विकासन्युज

पैसा कमाएर बैंकको ऋण तिर्छु : दुर्गा प्रसाईं

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको ऋण तिर्ने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म बैंकको ऋण नतिरेको भए पनि अब आफूले लिएको सबै ऋण तिर्ने प्रतिवद्धता गरेका हुन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले अब मेडिकल कलेज सञ्चालन गरेर बैंकको ऋण पनि तिर्ने बताएका हुन् । ‘मेडिकल कलेजले सम्बन्धन पाएको छ, अब म बैंकको पैसा तिर्छु, मैले बैंकको पैसा तिर्दिनँ भनेको छैन, ७ प्रतिशतको ब्याज किन १७ प्रतिशत बनायौँ भनेर मात्रै प्रश्न गरेको हो,’ उनले भने । उनले आफ्नो अभियान भने नरोकिने बताएका छन् । उनले अब मेडिकल पनि सँगै सञ्चालन गर्ने र अभियानलाई पनि तीव्रता दिने बताएका छन् । सबै संरचना निर्माण भएपनि बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउन सकेको थिएन । तर, सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएपछि उनी खुसी भएका छन् । उनले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी छ । उनले हालसम्म बैंकको किस्ता पनि तिर्न सकेका छैनन् । बैंकरहरूका अनुसार प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् भने लिएको ऋण पनि तिर्न ताकेता गरिरहेका छन् । बैंकले साँवा ब्याज तिर्न ताकेता गरिरहेका बेला उनले भने बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न भन्दै अराजक अभियान नै अगाडि बढाएका छन् । उनले २० लाखभन्दा कम ऋण मिनाहा गर्नु पर्ने माग अगाडि सारेका छन् । तर, अन्ततः उनी अब ऋण तिरेर अगाडि बढ्ने योजनामा पुगेका हुन् ।

