विकासन्युज

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए । प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सामाजिक विकास कार्यालयमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ । आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध नौ लाख ९३ हजार नौ सय ४० रुपैयाँ बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस

नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रभु केबलकारले आईपीओ जारी गर्ने, अघि बढाउँदै थप तीन परियोजना

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न कम्पनीले शिलबन्दी बोलपत्र माग गरेको छ । बैशाख ४ गते एक सूचना जारी गर्दै कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । उक्त मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ । कम्पनी ऐन २०६३ द्धारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाएको छ । कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । जसमध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ भने बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको कम्पनीले जानकारी गराएको छ । प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । जसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । आईपीओ जारी पश्चात कम्पनीको कम्तिमा ७० प्रतिशत सेयर प्रभु सेयर र कम्पनीको हुने छ । साथै, यस कम्पनीले आफ्ना सेयरधनीहरुलाई संस्थागत सुशासन सुनिश्चित गर्न र आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिन निरन्तर काम गरिरहेको छ । काठमाडौंको तिनकुनेमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीमा प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिमात्र सञ्चालक छन् । अध्यक्षमा भोज कुमार खड्का, सञ्चालकमा इञ्जिनियर धुव्रकुमार पोखरेल, लक्ष्मी पौडेल, रमेशप्रसाद सापकोटा, आरती थापा र कम्पनी सचिवमा सुजेन्द्र कुमार ठकुरी रहेका छन् । इञ्जिनियर पोखरेल स्वतन्त्र सञ्चालक हुन् भने अन्य सञ्चालकहरु प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिहरु हुन् ।

विदेशमा अप्ठ्यारोमा परेकाको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र

म्याग्दी ।  रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर विक भिसा अवधि सकिएपछि दुई वर्षअघि सामान आपूर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थालेका थिए । होटलमा राम्रै कमाई गरिरहेका विकले भिसाको म्याद सकिएपछि थप प्रक्रिया पूरा नगर्दा नयाँ कम्पनीले सेवा सुविधा नदिएपछि बिलखबन्दमा परे । सामाजिक सञ्जालमार्फत बेनीको आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गरी करिब चार महिनाको प्रयासपछि विक घर फर्कन सफल भए । ‘आप्रवासी स्रोत केन्द्रले प्रवासी नेपाली समन्वय समितिसँग दुबईको दूतावासमार्फत मलाई उद्धार गरेर घर फर्कने वातावरण बनाइदियो’, गत हप्ता घर फर्केका उनले भने ‘अप्ठ्यारो र असहज अवस्थाबाट मुक्ति मिलेको महसुस गरेको छु ।’ बेनीमा सञ्चालन भएको आप्रवासी सहायता कक्ष वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेका इन्द्रबहादुर जस्तै म्याग्देलीका लागि प्रभावकारी बन्दै गएको छ । ठगिएका, विदेशमा अप्ठ्यारोमा पर्नेलगायत वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेकाका लागि सहायता कक्ष साहारा बनिरहेको हो । