चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर, प्याराग्लाइडिङले पर्यटक बढे
तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । ‘हप्ताको दुई/तीन दिन चिनियाँ पर्यटक करिब पाँच/छ सयका दरले आउने गरेका छन्’, उनले भने, ‘जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।’ कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उनले बताए । ‘पछिल्लो समय विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या केही घटेको छ’, उनले भने, ‘दैनिक करिब तीन सयको सङ्ख्यामा स्वदेशी पर्यटक आउने गरेका छन् ।’ प्याराग्लाइडिङले पर्यटक बढे त्यसैगरी साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढाएको छ । बन्दीपुरको भञ्ज्याङ चौताराबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको हो । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिनेछ । उडानका क्रममा बन्दीपुरको ‘एरियल भ्यु’का साथै मस्र्याङ्दी उपत्यका धौलागिरिदेखि लाङ्टाङसम्मको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । विगत पाँच वर्षदेखि यो प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरी मनोरञ्जन प्रदान गर्दै आएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाख महिना उत्तम मौसम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको हो । उक्त स्थानबाट ३०/४० जनासम्म उड्नसक्ने क्षमताको रहेको छ । उड्नुअघि गाउँपालिकाबाट अनुमति लिनुका साथै प्रतिव्यक्ति एक हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उनले बताए । नेवारी तथा आदिवासी जनजातिका संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण बन्दीपुरमा सयौँ वर्ष पुरानो बजार, मठ, मन्दिर, गुफा, आँखै अगाडि देखिने हिमालको मनोरम दृश्य तथा साहसिक गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ । प्रि–बुकिङमार्फत १५ देखि ३० मिनेटको उडान र त्यसभन्दा माथि ४५ मिनेटदेखि करिब एक घण्टासम्मको उडान चरा झैँ उडेर गर्न प्याराग्लाइडिङ पाइलट समय प्रधानले बताए । बन्दीपुरमा स्थायी घर भएका प्रधानले समय र मौसम अनुकूल प्याराग्लाइडिङको मज्जा लिन सकिने बताए । हाल पोखरामा प्याराग्लाइडिङ सेवामा कार्यरत रहेका प्रधान निकट भविष्यमा बन्दीपुरमै प्याराग्लाइडिङको सेवा विस्तार गर्न आफू लागिपरेको उनले जानकारी दिए । केही दिनअघि प्याराग्लाइडिङको अनुभव लिएका बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले बन्दीपुरलाई साहसिक गन्तव्यस्थल बनाउन पर्याप्त सम्भावना रहेको बताए । गाउँपालिकाले मात्रै बजेट व्यवस्थापन गरेर नपुग्ने भएकाले पर्यटन प्रवद्र्धनका लागि प्रदेश तथा सङ्घीय सरकारमा बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उनले बताए। रासस
ग्लोबल मनी वीकमा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । लघुवित्तले चैत ५ गते झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो । चैत ६ गते झापाको पृथ्वीनगर संखुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्तामा कार्यक्रम आयोजना गरेको थियो । चैत ७ गते इलामको दानावारी, तेह्रथुमको म्याङलुङ, सिरहाको सुखीपुरमा पर्ने दहीपौडी बजार, सप्तरीको हनुमाननगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । चैत ८ गते झापाको सुरुङ्गा, धनकुटाको धनकुटा बजार, मोरङको बेलबारी र उर्लाबारीमा कार्यक्रम आयोजना गरेको थियो । चैत ९ गते झापाको शिवगञ्ज, धनकुटाको राजारानी, सुनसरीको अमाहीबेल्हा र लौकहीमा कार्यक्रम आयोजना गरेको हो । चैत १० गते मोरङको केराबारी, धनकुटाको बुधबारे, मोरङको अमरदह र रामचोकमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको लघुवित्तको प्रवक्ता सुदिपकुमार मण्डलले जानकारी दिए । कार्यक्रम आयोजना गरेका २४ वटा शाखाले आफ्नो शाखाका उत्कृष्ट ३ जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना उत्कृष्ट बचतकर्ता र ७२ जना उत्कृष्ट ऋणीलाई लघुवित्तले पुरस्कृत गरेको थियो । २४ शाखाका ७२ जना ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र हरेक शाखा अन्तरगतका उत्कृष्ट ५ वटा केन्द्र(समूह)का दरले १२० वटा लघुवित्तको केन्द्रलाई पनि पुरस्कृत गरेको थियो । २४ वटा शाखाले पाँच जनाका दरले १२० जना विपन्न समुदायका बालबालिकालाई ‘एडप्ट’ गर्दै एक वर्षका लागि शैक्षिक सामग्री प्रदान गरेको थियो । केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमका लागि प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, आइएसडी विभाग प्रमुख विजयकुमार मण्डल र मानव संसाधन विभाग प्रमुख सुदिपकुमार मण्डलको नेतृत्वमा छुट्टा–छुट्टै टोली खटिएको थियो । ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लघुवित्तका सदस्यलाई संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, लेखा विभाग प्रमुख अंजयकुमार मण्डल, लघुवित्त विभाग प्रमुख मनोजकुमार साह र आइटी विभाग प्रमुख रमेश रायले वित्तीय साक्षरता सम्बन्धी तालिम दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु सम्बन्धित(कार्यक्रम आयोजना गरिएको) वडाका वडा अध्यक्ष, पालिका प्रमुख,उपप्रमुख, प्रदेश सांसद तथा प्रतिनिधीसभा सांसदको पनि उपस्थीति रहेको थियो । लघुवित्त सदस्यलाई वित्तीय ज्ञान अभिवृद्धि गर्ने उदेश्यले ग्लोबल मनी वीक २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । कार्यक्रमले लघुवित्तको ऋण सहयोगमा काम गरिरहेका सदस्यहरुलाई उत्साह मिलेको उनले बताए । ‘कार्यक्रमले लघुवित्त र सदस्यबीचको सम्बन्ध थप मजवुत बनाएको छ,’ उनले भने,‘ उद्यम गरिरहेका सदस्य र संस्थाका कर्मचारीलाई काम गर्ने थप उत्साह मिलेको छ ।’ कार्यक्रममा सहभागि सदस्यलाई लघुवित्तले घरआँगनमा तरकारी खेती अभियान अन्तगत उन्नत जातका विभिन्न तरकारीका बिउ पनि वितरण गरेको थियो । लघुवित्तका अन्य शाखाले पनि ग्लोबल मनी ह्वीकमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए । जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत २४ जिल्लामा तीन लाख २४ हजार ५ सय ७२ सदस्यसँग वित्तीय सेवा पुर्याइरहेको छ । लघुवित्तले सदस्यका लागि २६ अर्ब ६६ करोड, ८१ लाख,२८ हजार ६ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ ।
मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं । मानव सेवा आश्रम बिराटनगरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको हो । घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक आश्रित करिव १३० नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सेवा आश्रम संचालन भइरहेको छ । सेवा आश्रममा बिहीबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित आश्रम संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । उनले दीन दुस्खी बेसाहाराहरुलाई सानो भएतापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।
चिकित्सकको निगरानीमा नेता टोपबहादुर रायमाझीको उपचार हुँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए । ‘उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो’, डा पौडेलले भने, ‘अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।’ उनको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताए ।
फोहरको वर्गीकरण गरी बन्चरेडाँडामा कम बिसर्जन गरिने
काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानिय तहसँग समन्वय गर्ने बताएका छन् । मन्त्रालयमा बुधबार भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिएका छन् । दीर्घकालीन कार्ययोजना अन्तरर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता दिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिने मन्त्री बुढाले बताए । बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन र वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेको छ । बैठकले फोहरमैला व्यवस्थापनका सन्दर्भमा नेप वेष्टको प्रस्तावमाथि कानुनबमोजिम शीघ्र निर्णय गरी टुङ्ग्याउन लगानी बोर्डलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । रासस
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती सुरु गरेका छन् । त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफलभएका छन् । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताए । उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो । उनले भने ‘आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले रु १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक रु तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।’ जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको नपाइएको बताए । गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो । ‘रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ’, उनले भने, ‘बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन हुँदैन ।’ हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । रासस
