ट्रयाक खुलेको २६ वर्षपछि कट्टेलचोक-आमाडाँडा सडक कालोपत्र
गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक-कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले ४ करोड ११ लाख ५६ हजार रुपैयाँ लागतमा कट्टेलचोक-आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए । गत वैशाखमा सडक कालोपत्र थालिएको हो । गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताए। ‘सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ,’ उनले भने । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्याउन सहज भएको छ ।
पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप
तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो । कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए । म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए । थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ । ‘सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ,’ प्रमुख इन्जिनियर यादवले भने, ‘त्यसैले पाँच महिनाको समय थप गरेका हौँ ।’ जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब सात सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ । पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ । विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो । सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादि नदीको पुलबाहेक रु ६ अर्ब २१ करोडमा ठेक्का पाएको हो । मादी नदीमा तीन सय १५ मिटर लम्बाइको पुल निर्माण गर्न रु एक अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ । यस खण्डमा भत्काउनुपर्ने पाँच सय पाँच घरमध्ये अधिकांश भत्काइ सकिएको आयोजनाले जनाएको छ । पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको हो । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ । बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ । अति जनघनत्व रहेका क्षेत्र दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।
मूर्तिकला व्यवसायबाट वार्षिक १३ लाख आम्दानी
घोराही । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन् । वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ कर्जा लिएर सुरु गरेको सिर्जनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । उनले आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताउछन् । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उनको भनाइ रहेको छ । ‘जिल्लामा सङ्ग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्,’ उनले भने, ‘आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ ।’ आफूले अहिले मागअनुसारको उत्पादन गर्दै आएको उनले बताए । यही व्यवसायबाट पल्टुरामको परिवारले वार्षिक १२÷१३ लाख रुपैयाँको कारोबार गर्दै आएको छ । जसबाट छोरी, छोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउछन् । विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन् । पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्तिहरु दाङ जिल्लासहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत अन्य जिल्लामा समेत जाने गरेको छ । मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामका श्रीमती जानकी मगर पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन् । उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहेका छन् । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरीहरु पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन् । जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमान्को मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्सरह दिनभर मूर्ति निर्माण गर्छिन्। जानकी र पल्टुरामका सन्तान पनि मूर्तिकला सीपप्रति चासो गर्छन् । सुदृढ र व्यावसायिक आर्टिष्ट बन्न छोरी कृतिले फाइनआर्ट लाजिम्पाटमा कलासम्बन्धी विषयमा उच्च शिक्षा हासिल गरिरहेको बताउछन् बुबा पल्टुराम मगर । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्तिहरु निमार्णसँगै बिक्री भइरहेका छन् । न्यूनतम तीन हजारदेखि अधिकतम तीन लाखसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरूपमा सबल बन्न सकिन्छ ।
