विकासन्युज

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको छ : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्नका लागि संसदीय छानबिन समिति आवश्यक भएको बताएका हुन् । सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए । गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताए । सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाई छ । ‘संसदीय छानबिन समितिको मर्म दुरुपयोगमा संलग्न कोहीपनि कुनै सत्ता, शक्तिको कारणले छानबिनको परिधिभित्र नआउने र जसको सत्ता, शक्ति बाहिर छैन उनीहरु मात्रै छानविनको परिधिमा आउने त्यस्तो भेदभावपूर्ण तरिकाबाट हुनु भएन । त्यसलाई समान किसिमबाट हेरिनुपर्छ । त्यस किसिमबाट छानविन समिति बन्ने कुरा न्युनतम कुरा हो । गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ’, उनले भने । सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै कांग्रेसको कुनै संलग्नता नरहेको जिकिर गरे । सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताए ।

मेरो माइक्रोफाइनान्समा सर्वसाधारणको हिस्सा १० प्रतिशत बढ्यो

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गरिएको छ । लघुवित्तमा सर्वसाधारण सेयरधनीहरूको १० प्रतिशत स्वामित्व बढ्ने गरी सेयर स्वामित्व परिवर्तन गरिएको हो । परिवर्तित संरचना अनुसार ५९.४ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४०.६ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको कायम हुने लघुवित्तले जनाएको छ । अब संस्थापक समूहको ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण समूहको ४०.६ प्रतिशत अर्थात ५३ लाख ५९ हजार २ सय कित्ता सेयर कायम हुनेछ । कम्पनीको हाल १ करोड ३२ लाख कित्ता रहेका छन् । यसअघि कम्पनीको संस्थापक सेयर स्वामित्व ६९.४ प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ३०.६ प्रतिशत रहेको थियो ।

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो । शुक्रबार काठमाडौमा भएको इप्पानको २२ औं साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रुपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए । ‘दूरगामी रुपमा प्रभाव पार्ने खालका २ वटा कोषहरुको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरुलाई संगठित गर्ने, नीतिगत र कार्यक्रमगत लविङ गर्ने तथा विभिन्न खोज अनुसन्धान गर्ने कामहरु अघि बढ्नेछन्,’ उनले भने । उनका अनुसार, इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकोले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरु संस्थागत रुपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो । तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवद्र्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरुबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ । इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जीडीपी), बैंक तथा वित्तिय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सृजनामा र्पुयाएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणधीन आयोजनाहरुमा देखिएका समस्याहरुको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरु प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ । शुक्रबार मात्र घोषणा गरिएको कोषमा इप्पानको २२ औं बार्षिक साधारणसभामा सम्मानित भएका पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योती सम्मान वापत पाएको १ लाख रुपैयाँमा थप एक लाखसहित २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी पाँच बर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए । ‘संस्स्थाको सदस्य संख्या ऊर्जा क्षेत्रमा भएको महत्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी सँस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यकता रहेकोले कोष स्थापना गरेका हौ,’ उनले भने । भवन निर्माणका लागि यस अघि इप्पान पूर्व अध्यक्ष डा.सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ । भवन निर्माणका लागि शुक्रवारको वार्षिक साधारणसभामा इप्पान सदस्य कूबेरमणि नेपालले आफ्नो जलविद्युत कम्पनीबाट २ लाख, नविन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत कम्पनीबाट दुई लाख र इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ भवन निर्माणको लागि सहयोगको घोषणा गरिसकेका छन् । इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्य समितिबाट दुवै कोषमा सहायता संकलन गर्नुका साथै सबै ऊर्जा प्रवद्र्धक कम्पनीहरुबाट सहायता लिएर अध्ययन अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए ।