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम तथा रोजगार मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी गत साउनदेखि जिल्ला समन्वय समितिको संयोजनमा प्रशासन कार्यालयभित्र सहायता कक्ष स्थापना भएको थियो । राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कंदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनाका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गरिएको कक्षका सूचना तथा परामर्शकर्ता प्रमिला पौडेलेले बताइन् । ‘सहायता कक्ष स्थापना भएदेखि चार हजार जनालाई परामर्श, ३९ वटा समस्याको सुनुवाइ, रु ४९ लाख ९१ हजार सहायता प्रदान र ठगिएको रकम असुल उपर गरिएको छ,’ उनले भनिन्, ‘समस्यामा परेकालाई सामाजिक सञ्जाल, इमेल र फोनमार्फत सम्पर्क गर्ने व्यवस्था मिलाएका छौँ ।’ विदेशमा अप्ठ्यारोमा परेका चारजनाले सम्पर्क गरेकामा सबैको उद्धार भएको सूचना तथा परामर्शकर्ता पौडेलले जानकारी दिइन् । उनका अनुसार वैदेशिक रोजगारसम्बन्धी ठगीका १९ वटा उजुरी परेकामा दुईवटाको समाधान भएको छ । विदेशमा मृत्युवरण गरेका दुईजनाका आश्रित परिवारलाई रु २१/२१ लाख आर्थिक सहायता प्रदान गरिएको छ । विदेशमा दिवङ्गत भएका दुईजनाको शव ल्याइएको र दुईजनालाई बीमा सुविधाका लागि सहजीकरण गरिएको छ । तीनजनाको मृत्यु सान्त्वना राहतका लागि निवेदन प्राप्त भएकामा सबै प्रक्रियामा रहेका परामर्शकर्ता पौडेलले बताइन् । वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएकाका छोराछोरीलाई उपलब्ध गराइने छात्रवृत्ति सुविधाका बारेमा समुदायस्तरमा जानकारी नपाएकाले कमै मात्र निवेदन आएको सूचना तथा परामर्शकर्ता पौडेलले बताइन् । उनका अनुसार ४१ जनालाई छात्रवृत्तिका लागि स्थानीय तहसँग समन्वय गरिएको छ भने विदेश जान चाहने ३७ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि आप्रवासीहरुले व्यहोर्नुपर्ने सास्ती, झन्झट र समस्या न्यूनीकरण गर्न आप्रवासी स्रोत केन्द्रबाट सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए । ‘वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता लिने विधिसम्बन्धी परामर्श दिनका लागि सहायता कक्षमा दुईजना कर्मचारी परिचालन गरिएको छ,’ उनले भने, ‘लक्षित वर्गले सही सूचना पाउन थालेका छन्  भने श्रमिक तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवं सीप र उद्यमशीलतामा पहुँच बढ्न थालेको छ ।’ रासस

‘भेप’ को लतमा विद्यार्थी, आयातमा प्रतिबन्ध लगाउन सुझाव

  काठमाडौं । पेसाले उनी एक चिकित्सा प्रतिनिधि । विभिन्न अस्पतालहरूमा पुगेर मार्केटिङ गरी औषधी बिक्री गर्ने उनको काम हो । उनी काठमाडौंको एक फर्मामा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को रूपमा काम गर्छन् । विडम्बना, स्वास्थ्यजस्तो संवेदनशील विषयको जानकार हुँदाहुँदै पनि चुरोटको लतमा फसे उनी । चुरोटको लत छुटाउन उनले हरसम्भव कोसिस गरे । तर, सफलता हात लागेन । चुरोटकै लत छुटाउन उनी दोस्रो लतमा फस्दै गए । कहिले खैनी, कहिले पराग, सुपारी खाए । यतिमात्र होइन हुँदाहुँदा उनी ‘भेप/ई-सिगरेट’ को लतमा फस्न पुगे । भाउ पनि चुरोट जस्तो महँगो नहुने र तान्दा गन्ध पनि नआउने भएपछि उनलाई भेप प्रयोग सहज लाग्यो । २ हजार रुपैयाँमा किनेको भेप सजिलै बोक्न मिल्ने भएपछि उनले करिब दुई महिना प्रयोग गरे । ‘यो सेवन गर्न हुँदैन, यसको सेवनले स्वास्थ्यमा नोक्सान हुन्छ भन्ने पनि थाहा नभएको होइन उनलाई, तर यो लत छाड्न निकै गाह्रो परेको छ,’ उनका एक नजिकका साथीले विकासन्युसँग भने । ती स्वास्थ्यकर्मी जस्तै अहिले नेपालमा ‘भेप/ई–सिगरेट’ प्रयोग गर्नेको संख्या डरलाग्दो छ । यसको प्रयोग गर्नेमा सबैभन्दा धेरै स्कुले विद्यार्थी रहेको पाइएको छ । साथीको संगत र बढ्दो बजारीकरणको विज्ञापनले नेपाली विद्यार्थी यसमा संगलग्न भइरहेको चिकित्सकहरूले बताएका छन् । नेपालमा अहिले कति युवाले भेपको प्रयोग गरिरहेका छन् भन्ने एकिन तथ्यांक नभए पनि एउटा अध्ययनले १८ देखि २४ वर्षका विद्यार्थीले भेपको प्रयोग गरिरहेको देखाएको छ । नेपालमा केही महिना अगाडि स्नातक तहका विद्यार्थीहरूमा गरिएको अध्ययन अनुसार ६ प्रतिशतले भेप प्रयोग गरिरहेको पाइएको छ । १८ देखि २४ वर्ष उमेर