विकासन्युज

लगानी कोष र सिउरी न्यादीबीच सम्झौता, ३ करोड कित्ता सेयर निष्कासन हुँदै

काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् । न्यादी पावरले प्रति किता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दैं छ । उक्त सेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।

भिटामिन ए खुवाउने अभियान सञ्चालन (फोटोफिचर)

काठमाडौं । सरकारले वैशाख ६ र ७ गते आजबाट बालबालिकालाई भिटामिन ए खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत राजधानीको विभिन्न वडाहरूमा बालबालिकालाई भिटामिन ए खुवाइएको छ ।  

लघुवित्त संस्थाहरूको खराब कर्जा बढेका कारण प्रतिफल घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा बढेका कारण लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफलमा संकुचन आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा निष्कृय कर्जा उल्लेख्य वृद्धि भएका कारण खुद नाफामा संकुचन आएको जनाएको हो । राष्ट्र बैंकका अनुसार २०८० असारमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९.८२ प्रतिशत घटेर ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यस्तै, ब्याज आम्दानी ६१ अर्ब १२ करोड रुपैयाँ, ब्याज खर्च ३५ अर्ब ८७ करोड रुपैयाँ र संचालन आम्दानी २१ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६५ वटा संस्थाहरूमध्ये २ वटा संस्था मात्र खुद नोक्सानीमा रहेकोमा यस आर्थिक वर्षमा कुल ५७ वटा संस्थाहरुमध्ये ४१ वटा खुद नाफामा र १६ वटा खुद नोक्सानीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस अवधिमा लघुवित्तको गैर–बैंकिङ सम्पत्तिमा भने कुनै परिवर्तन आएको छैन । लघुवित्तहरूको गैर–बैंकिङ सम्पत्ति १३ लाख ३६ हजार रुपैयाँ तथ्याङ्क छ । लघुवित्त संस्थाहरूले आफुले प्रदान गरेको कुल कर्जाको एक–तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । सो अनुसार २०८० असारसम्म एउटा संस्था बाहेक अन्य सबै संस्थाहरूले प्रवाह गरेको धितो कर्जा कुल कर्जाको एक तिहाईभन्दा बढी नरहेको राष्ट्र बैंकले जनाएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरूको कुल कर्जामा धितो कर्जाको अनुपात २०.५५ प्रतिशत रहेको छ । कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था छ । तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले आर्थिक वर्ष २०७९/८० मा महिला लघुवित्त वित्तीय संस्थालाई १ हजार ३०५ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

सकियो एसईई, कहाँ पढ्ने ब्रिजकोर्स ?

