विकासन्युज

होङ्शी शिवम् सिमेन्टको आम्दानी १०.३१ अर्ब, वितरण हुन सकेन १.५० अर्ब लाभांश

काठमाडौं । होङ्शी शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो आर्थिक वर्षको १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा २०.७५ प्रतिशत अर्थात् २ अर्ब २७ करोड ६० लाख रुपैयाँ बढी हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ४ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ, आव २०७६/७७ मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँ तथा आव २०७५/७६ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। सुधारिएको बिक्री मूल्य (रियलाइजेसन) का कारण कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा करिब २१ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा पनि आम्दानीमा १८ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ । बिक्री मूल्यमा सुधार तथा विद्युत् र इन्धन खर्च घटेका कारण सञ्चालन नाफा मार्जिन पनि ९ महिनामा करिब ३१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २४ प्रतिशत थियो । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्शी शिवम् सिमेन्ट नेपालकै सबैभन्दा ठूलो एकीकृत ग्रीनफिल्ड सिमेन्ट उद्योग हो । कम्पनीको वार्षिक उत्पादन क्षमता २० लाख मेट्रिक टन क्लिंकर र २३ लाख मेट्रिक टन सिमेन्ट रहेको छ । कम्पनीले ‘होङ्शी’ ब्रान्डअन्तर्गत अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट र पोर्टल्याण्ड पोजोलाना सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको कम्पनीमा हङकङ रेड लायन सिमेन्ट नं. ३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ्स लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ । चीनको अग्रणी सिमेन्ट उत्पादकमध्ये एक मानिने हङकङ रेड लायन समूहले चीनमा करिब ५० वटा ठूला सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ भने लाओस, इन्डोनेसिया र म्यानमारमा पनि यसको उपस्थिति छ । शिवम् होल्डिङ्स, शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत स्वामित्व रहेको सहायक कम्पनी हो । कम्पनीका अनुसार गत आर्थिक वर्षको ९ महिनासम्म स्वीकृत कर्जा सीमाभित्र करिब २३ प्रतिशत अतिरिक्त कर्जा उपयोग गर्ने क्षमता रहेको थियो । साथै, कम्पनीसँग करिब ३ अर्ब २० करोड रुपैयाँ नगद मौज्दात रहेकाले खुद ऋणको स्तर न्यून रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ लिएको छ ।  यद्यपि, नियामकीय स्वीकृतिमा ढिलाइ र भावी लगानी योजनाका कारण पछिल्ला दुई आर्थिक वर्षका करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश वितरण हुन बाँकी छ । तर, आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण अनुपात खुद नाफाको करिब ४३ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ । अघिल्ला दुई वर्षमा यो औसत २९६ प्रतिशत पुगेको थियो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा क्लिंकर बिक्रीको शतप्रतिशत तथा सिमेन्ट बिक्रीको करिब ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट आएको थियो । सीमित ग्राहकमा उच्च निर्भरताका कारण कर्जा असुली र व्यापार नवीकरणसम्बन्धी जोखिम कायम रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, कुल बिक्रीमा क्लिंकरको योगदान पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा करिब ४० प्रतिशत रहेको क्लिंकरको हिस्सा घटेर आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २७ प्रतिशतमा झरेको छ । आफ्नै क्लिंकर उत्पादन गर्ने ग्राइन्डिङ–आधारित सिमेन्ट उद्योगहरूको संख्या बढेसँगै तेस्रो पक्षबाट हुने क्लिंकरको माग घटेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सिमेन्ट उद्योग निर्माण क्षेत्रको गतिविधिमा प्रत्यक्ष निर्भर हुने भएकाले माग मौसमी र आर्थिक चक्रअनुसार उतारचढाव हुने गर्छ । यसले उत्पादन क्षमता उपयोग, बिक्री, आम्दानी र नाफामा प्रभाव पार्न सक्छ । निर्माण गतिविधि सुस्त हुने वा कर्जा ब्याजदर बढ्ने अवस्थामा नगद प्रवाहमा दबाब पर्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ । साथै, आयातित सिमेन्टमाथिको भन्सार तथा संरक्षणात्मक नीतिले नेपाली सिमेन्ट उद्योगलाई केही हदसम्म संरक्षण गरे पनि सरकारी नीतिमा हुने परिवर्तन तथा कच्चा पदार्थको मूल्य र उपलब्धतामा आउने उतारचढावले उद्योगको समग्र प्रदर्शन प्रभावित हुन सक्ने कम्पनीको भनाइ छ ।