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

कोरिया । गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिको सङ्ख्या एक वर्षअघिको आँकडामा दुई लाख ६१ हजारले बढेर दुई करोड ८६ लाख ९३ हजार पुगेको छ । वृद्धवृद्धाको कामबाट उच्च प्रभावित यो सङ्ख्या अघिल्लो महिना एक लाख ७३ हजारमा पुगेपछि अप्रिलमा तीव्र गतिमा बढेको हो । समग्र रोजगारी विस्तार वृद्धवृद्धाद्वारा भएको थियो । अप्रिलमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका लागि रोजगारीको सङ्रख्या वार्षिक आधारमा अप्रिलमा दुई लाख ९२ हजार भएको छ तर २० देखि ४० वर्ष उमेर समूहका मानिसका लागि ७७ हजार र ९० हजारले सङ्कुचित भएको छ । लगातार पाँचौँ महिना बढ्दो प्रवृत्ति कायम राख्दै उत्पादकहरू बीच रोजगारीको सङख्या गत महिना एक लाखले बढेको छ । स्वास्थ्य तथा समाज कल्याण सेवा, सूचना तथा सञ्चार उद्योगमा रोजगारी क्रमशः ९३ हजार तथा ६८ हजारले बढेको छ । शिक्षा सेवामा रोजगारी गुमेको छ । थोक र खुद्रा क्षेत्रका ४९ हजार र ३९ हजारले रोजगारी गुमाउनु परेको छ । नियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख ९३ हजार तथा अनियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख पुगेको छ तर गत महिना दैनिक मजदुरहरूको सङ्ख्या भने एक लाख ४७  हजारले घटेको छ । कामदारहरू भाडामा लिने स्व-रोजगार गर्नेहरूको सङ्ख्याया अपरिवर्तित रहेको छ भने कर्मचारीहरू बिना स्व-रोजगार गर्नेहरूको सङ्ख्या ९४ हजारले पछि हटेको थियो । यसै क्रममा १५ वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगार दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले बढेर ६३ प्रतिशत पुगेको छ भने १५ देखि ६४ वर्षका लागि ओइसीडी-विधि भर्ना दर शून्य दशमलव छ प्रतिशतले बढेर ६९ दशमलव छ प्रतिशत पुगेको छ । अप्रिलमा बेरोजगारीहरूको सङ्ख्या आठ लाख ८५ हजार पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ हजारले बढी हो । बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशतले बढेर तीन प्रतिशत पुगेको छ । विस्तारित बेरोजगारी दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले घटेर आठ दशमलव आठ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २९ वर्ष उमेर समूहका लागि एक दशमलव चार प्रतिशतले घटेर १६ दशमलव एक प्रतिशत भएको छ । आधिकारिक बेरोजगारी दरले ती व्यक्तिहरूलाई मापन गर्दछ जो तुरुन्तै कामका लागि उपलब्ध छन् तर सक्रिय रूपमा जागिर खोज्ने प्रयासका बावजुद विगत चार हप्तादेखि जागिर पाउन असफल भएका छन् । श्रम न्यून उपयोग सूचक भनिने विस्तारित बेरोजगारी दरदलाई जागिर खोज्नबाट निरुत्साहित हुनेहरू, पूर्ण-समय काम गर्ने इच्छा विरुद्ध अंशकालीन काम गर्ने र कलेज स्नातकपछि जागिर प्राप्त गर्न तयारी गर्नेहरूलाई आधिकारिक बेरोजगारी दरमा मापन गरिन्छ । नोकरी खोज्ने कुनै इच्छा नभएको आर्थिक रूपमा निष्क्रिय जनङ्ख्या अप्रिलमा एक वर्ष अघिको तुलनामा एकलाख ७४ हजारले घटेर एक करोड ५९ लाख ६१ हजार भएको छ । गत महिना निरुत्साहित रोजगारी खोज्नेहरूको सङ्ख्या ४५ हजारदेखि तीन लाख ६९ हजारसम्म बढेको छ । रासस

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबारका लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक हो । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको हो । सम्झौता पश्चात् अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्रयान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ । यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । यो अन्तर्देशीय भुक्तानी शुरु भए पश्चात् विशेष गरी विद्यार्थीहरु, तीर्थयात्रीहरु, पर्यटकहरु तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरुलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ । सो सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’  र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ । यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने सङ्घले जनाएको छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ । यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन् । लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ । रासस

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताए । उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिए । ‘तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा ४० डिग्री तापक्रम पुगेको थियो । अहिले पनि तीनरचार स्टेशनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ’, उनले भने । मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । उनले भने, ‘पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ ।’ मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौंंमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो । तीन दिनयता काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौंमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ ।

विद्यार्थी नै नभएको विद्यालयमा चार शिक्षक

ढोरपाटन । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एकजना पनि विद्यार्थी छैनन् । विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो । केही वर्षअगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् । विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन । यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताए । गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उनको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउँछन् । शर्माले भने, ‘एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ ।’ विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताए । अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उनको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पुर्याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताए । यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उनको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउँछन् । ‘हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्चीसमेत हुँदैनथ्यो, केटाकेटी भुइँमै धुुलोमै बसेर पढ्थे, अहिले कोही पनि भुइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन् तर त्यो सुविधा लिने कोही छैन’, पौडेलले भने, ‘यो अवस्था देख्दा निकै वैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थेँ, केटाकेटी भेटिन्थेँ, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।’ जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताए । यही जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेद बुझाउने तथा सोहीअनुसार नगरपालिकाले काम गर्ने उनको भनाइ छ । नगर शिक्षा अधिकारी आचार्यले भने, ‘नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन तथा स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समितिमार्फत सबै वडाका विद्यालयका बारेमा अध्ययन गरिराख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेद ल्याउनुहुन्छ र सोही अनुसार नगरपालिकाले विद्यालय समायोजन गर्ने, तह घटाउने अथवा अरू के गर्ने भन्ने विषय निक्र्यौल हुन्छ ।’ रासस