विकासन्युज

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ‘समूह क’ का केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक हाल विद्यमान संस्थापक सेयरधनीहरूले जेष्ठ २७ गतेभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ । साथै, तोकएको समयावधिभित्र संस्थापकहरूबाट सेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

बैंक, बीमा, सेयर बजार खुला रहने, संघीय अड्डामा हुँदैन प्रदेश बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमतीमा सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारहरूले सार्वजनिक बिदा दिँदा संघीय सरकार मातहतका कार्यालयहरू के हुन्छन् भन्ने विषयमा सर्वसाधारणमा अन्यौलता हुने गरेको छ । विशेषगरी अत्यावश्यक क्षेत्रका रूपमा सञ्चालन हुँदै आएका बैंक तथा वित्तीय संस्था प्रदेश सरकारहरूले बिदा दिँदा बन्द हुन्छन् कि खुला रहन्छन् भन्ने विषयमा सर्वसाधारणमा दुविधा हुने गरेको हो । गृह मन्त्रालयका अनुसार प्रदेश सरकारहरूले घोषणा गरेका बिदाहरू संघीय सरकार मातहतका कार्यालयमा लागु हुँदैनन् । तर, प्रदेश सरकारले वर्षभरि दिने बिदाहरूमध्ये ६ वटा सार्वजनिक बिदालाई संघीय कार्यालयहरूमा लागु गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिथितीसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय सरकारका कार्यालयमा समेत सार्वजनिक बिदा हुनेछ, तर प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागु हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुनेछ,’ सरकारी तथा सार्वजनिक बिदा विवरणमा उल्लेख छ । प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागु हुने गरी घोषणा गरेका सार्वजनिक बिदा वर्षको सुरुमै प्रदेश राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । साथै, प्रदेशस्थित संङीय सरकारका कार्यालयमासमेत सार्वजनिक बिदा हुने ६ दिनहरू कुन-कुन हुने भन्ने सम्बन्धमा प्रदेश राजधानी रहेका जिल्ला प्रशासन कार्यालय संयमले एकीन गरी अग्रीमरूपमा गृह मन्त्रलायमा सार्वजनिक बिदाका लागि अनुरोध गरी पठाउनुपर्ने व्यवस्था रहेको प्रवक्ता भट्टराईको भनाइ छ । प्रदेश सरकारको आग्रहमा गृह मन्त्रालयले सम्बन्धित प्रदेशमा वर्षभरि ६ दिनसम्म संघीय कार्यालयमा बिदा दिने उनले बताए । तर, आजको बिदामा भने गृह मन्त्रालयमा जानकारी नआएकाले संघीय सरकार मातहतका कार्यालय खुला रहने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य संघीय सरकारअन्तर्गत पर्ने भएकाले प्रदेश सरकारको बिदामा राष्ट्र बैंक बन्द नहुने बताउँछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरू व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने भएकाले प्रदेश बिदामा बन्द हुँदैनन् । ‘बैंक तथा वित्तीय संस्था व्यवसाय गर्ने प्रयोजनका लागि सञ्चालन हुन्छन्, सरकारी कार्यालय जस्तो बैंकहरू होइनन्, कुनै–कुनै शाखा कार्यालय बन्द गर्न सक्छन्, तर सबै कार्यालय बन्द हुँदैनन्,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण मात्रै गर्ने हो, तर शाखा सञ्चालनमा संस्थाहरू स्वायत्त हुन्छन् ।’ उनका अनुसार प्रदेश अन्तर्गत तोकिएका शाखा कार्यालयहरू प्रदेश सरकारले दिएको बिदामा बन्द हुन्छन् भने संघीय अन्तर्गतका कार्यालय बन्द हुँदैनन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरूले आफ्नै हिसाबले बिदा दिने गरेको बताउँछन् । बीमा प्राधिकरणले बीमासम्बन्धी क्यालेण्डर प्रयोग गर्न निर्देशन दिएको भए पनि प्रदेश बिदासम्बन्धी निर्णय स्वयम बीमा कम्पनीले गर्ने गरेको उनको भनाइ छ । ‘प्राधिकरणले संघ सरकारका बिदा मात्रै लागु गर्छ । किनभने प्राधिकरण संघीय सरकार मातहतको कार्यालन हो,’ उनले भने । प्रदेशमा बिदा भए पनि सेयर बजारमा भने खुला रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार सेयर बजार संघीय सरकारले गरेको निर्णयले मात्रै बन्द हुन्छ । प्रदेश सरकारको बिदाले नेप्से कारोबार बन्द नहुने उनको भनाइ छ । प्रदेश सरकारले सार्वजनिक बिदा गरे पनि निजी क्षेत्रबाट सञ्चालित स्कुल, कलेज, अस्पताल, उद्योग, कारखाना नियमितरूपमा सञ्चालन हुनेछन् । त्यस्तै, निर्माण, सार्वजनिक यातायात, सञ्चार, स्टेशनरी, औषधी पसल, डेरी, कृषिमा आधारित सबै व्यवसाय, खुद्रा व्यापार, होटल, रेष्टुरेन्टलगायत क्षेत्रमा संघीय, प्रदेश वा पालिका स्तरको बिदामा कुनै प्रभाव देखिँदैन ।

