दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा अस्पतालमा पुगे १ लाख बिरामी
काठमाडौं । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् । कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आईतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । उनले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताए । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताए । आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताए । उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए । ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए । अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको जानकारी दिए । ‘यस अर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छाैँ । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ । आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको शुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरुको आँखा जाँच गरी निःशुल्क परीक्षण गर्ने काम गरेका छौँ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ’, उनले भने । उनले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताए । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको जानकारी दिए ।
लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग ८० लाख रुपैयाँ घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ । आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस
अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छ : श्रममन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आईतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको बताए । उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या,प्रणाली,विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउनसक्ने जानकारी दिए । श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे । सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको बताए । अर्यालले अहिले दुई सिप्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने जानकारी दिए । ‘वैदेशिक रोजगारीको लागि विदेशमा जान श्रमिकले लिने व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत वैदेशिक रोजगार कार्यालयबाट एक घण्टामा स्वीकृत दिन्छौँ । तर हामीले सेवाग्राहीले सबै डकुमेन्ट मिलाएर अपलोड गर्नुभयो भने मन्त्रालयको अध्ययनले सबै कागज तथा प्रमाणपत्रहरु आएको अवस्थामा २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको छ । दैनिक रुपमा दुई सिप्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको छ । त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्छौं’, उनले भने । मन्त्री अर्याललेपहिलो पटक यो प्रयास शुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे। उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आएपनि यसले निरन्तरता पाउने दाबी गरे । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि रोक्नको लागि यसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारमा रहेको बीमा,स्वास्थ्य,अभिमुखिकरण लगायत अन्य कुनैपनि विषयमा सिण्डिकेट लाग्न नदिने उल्लेख गरे ।
मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरिए
सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ । अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलिएको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताए । स्वास्थ्य शिविरमा एक सय ४९ जना बिरामीको उपचार गरेको उनले जानकारी दिए । लमहीमा फ्लुका बिरामी नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिँदै गएको इन्चार्ज भण्डारीले बताए । बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको उनको भनाइ छ । अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढदो छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्यचौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताए । एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीले बताए। जैसीले भने, ‘अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ । रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पुर्याएको छ ।’ श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् । रासस
कस्ता छन् भारतीय धनाढ्यका उपभोग्य वस्तु रोजाइ ?
काठमाडौं । भारतको अर्थतन्त्र रकेट गतिमा बढिरहेको छ । र, योसँगै देशमा धनीहरूको संख्या पनि बढिरहेको छ । बढ्दो धन सम्पत्तिसँगै विलासिताका वस्तुतर्फ पनि मानिसको झुकाव बढ्दै गएको छ । गत वर्ष लक्जरी कम्पनीहरूले भारतमा रेकर्ड बिक्री गरेका थिए । सन् २०२३ मा लक्जरी कारको बिक्री २० प्रतिशतले बढेर ४२ हजार ७ सय ३१ युनिट पुगेको छ । गत वर्ष भारतमा १ सय ३ ल्याम्बोर्गिनी गाडी बिक्री भएका थिए । भारतमा ती गाडीको मूल्य ३ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ । त्यसैगरी पोर्शले पनि गत वर्ष कीर्तिमानी बिक्री गरेको थियो गत वर्ष ५० करोड वा सोभन्दा बढीका महँगो घर बिक्रीका लागि उत्कृष्ट थियो । त्यसैगरी भारतमा २४ करोड डलर बराबरको स्वीस घडी आयात भएको थियो । यी हुन् भारतीयलाई सबैभन्दा मनपर्ने लक्जरी ब्रान्डहरू हस्पिटालिटी हुरून इन्डिया लग्जरी कन्जुमर सर्भे २०२३ अनुसार ताज, ह्यात र मेरिअट ग्रुपका होटलहरू भारतीयहरूको मनपर्ने लक्जरी हस्पिटालिटी ब्रान्डहरू हुन् । ताज ग्रुप अफ होटल्स देशको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको