एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयमा पुस्तकालय भवन हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरु निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरुलाई उक्त पुस्तकालय हस्तान्तरण गरिसकेको छ । त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरु निर्माण कार्य भइरहेको, साथै, बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रकृया अगाडि बढिसकेको छ । बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सिटिजन लाइफले सेयर धनीलाई २८.४ प्रतिशत लाभांश दिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर प्रिमियम रकमबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ। इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्नका लागि उक्त लाभांश वितरण गर्न लागेको बताएको छ ।
चोरले एक तोला सुन निलेपछि…
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो । तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो’, सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो । गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए । रासस
१० करोड रुपैयाँ क्षतिपूर्तिको मुद्दामा समाचारको स्रोत खुलाउन दबाब
समाचार लेख्दा बेला बखत विवादमा परिन्छ । कतिपय सन्दर्भमा पत्रकारका पनि गल्ती तथा कमजोरी हुन्छन् । धेरै सन्दर्भमा समाचारको विषयमा जोडिएका पात्रहरु आक्रोशित हुँदा ती पात्रहरु पत्रकार तथा सम्पादकमाथि जाइलाग्दा विवाद उत्पन्न हुन्छ । यसरी उत्पन्न विवादहरु मध्ये धेरै जसो विवाद समाजमा हुने अन्य विवाद जस्तै समय बित्दै जाँदा साम्य हुँदै जान्छन् । कतिपय विवाद अदालतसम्म पुग्छन् । अदालतबाट अधिकांश पत्रकारले सफाइ पाएका हुन्छन्, केही मुद्दामा पत्रकार दोषी ठहरिएका नजिरहरु पनि छन् । २०७५ असोजमा एक दम्पत्तीको सम्बन्ध विच्छेद र सम्पत्ति विवादबारे समाचार देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित भयो । सम्बन्ध विच्छेद र सम्पत्ति मागसहित अदालत पुगेकी ती महिला प्रकाशन गृह विकास मिडिया प्रालिका अध्यक्ष तथा देशविकास पत्रिकाका सम्पादक रामकृष्ण पौडेल र विकासन्युजका तत्कालीन सम्पादक बाबुराम खड्काविरुद्ध मुद्दा हालिन् । मुलतः मानहानिको विषय मुद्दामा उठाइएको थियो । साथै, १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो । विवाद नरुचाउने पात्रको हिसाबले मैले मुद्दा फिर्ता लिन ती महिला र उनका वकिललाई अनुरोध गरेँ । झगडिया पक्षले प्रकाशित समाचार अनलाइनबाट हटाउन, माफी माग्न र समाचारको स्रोत खुलाउन सर्त राख्यो । सम्बन्ध विच्छेद र अंशवण्डाको मुद्दा अदालतमा परेकोले सार्वजनिक र समाचारको विषय भएको बनेको थियो । अदालतमा दुबै पक्षले पेश गरेको लिखित दावीहरुको प्रतिलिपि हामीसँग थियो । समाचार गल्ती नभएकोले माफी माग्ने पनि सकिएन । समाचार हटाउने त कुरै भएन । समाचार स्रोत खुलाउने विषयमा पनि म असहमत भएँ । मुद्दा हाल्ने महिला पक्षको वकिल वरिष्ठ अधिवक्ता थिए । उनले विषय राम्ररी बुझेका थिए । वकिलले आफ्ना ग्राहक (ती महिला) मञ्जुर भएमा मुद्दा फिर्ता लिन सकिने जनाऊँ त दिए । तर, महिलाले अन्तिममा एउटा सर्त राखिन् र भनिन्-‘समाचार कसले दियो, स्रोत खुलाएमा मुद्दा फिर्ता लिन्छु ।’ तीन जना एउटा टेबुलमा बसेर समझदारीको प्रयास गर्दै थियौं । स्रोत खुलाउनै पर्ने सर्तमा उनी अडिक रहिन् । मैले स्रोत खुलाउन मानिनँ । ‘पत्रकारलाई समाचारको स्रोत खुलाउन अदालतले पनि बाध्य पार्दैन । जुनदिन पत्रकारले समाचार स्रोत खोल्छ, त्यो दिनदेखि ऊ पत्रकार रहँदैन । बरु मुद्दाको सामना गर्छु, स्रोत खुलाउँदिनँ,’ मैले अडान छोडिनँ । ती वरिष्ठ अधिवक्ताले आफ्नो ग्राहकलाई सम्झाउँदै भने, ‘रामकृष्णजीले जे भन्नुभयो, त्यो सही छ । स्रोत खुलाउनुहोस् भनेर म पनि उहाँलाई दबाब दिने पक्षमा छैन ।’ वकिलले यसो भनेपछि ती महिला केही नरम भइन् । उनले समाचार खण्डन गर्न माग गरिन् । ‘खण्डनमा के छाप्ने ? तपाई लेखेर पठाउनुहोस्, त्यसलाई म जस्ताको तस्तै छाप्छु’ मैले सहमति दिएँ । अन्तिममा उनले खण्डन पठाइनन् । मुद्दा फिर्ता लिइन् । अन्तिममा समझदारीको बाटो रोजेको र मुद्दा फिर्ता लिएकोमा ती महिला र उनका वकिललाई अहिले पनि म धन्यवाद भन्न चाहन्छु । किनकी मैले अदालतमा अनावश्यक समय व्यतित गर्नु परेन । समाचारको बचाउ गर्दै न्यायको प्रक्रियामा समय र पैसा बर्बाद गर्नु परेन । तर, सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविल ढुंगानाले समाचारको स्रोत अदालतमा खोलेपछि र सूचना दिने राजकुमार तिमिल्सिना प्रहरी खोरमा परेपछि यो संस्मरण लेख्न र प्रकाशन गर्न सान्दर्भिक रह्यो । सिधाकुरालाई प्रकाशित सामाग्री हटाउन बाध्य पारिएका सबै प्रक्रिया र निणर्यप्रति स्वतन्त्र पत्रकारिता पक्षधर सबै दुःखी भएका छन् । तर, समाचार स्रोतलाई खोलेर सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकले जे गरे, त्यसले खोज पत्रकारितामा भयङकर र दीर्घकालीन प्रभाव पुर्याएको छ । समाचारको स्रोत खोल्न सकिँदैन भन्ने अन्तर्राष्ट्रिय अभ्यास हामीसामू धेरै छन् । पत्रकार आचारसंहिता २०७३ को दफा ८ ले पनि समाचारको स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । अहिलेसम्मका विभिन्न सार्वजनिक काण्डहरूमा स्रोत खेलाइएको छैन । बरु सञ्चार माध्यमको सम्पादकले राजीनामा दिएका छन्, स्रोत कमजोर भएर वा साे स्रोतको पूर्ण विश्ववास गर्दै जरिवानाको भागेदार भएका छन्। तर, उनीहरूले स्रोतको संरक्षण गरेका छन् । बरु आफू फसेका छन् तर स्रोतलाई बचाएका छन् । स्रोतको खुलाउनु भनेको खोज पत्रकारिता कमजोर बन्दै जानु हो । एउटा सञ्चार माध्यमको समाचारको ‘स्ट्रेन्थ’ नै स्रोत हो । सञ्चार माध्यमको प्रभावसमेत स्रोतको संरक्षणसँग सम्बन्धित छ । जब स्रोत किटान गर्दै हिँडिन्छ भने खोज पत्रकारिताको अस्तित्व कहाँ बाँकी रह्यो र।
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
गोरखा । भूकम्पले क्षति पुर्याएको गोरखाको शहीद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजार रुपैयाँको लागतमा उक्त मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरूपमा क्षति भएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो । मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एमबी एण्ड सन्स कन्स्ट्रक्सन’ सँग ठेक्का सम्झौता गरेको थियो । ‘पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूल मन्दिरको साविकको स्वरूप नै कायम रहने गरी जीर्णोद्धारको काम सकिएको छ, त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफँ गरिरहेको छ’, संयोजक खनालले भने । अर्लाङ्दी मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ । ‘पुरातत्व विभागले गर्ने काम सबै सकिएको छ, मन्दिर बाहिर पहिरोले क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका काम धमाधम संरक्षण समितिले गर्दैछ’, उनले भने । संरक्षण समितिले चन्दा संकलन गरी मन्दिरको संरक्षणका साथै बाटो र धारा निर्माणको काम गरिरहेको छ । मन्दिर जीर्णोद्धार सम्पन्न भएसँगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गरे ।
मेची बगरमा खरबुजा खेती, ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य
झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पुर्याइरहेका छौँ,’ खनालले भने, ‘पहिलो पटक खेती गरेका हौं राम्रो उत्पादन भयो ।’ कृषिमा लागिरहेका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गरेका हुन् । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उनीहरूले सुरु गरेको बगर खेतीमा ३ सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ । चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् । व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् । खरबुजा बेचेर ८० लाख रुपैयाँदेखि ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य फार्म सञ्चालक खनालको छ । दैनिक चारदेखि आठ टनसम्म खरबुजा बिक्री भइरहेको उनले जानकारी दिए । उनले भारतबाट सस्तो र कमसल खरबुजा भित्रिएका कारण बजारमा चुनौती थपिएको बताए । खरबुजामा नेपाल आत्मनिर्भर भएको दाबी गर्दै उनले भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नुपर्ने माग गरे । कनकाई–५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिघा जग्गा भाडामा लिएर खरबुजा खेती गरेका छन् । उनले बगरखेतीमा खरबुजा लगाएको १५ वर्ष भइसकेको छ । ‘गाडीमा डुलाएर बेच्ने व्यापारीले खरबुजा लैजाने गरेका छन्,’ मण्डलले भने, ‘तीन बिघामा खरबुजा लगाउन १२ लाख लगानी गरेको छु ।’ खरबुजा बेच्न आफैले उर्लाबारीसम्म गाडी पठाउने गरेको उनले बताए । फुलुले खरबुजाबाट आम्दानी गरेको देखेर धीरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डललेसमेत कनकाईमा खरबुजाको बगरखेती लगाएका छन् । बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ । मेचीनगर–९ का डिल्ली उप्रेतीले एक दशकअघि व्यावसायिक खरबुजा खेतीको प्रवर्द्धन गरेका थिए । विर्तामोडको बट्टाबारीमा उनको खरबुजा खेती छ । उनले खेतमा खरबुजा फलाउन सकिन्छ भनेर प्रमाणित गरेपछि धेरैले खरबुजा खेतीमा लगानी बढाएका हुन् । त्यसअघि भद्रपुरको मेची बगरमा नेपाली र भारतीय किसानले यसको खेती गर्थे । नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुन्थ्यो । अहिले भारतबाट आयात नगरे पनि स्थानीय खरबुजाले बजारको माग धान्नसक्ने अवस्था भइसकेको व्यावसायिक किसान हरि नेपाल बताउँछन् । ‘स्वाद र गुणस्तरका हिसाबले हेर्ने हो भने नेपाली उत्पादन अर्गानिक हुन्छ,’ उनले भने, ‘भारतबाट आउने खरबुजा सस्तो र कमसल हुन्छ ।’ भारतमा सरकारले कृषिका लागि बीउ, मल र सिँचाइमा प्रशस्त अनुदान दिने भएकाले लागत कम परेका कारण सस्तो भएको हो । बजारमा खरबुजाको प्रति केजी मूल्य ४५ देखि ६० रुपैयाँसम्म छ । भाटभटेनी र सुपर मार्केटको बिक्री स्टलमा पनि स्थानीय खरबुजा पाइन थालेको छ । मेची बगरमा फलेको खरबुजा काठमाडौंका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनालले बताए । झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् ।
विश्वभरिका केन्द्रीय बैंकहरूले सुनको भण्डार किन बढाइरहेका छन् ?
काठमाडौं । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित मानिन्छ । सुनमा लगानी गर्नेमा सर्वसाधारणदेखि राज्यसम्म पर्छन् । मार्चमा भारतीय रिजर्भ बैंक (आरबीआई) ले करिब ५ टन सुन किन्यो । भारतमा मात्रै होइन, विश्वभरिका केन्द्रीय बैंकहरूले सुन खरिद बढाएका छन् । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार टर्कीको केन्द्रीय बैंकले मार्चमा सबैभन्दा बढी १४ टन सुन खरिद गरेको थियो । यसबाहेक चीनको केन्द्रीय बैंकले पनि ५ टन सुन खरिद गरेको छ । अन्य ठूला खरिदकर्ताहरू काजकिस्तान र सिंगापुर हुन्, जसल ४९४ टन सुन किनेका थिए । यसबाहेक रुसले मार्चमा ३ टन सुन खरिद गरेको छ । विश्व अर्थतन्त्रमा युद्ध र अनिश्चितताका कारण केन्द्रीय बैंकको सुनमाथिको विश्वास बढ्दै गएको छ । बजार अस्थिरता र मुद्रास्फीतिको दबाब सामना गर्न सुनको भण्डार विशेष गरी महत्त्वपूर्ण छ । काउन्सिलको सुनको माग प्रवृति प्रतिवेदन अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा विश्वव्यापी सुनको माग वार्षिक आधारमा ३ प्रतिशतले बढेको छ । शीर्षमा आरबीआईको सुन भण्डार आरबीआईको सुन भण्डार ८ सय टनभन्दा माथिको अहिलेसम्मकै शीर्षमा छ । यो वर्ष आरबीआईले कुल १८.५ टन सुन खरिद गरेको छ । अप्रिल सुरुमा रिजर्भ बैंकसँग ८ सय २२ टन सुन भण्डार थियो । एजेन्सी
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको ५ हजार १ सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्यांकी भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए । उनले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताए । डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ । राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी २ सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए । डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो । आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ । शम्शेरगञ्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गरे । बाँकेमा एक सय पाँच आगलागीका घटना बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन् । विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो । ती आगलागीका घटनामा एक सय चार पशु चौपाया मरेका छन् । आगलागीका घटनाबाट १ करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ । जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगञ्जमा आगलागीका घटना भएका हुन् ।