विकासन्युज

एनसेलकी एक्टिङ सीटीओ कंसाकार सम्मानित

काठमाडौं । एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा सो सम्मान प्रदान गरेको हो । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्‍याएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो । इन्जिनियरिङ क्षेत्रमा करियर शुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढी प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुँदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरु अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो । हाजिर जवाफ प्रतियोगितालाई संचालन तथा कर्जा गरि दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखा स्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागि भएकामा सोबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका संचालन तथा कर्जा समूहका २०–२० जना गरि जम्मा ४० जना प्रतियोगीहरुको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागीता रहेको थियो । सो कार्यक्रममा यस बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरु, क्लष्टर/सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुसमेत गरि भौतिक रुपमा तथा अनलाइन रही करीब ३५० भन्दा वढी कर्मचारीहरुले उत्साहजनक रुपमा सहभागी भई प्रतियोगीहरुको हौसला बढाएका थिए । उक्त अन्तिम चरणको हाजिर जवाफ प्रतियोगितामा संचालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त वि.सी. विजयी भएका थिए भने धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उप विजयी भएका थिए । त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लष्टरका चेतन भट्टराई तथा सञ्जु कुमारी श्रेष्ठ विजयी भएकी थिइन् भने विरगंज सव क्लष्टरका लव देव पाठक तथा अरुण ब्लोन उप विजयी भएका थिए । कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद ६० हजार एवं दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४० हजार पुरस्कार सहित प्रमाणत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ बैंकको यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरुमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीहरुमा सिक्ने/पढ्ने बानी बसाली वृत्ती विकासमा बलियो टेवा पुग्ने हूनाले आगामी दिनहरुमा समेत बैंकले यस्ता कार्यक्रमहरु थप गर्दै जाने विश्वास व्यक्त गरे ।

समृद्धि फाइनान्सका ग्राहकलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडका ग्राहकलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा छुट हुने भएको छ । कम्पनिले बिहीबार कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौंसँंग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले शुक्रबारदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्कर राज कार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उनले यसपटक खरबुजा फलाएका छन् । ‘पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ’, उनले भने । वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताए । सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताए । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले बताए । छ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताए । आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताउनुभयो । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताए । ‘यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्’, उनले भने । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उनले बताए । रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन् । कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहेका उनी विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लागेका हुन् । ‘रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ’, उनले भने । रासस

महाराजगञ्जमा खुल्यो ‘सेल्सबेरी सुपरस्टोर’, २०२६ भित्र सय स्टोर बनाउने

  काठमाडौं । सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ सञ्चालनमा ल्याएको छ । बेसमेन्ट पार्किङसहित १६ तला अग्लो यो सुपरस्टोरे कुल ९ रोपनी क्षेत्रफल ओगटेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य लिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । कम्पनी अनुसार सेल्सबेरी सुपरस्टोरको पहिलो चार तलामा बेसमेन्ट पार्किङ, भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहने छ । सुपरस्टोरको १३औं तलामा भ्यु टावर छ जहाँबाट काठमाडौं उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ । त्यसैगरी सेल्सबेरीको अर्को शाखा काठमाडौं कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टरमा आज शुक्रबारबाट नै सञ्चालनमा आएको छ । दुवै शाखा सञ्चालनका अवसरमा कम्पनीले ग्राहकका लागि लक्की ड्रमार्फत इलेक्ट्रिक कार, सेगवे इलेक्ट्रिक स्कुटर लगायत पुरस्कार दिने जनाएको छ । हाल सेल्सबेरी ब्रान्डमा ३२ शाखा सञ्चालनमा छ । कम्पनीले चालू आर्थिक वर्ष अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ शाखा सञ्चालन गर्ने जनाएको छ । ‘हरेक वर्ष सानो, मध्यम र ठूलो गरी १० देखि १५ वटासम्म शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य छ,’ सीईओ प्रधानाङ्‍गले भने, ‘सन् २०२६ सम्म १ सय शाखा विस्तार गरी २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ ।’

सञ्चालनमा आयो सेल्सवेरी टावर, ३६० डीग्रीमा उपत्यका हेर्न मिल्ने, बाह्रौ तल्लामा स्वीमिङ्ग पुल

