विकासन्युज

कृषि विकास बैंकले संचालन गर्यो विद्यार्थीसँग बैंक कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकले पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासीको अमलटारी होमस्टे, रुपन्देहीको धकधही र कपिलबस्तुको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतिय सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए । आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो । बिश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्युचर’ भन्ने नारा ग्लोबल मनी विकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

ढोलाहिटीमा ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ

काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुरेण्टमा आइतबार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको बताए । घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ । जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको लागि अन्य ८ जना व्यक्तिहरु पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ । प्रहरीले पाँच जनालाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यलाई अनुसन्धान जारी रहेको बताएको छ ।

इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी

रोम । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एकजना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्यांकले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको छ । यो संख्या सन् २०२२ मा ५६ लाख ७० हजार र सन् २०२१ मा ५३ लाख २० हजार थियो । गत वर्ष देशको कुल जनसंख्याको ९.८ प्रतिशत निरपेक्ष गरिबीमा रहेको देखिएको छ । इन्स्टिच्युट’ले निरपेक्ष गरिबीमा बाँचिरहेका व्यक्तिलाई आफ्नो आधारभूत आवश्यकता जस्तै खाना र स्वच्छ पिउने पानी, लुगाफाटा, स्वास्थ्य हेरचाह र आश्रय पूरा गर्न स्रोतहरूको अभाव भएको व्यक्तिको रूपमा परिभाषित गरेको छ । इन्स्टिच्युट’को तथ्यांकले निरपेक्ष गरीबीको उच्चतम स्तर मुख्यतया कृषिका लागि चिनिने देशको दक्षिणी क्षेत्रहरूमा देखिएको छ भने औद्योगिक क्षेत्रका लागि चिनिने उत्तरी क्षेत्रले गरिबीको सबैभन्दा कम स्तर देखाएको छ । यसले देशको अन्य भागको तुलनामा उत्तरी क्षेत्रमा गरिबीको स्तरमा तीव्र कमी आएको उल्लेख गरेको छ । गत वर्ष १८ वर्षभन्दा कम उमेरका १४ प्रतिशत इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेका छन् भने १८ देखि ३४ वर्ष उमेर समूहका ११.९ प्रतिशत रहेका देखिएको छ । त्यसैगरी, ६५ वर्षमाथिका नागरिकमध्ये ६.२ प्रतिशत मात्र सबैभन्दा कम आर्थिक वर्गमा बाँचिरहेका छन् । इस्टिच्युुटका अनुसार निरपेक्ष गरिबीमा बाँचिरहेका इटालियाली बढ्दो प्रतिशतको मुख्य कारक मुद्रास्फीति हो, जसले विगत दुई वर्षमा आर्थिक वृद्धिलाई उछिनेको छ । गत वर्ष औसत ५.९ प्रतिशतले मूल्यवृद्धि भएको थियो भने अर्थतन्त्र ०.९ प्रतिशतले बढेको थियो । त्यसैगरी सन् २०२२ मा मुद्रास्फीति दर ८.१ प्रतिशत रहेको थियो भने अर्थतन्त्र ३.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । रासस

श्री एयरलाइन्सले थप्यो दुई जहाज, १० जहाजसहित सेवा विस्तारमा आक्रामक

काठमाडौं। श्री एयरलाइन्सले थप २ वटा नयाँ जहाज खरिद गरेको छ । यससँगै श्री एयरलाइन्सका जहाज १० वटा पुगेका छन् । कम्पनीले क्यानडाको तत्कालीन बम्बार्डियन अर्थात् हालको डी हाभिल्यान्ड अफ क्यानडामा निर्मित ८० सिटका २ जहाज खरिद गरेको हो । यससँगै कम्पनीसँग ८० सीट क्षमताकाे ६ वटा जहाज सञ्चालनमा रहेका छन् । यसअघि संयुक्त राज्य अमेरिकाको होराजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको थियो । कल साइन नाइन एन–एओके र नाइन एन–एओएल रहेका उक्त जहाज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै जहाजहरू काठमाडौं ल्याएका हुन् ।अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ । सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले अहिले पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरिसकेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर नियन्त्रण

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ । केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ । अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रिय बैङ्कले सोमबार यस्तो निर्णय गरेको हो । यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ । आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । केन्द्रिय बैंकको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । रासस

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको छ । बैंकले यस अवसरमा विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ । बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रमहरुमा बैंकिङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवार, यसका अवसर तथा चुनौतीहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै बुटवल क्षेत्रमा आयोजना गरिएको डिजिटल वित्तीय साक्षरता कार्यक्रममा अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । र्बैकको कुन विभागमा के–कस्तो कार्यहरु हुन्छ भन्ने जिज्ञासाका लागि बैंकको केन्द्रीय कार्यालय तथा सातवटै प्रदेशमा विभिन्न शाखाले विद्यार्थीहरुलाई बैंकको भ्रमण गराइएको थियो । त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक संजाल मार्फत सुरक्षित भविष्यको लागि बजेट, बचतको महत्व, कर्जाको सदुपयोग र समयमा भुक्तानी, अज्ञात लिङ्कमा क्लिक नगरी सचेत रहन तथा ओटिपी/पिन गोप्य राख्ने गरी ग्लोबल मनी विक सफलतापूर्वक सम्पन्न गरेको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