मुनिका ४ सय विद्यार्थीमा गरिएको अध्ययनमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष थिए । २१ प्रतिशतले भेप एकपटक वा त्योभन्दा बढी सेवन गरेको पाइएको छ । यस्तै पहिलो पटक सेवन गर्न सुरु गरेका २८ प्रतिशतले निरन्तर सेवन गरेको र ८० प्रतिशतले साथीको लहलहैमा लागेर सेवन गरेको चिकित्सकले बताएका छन् । यसमा ४१ प्रतिशतले यो सजिलो छ भन्दै खाएको र २५ प्रतिशतले अनलाइनमार्फत किन्ने गरेको पाइएको छ । यो सानो अध्ययनले नेपालमा भयावह अवस्था देखिएको भन्दै ह्याम्स अस्पतालका पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डले चिन्ता व्यक्त गरिन् । भेपको लतमा कसरी फसे विद्यार्थी ? नेपालमा विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी चुरोट खान्छन् । घरमा अभिभावक, विद्यालयमा शिक्षलाई छलेर लुकिछिपी चुरोटमात्र होइन अन्य सुर्तीजन्य पदार्थ पनि खाने गरेको पाइन्छ । पछिल्लो समय चुरोटको सट्टा विद्यार्थीको रोजाइमा भेप परेको छ । नेपालमा भेपको प्रयोग गर्न थालिएको धेरै भएको छैन । तर, अहिले विद्यार्थीहरू यसको नराम्रो लतमा पर्न थालेका छन् । उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का उपाध्यक्ष टंकराज आचार्य नेपालका युवाले कलिलो अवस्थामा साथीभाइको संगतमा विद्यालयबाटै भेप सेवन गर्ने गरेको बताउँछन् । ‘अरुको देखासिखीले विद्यार्थी यसको लतमा फस्दैछन्,’ आचार्य भन्छन्, ‘नेपालका युवाहरूको आकर्षण अहिले कोरियन चलचित्रमा बढी छ, त्यसमा बढी यस्तै कुराको प्रयोग गरेको दोखाइन्छ, यसबाट हाम्रा विद्यार्थीले सिको गर्न थाले यो नराम्रो पक्ष हो ।’ टंकराज आचार्य आचार्य अहिले नेपालमा भेप सप्लायर्सको ठूलो नेटवर्क सक्रिय रहेको बताउँछन् । ‘पहिले लागूऔषधको व्यपार गर्ने तस्करहरू गेट बाहिर भेटिन्थे,’ उनी थप्छन्, ‘बाहिर चिया पसल, खाजा पसलमा देखिने उनीहरू अहिले बाहिर देखिन छोडे, अहिले उनीहरू एउटा नेटर्वक बनाएर लागिरहेका छन् ।’ विद्यार्थी अहिले भेप प्रयोग गर्नेमात्र नभइ त्यसको सप्लायर्समा पनि लागेको उनी बताउँछन् । ‘विद्यार्थी आफूले डिभाइस, कलम बोकिरहेको जस्तै महसुस गरेर भेप बोकिरहेका छन्,’ उनी भन्छन्, ‘विद्यार्थीले यसलाई शिक्षकको सोचभन्दा पर रमाइलो मनारहेका छन्, तर म उनीहरू यसमा निर्दोष देख्छु, यसमा विद्यार्थीलाई दोष देखाएर शिक्षक उम्कन मिल्दैन ।’ बढदै आयात नेपालमा प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दै गएको पाइन्छ । भन्सार विभागले गएको महिना सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दा करोडौं रकम विदेशिने गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म करिब ९ करोड १४ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युतीय सिगरेट आयात भएको देखिन्छ । गत साउनमा करिब २७ लाख ९७ हजार रुपैयाँको मात्रै आयात भएको भेप भदौमा दोब्बर बढेर ६५ लाख २६ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै असोजमा ८६ लाख ७८ हजार, कात्तिकमा १ करोड ७ लाख ४२ हजार, मंसिरमा १ करोड ८ लाख ७ हजार र पुसमा १ करोड १३ लाख ८६ हजार रुपैयाँको भेप आयात भएको छ । माघ महिनामा १ करोड ८८ लाख ९१ लाख रुपैयाँको आयात भएको भेपको संख्या फागुनमा बढेर २ करोड १६ लाख ५२ हजार रुपैयाँको आयात भएको छ । कस्तो पार्छ स्वास्थ्यमा असर ? ‘भेप/ई–सिगरेट’ सवस्थयका लागि निकै हानिकारक भएको चिकित्सिक बताउँछन् । ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी यसको प्रयोगले फाेक्सोलाई ठूलो हानी गर्ने बताउँछन् । निकोटिन आफैमा राम्रो हैन, यसले अल्पकालिनदेखि दिर्घकालिनसम्म असर गर्छ । उनका अनुसार भेप प्रयोग गर्ने व्यक्तिमा छटपटाहट हुने, निन्द्रा नलाग्ने र मुटुको चाल बढ्ने समस्या धेरै हुन्छ । सुगरको मात्रा बढ्ने हुन्छ भने पाचन नलीमा पनि असर पर्छ । मुखबाट अमिलो पानी आउने, छाती पोल्ने पखाला लाग्ने समस्या पनि देखा पर्ने उनी बताउँछन् । धुम्रपानको लत छुटाए पनि निकोटिनको लतबाट छुट्करा पाउन अत्यन्तै गाह्रो हुने चिकित्सकको भनाइ छ । डा. राजु पंगेनी यसले मष्तिष्कको भित्री भागमा रहेका तन्तुमा असर पर्छ । डा. पंगेनी भन्छन्, ‘२०-२२ वर्ष उमेरका युवाहरूले यसको प्रयोग गर्दा विकसित हुँदै गरेको मष्तिष्कले निकोटिनको लत भेटायो भने मष्तिष्कको अग्रभागमा गम्भीर असर पर्छ । भारत लगायत विश्का ३५ राष्ट्रमा भेप आयतमा पूर्णप्रतिबन्धत लगाइएको छ । डा. रक्षा पाण्डे भेपमा निकोटिनको प्रयोग हुने भएकाले यसको लत लागिसकेपछि छोड्न मुस्किल पर्ने बताउँछिन् । यसको प्रयोगले मुटु, फोक्सोदेखि लिएर क्यान्सरसमेत हुने जोखिम रहेको उनको भनाइ छ । यसमा १६ हजार बढी स्वादहरू हुने भएकाले यसको बानी परिसकेपछि छोड्न मुस्किल हुने भन्दै उनी सरकारले यसमा कडाइ गर्नुपर्ने उनी बताउँछिन् । डा. रक्षा पाण्डे नीति/नियम नै कमजोर नेपालमा भेपको आयात निकै सजिलो छ । अर्को कुरा यसलाई सुर्तीजन्य पदार्थ मान्ने कि नमान्ने भन्ने कुरो अझै स्पष्ट छैन । अहिले हातमा इन्टरनेट हुनासाथ सजिलै भेप पाउन सकिन्छ । प्रयोगकर्ताहरूले अनलाइनबाट सजिलै प्राप्त गर्न सक्छन् । नेपालमा पनि छ्यापछ्याप्ती अनलाइन भेपिङहरू छन् । अनलाइन भेपिङ भनेर सर्च गर्दा ललितपुर, काठमाडौंका विभिन्न ठाउँमा पाउन सकिन्छ । यसरी सहजै पाउने भएकाले ८ देखि ९ वर्षका बालबालिका पनि यसको जोखिममा पर्ने डर रहेको डा. रक्षा बताउँछिन् । अहिले चुरोट प्रयोगकर्ताले भेप प्रयोग गरिरहेको भन्दै डा. रक्षाले यसका लागि गतिलो नियम आवश्क रहेको बताइन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की सुर्तिजन्य पदार्थले स्वास्थ्यमा नराम्रो असर पारिरहेको भन्दै आयातमा कडाइ गर्न आफुहरूले माग गरे पनि यसमा सुनावाई नभएको बताउँछन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्ने भए पनि नेपालमा ३३ प्रतिशतमात्र कर उठाइने गरेको भन्दै उनले यो विषयमा कुनै पनि दलको प्राथमिकतामा यो विषय नरहेको बताए । उनी यसका लागि कडा नियम बनाउन नसके पनि अहिले भएकै नीति–नियमलाई कडाइ गर्नुपर्ने बताउँछन् । सचेतना आवश्यक स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल यस विषयमा सचेतना जगाउनुपर्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयले पत्रपत्रिकामा मादकपदार्थको विज्ञापनलाइ बन्द गर्न ठूलै संघर्ष गर्नुपरेको बताउँदै पोख्रेल भन्छन्, ‘अब भेपलाई बन्द गर्न नियम नै बनाउनुपर्छ भनेर सोच्नुपर्ने बेला आएको छ, नभए यसको लागि पनि ठूलै संघर्ष गर्नुपर्छ ।’ उनी अहिलेदेखि नै कडा रूपमा नलाग्ने हो भने भोलिका दिनमा अझै भयावह स्थिति हुने बताउँछन् । जसरी हामी सर्ने नसर्ने रोगमा पनि अझै लड्दै आइरहेका छौँ भोलि यसले पनि त्यस्तै दुःख नल्याउला भन्न नसकिने भन्दै सोचमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ । आयात प्रतिबन्ध लगाउनुपर्नेमा दलका नेताको एकमत भेपले नेपाली विद्यार्थी लतमा फस्दै गएको विज्ञको भनाइपछि राजनीनितक दलका प्रतिनिधि यसमा प्रतिबन्ध लगाउनुपर्ने बताउँछन् । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल पश्चिमा देशको नक्कल गर्न रूचाउने मनोविज्ञानले नेपाली युवाले भेपको प्रयोग गरिरहेको बताए । चुरोटको लत छोड्ने, चुरोटले जस्तो भेपले हानी नगर्ने भन्दै युवाहरूले यसको प्रयोग गरिरहेको पाण्डे भन्छन् । ‘यसमा निकोटिन छ यसले स्वास्थ्यमा असर पार्छ भन्ने थाहा नभएकाले युवाहरू यसको प्रयोग गरिरहेका छन्,’ उनले भने । प्रदीप पाैडेल भेप नेपालको उत्पादन होइन । कसैको सिको गरेर प्रयोग गर्ने स्थिति नेपालमा भयावह हुन नदिन प्रतिबन्ध लगाउनुपर्ने पाण्डेको भनाइ छ । यसका लागि आवश्यक नीति/नियम बनाउनुपर्ने भन्दै उनले ३५ देशमा भेपको