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

कैलाली । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष पहिले पाँच लाख खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उनलाई उद्यमी बनाएको छ । उनले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक ४० हजार रुपैयाँ भन्दाबढी आम्दानी गर्दै आएकी छन् । नगरपालिकाको वडा नं-१ भजनी बजारमा सालको पातबाट दुनाटपरी बनाउने उद्योग सञ्चालन गरेकी खिमाले गाउँका महिलालाई पनि रोजगारीमा जोडेकी छन् । ‘गोठाला गएका, गाउँमा फुर्सदमा भएका महिला दिनभर सामुदायिक वनमा गएर पात टिप्नुहुन्छ । त्यो पात हामीले खरिद गर्छौँ’, खिमा भन्छिन्, ‘प्रतिकेजी ३५ देखि ४० मा खरिद गर्छौ ।’ यस उद्योगबाट गाउँका महिलाले पनि घरायसी कामको अतिरिक्त समयको सदुपयोग गर्न पाएका छन् । उद्योगबाट आफूहरुलाई आयआर्जनको बाटो पनि खुलेको उनको भनाइ छ । भजनी नगरपालिका–९ की तारादेवी पुनमगर खिमाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभूति भएको बताउँछिन् । दैनिक घाँस दाउरा, गाईवस्तु चराउनका लागि जङ्गल पुग्नुपर्ने तारादेवी अहिले पात टिप्ने काम पनि सँगै गर्छन् । घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि तारादेविको घरको सानोतिनो खर्च टार्ने माध्यम खिमाको उद्योग बनेको छ । ‘घाँस दाउरा, मेलापात गर्दै उमेरले नेटो काट्न लाग्दा जङ्गलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाइ होला भन्ने आफूले नसोचेको उनले सुनाइन् । ‘आज त्यहीँ सालको पातले घरको खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नुपरेको छैन’ उनले भनिन् । तारादेवी जस्तै वडा नं ९ का मटेरी टोलका अधिकांशले सालको पात सङ्कलन गरी बिक्री गर्दै आएका छन् । स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गइरहेको वस्तुबाट आम्दानीसँग जोडिएकी खिमालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भए पनि अहिले बजारको मागलाई भ्याउन नसकेको बताइन् । उनले हप्ताको एक दिन शनिबार स्थानीयवासीले सङ्कलन गरेको पात खरिद गर्दै आएकी छन् । हप्तामा २० हजारदेखि २५ हजारसम्मको सालको पात खरिद गर्दै आएको उनी बताउँछिन् । ‘कैलालीका विभिन्न क्षेत्र हुँदै बर्दियालगायत काठमाडौँसम्म उत्पादन भएको दुनाटपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनुपर्ने स्थिति छैन’, उनी भन्छिन्, ‘उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।’ उद्योगमा दैनिक तीन हजारभन्दा बढी टपरी र छ हजार दुना उत्पादन हुन्छन् । विभिन्न नौ साइजमा दुनाटपरी उत्पादन हुँदै आएका छन् । उत्पादन भएको वस्तुको बजारीकरणमा खिमालाई श्रीमान् होमबहादुर बोहराले साथ दिएकी छन् । उनले स्थानीय बजार हुँदै बाह्य बजारसम्म उत्पादन भएको वस्तु पुर्‍याउने काम गर्दै आएका छन् । ‘श्रीमतीले उद्योगभित्रको काम हेर्छिन । मैले बजारको काम हेर्ने गरेको छु’, होमबहादुर भन्छन्, ‘श्रीमान् श्रीमती दुवैजना सबै क्षेत्र छोडेर उद्योगलाई अझै स्थापित गर्दै लैजानेतर्फ लागिरहेका छौँ ।’ पछिल्लो समय स्थानीय तह प्लास्टिक निषेधित क्षेत्र घोषणा हुँदै जाँदा पातबाट बनेका वस्तुको माग बढेको होमबहादुरको भनाइ छ । नेपालबाट मात्रै नभइ छिमेकीमुलुक भारतका स्थानीय व्यापारीबाट पनि वस्तुको माग भइरहेको उनले बताए । कुनै समय साथीभाइको वैदेशिक रोजगारीले लोभ्याएर वैदेशिक रोजगारीको तयारीमा लागेका होमबहादुर विदेशको नाम पनि लिन चाहदैनन् । ‘स्वदेशमै सम्भावना हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसक्दा अरुले गरिरहेको बाटोमा हिँड्नुपर्ने बाध्यता हुँदोरहेछ । जुन बाटो मैले पनि लहलहैमा रोजिसकेको थिएँ’, होमबहादुरले सुनाए, ‘समयले मलाई यतै केही गर्नुपर्छ भनेर रोक्यो । जसमा श्रीमतीको साथ अनि आत्मविश्वासले मलाई नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सिकायो । अहिले यो व्यवसायबाट मेरो परिवार सन्तुष्ट छ ।’ दुनाटपरी तयार हुने मेसिनबाट चप्पलसमेत तयार गर्ने गरिएको छ । दुनाटपरीको माग कम भएको समयमा उनीहरुले सोही उद्योगबाट चप्पल तयार गरेर बिक्रीसमेत गर्दै आएका छन् । चालु आर्थिक वर्षमा उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ‘एक उद्योग, एक निर्वाचन क्षेत्र’ कार्यक्रम अन्तर्गत मेसिन खरिदका लागि अनुदान पाउनुभएको छ । बीस प्रतिशत लागत सहभागिता रहेको उक्त कार्यक्रमबाट प्राप्त मेसिन आएपछि उद्योगको आकार बढ्ने र बजारको मागलाई थप पूर्ति गर्न सकिने खिमाको विश्वास छ । रासस

तनहुँ जलविद्युतको मुख्य सुरुङ ‘ब्रेक थ्रु’, १४० मेगावाटको आयोजना कहिले सकिन्छ ?

