छ । ‘थोरै लगानीबाट काम सुरु गरेकोले होला, अहिले पनि पैसा भएपनि अनावश्यक कुरामा खर्च गरिहाल्न मन लाग्दैन,’ उनले सुनाइन् । महानगरले दिएन पाँच लाख रुपैयाँ उनले काम सुरु गरेकै बेला युएनडीपी र काठमाडौं महानगरको साझेदारीमा ‘हामी बनाउँछौँ हाम्रो काठमाडौँ’ भन्ने अभियान अन्तर्गत काठमाडौँ इम्प्याक्ट हबले केही फरक तर स्वास्थ्य र वातावरणलाई असर नपर्ने खालको व्यवसाय गर्न चाहने युवाहरू खोजेको थियो । दिलिशाले त्यसमा आवेदन दिइन् । त्यसमा १० जना युवालाई पाँच÷पाँच लाखका दरले रकम दिने भनिएको थियो । १० जनामा छनोट भए । तर, उनले अझै पैसा पाएकी छैनन् । त्यो कार्यक्रम पछि उनलाई धेरै जनाले चिने र उनको बिजनेसबारे धेरैलाई जानकारी भयो । उनका अनुसार दुई वर्षदेखि काठमाडौं महानगरले पाँच लाख रुपैयाँ दिएको छैन । ‘पैसाका लागि महानगर धाउदा धाउँदै गलिसकेँ । तर, पैसा पाइएको छैन, जनप्रतिनिधि, कर्मचारी परिवर्तन भए, सिस्टम पुरै परिवर्तन भयो, कोही म्याद सकियो भन्छन्, कोही यसको म्याद थप्नलाई मिटिङ बस्नुपर्छ भन्छन्, पैसा पाउने छाँटकाँट छैन,’ निराश हुँदै उनले भनिन् । टिकाउ पनि, सस्तो पनि ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ ले उत्पादन गरेको महिनावारी पेन्टीको मूल्य १ हजार २ सय रुपैयाँ पर्छ । झट्ट सुन्दा महँगो जस्तो लागे पनि यो लामो समयसम्म टिकाउ हुन्छ । महिनावारी हुँदा करिव दुई/तीन सयको प्याड किन्नुपर्छ । यो १२ महिनाको दरले हिसाब गर्दा पनि वार्षीक तीन/चार हजार रुपैयाँ प्याडको लागि खर्च गर्नु पर्ने हुनछ । तर, प्याडको तुलनामा यो सस्तो छ । यो पेन्टी एक पटक किन्दा वर्ष दिनसम्म टिकाउ हुन्छ । उनले यो व्यवसाय सुरु गरेको तीन वर्ष पुरा भयो । तीन वर्षको अवधिमा उनले इन हाउस इन्टर्न, पार्टटाइम र मार्केटिङ गरी १२ जना कर्मचारी राखेकी छन् । २० लाखबाट सुरू गरिसकेको व्यवसाय अहिले करोडौंको पुगेको छ । उनले बनाएका पेन्टी प्रयोग गर्ने ६० प्रतिशत महिला उपत्यका भित्रैका छन् । बाँकी ४० प्रतिशत मात्र उपत्यका बाहिर जाने गरेको उनको भनाइ छ । अब दक्षिण एशियामा आफूले उत्पादन गरेको पेन्टी पठाउने उनको योजना छ । उनी विस्तारै माग पनि बढ्दै गएको बताइन् । टिकटक बन्द भएपछि समस्या दिलिशा नेपालमै बसेर केही गर्छु भन्दा पनि गरिखाने वातावरण नभएको गुनासो गर्छिन् । उनले सञ्चालन गरेको व्यवसायको मार्केट भनेको अनलाइन हो । त्यसमा पनि सामाजिक सञ्जालमा अर्डर धेरै आउँछ । फेसबुक इन्स्टाग्राम मार्फत महिलाहरू अर्डर गर्ने गर्छन् । अझ यसको मुख्य ग्राहक तान्ने स्रोत भनेको टिकटक थियो । तर, सरकारले टिकटक बन्द गरेपछि आफ्नो व्यवसायमा ५० प्रतिशत गिरावट आएको उनको गुनासो छ । ‘पहिले टिकटकबाटै यो विषयमा बुझाउन सकिन्थ्यो,’ उनी भन्छिन्,‘ धेरैले यो विषयमा बुझ्थे, चित्त बुझे अर्डर गर्थे । तर, अहिले टिकटक नै बन्द भयो, मेरा ग्राहक नै घटे ।’ उनी अहिलेका स्थानीय जनप्रतिनिधि र सरकारले राम्रो सिस्टम बनाइदिए मात्र पनि आफुहरूलाई काम गर्न सजिलो हुने बताउँछिन् । कुनै पनि सामान आफैंले उत्पादन गर्यो भने त्यसलाई मार्केटसम्म पुर्याउन अहिले सबैभन्दा सहज भनेको अनलाइन छ । सामाजिक सञ्जालले झन सहयोग गर्छ । तर, सरकारले अनलाईन र यस्ता सामाजिक सञ्जाल नै बन्द गरिदिन थालेपछि आफूहरू जस्ता व्यवसायीलाई समस्या भएको उनको भनाइ छ । कर्जा पाउन पनि सकस सरकारले व्यवसाय गर्ने महिला उद्यमीलाई सस्तो ब्याजमा कर्जा दिने सरकारले घोषणा गरिरहेको छ । तर, उनले आफूले सस्तो ब्याजभन्दा पनि कर्जा नै नपाएको गुनासो गरिन् । उनले आफूले कर्जाका लागि विभिन्न बैंक धाएको लामो समय भएपनि नपाएको बताइन् । उनले पहुँच नभएकालाई कर्जा पाउन पनि मुस्किल रहेको सुनाइन् । सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गरेर अगाडि लग्नु पर्ने ठाउँमा वास्ता नै नगर्दा समस्या भएको गुनासो गरिन् । यसमा सरकारले मनिटरिङको काम मात्र गरिदिने हो भने आफूजस्ता उद्यमीलाई सजिलो हुने उनी बताउँछिन् । ‘अहिले हरेक सरकारी विद्यालयमा सरकारले प्याड