पूर्णप्रतिबन्ध भएकाले ३६औं देश नेपाललाई बनाइनुपर्ने बताए । नेपाल चुरोटको सेवनबाट प्रत्येक दिन १०२ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झा नेपाली विद्यार्थीले विदेशीको सिको गरेको बताउँदै यसको नियन्त्रणका लागि प्रतिबन्ध पनि एउटा राम्रो कार्य हुने बताउँछन् । साउथ एशियामा सबैभन्दा धेरै आयात हुने र ट्याक्स सबैभन्दा कम लिने देश नेपाल हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओ तथ्यांकअनुसार ७५ प्रतिशत ट्याक्स हुनुपर्नेमा नेपालले ३३ प्रतिशत ट्याक्स लगाएको छ । मनिष झा नेपाल डेभलपमेन्ट रिसर्च इस्टिच्युटको एउटा अध्यनले सुर्तीजन्य पदार्थ आयात गर्दा करिब साढे ३१ अर्ब राजस्व आएको देखाएको छ । तर, धुम्रपानसँग जोडिएर चुरोटले मात्र स्वास्थ्यमा करिब ४३ अर्ब बढीको क्षति पुगेको देखाएको छ । झण्डै देशको मृत्युदरको १९ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगले हुने गरेको पाइएको छ । एमाले सचेतक महेश बर्तौलाले समाजमा समस्या रहेको बताउँदै सुर्तीजन्य पदार्थलाई राजस्व आम्दानीको बाटो बनाउन नहुने बताए । वार्षिक ३७ लाख ५ सय २९ भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने गरेकाले डर लाग्दो रहेको बताउँदै उनी यो अवस्थाले दिगो विकास लक्षयमा असर पर्ने बताउँछन् । नेपालले सन २०३० सम्म नसर्ने प्रकृतिका रोगमा एक तिहाइ घटाउने प्रतिबद्धता जनाएको छ । तर, व्यवहारमा लागु नभएको भन्दै ६ वर्षमा त्यो दरमा घटाउन समस्या भएको बर्तौलाको भनाइ छ । महेश बर्ताैला मओवादी केन्द्रका नेता माधव सापकोटा ई-सिगरेट जस्तै हुक्का प्रयोग गर्नेको संख्या पनि उत्तिकै रहेको बताउँछन् । सामाजिक सञ्जालमा हुक्का खाँदै गरेको र हुक्काको धुँवा उडाइरहेको फोटोहरू सानका साथ राखिको देखिएको बताउँदै उनले यसमा पनि प्रतिबन्ध लगाउनुपर्ने बताए ।

सांसदले समयको ख्याल नगर्दा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले बैठक बस्ने नसकेको हो । सांसदहरु तोकिएको समय भन्दा १५ मिनेट पछिसम्म पनि पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जनामात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका थिए । मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए । समितिका सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो । समितिको आजको बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरु) का बारेमा छलफल हुने कार्यक्रम रहेको थियो ।

वर्षान्त २०८० : पर्यटनमा उपलब्धिको वर्ष, ५१ अर्ब आम्दानी

काठमाडौं । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो । कोरोना महामारीका कारण घरभित्र सीमित व्यक्तिहरु गत वर्ष आन्तरिक र बाह्य पर्यटनमा रमाए । नयाँ वर्ष २०८१ मा पर्यटकीय गन्तव्यमा देखिएको अत्यधिक चहलपहलले यसको पुष्टि पनि गर्यो । पर्यटकीय गतिविधि मात्रै होइन यस क्षेत्रमा  लगानी पनि बढेको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले समग्रमा वर्ष २०८० पर्यटनका लागि उत्साहजनक रहेको बताए । उनले भने, ‘समग्रमा पर्यटन उत्साहवद्र्धक रह्यो । अहिले होटल ‘बुकिङ’ पनि सन्तोषजनक छ । विदेशी पर्यटक आगमन कोभिड–१९ पूर्वको अवस्थामा पुगेको छ, यसले पर्यटनमा उत्साह थपिएको छ ।’ होटल पूर्वाधारमा ठूलो लगानी भएको तर क्षमताअनुरुप पर्यटक कम रहेकाले होटल पूर्वाधारको क्षमताअनुरुप पूर्णरुपमा उपयोग गर्न नसकिएको अध्यक्ष शाहको भनाइ छ । उनले सडक सञ्जाल, हवाई सम्पर्क सञ्जाल प्रभावकारी बनाउँदै पर्यटन नीतिलाई समयसापेक्ष बनाएर लैजानुपर्ने खाँचो औँल्याए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले समग्रमा वर्ष २०८० पर्यटनका लागि उत्साहवद्र्धक रहेको बताउँछन् । उनले भने, ‘नेपालको पर्यटन पुनरुत्थान भएको अवस्था हो, कोभिडको चपेटाबाट व्यवसायी भुक्त हुँदै