विकासन्युज

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

वीरेन्द्रनगर । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । यसैगरी, महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

किमाथाङ्का-खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे । कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन समेत गरे । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेस गरेका थिए । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५/६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

होलीमा ७८४ सवारी साधन होल्ड, मापसे गर्ने १३५ चालक नियन्त्रणमा

काठमाडौं । फागु पूर्णीमा (होली) लाई लक्षित गरी आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन् । होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको थियो । होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् । यसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए । होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछी चालकले ट्राफिक नियम उलंघन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए। होली पर्वलाई नै लक्षित गरी आजैनेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र स्थानीय प्रहरीको संयुक्त टोलिले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ । फागु पूर्णीमा (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई कडाई गरेकाले सवारी दुर्घटनामा कमि आएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । आइतबार काठमाडौं उपत्यका भित्र ललितपुरको ढोलाहिटीमा दिउँसो बसको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएका छन् । बा ४ ख ७०८० नम्बरको बसले बा ४५ प २७ १२ नम्बरको स्कुटरलाई ठक्कर दिदा मोरङ घर भइ हाल ललितपुर बस्दै आएका ४३ वर्षीय नर बहादुर माझी घाइते भएका हुन् । घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन सहित बस चालकलाई प्रहरी वृत्त चापागाउँले नियन्त्रणमा लिएको छ । त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मा पनि  आजै बा ४ ख १९ २१ नम्बरको बस दुर्घटना हुँदा ३ जना सामान्य घाइते भएका थिए । यी बाहेक आज काठमाडौं उपत्यकामा जनधनको क्षति हुने खालको अन्य दुर्घटना भने नभएको प्रवक्ता श्रेष्‍ठले बताए । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका लगायत उपत्यका प्रवेश गर्ने नाकाहरुमा आइतबार बिहानैबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर साथै ललितपुर प्रहरीको सक्रियता तथा निगरानीका कारण हर्षोल्लासका साथ सर्वसाधरणमा होली मनाउने वातावरण सृजना भएको समेत प्रवक्ता श्रेष्ठले बताए ।

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन् । उनीसँग चिराइतो खेतीको लामो अनुभव छ । विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाउनुभएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए । फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्थे । लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उनले बताए । लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहेका छन् । फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई पनि अहिले हाल चिराइतोको बीउ छर्नमा व्यस्त छन् । उनले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जग्गा तयार गरेका छन् । फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरेको राईले बताए । ‘चिराइतोको बीउ तयार गरेको छु । अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु’, राईले भने, ‘एक वर्ष त चिराइतो बिक्री नै भएन । त्यसपछि सबैले खेती गर्न छोडेका थिए । यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आउनुभयो । तर गाउँमा उत्पादन न्यून थियो ।’ चिराइतोको उचित मूल्य आउने आशमा राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेका थिए । आउँदो कात्तिकसम्ममा बिक्री गर्न योग्य हुने राईले बताए । गत वर्ष उनले १६ रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेका थिए । अहिले राईले ३० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्न लागेका छन् । राईले भने, ‘अहिले लगाएको चिराइतो अबको २७ महिनामा उत्पादन हुने आशा छ ।’ केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल परेको किसान बताउँछन् । विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना रु दुई हजार ५०० मा खरिद बिक्री हुने गरेको छ । फक्ताङलुङ–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोडेको चार वर्ष भएको थियो । तर अहिले चिराइतो खेती गर्नका लागि उनी आठ रोपनी जग्गा तयार गरेका छन् । ‘दुई वर्षयता चिराइतोको उचित बजार मूल्य पाइन थालेको छ । गाउँमा अहिले सबै चिराइतो खेती गर्ने तयारीमा छन्,’ आङबोहाङले भने, ‘अहिले बजार मूल्य राम्रो पाइने आशले गाउँका प्रायः सबै किसान खेती गर्न लागेका छन् ।’ चिराइतो छर्ने समय सुरु भएको छ । चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ । त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ । आगो लगाएको ठाउँमा केही दिनको अन्तरमा चिराइतो छर्नुपर्दछ । चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन् । उनीहरूले मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानले चिराइतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष रूपमा चिराइतो उत्पादन हुन्छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार आठ सय २० किलो चिराइतो निकासी भएको छ । आव २०७८/७९ मा तीन हजार दुई सय ८० किलो चिराइतो निकासी भएको थियो । यस्तै आव २०७९/८० मा पाँच हजार आठ सय किलो चिराइतो निकासी भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो । विसं २०७० यता ताप्लेजुङमा ३८ हजार किलो चिराइतो सङ्कलन भएको तथ्याङ्क छ । सो अवधिमा चिराइतोबाट रु सात लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो । रासस

