विकासन्युज

इन्फोसिसले यसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री दम्पतीको सम्पत्ति

काठमाडौं । इन्फोसिसका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलो पटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको सन् २०२४ संस्करणमा उनीहरू अझ माथि पुगेका छन् । उनीहरूको वरीयता उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र अक्षता दुवै ४४ वर्षका छन् । यो जोडी गत वर्ष ६५ करोड १० लाख पाउन्डको अनुमानित सम्पत्तिका साथ सूचीको २७५औं स्थानमा थियो । अब यो सूची २४५औं स्थानमा उक्लिएको छ । योसँगै उनीहरू बेलायती प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ लाई आफ्नो घर भन्ने सबैभन्दा धनी व्यक्ति बनेका छन् । अक्षता इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी हुन् । पतिभन्दा धेरै कमाउँछिन् अक्षता अक्षता मूर्तिले पति सुनकभन्दा धेरै कमाउने बताइन्छ । कारण फेब्रुअरीमा प्रकाशित वित्तीय विवरणलाई उद्धृत गर्दै २०२२–२३ मा सुनकले २ करोड २० लाख पाउन्ड कमाउने बताइएको थियो । जबकि, गत वर्ष मूर्तिले अनुमानित १ करोड ३० लाख पाउन्ड लाभांश कमाएकी थिइन् । अखबारको विश्लेषणअनुसार दम्पतीको सबैभन्दा मूल्यवान सम्पत्ति मूर्तिको बुबा नारायण मूर्तिद्वारा सहस्थापित बेंगलुरुमा रहेको आईटी कम्पनी इन्फोसिसमा मूर्तिको सेयर हो। टपमा हिन्दुजा परिवार बेलायतको धनी परिवारको वार्षिक संकलनमा भारतीय मूलको हिन्दुजा परिवारलाई फेरि शीर्ष स्थानमा राखिएको छ । सेन्ट्रल लन्डनमा आफ्नो ब्राण्डको नयाँ लक्जरी ओओओओ होटल खोलिएपछि उनले गत वर्ष आफ्नो सम्पत्ति ३७ अर्ब १ करोड ९६ लाख पाउन्ड कमाएका थिए । एजेन्सी

कोरियाबाट फर्केर माछापालनमा रमाउँदै बागलुङका लक्ष्मण

गलकोट । बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङ बजार बस्दै आएका काठेखोला गाउँपालिका-८ लेखानीका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन् । ‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ, कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ,’ उनले भने, ‘कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।’ पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोबर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ । ५० लाख रूपैयाँ लगानी गरेकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए । उनले छोरा अमृतलाई समेत माछापालनमा लगाएका छन् । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन् । ‘कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु,’ उनले भने। चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक एक लाख ५० हजार रूपैयाँ भाडा तिर्नुपर्छ। उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएका छन् । पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए । तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२–१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा ५र६ लाखमै सीमित हुने उनको भनाइ छ । रासस

अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ। अध्यागमन विभागका महानिर्देशकले आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिनसक्ने गरी पहिलो पटक मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो । शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रत्यायोजित अधिकारबाट निर्णय प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउनाका साथै विभागलाई थप जिम्मेवार बनाउने विश्वास लिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अध्यागमन ऐन २०४९ तथा सोको नियमावली २०५१ र कार्यविधि २०६५ ले व्यवस्था गरेबमोजिम मन्त्रालय (सीमा तथा अध्यागमन शाखा) बाट सम्पादन भइरहेका कार्यहरुमध्ये फाइल पेस भइ मन्त्रालयबाट विभिन्न तह हुँदै निर्णय हुने झन्झटिलो प्रक्रियाले काममा ढिलासुस्ती र अनावश्यक प्रक्रियाको अवलम्बन हुने भएकाले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागका महानिर्देशकबाटै टुंगिने गरी अधिकार प्रत्यायोजन गरिएको छ । महानिर्देशकले गृहमन्त्रीस्तरबाट २०६६ असोज १६ मा निर्णय भएबमोजिम ११ निषेधित देश (इराक, प्यालेष्टाइन, अफगानिस्तान, इथियोपिया, लाइबेरिया, सोमालिया, नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड र क्यामरुन) बाट नेपाल आउने नागरिकलाई प्रचलित कानूनबमोजिम आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा) जारी गर्न सक्नेछन्। अध्यागमन नियमावली २०५१ को नियम १० (क) को कार्यका लागि अध्यागमन नियमावली २०५१ को नियम १२ को उपनियम ९१० को खण्ड ९झ० बमोजिमका विषयमा अध्ययन भिसा जारी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो। अध्यागमन नियमावली २०५१ को नियम ३१ को खण्ड (ग) सँगको सम्बन्धित भिसा दस्तुर छुट दिन सकिने छ भने विदेशी नागरिकलाई कार्य सहमति प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७७ बमोजिम कार्य सहमति प्रदान गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ । प्रत्यायोजन भएका विषयको कार्य फछ्र्यौट प्रतिवेदन साप्ताहिकरमासिक रुपमा मन्त्रालयमा पेस गर्ने गरी गरिएको अधिकार प्रत्यायोजनले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउने गृह सचिव एकनारायण अर्यालले बताए । उनले भने, ‘सेवा प्रवाहलाई जतिसक्दो कम झन्झटिलो र चाँडो बनाउने मुख्य उद्देश्य हो, जति धेरै तह भयो त्यति नै धेरै समय र जनशक्ति लाग्ने भएकाले महानिर्देशकबाटै टुंगिने विषयलाई मन्त्रालयसम्म किन पुर्‍याइराख्नु भनेर प्रक्रिया नै छोट्याइएको हो ।’

कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि, फलफूल र नगदेबाली उत्पादनमा भने ह्रास

गोदावरी । कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो । दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए । गत वर्ष जिल्लाभरि ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनले गत वर्षको तुलनामा एक हजार सात सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको जानकारी दिए । यसैगरी यो वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार चार सय ९१ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा आठ हजार सात सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहनबाली एक हजार सात सय २१ मेट्रिकटनले वृद्धि भएको हो । यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकामा ६९ हजार एक सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ। गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार १ सय ६ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो। यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ। यो वर्ष १६ हजार छ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार छ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो । गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष तीन सय २६ हेक्टर क्षेत्रफलमा दुई हजार नौ सय ५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ। गत वर्ष तीन सय २६ हेक्टरमा तीन हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो । दुई हजार नौ सय ९२ हेक्टरमा छ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ। गत वर्ष दुई हजार नौ सय १० हेक्टरमा छ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा तीन लाख छ हजार आठ सय १९ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष ६० हजार सात सय ९६ हेक्टर क्षेत्रफलमा दुई लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ। रासस

हेटौंडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

बागमती । मकवानपुरको हेटौंडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ । विश्वव्यापी रूपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रूपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व संकलन हो। उपमहानगरपालिकाले चालु आवमा ३० करोड ९४ लाख पाँच हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रूपैयाँ राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए । उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट दुई करोड पाँच लाख ४७ हजार, सिफारिस दस्तुरबाट दुई करोड ८६ लाख ३१ हजार संकलन भएको छ। यस्तै व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट एक करोड ९६ लाख, ढुंगा, गिट्टी, बालुवा बिक्रीबाट एक करोड ८० लाख रूपैयाँ, नक्सा पास दस्तुरबाट ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत ५१ लाख ३२ हजार दुई सय ५५ रूपैयाँ राजस्व संकलन भएको श्रेष्ठले बताए । गत आव २०७९/८० को १० महिनाको तुलनामा यो करिब तीन करोड ८२ लाख २५ बढी राजस्व संकलन भएको हो । उपमहानगरपालिकाले गत आव २०७९/८० मा ३४ करोड ९३ लाख पाँच हजार दुई सय राजस्व संकलन गर्ने लक्ष्य रहेकामा साउनदेखि बैशाखसम्म विभिन्न शीर्षकमा २२ करोड ५३ लाख छ हजार आठ सय ९४ राजस्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव २०७९/८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व संकलन हुन थालेको छ। चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुंगा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको श्रेष्ठको भनाइ छ। रासस

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसाेसिएसनको १२औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए। विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरूले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न उनकाे आग्रह छ । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरूको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए । सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसाेसिएसनलाई दुःख पाएका नेपालीकाे समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन

चितवन । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्तरूपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत् आपूर्तिमा रहेको रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको बताइन् । चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गरिन्। भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन निर्माण भरतपुर महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजंग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिका हुने विद्युत भागमा प्रक्षेपण गरी २४सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए । भरतपुर महानगर क्षेत्रमा भइरहेको तीब्र सहरीकरणका कारण बढिरहेको विद्युत मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए । प्रााधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् मागबमोजिम आपूर्ति दिन नसकेर त्यस क्षेत्रमा वाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको देवनगर सबस्टेसन बनेपछि अन्त्य भएको उल्लेख गरे । उनले अब त्यस क्षेत्रमा माग बमोजिम गुणस्तरीय र पर्याप्त विद्युत दिन सकिने बताए। देवनगर सबस्टेसनबाट भरतपुर महानगरपालिका ५, ६,८, ९,१३,१४,१५,२२ र २३ नम्बर वडाहरुमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको जसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी,सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरु निकालिएका छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर,फुलबारी,गितानगर,पटिहानी,सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको छ । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना ९प्योकेज–९० अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब १० करोड रुपैयाँ रहेको आयोजना निर्देशक÷संयोजक अच्युत घिमिरेले जानकारी दिए । सबस्टेसन तयार भएता पनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो । कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ९बफर जोन०मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको हो ।

नगद र सुनचाँदीका गहना चोरीमा संलग्न ६ जना पक्राउ

काठमाडौं । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका–३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा–१४ का मोहम्मद समिर रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोबाइल पसल सञ्चालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेका थिए । यस्तै समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् । उनीहरूलाई फरक-फरक ठाउँबाट फरक-फरक दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका-२१ खोकनास्थित गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहना, नगद तथा आइफोन लगायतका धनमाल चोरी भएको थियो ।