हो । यसका देशभरि धेरै होटलहरू छन् । ह्यात होटल्स कर्पोरेसन एक अमेरिकी कम्पनी हो जसको विश्वभरि धेरै होटल र रिसोर्टहरू छन् । मेरिअट पनि एक अमेरिकी कम्पनी हो जसको विश्वभरि करिब ६ सय होटलहरू छन् । निजी जेट बढ्दो सम्पत्तिसँगै भारतमा निजी जेटको चलन पनि बढेको छ । देशका धेरै धनी व्यक्तिहरूसँग आफ्नै निजी जेटहरू छन् । भारतीयहरू विशेषगरी गल्फस्ट्रिम, बम्बार्डियर र होन्डा जेटहरू मन पराउँछन् । स्टिलका राजा लक्ष्मी निवास मित्तल, कुमार मंगलम बिर्ला, अतुल पुन्ज र केपी सिंहको गल्फस्ट्रिम जेटको स्वामित्व छ। त्यस्तै अनिल अम्बानी र गौतम सिंघानियासँग बम्बार्डियर कम्पनीको निजी जेट विमान छ । लक्जरी कार जहाँसम्म लक्जरी कारहरूको सवाल छ, गत वर्ष २ करोडभन्दा बढी मूल्यका कारको बिक्रीले रेकर्ड कायम गरेको थियो । भारतीयहरूको पहिलो रोजाइ अडी, ल्याम्बोर्गिनी र एस्टन मार्टिन हुन् । गत वर्ष ल्याम्बोर्गिनीले भारतमा १ सय गाडी बिक्री गरेको थियो । भारतमा ती कारको मूल्य ३ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ । त्यस्तै पोर्शले पनि गत वर्ष रेकर्ड बिक्री गरेको थियो । त्यस्तै, भारतमा अस्टिन मार्टिन गाडीको मूल्य पनि २ करोड ८५ लाख रुपैयाँबाट सुरु हुन्छ । लक्जरी स्पोर्ट्स कार लक्जरी स्पोर्ट्स कारमा भारतीयहरूको पहिलो रोजाइ ल्याम्बोर्गिनी एभेन्टडोर हो । भारतमा यसको पेट्रोल संस्करणको मूल्य ५ करोड १ लाखदेखि ५ करोड ६२ लाख रुपैयाँसम्म रहेको छ । लक्जरी स्पोर्ट्स कार र एसयूभी बनाउने इटालीको प्रसिद्ध अटोमोबाइल निर्माताले सन् २०२२ मा आफ्नो एभेन्टाडोर अल्टिमे रोडस्टर लन्च गर्ने घोषणा गरेको थियो । यसले मात्र २।८ सेकेन्डमा १ सय किमी प्रतिघण्टाको गति लिन सक्छ। लम्बोर्गिनीले २०११ मा जेनेभा मोटर शोमा एभेन्टडोर लन्च गरेको थियो । त्यसबेलादेखि यो आफ्नो अद्वितीय स्टाइलको लागि विश्वव्यापी रूपमा परिचित भएको छ । लक्जरी एसयूभी लक्जरी एसयूभीहरूमध्ये रोल्स रोयस कलिनन भारतीयहरूको पहिलो रोजाइ हो । यो ५ सिटर एसयूभी हो, जसको मूल्य ६ करोड ९५ लाख रुपैयाँबाट सुरु हुन्छ । यो ६७४९ सीसी इन्जिन र गियरबक्स विकल्पको साथ एउटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले आफ्नो कलिनन ब्ल्याक ब्याज कार २०२० मा भारतमा लन्च गरेको थियो। भारतमा यसको मूल्य ८ करोड २० लाख रुपैयाँ छ । लक्जरी घडी जहाँसम्म लक्जरी घडीहरूको सवाल छ, रोलेक्स, ओमेगा र पाटेक फिलिप भारतीयहरूको पहिलो रोजाइ हुन् । हालै जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा अभिनेता सलमान खानले पाटेक फिलिप एक्वानॉट रेन्बो लुस मिनेट रिपीटर घडी लगाएका थिए । भारतीय रुपैयाँमा हेर्ने हो भने यसको मूल्य २२ करोडभन्दा बढी छ । लक्जरी गहना गहनामा धनी भारतीयहरूको पहिलो रोजाइ लुइस भिटन, टिफनी र कार्टियर हुन् । लुइस भिटन विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको स्वामित्वमा रहेको फ्रान्सेली ब्रान्ड हो । टिफनी एक प्रसिद्ध अमेरिकी लक्जरी गहना ब्रान्ड हो । कार्टियर एक फ्रान्सेली ब्रान्ड हो । हालै यसको गहनाले भारतमा पनि धेरै नाम कमाएको छ । फेसन लक्जरी फेसन ब्रान्डहरूमा भारतीयहरूको पहिलो रोजाइ गुच्ची, बर्बेरी र जर्जियो अरमानी हुन् । गुच्ची एक इटालियन लक्जरी फेसन ब्रान्ड हो । यो कम्पनीले विगत धेरै वर्षदेखि भारतमा व्यापार गर्दै आएको छ । बर्बेरीले हालैका वर्षहरूमा भारतमा आफ्नो व्यापार द्रुत रूपमा विस्तार गरेको छ । त्यस्तै, इटालियन फेसन डिजाइनर जर्जियो अरमानीले पनि भारतका धेरै साना ठूला सहरमा स्टोर खोलेका छन् । एजेन्सी
मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपाल भित्र्याँउदै
काठमाडौं । मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपाल भित्र्याँउने भएको छ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एम. एम. ग्राउण्ड क्लिएरेन्स , सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् । यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा नपाइने कम्पनीको दाबी छ। त्यस्तै विशेषत : ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । चीनको सरकारद्वारा सञ्चालित सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरु मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटरस चीनको अटोमोबाइल बजारमा अग्रणी नाम रहेको कम्पनीले जनाएको छ।
धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा उद्घाटन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आईतबार उद्घाटन भएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान बहादुर गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा गरेका हुन् । यो नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको बैंकले जनाएको छ । यस्तै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिंग ग्राहकहरु को लागी पनि व्यवस्था गरिएको छ । यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।
२२.७५ अकंले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आईतबार हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अकं अर्थात् १.१३ प्रतिशतले बढेर दुई हजार २६ अकंमा पुगेको छ । आईतबार विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३.५६ रुपैयाँमा कारोबार भएका छन् । आईतबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ रुपैयाँ पुगेको छ । होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ । आजको कारोबारमा विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.७६ प्रतिशतले घटेको छ ।