विकासन्युज

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौं ल्याइएको छ । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनले भने, ‘उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ) मा मर्मत गराइएको थियो । मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौं आइपुगेको छ ।’ ‘मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाहरुको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो’, प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यमा इजरायलस्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गर्दछ । जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’ रासस

४ कम्पनीको १ करोड बढीको संस्थापक सेयर कारोबार

काठमाडौं । पुँजी बजारमा विभिन्न ४ कम्पनीको संस्थापक सेयर खरिद बिक्री भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र विजय लघुवित्त वित्तीय संस्थाको १ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको हो । एचआईडीसीएलको आइतबार ३९ हजार ५ सय ८९ कित्ता संस्थापक सेयर ५९ पटक खरिदबिक्री हुँदा ३९ लाख २१ हजार ३९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम ९९ रुपैयाँदेखि अधिकतम १०१ रुपैयाँमा खरिदबिक्री भएको देखिन्छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीको ४११ कित्ता संस्थापक सेयर १४ पटक खरिबिक्री हुँदा ४२ लाख २९ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम १० हजार २ सय रुपैयाँदेखि अधिकतम १० हजार ५६७ रुपैयाँमा किनबेच भएको नेप्सेको तथ्याङ्क छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७५ कित्ता संस्थापक सेयर ५ पटक किनबेच हुँदा ४८ हजार ४८ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकको संस्थापक सेयरको अन्तिम मूल्य प्रतिकित्ता १२९ रुपैयाँ छ । विजय लघुवित्त वित्तीय संस्थाको ६ हजार कित्ता सेयर १९ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबबार भएको छ ।

सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी

काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रीया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सो कुरा बताएका हुन् । उनले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको जानकारी दिए । सो अवधिसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताएका हुन् । यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षा सम्बन्धी राम्रा कार्यक्रम सञ्चालनमा ल्याएकोले ती कार्यक्रममा सहभागी बन्न सबैलाई आग्रह गरे । उनले कोषले सहभागीहरुलाई प्रदान गर्ने सेवा सुविधा थप गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्नु पर्नेमा जोड समेत दिए । कार्यक्रममा कोषका उप निर्देशक नारायण प्रसाद घिमिरेले नागरिक पेन्सन योजनाका बारेमा कार्यपत्र पेश गरेका थिए भने कोषको विराटनगर कार्यालयका उप–निर्देशक तारानाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

मर्स्याङ्दी-काठमाडौं र मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन (फोटोफिचर)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणद्धारा निर्माण सम्पन्न मर्स्याङ्दी काठमाडौं र मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।      

नवनियुक्त शिक्षकको दुःखेसो : आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरबाट नियुक्त पत्र पाए । प्राथमिक तह तृतीय श्रेणीमा नियुक्ति पाएको तीन साता बितिसक्दा पनि उनले अध्यापन गराउनुपर्ने विद्यालयको टुंगो लागेको छैन । उनीजस्तै आयोग पास गरेका खेमराज भट्ट र नन्दाकुमारी चन्दले पनि नियुक्तिका लागि गुहार माग्दै हिड्नुपरेको छ । गत चैत २६ गते बेल्डाडी गाउँपालिका कार्यालय पुगेका नवनियुक्त शिक्षक भट्ट र चन्दसँगै हालै आयोग पास गरेका मोनिका चन्दले पनि कार्यालय धाउँदा पनि शिक्षा विकास तथा समन्वय ईकाइ र बेल्डाडी गाउँपालिका बीचको आपसी असहमजदारीका कारण पढाउने विद्यालयको टुङ्गो लाग्ननसकेको बताए । बेल्डाडी गाउँपालिकाले कार्यालयमा आएकामध्ये एक जनालाई मात्रै अध्यापनका लागि विद्यालयमा खटाउनसकिन बताएपछि अन्योल सिर्जना भएको नवनियुक्त शिक्षकले बताएका छन् । ‘गत वर्ष पनि दुईजना मागगर्दा शिक्षा इकाइले पाँचजना शिक्षक पठाएको रहेछ, यसपटक पनि एकजना माग्दा तीन जना पठाइएकाले पालिकाले नियुक्त पत्र दर्ता गर्न अस्वीकार गरेको छ’, नवनियुक्त शिक्षक भट्टले भने । उनले समस्या समाधानका लागि धेरै ठाउँ धाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । ‘सुदूरपश्चिम विश्वविद्यालय आएका बेला शिक्षा मन्त्री सुमना श्रेष्ठलाई समेत भेटेर आफ्नो समस्या राखेका थियौँ । मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म लिखित निवेदन दिँदासमेत अहिलेसम्म समस्या समाधान भएको छैन’, भट्टले गुनासो गरे । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिपक कलौनीले तीन जनालाई नियुक्ति दिई बेल्डाडी गाउँपालिका पठाइएकामा एकजना मोनिका चन्दलाई मात्रै अध्यापनका लागि राखेको बताए । ‘पालिकाले स्थान रिक्त हुँदाहुँदै हाजीर हुनदिएको छैन, त्यसैले जिल्ला प्रशासनसँग समन्वय गरेर ति शिक्षकको व्यवस्थापनका लागि पहल गर्छौ’, कलौनीले भने । पालिकाले अटेर गरे दुई दरबन्दी काटेर शिक्षक-विद्यार्थीको उच्च अनुपात भएका विद्यालयमा लगेर पनि शिक्षकको व्यवस्थापन गरिने उनको भनाइ छ । रासस

कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले कानुनी सुधारमा नेपालको प्रतिबद्धताको प्रमाण दिएको बताएका छन् । राजधानीमा सुरू भएको लगानी सम्मेलनका क्रममा उनले सुधारप्रति नेपालको दृढ प्रतिबद्धताको प्रमाण दिने बताएका हुन् । मन्त्री पुनले यो काम नेपालको निजी क्षेत्रको परामर्शमा गरिएको पनि बताए । नेपालले कानुनी र नियामकीय सुधार र प्रक्रियागत सरलीकरण मार्फत देशको व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेको बताउँदै विवाद समाधान गर्ने संयन्त्र पनि रहेको उल्लेख गरे । पुनका अनुसार सरकारले करसम्बन्धी कानुनलाई थप लगानीमैत्री बनाउँदैछ । अध्यादेशमार्फत केही नेपाल ऐन संशोधन गरेको सरकारले विश्व भन्सार सङ्गठन र विश्व व्यापार संगठनको सिद्धान्त र अभ्यास अनुरूप नयाँ भन्सार विधेयक पनि संसदमा पेस गरेको उनले बताए । देशको कानुनी व्यवस्था तथा आर्थिक परपाटीबारे चर्चा गर्दै उनले सरकारले हरेक वर्षझैं यस वर्षको जेठ मध्यमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने र सरकारले वैदेशिक लगानीलगायत विभिन्न क्षेत्रमा केही नीति तथा कार्यक्रम घोषणा गर्ने पनि बताए । लगानी सम्मेलनको नेपालमा लगानीको वातावरणुविषयक पहिलो सत्रमा उनले भने, नेपाल रणनीतिक रूपमा दुई ठूला र बढ्दो अर्थतन्त्र चीन र भारतको बीचमा अवस्थित छ। यसले नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर प्रदान गरेको छ । यसबाहेक प्राकृतिक सम्पदामा देश धनी रहेको बताउँदै उनले भने, नेपालको आर्थिक वृद्धिका प्रमुख संवाहक ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्र हुन् । मन्त्री पुनका अनुसार नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ, उत्पादित बिजुली छिमेकी मुलुकमा निर्यात गरेर आम्दानीको प्रमुख स्रोत बन्न सक्छ । यसैगरी नेपाल विश्वव्यापी साझा प्रतिबद्धता अनुसार कार्बन उत्सर्जन कम गर्न नवीकरणीय र स्वच्छ ऊर्जाको आपूर्तिमा योगदान दिन तत्पर रहेको पनि दाबी गरे । कानुनी वातावरणबारे चर्चा गर्ने क्रममा उनले भने, विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनले आवेदन गरेको ७ दिन भित्र प्रत्यक्ष विदेशी लगानीको स्वीकृति प्राप्त हुने व्यवस्था गरेको छ । आईटी लगानीमा स्वीकृतिको स्वचालित व्यवस्था सुरु गरेका छौं ।विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनले नाफा फिर्ता स्वीकृति १५ दिनभित्र दिइने व्यवस्था गरेको छ । ऐनमा सिंगल विन्डो सेवा केन्द्रको पनि प्रावधान छ जसमार्फत विदेशी लगानीकर्ताहरूले विभिन्न सरकारी निकायको सेवामा सहज पहुँच पाउन सक्छन् । नेपालको कानूनले कुनै पनि विदेशी कम्पनीलाई कुनै पनि कारणले राष्ट्रियकरण नगरिने ग्यारेन्टी दिएको छ, पुनले भने, नेपाल लगानि बोर्डले ठूला लगानी परियोजनाहरू स्वीकृत गर्नुका साथै देशमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) परियोजनाहरूको व्यवस्थापनमा पनि काम गर्छ। नेपालले केही देशहरूसँग द्विपक्षीय लगानी सम्झौता र दोहोरो कर परित्याग सम्झौता गरेको छ भने भर्खरै द्विपक्षीय लगानी सम्झौता (बीआईए) को मोडेल फ्रेमवर्क स्वीकृत गरेको छ। पुनले भने, ‘अन्य देशहरुसँग यस्ता धेरै सम्झौता गर्ने नेपालको दृढ प्रतिबद्धता छ । हाम्रो कर प्रणाली अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्दो छ, र हामी परिवर्तनको सन्दर्भमा हाम्रा कर कानून र प्रक्रियाहरूलाई नजिकबाट र नियमित रूपमा समीक्षा र अद्यावधिक गर्दैछौं। मन्त्री पुनले बहुराष्ट्रिय कम्पनीहरू नेपालका ठूला करदाता भएको तथ्यले नेपालमा लगानी गर्ने धेरै अवसर रहेको संकेत गर्ने बताए । उनले नेपाल सरकारको तर्फबाट लगानीकर्तालाई नेपालमा यो अवसरको फाइदा उठाउन अनुरोध गर्दछु । सरकारले लगानीको संरक्षणमा पूर्ण ध्यान दिने र सक्षम वातावरण सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने भएको छ । कम्पनिले आईतबार गते आर्सिया डेन्टल, पुतलिसडक काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले सोमबारदेखि समृद्धि मोबाइल बैंकिङ, डेविड कार्ड तथा सीपीआईएस प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

