देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिएका छन् । प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उनले शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताएका छन् । उनले मे ३ मा सञ्चालित ‘एनइइटी–युजी २०२६’ परीक्षामा अनियमितता देखिएपछि सरकारले तत्काल केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई अनुसन्धानको जिम्मेवारी दिएको, परीक्षा रद्द गरी पुनः परीक्षा गराएको तथा आगामी वर्षदेखि परीक्षा कम्प्युटर–आधारित परीक्षण (सिबिटी) प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । सम्बलपुरबाट निर्वाचित सांसदसमेत रहनुभएका प्रधानले पुनःपरीक्षा प्रक्रियामा २० लाखभन्दा बढी विद्यार्थीको हित संरक्षण सरकारको मुख्य प्राथमिकता रहेको बताए । परीक्षासम्बन्धी विवादका कारण कुनै पनि योग्य विद्यार्थीको भविष्य प्रभावित हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनका अनुसार जुलाई १६ मा सार्वजनिक गरिएको ‘एनइइटी–युजी २०२६’ को नतिजामा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका धेरै योग्य विद्यार्थीले पनि सफलता हासिल गरेका छन् । राजीनामा पत्रमा प्रधानले केही जिम्मेवार व्यक्तिले विद्यार्थीहरूलाई भ्रममा पार्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पछिल्ला घटनाले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै उनले जन्तर मन्तरलगायत विभिन्न स्थानमा जारी आन्दोलनको फाइदा राष्ट्रविरोधी शक्तिले उठाउन नपाउन् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् । प्रधानले शिक्षामन्त्रीका रूपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्दै मन्त्रिपरिषद्का सहकर्मी तथा शिक्षा मन्त्रालयका अधिकारी र कर्मचारीलाई धन्यवाद दिएका छन् । राष्ट्रसेवा आफ्नो सर्वोच्च प्राथमिकता रहने उनले उल्लेख गरेका छन् । यसैबीच, ‘एनइइटी–युजी २०२६’ विवादलाई लिएर भारतभर विरोध प्रदर्शन जारी छ । आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा २६ दिन लामो अनशन गरेका थिए । उता, भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट–ट्र्याक अदालत र विशेष कार्यदल (एसटीएफ) गठनसहित कडा पेपर चुहावट विरुद्धको कानुन ल्याउने तयारी गरिरहेको जनाएको छ ।
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गा घर भएका २९ वर्षीय सुरेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउमध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट तीन लाख रुपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका–१० बाट र सुरेशलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विदेश पठाइदिने भन्दै ठगी गर्ने ओसिस टुरिज्ममा प्रहरीको छापा, २ सञ्चालक पक्राउ
काठमाडौं । विदेश भ्रमणको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पोखरास्थित ओसिस टुरिज्म इन्टरनेशनलका दुई सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-५ पर्स्याङस्थित कम्पनीको कार्यालयमा छापा मारेर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका-१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यको सान्तीनगरका मोहम्मद यासेर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत अनुसन्धानका लागि आवश्यक सामग्री पनि बरामद गरेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको खुलेको छ । कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्डलगायतका देशमा सस्तो प्याकेजमा घुम्न लैजाने प्रलोभन देखाएर ग्राहकलाई आकर्षित गर्ने गरेको प्रहरीको आरोप छ । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मका प्याकेज बिक्री गरी सुरुमा अग्रिम रकम संकलन गर्ने र पूर्ण भुक्तानी भएपछि कम्पनी बन्द गरेर सञ्चालकहरू फरार हुने योजनाअनुसार ठगी गरिएको प्रहरीको दाबी छ । डीएसपी भट्टराईका अनुसार विभिन्न आकर्षक अफर देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाइन्थ्यो। पर्याप्त रकम संकलन भएपछि कार्यालय बन्द गरी सम्पर्क विहीन हुने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । छापा मार्ने क्रममा कार्यालयमा कार्यरत १५ जना युवती फेला परेका थिए । उनीहरूमाथि आवश्यक सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य दुई सञ्चालक फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको छ । साथै, ठगीमा परेको हुन सक्ने अन्य पीडितको विवरण संकलन गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भोड्का र डायमन्ड बेच्ने कम्पनीको नाम परिवर्तन, ९ महिनामा १.२३ अर्ब आम्दानी