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका- ६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए ।एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो । अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ। नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुनः २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनले बताए । रासस
युट्युबबाट अर्बपति बनेका ‘टेक्निकल गुरुजी’ गौरव
काठमाडौं । विश्वमा धनी व्यक्तिहरूको सूची बढ्दै गइरहेको छ । सुखमय जिन्दगी बिताउनका लागि मानिसलाई जीवनभरि धैरै नै परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरे पनि उनीहरूसँग बचतका लागि केही बाँकी रहँदैन । संसारमा केही यस्ता काम र जागिर पनि छन्, जो गर्ने मानिसहरू चाँडै र सजिलै करोडपति बन्न सक्छन् । पछिल्लो केही वर्षदेखि सूचना प्रविधिको विकास र विस्तारले विश्वभरि आफ्नो पकड जमाउन थालेपछि सामाजिक सञ्जाल युट्युबबाटै मानिसहरू करोडपति बन्न सफल भएका छन् । युट्युबबाटै अर्बपति भएका एक युवा हुन् भारतका गौरव चौधरी । सामाजिक सञ्जालमा मानिसहरूले उनलाई प्राविधिक गुरुजी भनेर चिन्छन् । भर्खरै गौरवलाई ‘द नेशनल क्रिएटर्स अवार्ड २०२४’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक विधामा उत्कृष्ट निर्माताको अवार्ड प्रदान गरेका थिए । उनले टेक्निकल गुरुजी र गौरव चौधरी नामका दुई युट्युब च्यानल चलाउँछन् । उनको सब्सक्राइबर करोडौं संख्यामामा छन् । यी विश्वमा सबैभन्दा धेरै हेरिने प्राविधिक च्यानल हुन् । युट्युबबाट बम्पर आम्दानी गरेका उनको जीवनशैली विलासी छ । प्राविधिक युट्युबर्सको दुनियाँमा फरक पहिचान गौरवले प्राविधिक युट्युबर्सको संसारमा छुट्टै पहिचान बनाएका छन् । उनी टेक्निकल गुरुजीको रूपमा प्रसिद्ध छन् । युट्युबमा उनका अनगिन्ती फलोअर्स छन् । भारतमा मात्रै नभएर विदेशमा पनि उनको लोकप्रियता छ । एक साधारण इन्जिनियरबाट सबैभन्दा प्रभावशाली प्राविधिक व्यक्तित्वसम्मको उनको यात्रा गजबको छ। आफ्नो मेहनत र सिर्जनशीलताका आधारमा उनले यो स्थान हासिल गरेका हुन् । अहिले उनले यसबाट करोडौं आम्दानी गरिरहेका छन् । अजमेरमा जन्मेर केन्द्रीय विद्यालय पढे गौरवको जन्म सन् १९९१ मा राजस्थानको अजमेरमा भएको थियो । केन्द्रीय विद्यालयमा पढाइ सकेपछि उनले इन्जिनियरिङको डिग्री लिए । गौरव सधैं प्रविधिमा रूचि राख्थे। उनमा पढाइमा फरक किसिमको लगाव थियो । उनले ११ कक्षा पढ्दा कोडिङ गर्न थाले । यसले उनको भविष्यका प्रयासहरूका लागि जग बसाल्यो । प्रविधिप्रति गौरवको जिज्ञासा बढ्दै गयो । उनको दिमागमा २०१२ को सुरुमा युट्युब च्यानल खोल्ने विचार आयो । तर, २०१५ सम्म उनले आफ्नो विचारलाई यथार्थमा परिणत गर्न सकेनन् । सन् २०१५ मा गौरवले आफ्नो युट्युब च्यानल सुरु गरेका थिए । जसको नाम ‘टेक्निकल गुरुजी’ थियो । गौरवको च्यानलले चाँडै लोकप्रियता हासिल गर्यो । आज उनको मुख्य च्यानलमा २ करोड ३५ लाख सब्सक्राइबर छन् । यसले उनलाई विश्वको शीर्ष प्राविधिक युट्युबर्समध्ये एक बनाउँछ । ३ अर्ब ६० करोडको नेटवर्थ गौरवको सफलतालाई धेरै कारणले श्रेय दिन सकिन्छ । पहिलो, जटिल टेक्नोलोजी अवधारणाहरूलाई सरल बनाउने र तिनीहरूलाई हिन्दीमा प्रस्तुत गर्ने उनको क्षमताले ठूलो संख्यामा दर्शकहरूलाई प्रभावित गरेको छ । सरल भाषा प्रयोग गरेर र अत्यधिक प्राविधिक शब्दावलीलाई बेवास्ता गरेर गौरवले सीमित प्राविधिक ज्ञान भएका दर्शकहरूले पनि उनको सामग्री बुझ्न सक्ने कुरालाई सुनिश्चित गर्दछन् । युट्युबमा गौरवको सफलताले उनको कमाई पनि बढेको छ । उनको कुल अनुमानित सम्पत्ति करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ । दुबईमा घर र लक्जरी कार गौरवको दुबईमा घर छ । यसको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । उनको संग्रहमा ११ वटा कार छन् । उनको निलो रंगको रोल्स रोयस घोस्टको मूल्य ८ करोड भारु रहेको छ । मैकलेरन जीटी को मूल्य ४ करोड ७५ लाख रुपैयाँ छ । यो कार उनका दाजुले उपहार दिएका हुन् । गौरवको रेन्ज रोभर भोगको मूल्य २ अर्ब १० करोड भारु रहेको छ । उनीसँग पोर्श पानामेरा जीटीएस पनि छ । यसको मूल्य १ करोड ९० लाख रुपैयाँ छ । यसबाहेक उनीसँग पोर्श पानामेरा, मर्सिडीज बेन्ज जी क्लास, बीएमडब्लू ७५० लि लगायतका धेरै लक्जरी कार छन् । एजेन्सी