विकासन्युज

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

काठमाडौं । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादी लाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ ।

माइक्रोसफ्टको ‘भीएएसए-१’ सार्वजनिक, एआईमा अर्को तरंग

काठमाडौं । एआई अर्थात् आर्टिफिसियल इन्टिलिजेन्सको संसारमा हरेक दिन केही न केही नयाँ भइरहेका छन् । विकासकर्ताहरूले पनि सामान्य मानिस र सामग्री सिर्जनाकर्ताका लागि केही विशेष उपकरण सार्वजनिक गरिरहन्छन् । भर्खरै ओपन एआईले सोरा र गुगलले भिडियोहरू सिर्जना गर्यो, जसले टेक्स्ट-टु-भिडियो उत्पन्न गर्न सक्छ । अहिले माइक्रोसफ्टले भीएएसए-१ एआई भिडियो जेनेरेटर लन्च गरेको छ । कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा यस उपकरणका धेरै नमूना प्रस्तुत गरेको छ । यो उपकरणले कुनै पनि फोटोबाट व्यक्तिको भिडियो बनाउन सक्छ । कम्पनीद्वारा प्रस्तुत यो नमुनाको नतिजा उत्कृष्ट छ । माइक्रोसफ्ट भीएएसए-१ एआई भिडियो जेनरेटर के हो ? माइक्रोसफ्टको यो उपकरणको नाम ‘भिजुअल इफेक्टिव स्किल अडियो’ वा भीएएसए–१ हो । यो कम्पनीको टप इन्ड मोडेल हो जसले मानिसको अनुहारको हाउभाउ उत्कृष्ट तरिकाले बनाउन सक्छ । यो उपकरणले मानिसहरूको अनुहारमा फोटोहरूबाट सबै प्रकारका भावना र भावनाहरू उत्पन्न गर्न सक्छ । सरल भाषामा सामान्य तस्वीरबाट व्यक्तिको विभिन्न अभिव्यक्ति भएको भिडियो बनाउन सकिन्छ । यो उपकरणले अनुहारको मांसपेशी, ओठ, नाक, टाउको झुकाव र अन्य कारकहरूको मद्दतले भिडियोहरू सिर्जना गर्दछ । यसका केही भिडियोहरू पनि सार्वजनिक भएका छन् । हाल, माइक्रोसफ्ट भीएएसए-१ ले ४० एफपीएसमा अधिकतम ५१२×५१२ पिक्सेलको भिडियो बनाउन सक्छ । यो उपकरणले वास्तविक जीवन जस्तै भिडियो बनाउन सक्ने कम्पनीको दाबी छ । यसको मतलब यसको मद्दतले तपाईंले वास्तविक जीवनमा जस्तै अभिव्यक्ति दिन सक्नुहुन्छ । माइक्रोसफ्टले भीएएसए-१ लाई अनुसन्धान प्रदर्शनका रूपमा देखाएको छ । कम्पनीले यो उत्पादन जारी गर्ने वा यसको एपीआई जारी गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । यसको मतलब माइक्रोसफ्टले यो उत्पादनलाई सार्वजनिक गर्दैन । किनभने, यसको दुरुपयोग हुने सम्भावना धेरै हुन्छ । यो उपकरण ओपन एआईको सोरा जस्तै छ । दुवै उपकरणले यथार्थपरक भिडियोहरू उत्पन्न गर्छन् । जहाँ सोराले पृष्ठभूमि र कलाकृतिहरूसँग जटिल भिडियोहरू सिर्जना गर्छ । जबकि, भीएएसए-१ को फोकस मानव अभिव्यक्तिमा छ। यद्यपि, यी दुवै उपकरण अझै सार्वजनिक डोमेनमा उपलब्ध छैनन् । एजेन्सी

जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आईतबार बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो । रासस

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति

काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताए । समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जिकीर गरे । ‘यसअघि १० वेडको एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ वेड थपिएको छ । खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’ एनआइसियूले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने भन्दै प्रा.डा. अन्सारीले भने । उनले कलेजको एनआइसियू सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै आम नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको जिकीर गरे । ‘नयाँ प्रविधि भन्ने वित्तिकै महंगो हुन्छ भन्ने हैन, हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं ।’ प्रा.डा. अन्सारी भन्छन् । एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ । नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउँन लागेको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जानकारी दिए । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उनले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताए ।

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

वीरगञ्ज (पर्सा) । सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका-१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्‍याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ । छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए । ‘भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हुँदै आएर नेपालको भूमिमा  खेतीबाली तथा फुसको घरमा क्षति पुर्‍याएको छ’, उनले भने, ‘सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भए ।’ जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै  सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताए । प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुल्म पर्साको दमकलको सहयोगमा  आगो पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ । आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ । सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा रु चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगजनीले  सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर रु दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ । आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहुँबाली जलेको छ । सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ । किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँ र पराल गरी रु एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा रु ३० हजारको क्षति भएको छ । आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही रु २० हजारको क्षति भएको छ । त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा रु ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा रु ८० हजारको क्षति भएको छ । त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा रु ५० हजारको क्षति भएको छ । त्यस्तै सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहँबालीमा क्षति हुँदा रु २० हजारको क्षति भएको प्रहरीले जनाएको छ । रासस

महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

महोत्तरी । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो । मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो । बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । बोयर जातका उन्नत बीउ बोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आफूहरूको अम्दानी बढ्ने महिला किसान बताउँछन् । ‘अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउने छन्, यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ,’ बीउ बोका पाएपछि मटिहानी–१ की बाख्रापालक महिला किसान हीरा सहनी भन्छन्, ‘यसले हाम्रो आर्थिक अवस्थामा सुधार हुनेछ ।’ हीराजस्तै मटिहानी–३ आवर बस्तीकी ललितादेवी र मटिहानी–५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बीउ बोका पाएपछि अब आफ्ना गोठमा जन्मने पाठापाठी चाँडै बढ्ने, खदिलो मासु भएका र बढी तौलका हुनेमा आफू ढुक्क रहेको बताए । नगरक्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमशः बीउ बोका प्रदानको कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवले बताए । यो कार्यक्रमले गरिब वर्गका किसानले आर्थिक उपार्जनमा थप अवसर बढाउने नगरप्रमुख मण्डल बताउँछन् । पशुपालनमात्र नभई नगरक्षेत्रमा मखान खेती गर्ने, अन्नबाली, तरकारी, दलहन र तेलहन बाली लगाउँदै आएका किसानलाई बीउ, मलदेखि खेतीमा आवश्यक प्राविधिक सहयोग र बजारीकरणमा पनि सहयोग गर्दै आएको उनी बताउँछन् ।

युक्रेनलाई ६१ अर्ब डलरको राहत प्याकेज अमेरिकी संसदबाट पारित

काठमाडौं । युक्रेनलाई सहयोग गर्न अमेरिकाको संसद्ले ६१ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३ सय ११ मत परेको थियो । तर, यो प्रस्तावको विपक्षमा पनि १ सय १२ मत परेको थियो । अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ । अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनी रूपमा मान्यता दिनेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘लोकतन्त्र र स्वतन्त्रता विश्वव्यापी मञ्चमा सधैं महत्त्वपूर्ण हुनेछ, र तिनीहरू कहिल्यै असफल हुन सक्दैनन् जबसम्म अमेरिका उनीहरूको रक्षा गर्न त्यहाँ छ।’ यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलरबराबरको सैन्य सहायता पनि दिइएको छ । गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ । एजेन्सी

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको ३ लाख ६४ हजार २८६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेड आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।