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । चार दिनअघि घटेको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर कुखुरापालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । देशभरि अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको संघले जनाएको छ । नयाँ मूल्यअनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ । यसअघि वैशाख २० गते मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ निर्धारण गरेको संघले जनाएको थियो । मूल्य घटाएको चार दिनमै संघले फेरि मूल्य बढाएको हो ।

मिचाहा झारले ढाकिँदै विश्व रामसार सूचीमा रहेको घोडाघोडी ताल

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) का रूपमा परिचित घोडाघोडीतालको उत्तर क्षेत्र र पूर्वी क्षेत्र बेसरम झारले ढाकेको हो । घोडाघोडी तालको सात दशमलव पाँच हेक्टर क्षेत्रफल मिचाह प्रजाति बेसरमले ढाकेको पक्षी संरक्षण संघका सकजकर्ता हिरुलाल डगौराले जानकारी दिए । यसैबीच, उक्त मिचाहा प्रजाति तालको केही भागमा हटाइएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर मिचाहा प्रजाति बेसरम झार हटाएको डिभिजन वनकार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए । ‘हाल तीन लाख बजेट विनियोजन गरी मिचाहा प्रजाति हटाएका छौं,’ अधिकृत ठाकुरले भने, ‘ताल ढाकिएको सम्पूर्ण क्षेत्रमा हटाउनका लागि बजेट अपुग छ ।’ उनका अनुसार यो सुरुआती चरण हो । हाललाई दुई दशमवलव पाँच हेक्टर क्षेत्रफलमा सफाइ गरिएको छ । आगामी दिनमा स्थानीय तह, सुरक्षा निकाय र संरक्षणमा सक्रिय संघसंस्थाहरूले मिचाह प्रजाति नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । यसअघि मिचाह प्रजाति हटाउने कार्य सिमसार संरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलालीले गरेका थिए । पछि बजेट अभावका कारण नियमित गर्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए । उनले भने, ‘बेसरम झार सफाइ गरिएन भने सो क्षेत्र घाँसेमैदानका रूपमा परिणत हुुन जान्छ । हामीले सफाइ सुरु गरेका थियौँ तर बजेटका कारण नियमित गर्न सकेनौं । सात वर्षपछि डिभिजन वन कार्यालय पहलमानपुरले सफाइ सुुरु गरेको छ । यो निकै राम्रो हो ।’ घोडाघोडी ताल सफाइका लागि सिमसार क्षेत्रमा आश्रित १७ जना स्थानीय खटाइएको थियो । घोडाघोडी तालसँगै यसका २३ वटा सहायक ताल पनि संकटमा पर्दै गएका छन् ।

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

नयाँ दिल्ली । भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिएकी छन् । भारतको वित्तीय राजधानी मुम्बईमा अफगान महावाणिज्य दूत जाकिया वारदाकले राजीनामा घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोस्ट गरेकी छन् । पश्चिमी समर्थित सरकारको पतनसँगै काबुलमा तालिबान सत्तामा फर्केको दुई वर्षभन्दा बढी समयपछि नयाँदिल्लीमा अफगानिस्तानको दूतावास नोभेम्बरमा बन्द भएकाले वारदाक भारतमा मुलुकको सबैभन्दा वरिष्ठ प्रतिनिधि बनिन् । ‘धेरै दुःखका साथ मैले भारतमा वाणिज्य दूतावास र दूतावासमा मेरो भूमिकाबाट अलग हुने फैसलाको घोषणा गरेकी छु, यो सन् २०२४ मे ५ देखि लागु हुनेछ,’ वारदाकले शनिबार भनिन् । भारतीय सञ्चारमाध्यमका अनुसार वारदाकलाई गत महिना उनको छोरासहित २५ किलोग्राम सुन बोकेर दुबईबाट आउँदा मुम्बई विमानस्थलमा वित्तीय गुप्तचर अधिकारीहरूले रोकेका थिए । कूटनीतिक उन्मुक्तिका कारण उनलाई पक्राउ नगरिएको तर करिब १९ लाख डलर मूल्यको सुन जफत गरिएको समाचारमा उल्लेख छ । वारदाकको राजीनामाले हजारौँ अफगान नागरिक, विद्यार्थी र व्यापारीलाई भारतमा कुनै पनि कन्सुलर प्रतिनिधिबिना छाडेको छ । भारतसहित अधिकांश विदेशी मुलुकले आधिकारिकरूपमा अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिँदैनन् तर उनीहरूलाई वास्तविक शासकका रूपमा स्वीकार गर्छन् । धेरै अफगान नियोगहरूमा पूर्वसरकारले नियुक्त गरेका कूटनीतिज्ञहरूले दूतावास भवन र सम्पत्तिहरू तालिबान अधिकारीका प्रतिनिधिहरूलाई सुम्पन अस्वीकार गरेका छन् । वारदाकले गत वर्ष ‘धेरै व्यक्तिगत आक्रमण र मानहानिको सामना गर्नुपरेको’ विज्ञप्तिमा बताएकी छन् । सुनको आरोपलाई स्पष्टरूपमा उल्लेख नगरी उनले भनिन्, ‘यस्ता घटनाहरूले अफगान समाजमा महिलाहरूले सामना गर्ने चुनौतीहरू देखाएको छ ।’ पाकिस्तान, चीन, टर्कीए र इरानसहित विदेशमा रहेका करिब एक दर्जन अफगान दूतावासमा तालिबान अधिकारीहरूले पूर्ण नियन्त्रण राखेका छन् । अन्यले हाइब्रिड प्रणालीमा काम गर्छन् । राजदूत गए पनि दूतावासका कर्मचारीहरूले अहिले पनि भिसा र अन्य दस्तावेज जारी गर्नेजस्ता नियमित कन्सुलर काम गरिरहेका छन् । सन् २०२१ मा तालिबानले अफगान राजधानी बन्द गरेपछि अधिकांश मुलुकले काबुलमा आफ्नो मिसन खाली गरेका छन् । यद्यपि, पाकिस्तान, चीन र रुससहित केही दूतावास कहिल्यै बन्द भएका छैनन् र अहिले पनि काबुलमा उनीहरूका राजदूत छन् । एजेन्सी

