व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि द्विपक्षीय सम्झौता
काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतबार दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन् । त्यसैगरी, डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे । रासस
कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ
खजुरा । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार नेपालगञ्जबाट माउन्टेन उडान सुरु गरिएलगत्तै कैलाश मानसरोवर जानका लागि ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेको र अझै धेरैले यहाँ आउन बुकिङ गराएका छन् । त्यसबाट नेपालगञ्जका अधिकांश ठूला होटल भरिभराउ हुन थालेपछि होटल व्यवसाय पुनःएकपटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै पाँच सय बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगञ्ज आएको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । तीमध्ये तीन सय भारतीय आफ्नो होटल सिद्धार्थ भ्यूमा बसेको जनाउँदै उहाँले ती पर्यटकका कारण होटल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताए । उपाध्यक्ष न्यौपानेले नेपालगञ्जका अन्य होटलमा पनि दुई सय बढी भारतीय पर्यटक पुगेको बताए । सोही प्रकारले करिब तीन सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगञ्ज आएका छन् । माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै उनले पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगञ्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताए । उनका अनुसार नेपालगञ्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबङ्की, आगरा र अयोध्यालगायतका ठूला सहरबाट निकै नजिक रहेकाले भारतीय यहाँबाट माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जानसक्ने भएकाले यसले बाँकेको आर्थिक विकासमा ठूलो टेवा दिने विश्वास लिइएको छ । अझै यो महिनामा धेरै भारतीय पर्यटक नेपालगञ्ज पुग्ने विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताए । रासस
लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । ‘नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ छ । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएका छन्’, उनले भने । नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे । ‘नेपालले पहिचान गरेका र प्रस्ताव गरेका लगानी सम्भावनाबाट हामी सबैले लाभ लिन सक्नुपर्छ । यो सम्मेलनलाई लगानी प्रवद्र्धनका लागि अधिकतम सदुपयोग गर्न र यसलाई रोजगारी सृजना, पूर्वाधार विकास र सामाजिक-आर्थिक प्रगतिसँगै जोड्न सहकार्यका लागि आग्रह गर्दछु’, उनले भने । नेपालको पर्यटन क्षेत्र, सूचना प्रविधि र जलविद्युत् क्षेत्र पनि लगानीका लागि प्रमुख सम्भावना भएको क्षेत्रका रुपमा रहेको उनको भनाइ छ । ‘नेपालको प्राकृतिक सौन्दर्यले यहाँको साहसिक पर्यटनको सम्भावना र सांस्कृतिक पर्यटन विकासका लागि प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना देखाउँछ । जलविद्युत् क्षेत्रलाई नेपालमा लगानीको प्रचुर सम्भावना भएको क्षेत्रका रुपमा बुझ्न सकिन्छ । प्रचुरमात्रामा जलस्रोत र स्वच्छ ऊर्जा उत्पादन गर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै नेपाल लगानीका लागि महत्वपूर्ण क्षेत्र हो’, परिसङ्घ अध्यक्ष अग्रवालले भने, ‘जलविद्युत् पूर्वाधारको विकासमा भएको लगानीले नेपालको ऊर्जा सुरक्षामा मात्र योगदान पुर्याउँदैन, छिमेकी देशहरूमा निर्यातको अवसर पनि प्रदान गर्दछ ।’ नेपाल दक्षिण एशियाली क्षेत्रमा उदीयमान सूचना प्रविधि (आइटी हब)का रूपमा आफूलाई स्थापित गर्ने चरणमा रहेको उनले बताए । नेपालले सूचना प्रविधि क्षेत्रबाट निर्यात गर्नसमेत थालिसकेको अग्रवालले बताए । त्यसैगरी, नेपालमा शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायतका विविध क्षेत्रहरूमा लगानीकर्ताहरूको लागि उपयुक्त सम्भावना छ । शिक्षा क्षेत्रमा, सांस्कृतिक समृद्धि र शान्त वातावरणको सदुपयोग गर्दै नेपाललाई शैक्षिक हबका रूपमा स्थापित गर्ने अवसर रहेको बताउँदै उनले विश्वस्तरीय शैक्षिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू र व्यावसायिक प्रशिक्षण केन्द्रहरूमा लगानीले स्वदेशी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न सक्ने बताए । नेपाललाई मेडिकल हबका रूपमा स्थापित गर्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे । नेपालमा लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत र कानुनी सुधारको प्रयास थालेको पनि अध्यक्ष अग्रवालले बताए । ‘सरकारले विभिन्न कानुन र नियम परिमार्जन गरेर निजी क्षेत्रहरूको अनुरोधलाई