तनहुँ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपाल प्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको ब्यास ७.४ मि. रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ । सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे । ‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने । सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए। ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थु्र गरी आयोजनाका मूख्य माइलस्टोनहरु पूरा भएकाछन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तिब्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेबार भएर लाग्नु पर्छ’, उनले भने। उनले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको निर्माण छिट्टै अगाडि बढाइने बताए। अयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराएका थिए । मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे)सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण कार्य धमाधम भइरहेको छ । आगामी असार दोस्रो साताभित्र जग खन्ने कार्य सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत रहेको छ । प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र. लि. नेपाल जे. भी.)ले गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ । प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरहरुको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरुमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ५६ वटा परियोजनाहरु सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितहरुको जीविकोपार्जन तथा आयाआर्जन बृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

सिंगटी हाईड्रो इर्नजीको लिलामी सेयर भर्ने अवधि २ दिन बाँकी

काठमाडौं । सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिने अवधि २ दिन मात्रै बाँकी रहेको छ । आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाईने र बुझाउँने स्थानमा लगानीकर्ताको भीड लागेको कम्पनीले जनाएको छ । सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात आगामी मंगलबारसम्म रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ । ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

सर्पोट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

काठमाडौं । सर्पोट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल नियुक्त भएका छन् । चैत १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पोखरेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, उक्त बैठक अघि सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थापक तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट एक जना सञ्चालकलाई निर्वाचित गरेको छ । संस्थापक सेयरधनीकोतर्फबाट महेशकुमार पोखरेल, पुनितकुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल रहेका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् । यससँगै कम्पनीको ७ जनाको सञ्चालक समिति बनेको छ । हालै निर्वाचित ५ जना र सर्वसाधारण समूह तर्फबाट तारादेवी भट्टराई र स्वतन्त्र सञ्चालकमा गोविन्दलाल कर्ण रहेका छन् ।

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे । ‘नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ’, उनले भने, ‘यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस् ।’ उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताए । ‘यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्’, उनले भने । संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसद्मै जवाफ दिएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताए । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव (कन्फ्क्टि अफ इन्ट्रेस्ट) रहेको पनि उनको भनाइ छ ।