बजाज अटो क्रेडिटमा थप ३० अर्ब लगानी हुने

काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी भारतीय कम्पनी बजाज अटोले आफ्नो पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था बजाज अटो क्रेडिट लिमिटेडलाई थप विस्तार गर्दैछ । बजाजले आगामी दुई आर्थिक वर्षमा यस इकाईका लागि ३० अर्ब रुपैयाँभन्दा बढी थप लगानी गर्ने छ । बजाज अटो क्रेडिटले व्यावसायिक कारोबार सुरु गरेको र अब विस्तार हुने बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले बताए । बजाज समूहको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) लोगो अनावरण गर्न आयोजित कार्यक्रममा उनले भने, ‘लगानी ३० अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।’ गत वर्ष अगस्टमा भारतीय रिजर्भ बैंक (आरबीआई) बाट इजाजतपत्र प्राप्त गरेपछि बजाज अटो क्रेडिटले १ जनवरी २०२४ देखि कारोबार सुरु गरेको थियो । रेटिङ एजेन्सी क्रिसिलका अनुसार ३१ जनवरी २०२४ सम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेको थियो । उसको कुल सम्पत्ति ७८ करोड रुपैयाँ थियो र ऋण १ अर्ब ५१ करोड रुपैयाँ थियो । ‘कम्पनीले प्रमोटर कम्पनी बजाज अटोबाट १ अर्ब ४५ करोड रुपैयाँको इक्विटी पुँजी प्राप्त गरेको छ र आर्थिक वर्ष २०२५/२६ मा ३३ अर्ब रुपैयाँभन्दा बढी प्राप्त गर्ने अपेक्षा गरेको छ,’ क्रिसिलका एक अधिकारीले भने । क्रिसिलका अनुसार कम्पनीका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन खरिदका लागि बजाज अटो क्रेडिटले ऋण उपलब्ध गराउने छ र सबै नयाँ कर्जा बजाज अटो क्रेडिटले चरणबद्ध रूपमा उपलब्ध गराउने छ । बजाज फाइनान्सले यसअघि नै बजाज अटो कारखानामा उत्पादन गरेका सवारीसाधनहरू नयाँ कम्पनीमा स्वतः हस्तान्तरण भइरहेका छन् । यो सबै काम जुन २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । बजाज अटो क्रेडिट बजाज अटोको पूर्ण स्वामित्वमा रहेको वित्त कम्पनी हो । यसमार्फत बजाज अटोका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन किन्न आउने ग्राहकलाई ऋण उपलब्ध गराइने छ । अहिलेसम्म यो काम बजाज फाइनान्सले मात्र गर्दै आएको थियो । समूहका दुई एकाइ बजाज फाइनान्स र बजाज हाउजिङ फाइनान्सलाई आरबीआईले माथिल्लो श्रेणीको एनबीएफसीका रूपमा वर्गीकृत गरेको छ । यस श्रेणीमा परेका कम्पनीहरूलाई एनबीएफसीहरूका लागि नियमहरू संशोधन भएको तीन वर्षभित्र सूचीकृत गर्नुपर्ने छ । नयाँ नियम १ अक्टोबर २०२२ देखि लागु भएको छ । बजाज फाइनान्स पहिले नै सूचीबद्ध छ तर बजाज हाउजिङ फाइनान्स अझै स्टक एक्सचेन्जमा छैन । बजाज समूहले आफ्नो हाउजिङ फाइनान्स शाखाको सूचीकरणबाट छुट मागेको छ । बजाज अटो क्रेडिटलाई क्रिसिलद्वारा एएएर/स्थिर/क्रिसिल ए1+ रेटिङ दिइएको छ । रेटिङलाई उचित ठहर गर्दै क्रिसिलले रेटिङ दिँदा कम्पनीले बजाज अटोबाट पूर्ण सहयोग पाउने कुरालाई ध्यानमा राखिएको छ र बजाज अटोका लागि पनि यो निकै महत्वपूर्ण रहेको बताएको छ । साथै, अनुभवी व्यवस्थापन टोली र पर्याप्त पुँजीलाई ध्यानमा राख्दै बलियो रेटिङ दिइएको क्रिसिलको भनाइ छ । बजाज अटोले आर्थिक वर्ष २०२४ को पहिलो ११ महिनामा देशमा २० लाख ६७ हजार ५ सय ८१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले ४ लाख २६ हजार ७ सय ४६ तीन पाङ्ग्रे सवारीसाधन पनि बिक्री गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशत बढी हो । चालु आर्थिक वर्ष वैशाखदेखि फागुनसम्ममा कुल २५ लाख ९४ हजार ३ सय दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । एजेन्सी

ललितपुरमा दुई जनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा

पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति ९ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । ‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन,’ उनले भने । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।

साँगा-धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररूपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ । सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले बताए । धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताए। धुलिखेलमा खानेपानीको व्यवस्थापनमा एक करोड तथा ढल व्यवस्थापनमा चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ । आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ । उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ । पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँको सम्झौता भएको इन्जिनियर खनालले बताए । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ ।  रासस

माछापुच्छ्रे बैंकका संस्थापक श्रेष्ठ साढे १० लाख कित्ता सेयर बेचेर बाहिरिँदै

काठमाडौं । माछापुच्छे बैंकले १० लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि जारी गरिएको यो सेयरमा सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।