सम्बोधन गरेको छ । यी कार्यहरूले देशभित्र लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारको प्रतिबद्धतालाई देखिन्छ’, उनले भने । उद्घाटनसत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विकास साझेदारका रुपमा रहेका विभिन्न क्षेत्रको पारस्परिक साथ र सहयोगले नेपालको आर्थिक विकासको आकाङ्क्षालाई पूरा गर्नसक्ने बताए । ‘हामीसँग लगानीका लागि पर्याप्त सम्भावना छ । तर यो सम्भावनालाई यथार्थमा बदल्न कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । रणनीतिक लगानीको सोच, दीर्घकालीन सहकार्य र प्रतिबद्धता चाहिन्छ’, उनले भने । लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताको उपस्थितिले नेपालको आर्थिक रूपान्तरणका लागि लगानीको वातावरण बन्दै गएको विश्वास लगानी कर्ताले पाउने उनले उल्लेख गरे । नेपाल भारत र चीन जस्ता दूई ठूला देशसँग सजिलो बजार पहुँच भएको देश भएकाले यहाँ उत्पादित वस्तु तथा सेवाका लागि बजार खोज्न समस्या नरहेको बताए ।
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलब १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सम्मानित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’ नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे । ‘नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे । नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेद्भावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।’ नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे । ‘नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।’ नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक-निजी साझेदारी (पीपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए । उनले भने, ‘यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।’ प्रधानमन्त्री प्रचण्डले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए । नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।’ उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय सम्झौताहरू साफ्टा/बिमिस्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे । ‘अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी दुबै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।’ वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।’ सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमनत्री प्रचण्डले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे ।
लगानी सम्मेलनमा स्वास्थ्य क्षेत्रका दुई परियोजना प्रस्तुत गरिने
काठमाडौं । आजदेखि सुरु भएको लगानी सम्मेलनमा स्वास्थ्य क्षेत्रका दुई परियोजना प्रस्तुत हुने भएका छन् । जसमा गौतमबुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी परियोजना रहेका छन् । लगानी बोर्डका अनुसार ‘गौतम बुद्ध इन्टरनेसनल म्याटरनिटी प्रोजेक्ट’ नाम दिइएको उक्त अस्पताल ‘मेडिकल टुरिज्म’ का लगानी प्रस्ताव गर्न लागिएको हो । उक्त अस्पतालमा एन्टरनेटल र नियोनेटल केयर युनिटमा केन्द्रित हुनुका साथै प्राकृतिक विधिबाट गरिने उपचार सेवाका लागि मायादेवी वेलनेस एन्ड मेडिटेसन सेन्टर रहने छ । यस्तै काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेसलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत ११ अर्ब रुपैयाँ छ । एकड क्षेत्रफलमा बनाइने प्रस्ताव गरिएको गौतमबुद्ध प्रसूति अस्पताल पाँच वर्षभित्र निर्माण पूरा हुनेछ । अस्पतालका लागि झन्डै साढे चार अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । धुलिखेल मेडिसिटी परियोजनामा आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना छ । विश्वस्तरीय मेडिकल सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवा लिन मेडिकल टुरिज्म हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । यो अस्पतालबाट मुटु, हाडजोर्नी, न्यूरोलोजी, क्यान्सरसम्बन्धी उपचार, कस्मेटिक सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गरिनेछ ।
सम्मान संस्कारको सुरुवात