देशको नेतृत्व लिन कम्युनिष्ट आन्दोलन एक हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् । शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्दै देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको उनको भनाइ थियो । संयोजक दाहालले भने, ‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्यजस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अवस्था आएको छ । जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, त्यतिबेला यो हाम्रो लागि औपचारिक कार्यक्रम मात्रै होइन ।’ संयोजक दाहालले देशमा निरङ्कुश प्रवृत्ति देखापरेको र त्यसका विरुद्धमा एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् । सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गरे । आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको भए पनि घोडाबाट लडेपछि जिउको धुलो टकटक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिष्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्त्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिए । उनले जनआन्दोलनका क्रममा आफूहरूको घरमा आगलागी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गरे । सहसंयोजक नेपालले भने, ‘नरबहादुर कर्माचार्यसँग जोडिएका धेरै स्मृतिहरू र ऐतिहासिक सामग्रीहरू सम्भवतः यस प्रतिष्ठानले सङ्कलन र प्रकाशन गरेको पनि होला । उहाँसँग सम्बन्धित अभिलेखहरू पनि सुरक्षित रूपमा राखिएका होलान् । मेरो आग्रह के हो भने इतिहासका ती महत्त्वपूर्ण घटनाक्रमहरू अवश्य पनि सुरक्षित राखिनुपर्छ ।’  नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविस्मरणीय रहेको बताए । विशेषगरी मजदुर आन्दोलनलाई उचाइमा पुर्‍याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उनले प्रशंसा गरे । इतिहासका विभिन्न मोडमा योद्धा र नेताहरूले पुर्‍याएको योगदानकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले ती कीर्तिमानहरूलाई संस्थागत गर्नुपर्ने बताए । 

चर्को आवाज निकाल्ने ७७३ मोटरसाइकल कारबाहीमा

काठमाडौं । कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तीव्र पारेको छ । ‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्ला दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार राति १८ वटा र शुक्रबार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार गत असोज २६ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई अनिवार्य रूपमा सक्कली स्वरूपमा फर्काउन लगाइएको छ । यसका साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ । उनका अनुसार एउटा मात्र मोटरसाइकलले पनि सहरको ठूलो क्षेत्रलाई आतङ्कित पार्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय रहनेछ । प्रहरीले यो समस्या समाधानका लागि सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ । आफ्नो टोल वा छिमेकमा चर्को आवाज निकाल्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा त्यसको फोटो वा नम्बर प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सूचनाका आधारमा प्रहरीले घरमै पुगेर वा यातायातको अभिलेख हेरेर पनि त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । एसपी कार्कीले भने, ‘यस्ता सवारी चालकमा अरूलाई त्रसित बनाएर आनन्द लिने प्रवृत्ति देखिएको छ। यो एक प्रकारको मानसिक विकृति नै हो । समाजमा शान्ति–सुरक्षा खलल पुर्‍याउने र प्रहरीसँग वादविवाद गर्ने ३६ जना चालकमाथि त हामीले मुद्दासमेत चलाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरिरहेको यो अपरेसनले पोखराको ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास लिइएको छ ।

ह्याम्स अस्पतालले सेयरधनीलाई नगद लाभांश दिने, आईपीओ जारी गर्ने

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न ह्याम्स अस्पतालले साउन २४ गते दिउँसो २ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग सम्बन्धी प्रस्तावमा छलफल हुने जनाएको छ ।  साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक निर्देशन आएमा सोअनुसार संशोधन, परिमार्जन वा सच्याउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्तावसमेत सभामा प्रस्तुत गरिनेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र गत आर्थिक वर्षमा सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

इरानी सम्पत्तिबाट सामुद्रिक क्षतिको भरपाइ गरिन्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पत्तिमा हुने कुनै पनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् । अबउप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने कुनै पनि क्षतिको शोधभर्ना अमेरिकाको कब्जा र नियन्त्रणमा रहेको इरानी रकमबाट गरिनेछ ।’ उनले अगाडि लेखेका छन्, ‘यी क्षतिहरू निकै ठूलो परिमाणका हुन सक्छन्, तर यो एक न्यायपूर्ण र निष्पक्ष कदम हुनेछ ।’ यद्यपि, कुन प्रकृतिका घटनामा इरानी सम्पत्तिको प्रयोग गरिनेछ भन्नेबारे ट्रम्पले कुनै विस्तृत विवरण दिएका छैनन् । मध्यपूर्वमा तनाव बढ्दै गएको र अमेरिकाले इरानलाई लक्षित हवाई आक्रमणहरू जारी राखेको पृष्ठभूमिमा ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर । बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ः०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन् । खानतलासीका क्रममा उनीहरुको साथबाट दुई ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।  

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भत्र्सना गरिएको छ । विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको धारणा छ । रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । संसदीय दलले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति आफू सदैव प्रतिबद्ध रहने पनि स्पष्ट पारेको छ ।