बाँड्छ, त्यसको सट्टा नेपालमा उत्पादन भएका फेरि प्रयोग गर्न मिल्ने खालका सामानहरू वितरण गरिदिए छात्रालाई पनि सजिलो र हामीलाई हौसला मिल्थ्यो,’ उनले भनिन् । आशा र निराशाभित्र व्यवसाय दिलिशा अहिले २४ वर्षकी भइन् । नेपालमै फरक व्यवसाय सुरु गर्दा आशा र चिन्ता पनि छ । आशा विस्तारै महिलाहरू यो विषयमा जानकार हुँदैछन् । भोली रामै्र गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । नेपालको राजनीतिक माहोल, नीति नियमले कतै गर्न सकिँदैन की भन्ने त्रास पनि उनमा छ । उनलाई यो विषयले कहिले काहीँ पिरोल्छ पनि । अहिले उनकासामु चुनौतीका चाङ छन् । उनलाई निराशा हुँदा विदेश जान मन लाग्छ । तर, आफ्नो मिहिनेत हेर्दा नेपालमै गर्छु भन्ने लाग्छ । ‘म के गरिरहेछु, के मैले साँच्चिकै राम्रो काम गरिरहेको छु त? यहाँ बसेर मेरो भष्यि छ कि छैन भन्ने प्रश्न अहिले पनि उठ्छ,’ उनी भन्छिन्, ‘यहाँको मानिसले मलाई बुझछन् कि बुझदैनन् भन्ने लाग्छ, सबैजना विदेश गएको देख्दा कता/कता एक्लोपन महसुस हुन्छ । तर, मैले यो किन सुरु गरेको थिएँ भन्ने कुराले काम गर्नलाई धकेलिरहेको हुन्छ ।’ उनी आफूलाई कसैले नपत्याइरहेको बेला आफैंले आफैंलाई पत्याएर व्यापार गरेर उनी सुनाउँछिन् । ‘एक्लोपना, खालिपना, रित्तोपना हुन्छ, सिस्टम त केही छै, यो देशमा म किन बसिरहेको छु भन्ने लाग्छ,’ निराश हुँदै उनी थप्छिन् । पछिल्लो समय साथीभाइ तथा आफन्तहरू उनलाई विदेश जाँदा उनलाई पनि धेरैले विदेश जान सल्लाह दिन्छन् । तर, उनी स्वदेशमै केही गर्न चाहन्छिन् । एकातिर पढाइ, अर्कोतिर विज्नेस गर्दा समय मिलाउन गाह्रो हुन्छ । तर, उनी मिलाउन जान्यो भने सहज हुने बताउँछिन् । नेतृत्व कला भयो भने समय मिलाउन पनि सकिन्छ । उनी बिहान ५ बजे उठरे कलेज जान्छिन् । ८ बजेर राति ८ बजे पुग्छिन् । घरमा गएर पनि उनलाई सुतिहाल्न मन लाग्दैन । बजारमा के सामान नयाँ आएको छ भन्दै खोजि गर्छिन् । भोलि/पर्सीको काम कसरी बनाउने योजना बनाउँछिन् । उनी भन्छिन्, ‘शरीर थाकिसकेको हुन्छ, दिमागले सोचिरहेको हुन्छ ।’

महालक्ष्मी विकास बैंकको ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उदेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको छ । बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्र्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु, किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरुबाट करिब हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । त्यस्तै बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा विभिन स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो । त्यस्तै बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जाल मार्फत प्रसारण गरी ग्लोबल मनि विक २०२४ को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने कुरा जनाएको छ ।

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

कपिलवस्तु । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् । साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ । त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ । यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

काठमाडौं । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको संख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरु मात्रै हुने गरेपनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरुले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरु बढेको बताए । एनआरएनको नागरिकता लिनेहरुमा महिला र पुरुषको संख्या बराबर रहेको बताए । वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको बताए । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताए । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ । युरोप, अमेरिका लगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिव आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।