पायोनियर सञ्चार माध्यमको काम नविनतम् समाचार सम्प्रेषण गर्ने मात्र नभई सरोकारवालाको कार्यशैलीलाई उत्प्रेरणा जगाउँदै थप परिष्कृृत गर्नु पनि हो । सकारात्मक समाचारको एउटा वाक्यले व्यक्ति वा संस्थालाई समेत ठूलो उत्प्रेरणा मिल्छ भने एउटा पायोनियर सञ्चार माध्यमले सरोकारवाला निकायले गरेको कामलाई प्रशंसास्वरुप सम्मान गरियो भने त्यसले एउटा व्यक्ति वा संस्था मात्र नभई त्यो क्षेत्र र सिंगो देशको अर्थतन्त्रमा पनि सहयोेग पुग्छ, प्रोत्साहन मिल्छ र थप काम गर्न बल पुग्छ । तर, पछिल्लो समय राम्रो गर्नेलाई पनि खोजी-खोजी खेदो खन्ने सोच र अभ्यास समाजमा हावी हुँदै गएको छ । राम्रो काम गरेर समाज र सिंगो देशलाई समेत टेवा पुर्याइरहेका उदाहरण र अभ्यास हाम्रोसामू धेरै छन् । ती कामलाई नजरअन्दाज गर्दै खराब प्रवृति र गलत गतिविधिलाई बढावा दिने परिपाटीले थप स्थान ओगट्दै गएको छ । हो, समाजमा खराब काम पनि भइरहेका छन् । खराबलाई खराब भन्नु र राम्रोलाई राम्रो भनेर थप प्रशंसा गर्दै उत्प्रेरणा जगाउनु एउटा सभ्य व्यक्ति, संस्था र समाजको धर्म हो । एउटा क्षेत्रमा व्यक्ति खराब हुने वित्तिकै त्यो क्षेत्र नै बदनामी हुनु पर्ने वातावरणको सिर्जना हुँदै गएको छ । एउटा नेता वा कलाकार, उद्यमी वा व्यवस्थापक, डाक्टर वा इन्जिनियर, वकिल वा पत्रकार विभिन्न रूपमा आलोचित, बहिस्कृत र तिरस्कृत हुन थालेका छन् । जे नहुनु पर्ने हो, त्यो भइरहेको छ । यो परिपाटीको पर्दाफास गर्नु पत्रकारितका मुल कर्म हो । साथसाथै, समाजमा सकारात्मक सोच प्रवाह गर्नु र असल अभ्यासहरुको तरङ्लाई विस्तार गर्नु पनि आम सञ्चार क्षेत्रको जिम्मेवारी हो । यही जिम्मेवारीबोधसहित आर्थिक जगतमा भइरहेको राम्रा कामहरूको खोजी गर्ने, अर्थतन्त्रमा टेवा पुग्ने गरी व्यावसायिक क्षेत्रबाट राम्रो काम गर्ने संस्था वा नेतृत्वको खोजी तथा पहिचाहन गर्ने र सम्मानित गर्ने अभ्यासमा हामी लागि परेका छौं । यसको सुरुवात वाणिज्य बैंकहरूको कर्म, प्रभाव र नतिजाको विश्लेषणबाट गरेका छौं । अहिले बैंकहरूको खराब कर्जा बढ्दो छ । बैंकहरूको नाफामा उच्च गिरावट आएको छ । लगानी भएको ऋण असुल गर्न समस्या भइरहेको छ । यही समयमा केही अराजक व्यक्ति र समूहले यही बैंकिङ क्षेत्रमाथि हमला गर्ने प्रयास पनि भइरहेको छ । परिणामस्वरुप बैंकबाट लगानी गरेबापत् सेयरधनीले पाउनु पर्ने लाभांश घट्दै गइरहेको छ । बैंकमा काम गर्ने कर्मचारी तनाबमा छन् । निक्षेपकर्ताहरू कतै मेरो पैसा डुब्ने त होइन भन्ने त्रासमा छन् । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकिङ क्षेत्रमाथि यो किसिमको हमला हुनु सिंगो देशका लागि दुभार्ग्य हो । यो परिस्थिति र वातावरणको बिचमा रहेर यो त्रास, तनाब र नैराश्यताको अन्त्य गर्न सकारात्मक योगदानको जरुरी छ । यो बेला सकारात्मक सन्देश प्रवाह गरेर चोट लागेको घाउमा मल्हम लगाउन आवश्यक छ । यस विषयको मनन् गर्दै हामीले वित्तीय क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न खोजेका छौं । राम्रा काम गरिरहेका वित्तीय संस्थाहरूलाई श्रेय दिन खोजेका छौं । देश विकासले वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरूको मूल्यांकन गर्दै बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण गरेको लाभांश दर, गत वर्ष सरकारलाई तिरेको कर रकम, रोजगारी सिर्जना तथा वित्तीय पहुँचमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको खर्च, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित प्रकाशित वार्षिक प्रतिवेदन, विगत तीन वर्षमा वार्षिक साधारणसभाको नियमितता, सुशासनसँग सम्बन्धित भएर नेपाल राष्ट्र बैंकले गरेको कारवाही सम्बन्धि विवरणहरू लगायत १५ वटा सूचकहरूको आधारमा बैंकहरुको रेटिङ गरेको छ । यसरी मूल्याङ्कन गर्दा सकेसम्म तथ्यपरक बनाउने कोसिस गरेका छौं । तथ्याङ्क केलाउँदा अङ्कगणित आधारमा ठूलोलाई राम्रो मानिएको छ । पुँजी लगानी, सम्पत्ति, निक्षेप, सेयरधनीलाई दिएको लाभांश दर, सरकारलाई तिरेको कर, सामाजिक क्षेत्रमा गरेको खर्च जस्ता सूचकमा ठूलो अंकलाई बढी महत्व दिइएको छ । रोजगारी सिर्जनामा गरेको योगदानस्वरुप कर्मचारी संख्या, वित्तीय पहुँच वृद्धिमा गरेको योगदानको आधारमा शाखा संख्या बढी हुनुलाई पनि राम्रो मानेका छौं । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १३ र निक्षेप-कर्जा अनुपात (सीडी रेसियो) ८५ लाई उत्तम बिन्दु मानेका छौं । राष्ट्र बैंकले तोकेको ११ र ९० को आधारमा यस्तो गरिएको हो । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १५ भन्दा बढी हुनु वा सीडी रेसियो ७५ भन्दा कम हुनुलाई व्यावसायिक वित्तीय असन्तुलनको रूपमा चित्रण गरेका छौं । असोज मसान्तभित्रै भएको साधारणसभालाई उत्कृष्ट, पुसभित्र भएको साधारणसभालाई राम्रो,चैत्रभित्र साधारणसभा हुनुलाई औसत, असारभित्र साधारणसभा हुनुलाई कमजोर र हरेक आर्थिक वर्षभित्र साधारणसभा नगर्नेलाई अनियमितको रूपमा मूल्याङकन गरेका छौं । सुशासनको कडीको रूपमा नियामकले गरेका कारवाहीको संख्या र प्रकृतिलाई हेरेका छौं । अनुभवका आधारमा आगामी दिन यसलाई अझ बहुआयामिक बनाउने छौं । आशा छ, यो कार्यले समग्र बैंकिङ क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।