चोली फेर्दै ६० नाघेका उद्यमी
काठमाडौं । ‘उमेरले ६० आसपासका हामी कृषिमा फर्कदैछौं, व्यवसायमा नाफा त चाहिन्छ, हामीले स्वास्थ्य जीवन पनि जिउनुपर्छ, समग्र देशको हित पनि हेर्नुपर्छ,’ तत्कालीन जनता बैंकका अध्यक्ष तथा जलविद्युत उद्यमी केशवबहादुर रायमाझीले भने । ‘म पढेर मास्टर भएँ, आफ्नै लगानीमा स्कूल पनि चलाए, वाणिज्य बैंक पनि चलाए, अहिले कृषिमा लागेको छु, हिजो पनि १५ वटा पालिकाका अध्यक्षसँग कृषिमा लगानी वृद्धिबारे अन्तर्क्रिया गरेँ, कृषि क्षेत्रको विकासमा सरकारी लगानी बढाउनैपर्छ,’ तत्कालीन मेघा बैंक नेपालमा अध्यक्ष भोजबहादुर शाहले भने । ‘मेरो हजुरबा किसान नै हो, बुवा व्यापारमा लाग्नुभयो, मैले पनि उद्योग र व्यापारमा चार दशक बिताएँ, अहिले मैले चोली फेरेको छु, म कृषिमा लागेँ, अब मेरो फोकस कृषिमा नै हुनेछ,’ एनएमबी बैंकका पूर्वअध्यक्ष पवन गोल्यानले भने । तीनै जना फरक-फरक तीन वटा वाणिज्य बैंकका अध्यक्ष भइसकेका सफल उद्यमी हुन् । रायमाझी जलविद्युत क्षेत्रमा ठूला लगानीकर्ता हुन् भने बैकिङ क्षेत्रमा पनि उनको ठूलो लगानी छ । प्याप्सनको पूर्वअध्यक्ष समेत रहेका शाह पनि बैकिङ, शिक्षा र जलविद्युत क्षेत्रका व्यवसायी हुन् । बैंक तथा वित्तीय संस्था परिसंघको पूर्वअध्यक्ष रहेका गोल्यान झण्डै दर्जन ठूला कम्पनीमा मुख्य लगानीकर्ता छन् । उनीहरूसँगै मञ्चमा बसेका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष परितोष पौडेलले सुरुमै भने, ‘गुणस्तरीय जीवनका लागि गुणस्तरीय खाना चाहिन्छ, गुणस्तरीय खानाको स्रोत कृषि उपज नै हुन्, यस क्षेत्रमा शिक्षित र सक्षम मानिसहरू कृषिमा नलाग्ने हो भने कृषि क्षेत्रको विकास पनि हुँदैन, गुणस्तरीय खाना खान पनि पाइँदैन ।’ २२ वर्षअघि क्यान्सर, मधुमेह, ब्लडप्रेसर लगायत रोगले सताएपछि अर्गानिक खेतीमा लागेको ७२ वर्षिया प्रेम लामाले आफ्नो कथा सुनाए । ‘मलाई ग्यास्टिक, अल्सर हुँदै क्यान्सर भएछ, चिकित्सकका अनुसार आन्द्रा काटेर फाल्नुपर्ने अवस्थामा पुगेछु,’ उनले भने, ‘त्यसपछि मैले विभिन्न सञ्चारमाध्यममा अध्ययन गरेँ, अर्गानिक खानाले धेरै रोग ठिक हुन्छ भन्ने जानकारी पाएँ , औषधीसँगै म अर्गानिक खाना खान थालेँ, आफैंले अर्गानिक खेती सुरु गरेँ, मलाई सँन्चो हुँदै गयो, ७२ वर्षको उमेरमा म अचेल दैनिक १८ घण्टा काम गर्छु, अहिले म बलियो भएँ, जनता एग्रो एण्ड फरेष्टी लिमिटेडको सबै खेती मैले हेर्छु, हिमाल, पहाड, तराईका फार्महरूमा जान्छु, हाम्रा उत्पादनहरु विभिन्न देशहरुमा निर्यात भइरहेका छन् । बजार बिस्तार र अनुसन्धानका लागि विदेश पनि गइरहेको हुन्छ ।’ उल्लेखित सबै पात्रहरू अहिले जनता एग्रो एण्ड फरेष्टी लिमिटेडमा जोडिएका छन् । गोल्यान अध्यक्ष र शाह प्रबन्ध निर्देशक रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल, साविक एनसीसी बैंकका पूर्व अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, उत्प्रेरक नरबहादुर कार्की समेत रहेका छन् । २ अर्ब पुँजी प्रस्ताव गरेको यस कम्पनीमा प्रवर्द्धकले अहिलेसम्म ८५ करोड लगानी गरेको, ६५ करोडको प्रवर्द्धक सेयर बिक्री भइरहेको र ५० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव गरिएको कम्पनीका अध्यक्ष पवन गोल्यानले बताए । नेपालको माटो र हावापानी उन्नतस्तरको कृषि उत्पादनकन लागि उपयुक्त भएको बताउँदै यस क्षेत्रमा सरकार, किसान, व्यवसायी मिलेर काम गर्नुपर्ने बताए । ‘अहिले किसानहरूले एक हेक्टर जमिनमा काम गरेर जम्मा ४० हजार रुपैयाँ बराबरको उत्पादन गरिरहेका छन् । यसलाई सुधारेर किसानले प्रतिहेक्टर कम्तीमा २ लाख रुपैयाँ कमाउन सक्ने बनाउन सकिन्छ,’ उनले भने । खेतीबाट प्रतिहेक्टर वार्षिक २ देखि ४ लाख कामउन सकिने पुष्टि गोल्यान समूहअन्तर्गत रहेको कृषि फर्महरूबाट पुष्टि भइसकेको उनले दाबी गरे । कृषि उत्पादन वृद्धिका लागि किसानलाई मद्दत पुग्ने नीति सरकारले लिनुपर्ने उनले बताए । ‘सरकारले चिनी उद्योगीको संरक्षण गर्न ४० भन्सार लगाएको छ, उखु किसानलाई संरक्षण छैन, सीमापारीबाट उखु आइरहेको छ, मैदा उद्योगीलाई संरक्षण छ, गहुँ किसानलाई संरक्षण छैन,’ उनले भने, ‘सरकारले प्रत्यक्ष किसानलाई सहयोग पुग्ने नीति लिनुपर्छ, प्रशोधन गर्ने उद्योगीलाई मात्र संरक्षण गरेर पुग्दैन ।’ अध्यक्ष गोल्यानले विदेशबाट आयात हुने सबै कृषि सामाग्रीमा मूल्य अभिवृद्धि कर लगाउनु ठिक भएको तर नेपाल भित्र बेचविखन हुँदा मुल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गर्ने पर्ने पनि बताए । करार खेतीमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक कानुन संशोधन हुनुपर्ने, करार खेती गर्ने संस्थाले स्थानीय सरकार (गाउँ पालिका/नगरपालिका) संग करार गरि उत्पादन गर्न लगाएको उपज वापत कृषकले करार खेती गर्ने संस्था वा कम्पनीबाट प्राप्त गर्नु पर्ने रकम कृषकलाई दिने कुराको सुनिश्चितता स्थानीय सरकार (सम्बन्धित नगरपालिका, गाउँपालिका) ले गर्नुपर्ने गरी नीतिगत व्यवस्था भएमा किसानहरू लाभान्विन्त हुने उनले बताए । देशका ४५ प्रतिशत जमिनमा वन रहेको तर वन क्षेत्रबाट कसरी आर्थिक लाभ हासिल गर्ने भन्ने विषयमा सरकारको ध्यान नपुगेको उनले बताए । ‘काठ आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, निर्यात गर्दा २०० प्रतिशत निर्यात कर लाग्छ, यो कस्तो नीति हो ?,’ उनले प्रश्न गरे । नेपालबाट ७०० अर्ब रुपैयाँभन्दा बढीको काठ निर्यातको सम्भावना रहेको तर सरकारको कर नीतिका कारण त्यो सम्भव नभएको उनको तर्क छ । ‘कृषि र वन क्षेत्रबाट हामीले धेरै लाभ लिन सक्छौं, त्यही देखेर हामी ६० वर्ष आसपासका बुढाहरू पनि कृषि व्यवसायमा लागेका हौं, हामी पढेलेखेका युवाहरूलाई बाटो देखाउँछौं, विदेश गएका नेपाली युवाहरूलाई पनि नेपाल फर्कन र कृषि तथा वनपैदावरमा आधारित व्यवसायमा लाग्न प्रेरित गर्दैछौं, जनता एग्रो एण्ड फरेष्टीमा जोडिन चाहानेलाई हामी स्वागत गर्दछौं,’ केशवबहादुर रायमाझीले विटमार्दै भने ।
नेशनल लघुवित्तको सञ्चालकको निर्वाचन सम्पन्न
काठमाडौं । केन्द्रीय कार्यालय काभ्रेको, वनेपामा रहेको राष्ट्रिय स्तरको यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन बिहीबार बनेपा अवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त निर्वाचन कार्यक्रममा ४ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का रहेका छन् । रविन सिजापती तथा क्षितिज खड्का क्रमश नेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैकबाट प्रतिनिधित्व गरी आएका छन् । साथै सर्वसाधारण समूहका तर्फवाट नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध निर्वाचित भई आएका छन् । उक्त कार्यक्रममा निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित हुुने संस्थापक तथा सर्वसाधारण तर्फका सञ्चालकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । यस संस्थाले २०८१ बैशाख सम्ममा देशका सात वटै प्रदेशका हिमाल, पहाड र तराईमा गरि ७४ वटा जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २५ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले १ लाख ८ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु २० अर्ब २७ करोड कर्जा लगानी गरेको छ भने कुल बचत ५ अर्ब ३३ करोड रहेको छ ।
मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । जेठ ३ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने निर्णय भएको हो । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उनी यसअघि पनि सो पदमा थिइन् । मन्त्री शर्माले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रश्ताव पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि गरेको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत, आइतबारदेखि कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरणसँगै पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको सेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ । आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो । नेरुडे र मिर्मिरे लघुवित्त १:१ अनुपातमा मर्ज भएका हुन् ।