चिया बगानमा चिनियाँ र पाकिस्तानी व्यवसायीको भीड, गुणस्तरमा भारतको बखेडा

काठमाडौं । दक्षिणी छिमेकी भारत नेपालमा उत्पादित चियाको प्रमुख बजार हो । नेपालमा उत्पादन हुने कुल चियाको ८५ प्रतिशत हिस्सा भारतीय बजार निर्यात हुने गर्छ । तर, दुःखद कुरा के छ भने पछिल्लो पटक भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न गर्दै बखेडा झिकेपछि नेपाली चिया उत्पादक हच्किएका छन् । यहीबीच ‘कालो बादलमा चाँदीको घेरा’ भने झैं भारतको बखेडाबाट तर्सिएका नेपाली चिया उत्पादकलाई सुखद खबर प्राप्त भएकाे छ । उत्तरी छिमेकी चीन र पाकिस्तानमा नेपाली चिया निर्यातको आशालाग्दो हिसाबको सम्भावना देखिएको छ । पाकिस्तान र चीन दुवै देशमा कूटनीतिक पहलमार्फत नेपाली चिया निर्यात बढाउन मार्गप्रशस्त भएको छ । हालै चीनका केही दर्जन व्यवसायी नेपाली चिया खरिद गर्ने उद्देश्यले नेपाल आएका छन् । उनीहरू अहिले इलामका चियाबारीमा घुमिरहेका छन् । चीनले पनि पछिल्लो पटक नेपालमा उत्पादित अर्थोडक्स चिया राम्रै परिमाणमा आयात गरेको छ । त्यस्तै पाकिस्तानी व्यवसायीले भने नेपालमा उत्पादित सीटीसी (धुलो) चिया आयात गरिरहेका छन् । भलै चीन र पाकिस्तान जाने नेपाली चियाको परिमाण भारत जानेभन्दा कम भए पनि नेपाली चियाबारे विश्वबजारमा राम्रै सन्देश गएको नेपाली चिया उत्पादकहरू बताउँछन् । भारतले पछिल्लो पटक नेपाली चियाको गुणस्तरमा प्रश्न उठाइरहेका बेला चीन र पाकिस्तानतर्फ निर्यात बढेको र चिनियाँ व्यवसायीहरू नेपाली चिया खरिद गर्न ठूलो संख्यामा नेपाल आइरहेको नेपाली चिया उत्पादक व्यवसायीले जानकारी दिएका छन्। त्यसमाथि चीन र पाकिस्तान दुवैले अझै ठूलो परिमाणमा नेपाली चिया खरिद गर्न सकारात्मक देखिएपछि नेपाली व्यवसायीहरू उत्साहित भएका छन् । हालै पाकिस्तानले दुई टन (२ हजार टन) नेपाली सीटीसी चिया आयात गरेको छ । नेपाली चिया उद्योगमा दशकौंपछि आएको यो सुखद खबर रहेको व्यवसायीहरूको भनाइ छ । पकिस्तानस्थित नेपाली राजदूत तापस अधिकारीले हालसम्म डेढ लाख किलो नेपाली चिया पाकिस्तान निर्यात भएको बताएका छन् । उनका अनुसार केही आयात-निर्यात व्यवसायीले नेपाली चियाको पाकिस्तानतर्फको निर्यात परिमाण बढाउन लागिपरेका छन् । ‘नेपाली चियाको पाकिस्तान निर्यात परिमाण बढिरहेको छ,’ राजदूत अधिकारीले विकासन्युजसँग भने, ‘पाकिस्तानी व्यापारीलाई सहजीकरण, बैठक, छलफल, सूचना आदान-प्रदान, चियाको स्वाद परीक्षण लगायत गतिविधिबाट प्रोत्साहन गरेर नेपाली चिया पाकिस्तान लैजान आग्रह गरिरहेका छौं ।’ पाकिस्तानी व्यवसायीले विगतमा उल्लेख्य परिमाणमा नेपाली चिया आयात गरिरहे पनि केही दशकदेखि यो क्रम रोकिएको थियो । तर, पछिल्लो समय फेरि पाकिस्तानले नेपाली चियामा आँखा लगाउन थालेको राजदूत अधिकारीले जानकारी दिए । पाकिस्तानसँग चिया सम्बन्ध विस्तार हुँदै झापा बिर्तामोडस्थित चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारी दुई कन्टेनर चिया पाकिस्तान निर्यात गरेर नेपाली व्यवसायीले पाकिस्तानी व्यवसायीसँग चिया सम्बन्ध विस्तार गरेको बताउँछन् । पाकिस्तानले झापाको गिरिबन्धु टि बगानबाट दुई कन्टेनर सीटीसी चिया आयात गरेको हो । अधिकारीका अनुसार भारतले दिने मूल्यभन्दा केही बढी दिन पाकिस्तानी व्यापारीहरू तयार देखिएका छन् । तर, चियाको गुणस्तरअनुसार मूल्य निर्धारण हुने उनी बताउँछन् । अहिले पाकिस्तान निर्यात भएको चियामा व्यवसायीले भारतले दिने मूल्यभन्दा बढी मूल्य तिरेका छन् । ‘पाकिस्तानी व्यवसायीहरू नेपाली चिया खरिद गर्न इच्छुक छन्, तर कुनै सम्झौता भने भएको छैन,’ निर्देशक अधिकारी भन्छन्, ‘पाकिस्तानका व्यापारीहरूको संस्था ‘टि एसोसिएसन’ का १०/१२ जना नेपालमा चिया भ्रमणका लागि आउन खोजिरहेका छन्, उनीहरू मे महिनामा नेपाल आउने कार्यक्रम छ, हामीले उनीहरूलाई औपचारिक आमन्त्रण गर्ने छौं ।’ उनका अनुसार पाकिस्तानी व्यापारीहरूले इलामका चिया कारखाना भ्रमण गर्ने र यहाँका व्यापारीहरूसँग छलफल तथा अन्तक्र्रिया गर्नेछन् । नेपाली चिया व्यवसायी पनि यसका लागि निरन्तर छलफल र अन्तक्रियामा अग्रसर भइरहेका छन् । नेपाली चिया भारतको ‘सेन्टर फुड ल्याबोरेटोरी’ (सीएफएल) को प्रमाणपत्र पाएपछि भन्सार ‘क्लियर’ हुन्छ । भारतबाहेक अन्य देशमा चिया निर्यात गर्न सकियो भने नेपाली व्यवसायीहरूको ‘बार्गेनिङ’ पावर बढ्दै जाने निर्देशक अधिकारी बताउँछन् । विकल्प बन्न सक्छ पाकिस्तान, दूतावास सहजीकरण गर्दै पाकिस्तानले वर्षमा १७ करोड किलो चिया खपत गर्ने गरेको तथ्यांक भेटिन्छ । जसमध्ये अधिकांश चिया केन्या, युगान्डालगायत अफ्रिकी देशहरूबाट आयात गर्छ । ‘पाकिस्तान ठूलो मात्रामा चिया खपत गर्ने देश हो, पाकिस्तान नेपाली चियाको विकल्प देश हुन सक्छ’ उनी भन्छन्, ‘पाकिस्तानमा धेरै चिया केन्या, भियतनामजस्ता देशबाटबाट आउँछ, तर पाकिस्तान नेपालको एउटा भरपर्दो बजार हुन सक्छ ।’ पाकिस्तानमा चिया निर्यातका लागि इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीसँग पनि निरन्तर छलफल भइरहेको अधिकारी बताउँछन् । यसका लागि उनले सहजीकरण गरिरहेका छन् । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएका कारण भारतको बाटो हुँदै पाकिस्तानमा निर्यात गर्न कुनै समस्या नहुने निर्देशक अधिकारी बताउँछन् । ‘पाकिस्तानले नेपाली चिया आयात गर्दा भारतले अवरोध गर्न मिल्दैन,’ उनी भन्छन्, ‘उहाँहरूको आफ्नो आन्तरिक समस्या होला, तर कानुनी रूपमा भने रोक्न मिल्दैन ।’ नेपाली चियाको चीन गन्तव्य  भारतबाहेक तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले पनि जोडबल गरिरहेको निर्देशक अधिकारी बताउँछन् । ‘अहिले नेपाली चिया आयात गर्न चिनियाँ व्यवसायीहरू पनि आएका छन्,’ अधिकारीले भने, ‘उनीहरूले बिजनेस टु बिजनेस मिटिङ गर्ने गरिरहेका छन्, यो नेपाली चिया उद्योगका लागि सुखद खबर हो ।’ त्यसैगरी उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलका अनुसार एक महिनाअघि चिनियाँ व्यवसायीले इलाम आएर अनुगमन गरेका थिए । ‘उहाँहरू आएर हाम्रो २/४ वटा उद्योग घुम्नुभयो,’ पौडेलले भने, ‘घुम्ने क्रममा उहाँहरूले उद्योगलाई सरसफाइ र गुणस्तरमा ध्यान दिन सुझाव दिनुभएको थियो, फेरि केही दिनअघि पनि आएर त्यहाँ भ्रमण गर्नुभयो, पहिलाभन्दा उल्लेख्यरूपमा सुधार पाएपछि चिया लैजान सकारात्मक भएर जानुभएको छ ।’ आउँछु भनेर गएका चिनियाँ व्यवसायी फेरि फर्केर आएर चिया चीन लैजान सकारात्मक भएपछि एक किसिमको विश्वासको वातावरण बनेको अध्यक्ष पौडेल बताउँछन् । चियाको पहिलो टिपाइ सुरु हुन लागेका बेला चीनबाट आएका व्यवसायी टोलीले चिया माग गरेपछि नयाँ उत्साह थपिएको पौडेलको भनाइ छ । अध्यक्ष पौडेलका अनुसार चिनियाँ व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा  ठूलै परिमाणमा  चिया माग गरेका छन् । तर, यति नै टन भन्ने तथ्यांकमा उल्लेख भएकाे छैन । ‘उहाँहरूले लैजान खोज्दा पहिलो टिपाइ नभएका कारण लैजान सक्नुभएन,’ उनी भन्छन्, ‘उहाँहरूले फेरि आएर चिया लैजान्छु भन्नुभएको छ, त्यस्तो लिखित सम्झौता त केही भएको छैन, मौखिक मात्रै हो तर हामी आशावादी छौं ।’ नेपालको उत्पादन जुनसुकै देशले लगे पनि त्यो खुसीकै कुरा हुने उनको भनाइ छ । ‘हाम्रो उत्पादन चीन, भारत, अमेरिका वा अन्य कुनै देशले लगे पनि हाम्रो तर्फबाट उत्पादन बिक्नुपर्यो भन्ने हो,’ उनी भन्छन्, ‘नेपाली चिया विश्व बजारमा निर्यात गर्न सके अर्थतन्त्रलाई नै टेवा पुग्ने हो ।’ ‘अन्तर्राष्ट्रिय चिया महोत्सव’ हुँदै कोशी प्रदेश सरकारले पनि आगामी वैशाख ७, ८ र ९ गते ‘अन्तर्राष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागेको निर्देशक अधिकारीले बताए । ‘यसमा धेरै पोटेन्सियल बायरहरू (चिया क्रेता) लाई नेपालको चिया क्षेत्रको भ्रमण गराउने, अन्तरक्र्रिया, छलफल गराउने र यहाँको चियाको प्रचार/प्रसार गर्ने कार्यक्रम छ,’ उनले भने, ‘आशा गरौं, भारतबाहेक अन्य देशमा पनि नेपाली चियाले आफ्नो पहुँच बढाउने छ ।’ निर्देशक अधिकारीका अनुसार अन्य देशमा चिया निर्यात गर्न व्यवसायीहरू आफैं सक्रिय भइरहेका छन् । संघ, स्थानीय र प्रदेश सरकारले पनि पहल गरिरहेका छन् । ‘यो भनेको डिमान्ड एन्ड सप्लाइ (माग र आपूर्ति) ले निर्धारण गर्ने कुरा हो,’ उनी भन्छन्, ‘अरू भनेको नेपाली चियाको गुणस्तर, मूल्य, ढुवानी, बैंकिङ सिस्टम र मोड अफ पेमेन्टका कुरामा व्यावहारिक (प्राक्टिकल) सहमति भयो भने आशा गर्ने आधार हुन सक्छ ।’ आठ महिनामा ९८ सय टन चिया निर्यात भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नेपालबाट सीटीसी र अर्थाेडक्स गरी कुल ९ हजार ८ सय २३ टन चिया निर्यात भएको छ । तथ्यांकअनुसार पछिल्लो आठ महिनामा नेपालबाट चीनले ५ टन (५ हजार किलो) अर्थाेडक्स चिया खरिद गरेको छ । यसको कुल मूल्य १० करोड ५३ लाख रुपैयाँ बराबर रहेको छ । यो परिमाण भनेको गत आवको सोही अवधिको तुलनामा ८८.