काठमाडौं । सेल्सवेरीले काठमाडौंको महाराजगञ्जमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सेल्सवेरी टावर सञ्चालनमा ल्याएको छ । सेलवेज क्यास एण्ड क्यारी प्रालिले बैशाख २१ गतेदेखि ग्राहकहरूलाई अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने गरी अत्याधुनिक भवन सञ्चालनमा ल्याएको हो । उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ्ग पुल तथा विविध स्वदेशी, विदेशी खानाका सेवा सहित विश्वस्तरीय रेष्टुरेण्ट, स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरीय सामानहरू उचित मुल्यमा उपलब्ध हुने सेल्सवेरीका प्रबन्ध निर्देशक सुशील प्रधानाङ्गले  बताए । अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ्ग रहेको छ भने भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन रहेको छ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहने छन् । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुने प्रधानाङ्गले  बताए । बाह्रौ तल्लामा स्वीमिङ्ग पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डीग्रीमा दृस्यावलोकन गर्न सकिने सेल्सवेरीका प्रबन्ध निर्देशक सुशील प्रधानाङ्गको भनाइ छ । उक्त अत्याधुनिक भवनमा सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट सपिङ्ग डेस्टीनेशन हुने विश्वास सेल्सवेरीको छ । यसैगरि सेल्सवेरीले आफ्नो अर्को शाखा कालिमाटीस्थित कालिमाटी ट्रेड सेन्टरमा संचालनमा ल्याएको छ । महाराजगञ्जको सेल्सवेरी टावर र कालिमाटी ट्रेड सेन्टरको सुरुवातको उपलक्ष्यमा ग्राहकहरूको लागि लक्कि ड्र स्किममार्फत बम्पर पुरस्कार पनि ल्याएको छ । सेल्सवेरीका अनुसार ईलेक्ट्रिक कार, स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरू लक्कि ड्र स्किम मार्फत जित्न सकिने छ । आर्थिक वर्षको अन्त्यमा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखा संचालन गर्न लक्ष्य कम्पनीको रहेको छ । हरेक वर्ष सानो, मध्यम तथा ठुलो गरी १०/१५ वटा शाखा संचालन विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रूपमा संचालित सेलवेज ग्रुपले सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । सन् २०२६ सम्म १ सय वटा शाखा विस्तार गरी २ हजारलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्पनीले बताएको छ ।  

पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर ३० प्रतिशतले बढ्यो

काठमाडौं । सन् २०२२–२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । सरकारी अनुदानमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआईसी) ले राष्ट्रिय हत्या अनुगमन कार्यक्रमको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । सन् २०२३ को जुन महिनाको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा २४७ जना हत्याको शिकार भएका थिए । जसमध्ये ७५ जना महिला थिए । ७५ महिलाहरूमध्ये ३४ वा ४५.३ प्रतिशत वर्तमान वा भूतपूर्व पुरुष घनिष्ठ साथीद्वारा मारिएका थिए । जुन अघिल्लो १२ महिनामा २६ भन्दा बढी थियो । २०२२–२३ मा पुरुषहरूद्वारा कुल ६० महिलाको हत्या भएको थियो । प्रतिवेदनले २०२१–२२ मा प्रति १० लाख व्यक्तिमा ०.२५ हत्या भएकोमा महिला पीडित संलग्न घनिष्ठ साझेदार हत्याको दर २८ प्रतिशतले बढेर २०२२–२३ मा ०.३२ पुगेको देखाएको छ । हजारौं अस्ट्रेलियालीहरू लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशभर बिरोध प्रदर्शनमा सामेल भएपछि यो प्रतिवेदन प्रकाशित भएको हो । एड्भोकेसी ग्रुप डिस्ट्रो द जोइन्टका अनुसार २०२४ मा अस्ट्रेलियामा अहिलेसम्म २७ जना महिलाको हिंसात्मक मृत्यु भएको छ । जसले प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई महिला बिरुद्धको हिंसालाई राष्ट्रिय संकट घोषणा गर्न प्रेरित गरेको छ ।

हराएका शताब्दीऔं पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले संकलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौं, सत्रौं र अठारौं शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् । ‘हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ,’ दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने । मूर्ति लिन उनलाई हवाइ पठाइएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उनले बताए । नेपाल-अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । । यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।