गर्दा पर्यटन क्षेत्र थप चलायमान बन्छ भन्ने विश्वास छ ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनसँगै सडक सञ्जाललाई व्यवस्थित बनाउन सकेको खण्डमा आगामी दिनमा नेपालमा पर्यटक बढ्ने अध्यक्ष बास्तोलाको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापा पनि वर्ष २०८० पर्यटकका लागि सुखद भएको बताउँछन् । कोभिडपछि पर्यटन पुरानै लयमा फर्किएकाले आगामी दिन राम्रो हुने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले सक्रियता जनाउन नसके पनि प्रवर्द्धनका कामलाई निजी क्षेत्रका व्यवसायीले निरन्तरता दिएको भन्दै वर्ष २०८१ मा बोर्डको बजारीकरणलाई प्रभावकारी बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने कार्यमा सबै सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन र पर्यटकको बसाइ लम्ब्याउनका लागि केबुलकार माध्यम बन्यो  केबुलकारमा लगानी पनि बढेको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा केबलकार निर्माण सुरु भएको छ । पूर्वमा पाथीभरादेखि कर्णाली नदीमा केबुलकार निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसैगरी, जल पर्यटन प्रवर्द्धनका लागि विभिन्न नदी र तालमा मोटरबोटको प्रयोग बढेको छ । जलाशय र नदीहरु पर्यटनका लागि विभिन्न  स्थानमा पछिल्लो समय मोटरबोटको प्रयोग बढेको पाइन्छ । नारायणी नदीदेखि भरत ताल र विभिन्न जलाशयमा मोटरबोटले पर्यटक तानिरहेका छन् । त्यति मात्रै होइन, एड्भेन्चर पर्यटनका लागि पनि वर्ष २०८० सुखद रह्यो । पोखरामा एड्भेञ्चर पर्यटनका लागि पूर्वाधार निर्माण हुने क्रम जारी रह्यो । बञ्जी जम्पदेखि स्विङले पर्यटकको ध्यान खिचेको पाइयो । पर्यटकीय गतिविधि बढेसँगै परम्परागत सांस्कृतिक लोक नृत्यको संरक्षण, संवद्र्धन र प्रवर्द्धन पनि बढेको छ । त्यस्ता मौलिक नृत्यको संरक्षण मात्रै नभई यसैबाट आयआर्जन गर्न सकिने माध्यम पर्यटन बनेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, ¥या फ्टिगं क्याम्पिङमा रु २४ अर्ब ७८ करोड ६० लाख ६० हजार कर्जा प्रवाह भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा एक दशमलव छ प्रतिशतले बढी हो । साथै होटल क्षेत्रमा पनि लगानी सोही अवधिमा सात दशमलव चार प्रतिशतले बढेर कर्जा रु एक खर्ब ८७ अर्ब ८१ करोड ३० लाख २० हजार पुगेको छ । पर्यटकीय गन्तव्यको प्रचारप्रसार, स्थानीय तहबाटै पर्यटक प्रवर्द्धन र घुम्न जाने चलन बढ्दा आन्तरिक पर्यटकको पनि गत वर्ष पर्यटक क्षेत्रको विकासमा उल्लेख्य योगदान रह्यो । त्यसमाथि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्यो । महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागि गत कात्तिक १२ गते काठमाडौं आएका थिए । उनले महत्वपूर्ण पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय नगरी पोखरा तथा ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरे । संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जान्छन् ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी भएको व्यवसायीको विश्वास छ । विसं २०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक बढाएको छ । २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रूपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनयता ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । काठमाडौंमै पशुपतिनाथ मन्दिरमा आउने भारतीयको सङ्ख्या पनि पछिल्लो समय उल्लेख्य मात्रामा बढेको पाइन्छ । विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको छ । त्यसैले यस वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्न मद्दत पुगेको छ । गुटेरेसको भ्रमणले सहयोग  होटल सङ्घ नेपालका (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ’, उनले भने, ‘विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायत पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुन्छ जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।’ महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण भएको उनको विश्वास छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि नेपालको पर्यटनका लागि महासचिव गुटेरेसको भ्रमण ऐतिहासिक उपलब्धि भएको र यसले पर्यटन थप चलायमान भएको स्वीकार्छन् । उनले भने, ‘महासचिव गुटेरेसको महत्वपूर्ण गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उनको भ्रमणबाट ठूलो प्रचारप्रसार भएको छ ।’ गुटेरेसले खुम्बु क्षेत्रको भ्रमणका साथै ‘एभरेष्ट भ्यू’ होटलमा ‘लञ्च’ गर्नुले विश्वभरका ‘हाई इन्ड टुरिस्ट’लाई आकर्षण गर्ने पर्यटन बोर्डको विश्वास छ । महासचिव गुटेरेसको भ्रमणले पर्यटक बढाउन मद्दत पुग्नेमा नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले विश्वास व्यक्त गरे । साहसिक पर्यटनको आकर्षक गन्तव्य रहेको नेपालको पर्वतीय पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमणले विशेष अर्थ राख्ने उनले बताए । कोभिड–१९ (कोरोना भाइरस) महामारीले झन्डै तीन वर्ष खुम्चिएको विदेशी पर्यटक आगमन पूर्ववत् लयमा फर्किएको छ । समग्रमा वर्ष २०८० लाई पर्यटनका लागि उपलब्धिको वर्षका रुपमा लिन सकिन्छ । विदेशी पर्यटक बढेका छन् । हवाई पूर्वाधार तथा होटल पूर्वाधार विकासले फड्को मारेको छ । पर्वतारोहण र पदयात्रामा उत्साह छ । आन्तरिक र साहसिक गन्तव्य पर्यटकले भरिभराउछन् । नागरिक उड्डयन सुधारका लागि सकारात्मक पहल देखिएको छ । बढे विदेशी पर्यटक  यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कूल ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो । त्यसैगरी, २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । बढ्यो पर्यटन आय यो वर्ष भ्रमण आयमा उल्लेख्य सुधार आई नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै पर्यटनबाट हुने आम्दानी पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार चालु वर्षको आठ महिनामा भ्रमण आय ५१ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव एक प्रतिशतले बढी हो । साथै विदेशमा घुम्न जाने नेपाली पनि बढेका छन् । केन्द्रीय बैङ्कका अनुसार सोही अवधिमा भ्रमण व्यय एक खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ दशमलव सात प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा भ्रमण व्यय ८४ अर्ब ३२ करोड रुपैयाँ थियो । पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले वर्ष २०८० को चैत मसान्तसम्मको आँकडाअनुसार हवाई मार्ग भएर १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिनुले पर्यटन पुरानै लय (सन् २०१९ को पर्यटन आगमन) मा फर्किएको बताए । विसं २०७९ मा साढे सात लाख पर्यटक आएकामा विसं २०८० मा १० लाख पर्यटक नाघेकाले तुलनात्मक रुपमा २५ प्रतिशतले पर्यटक बढोत्तरी भएको बोर्डले जनाएको छ । गत वर्ष हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या करिब ३५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, बङ्गलादेशबाट नेपाल आउने पर्यटकको वृद्धिदर करिब ४० प्रतिशत छ । अमेरिकाबाट आउने पर्यटक पनि बढेको छ । त्यसैगरी, चिनियाँ पर्यटक आगमन सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । पाँचतारे होटलको सङ्ख्या २२ पुग्यो  नेपालमा पाँचतारे होटल थपिएका छन् । अन्तर्राष्ट्रिय चेन होटल धमाधम निर्माण भइरहेका छन्भने केही सञ्चालनमा आइसकेका छन् । शेराटन, हिल्टनलगायत आधादर्जन होटल पाइपलाइनमा छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा बुटिक लग्जरी पाँचतारेसहित थप चारवटा पाँचतारे होटल थपिएका छन् । योसँगै नेपालमा एक पाँचतारे डिलक्स होटलसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । यसैगरी, चारतारे स्तरका ३४ होटल छन् ।  