३१ प्रतिशत बढी हो । भारतले नेपालमा उत्पादित चियामा खोट देखाइरहेका बेला उत्तरी छिमेकी चीन नेपाली चियाको ‘प्रिमियम’ गन्तव्य बन्न सक्ने देखिन्छ । भारतले एकाधिकार लिन झिकेको गुणस्तरको बखेडा भारतले ‘नेपाली चिया गुणस्तरीय छैन’ भनेर धेरै वर्षदेखि भन्दै आएको छ । यसको पछाडिको एउटै कारण नेपालमा उत्पादन भएको चियामा भारतले एकाधिकार बजार लिन खोजेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनाल बताउँछन् । ‘भारतका व्यापारीले नेपालको चिया क्वालिटीको छैन भनेर झुठ फैलाएका छन्,’ उनी भन्छन्, ‘यहाँको सबै चिया सस्तो मूल्यमा किन्नका लागि यो उनीहरूको षडयन्त्रपूर्ण रणनीति हो ।’ भारत सरकारका तर्फबाट भने नेपालको चिया गुणस्तरीय छैन भन्ने कुनै प्रतिक्रिया नआएको उनी बताउँछन् । यो सबै त्यहाँका व्यापारीले भ्रम छर्ने काम गरेको उनको दाबी छ । निर्देशक खनालका अनुसार भारतका चिया दलालहरूले नेपालको चिया ‘सबस्ट्यान्डर्ड छ, क्वालिटीको छैन’ भन्नुका पछाडि हाम्रो चियालाई चार्ज गरिदिने, चार्ज गरिसकेपछि सस्तोमा सबै चिया भारत लैजाने र त्यो चियालाई रिप्याकेजिङ गरेर भारतीय चियाको ट्याग लगाएर अन्य मुलुकमा महँगो मूल्यमा बेच्छन् । नेपालमा सरकारले तयारी चियाको मूल्य निर्धारण गर्दैन । त्यो बजारले निर्धारण गर्ने हुन्छ । तर, सामान्यतया सीटीसी चिया औसत १ सयदेखि २ सय रुपैयाँ किलो बिक्री हुन्छ । भारतले त्यो मूल्य पनि दिँदैन । अर्थोडक्स चिया किलोको ४ सयदेखि ५ सय रुपैयाँसम्म बिक्री हुन्छ । खनालका अनुसार चिनियाँ बजारमा सीटीसी चिया जाँदैन किनभने उनीहरूले धुलो चिया खाँदैनन् । धेरै जाने अर्थोडक्स चिया हो । भारतले ५ सय रुपैयाँमा किनेको चिया चिनियाँ बजारमा नेपालले किलोको ३ हजारदेखि ३५ सय रुपैयाँसम्ममा बेच्न सक्छ । ‘भारतीय व्यापारीले चिनियाँ बजारले नेपाली चियालाई राम्रो मूल्य दिन्छ भन्ने बुझेका छन्,’ बोर्ड निर्देशक खनाल भन्छन्, ‘त्यसैले उनीहरूले नेपाली चिया गुणस्तरहीन छ भनेर दोषारोपण गरिरहेका छन् ।’ व्यक्तिगत सम्बन्धले चीनमा चिया निर्यात अहिलेसम्म सरकारी तहबाबाट कुनै सन्धि, सम्झौता र समझदारी भएर चीनमा चिया निर्यात भएको छैन । विगतदेखि नै नेपालका चिया उत्पादक व्यापारीहरूले चिनियाँ चिया व्यापारीसँगको व्यक्तिगत सम्बन्धका कारण चीनमा चिया बेचिरहेका छन । ‘सरकारले आयात निर्यातको बजार सञ्जाल तयार गरेर चिया पठाउन सकेको छैन,’ निर्देशक खनाल भन्छन्, ‘र, त्यसको काम अहिले बोर्डले गरिरहेको छ, अब छिट्टै चिनियाँ बजारमा सरकारकै तहबाट छलफल गरेर पठाउनुपर्छ भनेर काम भइरहेको छ ।’ चिनियाँ टोली इलाम भ्रमणमा आएर १ लाख किलो चिया अर्डर दिइसकेको भन्ने जुन समाचार मिडियामा आएका छन् त्यो कुरा बोर्डलाई औपचारिक जानकारी नभएको खनाल बताउँछन् । ‘पाँच जनाको चिनियाँ टोली इलाम आएर त्यहाँका मेयर र वाणिज्य संघका अध्यक्षसँग भेटघाट र छलफल गरेका हुन्,’ उनी भन्छन्, ‘त्यहाँका चिया व्यवसायी चीरञ्जीवी दाहालले सहजीकरण गरेर आएका उनीहरू अहिले पनि इलाम घुम्दै छन्, तर उनीहरूले यति नै परिमाणमा चिया लैजाने भनेर कुनै समझदारी गरेका छैनन् ।’ भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न उठाइरहेका बेला नेपाली चिया चिनियाँ बजारमा बेच्न सके नेपाललाई धेरै फाइदा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपालको चियाले भारतको विकल्प खोजिरहेको छ । नेपालका लागि चीन एकदमै उत्तम विकल्प हो । यसका लागि परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र बोर्डले समन्वय गरिरहेका छन् । नेपाली चिया निर्यातका समस्या नेपालले चियाको राम्रो ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’ गर्न नसकेको निर्देशक खनाल बताउँछन् । ‘भारतले हाम्रो डिएसटीक्यूसीले दिने ल्याब रिपोर्टलाई भ्यालिड मान्दैन, उनीहरूले कोलकातामा रहेको सेन्ट्रल फुड ल्याबबाट परीक्षण गराएर ल्याउन भन्छन्,’ उनी भन्छन्, ‘त्यस कारण नेपाली ल्याब बलियो बनाउनुपर्ने देखिन्छ ।’ खनालका अनुसार भारतबाहेक तेस्रो मुलुकमा चिया निर्यात गर्दा लाग्ने सिपिङ कस्ट महँगो हुन्छ । ढुवानी महँगो हुँदा लागत उठ्दैन र चिया डम्पिङ हुन्छ । नेपालमा डेढ लाख किलो चिया डम्पिङ हुने व्यवसायीहरू बताउँछन् । नेपालले चिया व्यापारका लागि ‘अल्टर्नेटिभ मार्केट’ खोज्न जति पनि कूटनैतिक निकाय छन्, उनीहरूले पनि त्यसमा चासो नदेखाउनु हो । त्यो आर्थिक कूटनीति बलियो हुन सकेको छैन । सरकार के गरिरहेको छ ? बोर्डले वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयमार्फत विभिन्न देशमा सरकारी तवरबाट चिया निर्यात गर्नुपर्छ भनेर ‘जिटुजी एग्रिमेन्ट’ गर्नका लागि पहल गर्ने खनाल बताउँछन् । ‘यो हामीले विगतदेखि नै गर्दै आएका छौं, तर देखिने गरी उपलब्धी हासिल गर्न सकेका छैनौं । यसमा पनि अहिले सबैभन्दा ठूलो पहल चीनसँग गरिरहेका छौं,’ निर्देशक खनाल भन्छन् । यसमा नेपालमा भएको चिया तिब्बत पुर्याउने, क्वारेन्टिन व्यवस्थापन गर्ने कुरा एजेन्डाका रूपमा उठान गरिदिन पनि तिब्बत सरकारलाई पत्राचार गरिएको बोर्डले जनाएको छ । चियामा आत्मनिर्भर नेपाल चियामा आत्मनिर्भर बनेको बोर्ड निर्देशक खनाल बताउँछन् । खनालका अनुसार नेपालले अहिले वार्षिक १२ देखि १३ हजार टन चिया निर्यात गरिरहेको छ । नेपालको उत्पादन क्षमता २६ हजार ३ सय टन हो । ‘हामीले उत्पादन गरेको ४५ प्रतिशत बढी चिया निर्यात गरिरहेका छौं, बाहिरबाट हामी २ देखि ३ टन मात्रै आयात गर्छौं,’ उनी भन्छन्, ‘यसलाई हामी आत्मनिर्भर भएकै भन्छौं, वार्षिक ४ अर्ब रुपैयाँ बराबरको चिया बेच्छौं ।’ नेपाली चिया गुणस्तरमा एकदमै राम्रो भएको खनाल बताउँछन् । समग्रमा सरकारले व्यवसायीलाई सहयोग गर्न नसकेको उनी स्वीकार्छन् चियालाई सरकारले ८ प्रतिशत निर्यात अनुदान दिइरहेको छ । आन्तरिक रूपमा भइरहेका व्यवसायलाई जुन रूपमा प्रवर्द्धन गर्नुपर्ने हो, त्यो सरकारको तर्फबाट आशाजनक नभइरहेको खनाल बताउँछन् ।

मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

मन्थली । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आईतबार बिहानबाट मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए । रासस