७ वर्षसम्म सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो । समयमै निर्माण पूरा गर्न संघ, प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधिको आग्रह र निर्देशनलाई निर्माण व्यवसायीले बेवास्ता गरेपछि आज ठेक्का रद्द गरिएको हो । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक-पटकको आग्रह र निर्देशनलाई बेवास्ता गरेपछि ठेक्का तोडिएको बताए । कार्यालयले छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का आह्वान गर्ने बताए । आर्थिक वर्ष २०७३/७४को तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको आयोजनाको अहिलेसम्म ५० प्रतिशत मात्र सकिएको छ । उक्त आयोजना ५३ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का लागेको हो । सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई पटक-पटक ठेक्का तोड्ने चेतावनी दिँदै समयमा काम सक्न अनुरोध गरे पनि निर्माण व्यवसायी सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको बताए । ठेक्का सम्झौताका सर्तबमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको डिभिजन प्रमुख लामाले बताए । निर्माणाधीन सडक अलपत्र हुँदा बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।

भोलि सार्वजनिक बिदा, प्रदेश बिदामा के हुन्छ सेयर बजार ?

काठमाडौं।  बागमती प्रदेश सरकारले भोलि सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णयअनुसार बिदा दिने भएको हो । बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बाग्मती प्रदेशमा बिदा भए पनि सेयर बजारमा भने खुला रहने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीले  सेयर बजार संघीय सरकारले गरेकाे निर्णयले मात्रै बन्द हुने बताए । ‘भोलि नेप्से खुल्ला नै रहन्छ,’ उनी भन्छन्, ‘प्रदेश सरकारको बिदाले नेप्से कारोबार बन्द हुँदैन।’

खानी उत्खननले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरूको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन् । नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बि ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक (वेल) ड्रिलिङ कार्यको समुद्घाटन कार्यक्रममा आज उनले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक-आर्थिक परिदृश्यलाई रुपान्तरण गर्ने र भावी पुस्तालाई सशक्तिकरण गर्ने बताएको उनको सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले भने, ‘पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरू पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरूको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने संकल्पमा हामी अडिग छौँ, यस काममा नेपाल र चीनबीचको साझेदारीले सीमाना र विविधताभन्दा माथि उठेर मित्रता र सहकार्यको भावनालाई उजागर गर्दै पारस्पारिक समृद्धि र प्रगतिका लागि हाम्रो साझा प्रतिबद्धतालाई प्रमाणित गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।’ उनले जमिनमुनि रहेको प्राकृतिक स्रोतको सफल उत्खननले राष्ट्रको समृद्धिको रेखा कोर्ने बताए । उनले भने, ‘यी स्रोतहरूको अन्वेषणले हाम्रो उर्जा सुरक्षालाई बलियो बनाउने मात्र होइन आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि अभूतपूर्व अवसरहरू पनि प्रस्तुत गर्नेछ ।’ मन्त्री भण्डारीले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्वखोज तथा अनुसन्धानले देखाएको बताए । उनले भने, ‘अहिलेको यस परियोजनामार्फत पनि गरिएका सर्फेस जियोलोजिकल, सेस्मिक तथा म्यग्रेटोटेलुरिक सर्वे तथा टोटल अर्गानिक कार्बनको परीक्षणबाट आएका नतिजाहरुले यसलाई थप पुष्टि गरेको मैले जानकारी पाएको छु, आज थालनी हुन लागेको यस ड्रिलिङले पेट्रोलियम पदार्थको एउटा असल भण्डार फेला पर्न सकोस भन्ने कामनासमेत गर्दछु ।’ यस्तै उनले नेपालका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योगको प्रवर्द्धन गर्न सरकार अग्रसर रहेको बताए । उनले आन्तरिक तथा बाह्य लगानीकर्ताका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताए । उद्योग, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।