काठमाडौं । रुस्लान भोड्कालगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको विजय डिस्टिलरी प्रालिले आफ्नो नाम परिवर्तन गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित कम्पनीले अबदेखि ’जावलाखेल डिस्टिलरी प्रालि’का नामबाट व्यवसाय सञ्चालन गर्ने भएको हो । सन् २०१३ मा स्थापना भएको कम्पनी ब्लेन्डिङ तथा बोटलिङ व्यवसायमा सक्रिय छ । कम्पनीले ब्राउन स्पिरिटतर्फ ’काला पत्थर’, ह्वाइट स्पिरिटतर्फ ’रुस्लान भोड्का’ र ’ब्लु डायमन्ड जिन’ तथा रेडी–टु–ड्रिंक श्रेणीमा ५ प्रतिशत अल्कोहलयुक्त ’रुस्लान आइस टी’ उत्पादन गर्दै आएको छ । यी सबै कम्पनीका स्वदेशी ब्रान्ड हुन् । कम्पनीको शतप्रतिशत स्वामित्व विजय कुमार शाहको रहेको छ । सन् २०२६ को अप्रिलसम्म कम्पनीको एकमात्र उत्पादन केन्द्र लुम्बिनी प्रदेशको परासी जिल्लामा सञ्चालनमा रहेको छ, जहाँ ब्लेन्डिङ तथा बोटलिङ कार्य हुँदै आएको छ । कम्पनीले देशभर २४० भन्दा बढी डिलरको सञ्जालमार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको सुरुआत सन् १९७३ मा उद्योगी विजय कुमार शाहले जावलाखेल डिस्टिलरी स्थापना गरेसँगै भएको हो । हाल समूहअन्तर्गत चार डिस्टिलरी, एक ब्रुअरी, फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, एक होल्डिङ कम्पनी र एक वितरण कम्पनी गरी आठ कम्पनी सञ्चालनमा छन् । कारोबारमा सुधार, नाफा पनि बढ्यो कम्पनीले आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको थियो भने २०८०/८१ मा १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, आव २०७५/७६ मा ८२ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा करिब ४८ प्रतिशतले घटेको कारोबार आर्थिक वर्ष २०८१/८२ मा करिब ५० प्रतिशतले बढ्दै पुनः सुधारको मार्गमा फर्किएको कम्पनीले जनाएको छ । बिक्री वृद्धि, उत्पादनको मूल्यमा गरिएको सन्तुलित समायोजन तथा लागत नियन्त्रणका कारण सञ्चालन नाफा पनि सुधारिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा मार्जिन २७ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा यो बढेर करिब ३१ प्रतिशत पुगेको छ । ब्लु डायमन्ड जिनमै बढी निर्भर कम्पनीका प्रमुख उत्पादनमध्ये ब्लु डायमन्ड जिनले नेपालको ह्वाइट स्पिरिट बजारमा बलियो ब्रान्ड पहिचान बनाएको छ । कम्पनीको कुल आम्दानीमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा यही उत्पादनबाट आउने गरेको छ। यद्यपि एउटै उत्पादनमा उच्च निर्भरता दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जनाएको छ । नेपाल सरकारले तयारी मदिराको आयातमा उच्च भन्सार शुल्क तथा अन्य आयात अवरोध कायम राखेकाले स्वदेशी मदिरा उद्योगले संरक्षण पाउँदै आएको छ । तर भविष्यमा आयात शुल्क घटाइए वा हटाइए विदेशी ब्रान्डसँगको प्रतिस्पर्धा बढ्न सक्ने र त्यसले कम्पनीको आम्दानी, नाफा तथा ऋण भुक्तानी क्षमतामा असर पार्न सक्ने जनाएको छ । त्यसैगरी, मदिरामा प्रत्येक वर्ष अन्तःशुल्क वृद्धि हुँदै जाँदा बढेको लागत पूर्ण रूपमा उपभोक्तामा सार्न नसकिए कम्पनीको नाफा खुम्चिन सक्ने जोखिम रहेको छ । साथै, मदिराको विज्ञापन, बिक्री तथा वितरणसम्बन्धी सरकारी नीतिमा थप कडाइ गरिए व्यवसायमा प्रत्यक्ष असर पर्न सक्ने कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को सुरुदेखि कम्पनीले राष्ट्रिय वितरकमार्फत हुने बिक्री प्रणाली हटाएर प्रत्यक्ष वितरण सुरु गरेपछि ग्राहकबाट उठाउन बाँकी रकम र मौज्दात बढेको छ । यसले कार्यशील पुँजीमा थप दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ । अप्रिल २०२६ सम्म कम्पनीसँग करिब २१ प्रतिशत अर्थात् २२ करोड २० लाख रुपैयाँ बराबरको थप कर्जा उपयोग गर्ने क्षमता बाँकी रहे पनि बढ्दो मौज्दात, ग्राहकबाट उठाउन बाँकी रकम तथा सम्बन्धित कम्पनीसँगको अग्रिम रकम फछ्र्योट गर्नुपर्ने अवस्थाले आगामी दिनमा कार्यशील पुँजीको आवश्यकता बढ्न सक्ने कम्पनीको भनाइ छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४७ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ८७ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ३४ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीले आगामी दिनमा ऋणको स्तर नियन्त्रण, नाफाको वर्तमान दर कायम राख्ने तथा ऋण भुक्तानी क्षमता सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न मिल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइन बैंक खाता खोल्ने सुविधा सुरु गरेको छ । अब नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् । बैंकका अनुसार नागरिक एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर बैंकको वेबसाइटमार्फत सहज रूपमा खाता खोल्न सकिनेछ । नेपालमै पहिलो पटक नागरिक एपसँग जोडिएको यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ । यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र भएका तथा नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले विवरण पुनः भर्नुपर्ने झन्झट हट्नेछ । यसबाट ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको विश्वास छ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखामा पुगेर वा भिडियो केवाईसीमार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ । बैंकका अनुसार यो सेवाले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ विस्तारमा थप टेवा पुर्याउनेछ । साथै, नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ । ग्लोबल आइएमई बैंक आधुनिक प्रविधिमा आधारित सेवा र ग्राहकमैत्री बैंकिङका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित हुँदै आएको छ । बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ सहित विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ । हाल बैंकले देशभर ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेको बैंकले जनाएको छ ।
आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौं । नबिल बैंक ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । बैंकका अनुसार उक्त सम्मानले बैंकिङ सेवा तथा नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउन थप प्रेरणा मिल्नेछ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु बैंकका लागि गौरवको विषय भएको बताए । उनले बैंकप्रति विश्वास र साथ दिने ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे । यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी भएका थिए । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । यसले भारतका प्रमुख व्यावसायिक समूहहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार र लगानी प्रवर्द्धनका लागि काम गर्दै आएको छ । नबिल बैंकले हालै युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधिसमेत जितेको थियो । बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व र समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती सम्मान प्रदान गरिएको थियो ।
एडिबीको ४६ अर्ब लगानीमा काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) मार्फत पाँचवटा प्याकेजमा विभाजन गरी ९५ किलोमिटर लामो यस सडकको विस्तार कार्य अघि बढाइएको हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्डअन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक रहेको छ । आयोजनाले दिएको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकडभिट्टा–सीतापुरी) को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । त्यस्तै, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ) को प्रगति ४२ प्रतिशत र तेस्रो प्याकेज (मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म) को भौतिक प्रगति १९ प्रतिशत रहेको छ । काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिल पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा साढे १६ किलोमिटर सडकको पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । मौसमले साथ दिए एक सातामा थप ७ किलोमिटर सडक कालोपत्रे गर्न सकिने उनले बताए । दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए । उनले भने, ‘हामीले ४४.३ किलोमिटरमध्ये ११ किलोमिटर सडकमा चारै लेनको पहिलो तह (५ सेन्टिमिटर बाक्लो डेन्स बिटुमिनस म्याकाडम–डिबिएम) कालोपत्रे गरिसकेका छौँ । बाँकी ५ किलोमिटरमा दायाँ वा बायाँतर्फको काम सकिएको छ । अहिले ५–६ किलोमिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा छ । मौसम अनुकूल हुनासाथ एक साताभित्रै सो कार्य सम्पन्न हुनेछ ।’ मौसमले साथ दिएमा दैनिक ४ सयदेखि ८ सय मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने योजना आयोजनाको छ । सन् २०२४ फेब्रुअरी २ देखि निर्माण सुरु गरिएको यस सडकको स्तरोन्नति कार्य सन् २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । हाल सडकको बीच भागमा ३ मिटरको ‘मिडियन’ (डिभाइडर) राखेर दुवैतर्फ विस्तार गर्ने काम भइरहेको छ । वर्षात्का कारण केही अवरोध भए पनि निर्माण कार्यलाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ ।
१० पालिकामा नमुना कृषि कार्यक्रम सञ्चालन गरिने : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी कम्तीमा १० वटा पालिकालाई नमुना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताएकी छन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कम्तीमा १० वटा पालिका छनोट गरि माग गरेकी छन् । सो पालिकामा कृषिको नमुना कार्यक्रमका लागू गर्ने मन्त्री चौधरीको योजना छ । नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई अब विशेष प्राथमिकता दिनुपर्ने बताइन् । उनले अनुसन्धानबाट प्राप्त नतिजा किसानको खेतसम्म पुर्याउन, कृषि उत्पादन बढाउन तथा किसानलाई आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी गराउन कम्तीमा १० पालिकामा एकीकृत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । ती पालिकामा उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श तथा प्रविधि हस्तान्तरणलाई विशेष जोड दिइने उनको भनाइ छ । मन्त्री चौधरीले प्राङ्गारिक (अर्गानिक) खेतीलाई प्राथमिकता दिँदै माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन तथा साझा योजनामार्फत अघि बढ्नुपर्नेमा जोड दिइन् । साथै प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।