काठमाडौं । अछामका कैलाश कठायत एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि अहिले काठमाडौं आएका छन् । अछामको मेल्लेख गाउँपालिकामा रहेको जनता माबिबाट एसईई दिएका उनी ब्रिजकोर्स गर्न भनेर काठमाडौं आएका हुन् । उनी अहिले काठमाडौं बागबजारमा रहेको निम्स इन्स्टिच्युटमा ब्रिजकोर्स पढिरहेका छन् । कैलाशलाई साइन्स लिएर पढ्न मन छ । तर, साइन्स पढ्न सजिलो छैन । कलेजमा सीमित कोटा हुने भएकाले विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्छ । गाउँमा अंग्रेजी, गणित विषय राम्रोसँग पढ्न नपाएको भन्दै प्रतिस्पर्धाकै लागि पढिरहेको बताउँछन् उनी । गाउँमा राम्रो शिक्षक नहुनु र भएको शिक्षकले पनि राम्रोसँग नपढाउँदा भोलिलाई सजिलो होस् भन्दै ब्रिजकोर्स गरिरहेको उनले बताए । ब्रिजकोर्समा उनी अहिले म्याथ, अंग्रेजी, फिजिक्स, बायोलोजी र बायोमेटिक्स विषय पढिरहेका छन् । बागबजारमा रहेको निम्स इन्स्टिच्युट ब्रिजकोर्स अथवा अन्य कुनै पनि कक्षा तयारीका लागि नाम चलेको इन्स्टिच्युट हो । त्यहाँ अहिले ब्रिजकोर्स पढ्न आउने विद्यार्थीको भिड लाग्न थालेको छ । इन्स्टिच्युटका प्रबन्ध निर्देशक रामचन्द्र गौतम अहिले विद्यार्थी आउनेक्रम जारी रहेको बताउँछन् । ‘भर्खर एसईई सकिएको छ,’ उनी भन्छन, ‘पूर्वपश्चिम दूरदराजका विद्यार्थीहरू काठमाडौं आउनेक्रम जारी छ, अब ८, ९ गतेपछि विद्यार्थीको संख्या अझै बढ्छ ।’ निम्सले हरेक वर्ष १२ सय बढी विद्यार्थीलाई ब्रिजकोर्स पढाउने गरेको छ । भक्तपुर सल्लाघारीमा रहेको एसईआई इन्स्टिच्युटमा पनि ब्रिजकोर्स पढ्ने विद्यार्थीको भिड लागेको छ । वैशाख ३ गतेदेखि भर्ना कार्यक्रम सुरु गरी कक्षा सञ्चालन गरेको इन्स्टिच्युटले अहिले विद्यार्थी आउनेक्रम जारी रहेको बताएको छ । एसईई परीक्षा भर्खरै सकिएकाले विद्यार्थी आउनेक्रम जारी रहेको हुँदला इन्स्टिच्युटले वैशाख महिनाभरि भर्ना कार्यक्रम जारी राखिने जनाएको छ । बझाङका सागर भण्डारी पनि बृज कोर्स पढ्नकै लागि काठमाडौं आउने तयारी गरिरहेका छन् । एसईई सकेर बसेका उनी होटेल म्यानेजमेन्ट पढ्ने योजनाका साथ ब्रिजकोर्स पढ्न काठमाडौं आउन लागेका हुन् । केदारस्यु गाउँपालिकाको शिक्षोदय माबिबाट एसईई दिएका उनलाई होटेल मेनेजमेन्ट (एचएम) पढ्ने रहर छ । सागरका दाइ चन्द्र अहिले भाइका लागि कुन कलेज, इन्स्टिच्युट राम्रो छ भन्ने खोजीमा छन् । सागर जस्तै दुर्गममा रहेका विद्यार्थी राम्रो इन्स्टिच्युटको खोजीमा छन् भने कैलाश जस्ता धेरै विद्यार्थी ब्रिजकोर्स गरिरहेका छन् । ब्रिजकोर्समा अधिकांश विद्यार्थीको रोजाइ कक्षा ११ मा धेरै प्रतिस्पर्धा हुने विषय परेका छन् । ब्रिजकोर्सले प्रवेश परीक्षा पास गर्न सजिलो हुने उनीहरूको विश्वास छ । एसईई दिएर बसेका विद्यार्थीको भीड अहिले शहरका इन्स्टिच्युटमा लागेको छ । धेरैजसो विद्यार्थी भर्ना भएर ब्रिजकोर्स पढिरहेका छन् भने कतिपय भर्ना हुनेक्रममा छन् । पहाड अथवा दुर्गम गाउँमा बसेर एसईई दिएका उनीहरू यतिबेला ब्रिजकोर्स गर्नकै लागि शहर पसेका छन् । एसईईपछि के पढ्ने भन्ने रोजाइअनुसार त्यसैको तयारीका लागि भन्दै अहिले ब्रिज कोर्स पढिरहेको विद्यार्थीहरू बताउँछन् । विशेषगरी स्टाफ नर्स, ओभरसियर, साइन्स म्यानजेजमेन्ट पढ्ने योजना बनाएका विद्यार्थीहरू तयारीस्वरूप ब्रिजकोर्स गर्ने गर्छन् । नयाँ बानेश्वरमा रहेको अल्फाबिटा पनि विद्यार्थीहरूका लागि राम्रो इन्स्टिच्युट मानिन्छ । त्यहाँ पनि अहिले विद्यार्थीको भीड लागेको छ । अल्फबिटाले वैशाख २ गतेदेखि नै ब्रिजकोर्स पढाउन सुरु गरिसकेको छ । अहिले विद्यार्थी आउने, बुझनेक्रम जारी रहेको अल्फाबिटाका एक कर्मचारीले बताए । उनका अनुसार वैशाख महिनाभरि भर्ना कार्यक्रम जारी रहने छ । ‘एसईई सकेका विद्यार्थीको भीड लागेको छ,’ उनी भन्छन्, ‘दिनहुँ, ५० देखि ६० जना विद्यार्थी यो विषयमा बुझनमात्र आउँछन्, अहिले आएकालाई पढाउँदै नयाँलाई थप्दै ब्रिज कोर्स पढाउने काम भइरहेको छ ।’ शिक्षाका विभिन्न कार्यक्रम चलाउँदै आएको अल्फाबिटाले वर्षेनी हजारौ विद्यार्थीलाई ब्रिजकोर्स पढाउने गरेको जनाएको छ । हरेक कलेजले क्षमतावान विद्यार्थीलाई आफ्नो कलेजमा भर्ना गर्न रूचाउँछन् । यसका लागि कलेजले सञ्चालन गर्ने हरेक कक्षामा कलेजले प्रतिभावन विद्यार्थी होस् भन्ने चाहन्छ । कुनै पनि कलेजमा मेडिकलदेखि अन्य विषयको कक्षामा भर्ना हुन प्रवेश परिक्षा दिनुपर्छ । त्यसका लागि नाम चलेका वा नचलेका कलेजले प्रवेश परीक्षा लिने गर्छन् । ब्रिजकोर्स गरेका विद्यार्थीलाई कलेजले लिने प्रविश परीक्षामा अरू विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्छ । प्लस टु वा प्राविधिक विषय पढ्न इच्छा भएका विद्यार्थीलाई पनि यस्तो कोर्सले पुलको रूपमा काम गर्ने इन्स्टिच्युटका सञ्चालकहरू बताउँछन् । काठमाडौँ, भक्तपुर, ललितपुरदेखि पूर्वपश्चिमका मुख्य शहरमा विद्यार्थीको भीड अहिले इन्स्टिच्युटमा देखिन थालेको छ । ब्रिज कोर्स मुख्यतः ३ महिनाको हुन्छ । यसमा कुन विषयका लागि विद्यार्थीले तयारी गर्ने योजना बनाएको छ । त्यही अनुसारका विषयहरू पढाइ हुन्छ । यस्तो बेलामा कुन इन्स्टिच्युट विद्यार्थीका लागि राम्रो हो भन्ने विद्यार्थी स्वंय र अभिभावकलाई पनि दोधार पर्छ । संस्थानहरूले पढाएबापत फरक–फरक शुल्क लिने गरेका छन् । यसका लागि ८ हजारदेखि १० हजार खर्च विद्यार्थीले तिर्नुपर्ने हुन्छ । उपत्यकामा चलेका इन्स्टिच्युट इन्टेल इन्स्टिच्युट बगबजारमा रहेको यो इन्स्टिच्युृट पनि नाम चलेको इन्स्टिच्युट हो । सन् १९९५ मा स्थापना भएको इन्स्टिच्युटले हालसम्म लाखौँ विद्यार्थीलाई उच्च शिक्षा र अन्य क्षेत्रका विषयवस्तुको पनि तयारी गराइरहेको छ । एसईई दिएर राम्रो कलेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो संस्था पनि उपयुक्त हुन्छ । साइन्सदेखि हरेक विषयको तयारी गर्न लागेका विद्यार्थीहरूका लागि इन्टेल इन्ष्टिच्युटले ब्रिजकोर्स सञ्चालन गर्ने गर्छ । अर्बिटल शिक्षा फाउण्डेशन अर्बिटल शिक्षा फाउण्डेशन प्राविधिक विषयलगायत मेनेजमेन्ट क्षेत्रमा अध्ययन गर्न चाहेनेहरूका लागि उपयुक्त संस्था हो । विशेषगरी बीबीए, बीएचएम, बीटीटीएम लगायत मेनेजमेन्ट फ्याकल्टी पढ्ने योजनामा रहेका विद्यार्थीलाई प्रतिस्पर्धा गर्न यहाँ राम्रो तयारी गराइन्छ । अनुभवी शिक्षकहरू रहेको यो संस्थामा एसईई दिएर यी विषय पढ्ने सोचमा हुने विद्यार्थी लागि यो राम्रो ठाउँ हो । व्यवस्थापन, विज्ञान, स्टाफनर्स लगायत मेडिकल शिक्षामा अध्यन गर्न चाहने विद्यार्थीले ब्रिजकोर्स गर्न सक्छन् । क्यामब्रिज इन्स्टिच्युट काठमाडौं नयाँ बानेश्वरमा रहेको यो इन्स्टिच्युट पनि विद्यार्थीहरूलाई ब्रिजकोर्सका लागि राम्रो शिक्षा प्रदान गर्ने संथाभित्र पर्छ । यसले बर्सेनि हजारौंको संख्यामा विद्यार्थीहरूलाई तयारी कक्षा सञ्चालन गराउँछ । राम्रो कलेजमा अध्यन गर्न वा अन्य तयारीका लागि पनि यो इन्स्टिच्युटले सहयोग पु¥याउँदै आएको छ । यो इन्ष्टिच्युट विशेषगरी ए लेभल अध्ययन गर्न चाहने विद्यार्थी, स्टाफ नर्स, ओभरसियर विषयमा तयारी गर्नेहरूका लागि उपयुक्त ठाउँ हो । पाठशाला शिक्षा प्रतिष्ठान नयाँ बानेश्वरमा रहेको पाठशाला पनि विद्यार्थीहरूका लागि राम्रो पाठ सिकाउने संस्था हो । यसले लामो समयदेखि विद्यार्थीहरूका लागि तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ । हरेक वर्ष हजारौँको संख्यामा विद्यार्थीलाई ब्रिजकोर्स तयारी गराउँदै आएको यस प्रतिष्ठाले व्यवस्थापन, साइन्स लगायत विभिन्न विषयको तयारी गरिरहेका विद्यार्थीहरूका लागि सहजीकरणको काम गर्छ ।

सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । ब्रेक प्याडभित्र ६० किलोभन्दा बढी सुन लुकाएर तस्करी भएको प्रकरणमा जोडिएपछि चलाउनेविरुद्ध सीआईबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको हो । नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भौतिक रुपमा रहेको वा नरहेको बिषयमा जानकारी प्राप्त हुनेछ । सोही जानकारीको आधारमा उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा चलाउने र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङबीच कनेक्सन देखिएको थियो । राजश्व अनुसन्धान विभागले गत साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

व्यापारी राज कुन्द्राको १ अर्बकाे सम्पत्ति जफत, शिल्पा शेट्टीको फ्ल्याटमा पनि ताला

काठमाडौं । मनी लान्ड्रिङ प्रकरणमा भारतीय व्यापारी राज कुन्द्राको झन्डै १ अर्बको सम्पत्ति जफत गरिएको छ ।  भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले मनी लान्ड्रिङ रोकथाम ऐन (पीएमएलए ) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड रुपैयाँको चल र अचल सम्पत्ति जफत गरेको छ । ईडीले दिएको जानकारीअनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याट पनि समावेश छ । यस बाहेक राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी सेयर पनि जफत गरिएको छ । जुलाई २०२१ मा मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो । केही समयपछि राज कुन्द्राले जमानत पाएका थिए । एजेन्सी

डिशहोमको मिसन ८१, एक वर्षको रिचार्जमा थप १२ महिना निःशुल्क हुने

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र ३००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

अष्ट्रेलिया । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो । एबीएसले फेब्रुअरी र मार्चको बिचमा पूर्ण-समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ । जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो । एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व-महामारीकोस्तर भन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए । सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ । रासस