सर्वसाधारण भन्छन् : लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हो

काठमाडौं । सरकारले आजदेखि दुईदिने लगानी सम्मेलन सुरु गरेको छ । सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरेको हो । जसमा विभिन्न एक सय ५१ वट परियोजना सोकेस समेत गरेको छ । लगानी सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब दुई हजार व्यक्ति आएका छन् । सरकारले निकै महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनबारे सर्वसाधारण के भन्छन् त ? बालाजुका रवि मित्रकोटी लगानी सम्मेलन मुलुकमा लगानी ल्याउनका लागि राम्रो अवसर भएको बताउँछन् । उनी विगतको लगानी सम्मेलबाट अपेक्षाकृत लगानी नआएको भन्दै यसपटक यो अवसर गुम्न दिन नहुने बताउँछन् । ‘देशमा लगानी हुनु त राम्रो कुरो हो तर, विगतको सम्मेलन कतिको प्रभावकारी भयो रु समीक्षा गर्न जरुरी छ’, उनी भन्छन्, ‘कुरा गरेर मात्रै विकास हुँदैन, सरकारको कार्य परिणाम आउनुपर्छ ।’ खासगरी नेपालमा पर्यटन र कृषि क्षेत्रमा लागनी हुनसके देशको अर्थतन्त्र उकास्न सकिने उनको धारणा छ । त्यस्तै अधिवक्ता भुपेन्द्र पोखरेलले सरकारकाले गरिरहेको लगानी सम्मेलन औपचारिकतामा सीमित हुन नहुने बताउँछन् । ‘लगानी ल्याउनका लागि देखिएका कानूनी र प्रक्रियागत झन्झट हटाएर  विदेशीलाई हाम्रो देशमा लगानी गर्न सहज वातावरण सिर्जना गर्न आवश्यक छ’, उनी भन्छन्, ‘यस लगानी सम्मेलनमा लगानी अनुकुलको वातावरण बनोस् ।’ शङ्खमुलकी गौरा कायस्थले देश विकासमा लगानी जुटाउन सरकारले गरेको कदम प्रशंसनीय रहेको बताउँछिन् । तर सम्मेलन लगानी ल्याउन कति प्रभावकारी हुन्छ भन्ने अर्थमा सफल र असफल भन्न सकिने उनको भनाइ छ । ‘पैसा मात्रै जुटाउनु ठूलो कुरा होइन,  पैसाको सही स्थानमा प्रयोग भएन भने त्यसको अर्थ हुन्न’, उनले भनिन् । एकता फाउन्डेशनका अध्यक्ष एवं अधिकारकर्मी रामहरि शाही समुन्द्रीले लगानीले भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक र बौद्धिक क्षेत्रको विकासमा पनि लगानी आह्वान हुनुपर्नेमा बानेश्वरका जीवन राईको तर्क छ । कला क्षेत्रमा करिअर बनाउँदै गरेको उनले कला क्षेत्रलाई पनि उद्योगका रुपमा विकास गर्नुपर्ने बताउँछन् । ‘कलामा लगानी गर्नसके राज्यलाई फाइदै हुन्छ’, उनले भने । रासस