माथिल्लो इङवा जलविद्युत आयोजन सम्पन्न, राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शनिबार राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि स्थानियहरुको वाक्लो उपस्थितिमा सम्पन्न गरेको यस कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा भएको छ । पाचँथर तथा ताप्लेजुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ । २०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुुरा गरेको छ । यो आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको सेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैक लिमिटेडको एकल लगानी बाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी (प्रा) लिमिटेड र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो भने आयोजनाको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकनरी दिए । जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको समेत न्यौपानेले जानकारी गराए । यो कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या आ १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडान गरी आरपुर–दमक १३२ के.भि.ट्रान्समिसनलाईन मार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।

गाउँबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक

चितवन । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेकाका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन् । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ । यो सफलता त्यसै हात लागेको भने होइन । विसं २०२९ मा नुवाकोटको पीपलटारमा जन्मिएका गजुरेल बुबा गोपीचन्द्र र आमा पुतलीका जेठा छोरा हुन् । एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो । निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाए । विसं २०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उनी चितवन झरे । उनका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्थे । त्यही उद्योगमा उनले मासिक नौ सय रुपैयाँ पाउने गरी सहयोगीको जागिर पाए । चार महिना काम गर्दै गर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उनको हात मेसिनमा पुग्यो । दुईवटा औँला मेसिनले काट्यो । यो उनको जीवनको निकै सङ्घर्षको समय रह्यो । त्यसपछि उनी गाउँ फर्किए । केही महिनापछि फेरि चितवन झरे । साइकलमा प्लास्टिक बेचेको उनले देखे । त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो । बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पुर्याएर बिक्री गर्ने काम उनले थाले । नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उनी साइकलमै पुग्थे । बिदाको अघिल्लो दिन टाढाटाढा पुगेर त्यही रात बिताएर भोलिपल्ट फर्किन्थे । अठार वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उनी साइकलमै खटिन्थे । विसं २०४८ माघदेखि आफैँले काठमाडौंबाट प्लास्टिक ल्याएर यहाँ बिक्री गर्न थाले । यतिबेला उनले दैनिक १२ हजार रुपैयाँसम्मको प्लास्टिक बिक्री गरे । यससँगै उहाँको जीवनयापन केही सहज बन्दै गयो । विसं २०४९ मा एक साथीसँग मिलेर नारायणगढको मेनरोडमा ३५ हजार रुपैयाँमा चितवन प्लास्टिक ट्रेडर्स पसल किने । पसल किन्न मामाघरको हजुरबुबाले १० हजार रुपैयाँ दिए । यो रकम उनको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो । इमान्दार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले । यतिबेला पनि उनी साइकलमा प्लास्टिक बिक्री गर्न छाडेका थिएनन् । विसं २०५३ मा उनले पसललाई बढाउँदै थोक बनाए । त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो । उनले भने, ‘मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु ।’ थोक पसलमा कतिपटक त रातको समयमा समेत सुत्न नपाएको उनको स्मरण छ । राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उनी अनुभव सुनाउँछन् । विसं २०५४ मा विवाह गरेपछि उनलाई काममा साथ मिल्यो । विसं २०५८ सालमा उनले १८ लाख रुपैयाँमा लिलाचोकमा पुरानो घर किने । त्यही घरमा उनको पसल सुरु भयो । सुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाले । विसं २०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उनी पुगे । त्यहाँ देखेपछि उनी नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग सुरु गरे । अर्को वर्षदेखि उनले चितवन पोलीपाइप उद्योग सुरु गरे । सो उद्योगमा पाइपसँगै प्लास्टिकका झोलालगायत सामग्री पनि उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै नौ कट्ठा जग्गा उनले किनेका थिए । त्यही जग्गामा उद्योग सुरु भयो । त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोले भने २०७४ सालमा प्लास्टिकका ट्याङ्क उत्पादन गर्ने उद्योग सुरु भयो । पुरानो उद्योग नजिकै १५ कट्ठा जमिन लिएर उनले यो उद्योग सुरु गरेका हुन् । चितवन राइनो ट्याङ्कीका रुपमा उनको उत्पादन बजारमा छ । दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उनले सुरु गरे । यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मङ्सिरबाट सञ्चालनमा छ । यसबीचमै उनले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गरे । इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उहाँका २५ वर्षे छोरा आकाशले हेर्दै आएका छन् । उनीसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा सँगसँगै छन् । परिवारले दिएको साथ उनको सफलताको अर्को पक्ष हो । उनले गरेको आम्दानी र बैङ्कको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उनी बताउँछन् । व्यावसायिक सफलतासँगै उनी सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन् । विसं २०७५ देखि २०७९ सम्म उनी प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्ष हुन् भने उद्योग वाणिज्य सङ्घ चितवनको कार्यसमिति सदस्य समेत भएर काम गरे । इमान्दारीपूर्वक निरन्तरको सङ्घर्षले नै आफूलाई सफलता मिलेको उनको भनाइ छ । कामलाई सानोठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने बताउँदै उनी भन्छन्, “मेरैजस्तै सङ्घर्ष र मिहेनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन । रासस