होटल सङ्घका अनुसार नेपालमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् । सङ्घका अध्यक्ष विनायक शाहले देशभर दैनिक १० हजारभन्दा बढी पाहुना धान्ने शय्या उपलब्ध छन् । सङ्घमा आबद्ध देशभर पाँच हजार हाराहारी सदस्य होटल छन् । अध्यक्ष शाहका अनुसार अबको दुई वर्षभित्रमा थप १८ देखि २० वटा स्तरीय तारे होटल सञ्चालनमा आउनेछन् । पर्यटकीय राजधानी पोखरा  पर्यटकीय नगरी पोखरालाई गत चैत ४ गते देशको पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानागरपालिका र पोखरासँग जोडिएका स्थानीय सरकार तथा सङ्घसंस्थाको पहलमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष समारोहबीच पोखरालाई पर्यटकीय राजधानी घोषण गरेका थिए । पर्यटनमा भएका काम  वर्षदिनमा पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास भएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को संरचनागत सुधारका लागि काम थालिएको छ । निगमलाई व्यवस्थापन करारमा लगेर सेवालाई चुस्त र प्रभावकारी बनाउने योजनाका साथ निगमले काम अगाडि बढाएको छ । आन्तरिक उडानमा तीन जहाज थप्ने र अन्तर्राष्ट्रिय उडानमा लिज प्रक्रियामा न्यारोबडी जहाज भित्र्याउने निगमले अन्तिम तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाई युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको छ । इयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको पर्यटन मन्त्रालयले जनाएको छ । क्षेत्रीय हब विमानस्थल स्तरोन्नति र आधुनिक टर्मिनल भवनको काम भइरहेको छ । श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको छ । लुम्बिनीको तिलौराकोटलाई विश्वसूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भएको पनि मन्त्रालयले जनाएको छ । सरकारले घोषणा गरेको पर्यटन दशक कार्यान्वयनका लागि कार्यक्रम तय गरिएको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेका अनुसार पर्यटन दशकका लागि चालु आवको नीति तथा कार्यक्रम र बजेटमा यसलाई थप परिस्कृत र समृद्ध बनाइने छ । यस्तै, पर्यटन ऐन, संस्कृति ऐनलगायत नीतिगत सुधारका काम प्राथमिकताका साथ लैजाने मन्त्रालयले जनाएको छ । नेपाल पर्यटन बोर्डलाई चाँडो नेतृत्व प्रदान गरी अन्तर्राष्ट्रिय बजारीकरणको कामलाई प्रभावकारी बनाउने जनाइएको छ । व्यवसायी भन्छन्, ‘पर्यटन उत्साहवद्र्धक’  वसन्त ऋतुको यो याममा पर्वतारोहण र  पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आएका छन् । पर्यटन विभागको पछिल्लो विवरणअनुसार वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ५५ आरोही समूहका एक सय १६ महिला र तीन सय ९६ पुरुष गरी कूल पाँच सय १२ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा हिमालमा मात्रै १८ आरोही समूहका ३९ महिलासहित दुईसय नौजनाले अनुमति पाएका छन् । हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ३४ करोड ४३ लाख ९९ हजार ६ सय ५६ रोयल्टी सङ्कलन भएको छ । वैशाख १ गतेदेखि देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुलाइएकाले पर्यटन क्षेत्र थप चलायमान बन्ने व्यवसायीको बुझाइ छ । नयाँ वर्ष २०८१ को पहिलो दिनबाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालनको घोषणा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलेसँगै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गरे । मुख्य पर्यटकीय गन्तव्य काठमाडौंको ठमेल, कास्कीको पोखरा, चितवनको सौराहा, कपिलवस्तुको लुम्बिनीमा पर्यटकको चाप छ । व्यापार–व्यवसाय पनि फस्टाएको छ । राजधानीको ठमेलमा पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह पैदा गरेको व्यवसायीको बुझाइ छ । रासस