विकासन्युज

पाँचथर पावरले डाक्यो आठौं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले आगामी जेठ २७ गते साधारण सभा डाकेको हो । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा कम्पनीको नियमावली नियम २७ (२) बमोजिम सञ्चालक समिति संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ । सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेकाे गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको जनाएको हो । सेयरको न्यूनतम मूल्य २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ । इच्छुक लगानीकर्ताले आगामी जेठ १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

  तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा बन्द गरिएको हो । रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए । व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे । व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ । कुल १ हजार ९ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको १ हजार ६ सय मिटर काम पूरा भएको छभने नौ किलोटिर नाला लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिए । ‘आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ,’ उनले भने ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।’

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ महाशाखाले जनाएको छ । कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अब सहकारी ठग्नेमाथि अनुसन्धान हुने, यस्तो बन्यो संसदीय छानबिन समिति

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि अनुसन्धान गर्न संसदीय समिति बन्ने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएपछि अब सहकारीको रकम अपचलन गर्नेविरुद्द छानबिन हुने भएको हो । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा सहमति भएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सो समितिको संयोजक बन्ने बुझिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् । यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने बुझिएको छ । पछिल्लो समय सहकारीमा ठूलो समस्या छ । अधिकांश सहकारीमा बचत फिर्ताको समस्या छ ।

विश्वमा साइबर अपराधको बिगबिगी

काठमाडौं । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत् ‘व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू आर्सेनि बढ्दै जाने’ बताएका थिए । कृत्रिम बौद्धिकता (एआई) को आगमनसँगै विश्वमा साइबर अपराधको वृद्वि भइरहेको छ । साइबर अपराध भनेको कम्प्युटर नेटवर्कमार्फत गरिने आपराधिक गतिविधि हो । बढ्दो प्रविधिको प्रयोगले मानिसको जीवनलाई अत्यन्तै सहज बनाए पनि यसको सही सदुपयोग नहुँदा यसले समाजमा विकृति पैदा गरिरहेको छ । इजरायलको अर्थतन्त्रले साइबर आक्रमणका कारण वार्षिक १२ अर्ब डलर नोक्सान बेहोरेको देशको राष्ट्रिय साइबर निर्देशनालयले जारी गरेको नयाँ प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको रकम छोटो अवधिमा आक्रमणबाट हुने क्षतिलाई सम्हाल्ने लागतहरूको विश्लेषणमा आधारित रहेको छ । साइबर आक्रमणबाट राष्ट्रिय उत्पादनमा परेको ठूलो आर्थिक भार र अर्थतन्त्रमा हुने नोक्सानी पहिलोपटक तथ्यांकले देखाएको एएनआईले उल्लेख गरेको छ । भियतनामको प्रहरीले हालै घरेलु र अन्तर्राष्ट्रिय रूपमा हजारौं फेसबुक खाताहरू चोरी गरी नियन्त्रणमा लिएको आरोपमा २० जनालाई पक्राउ गरेको थियो । यसबाट उनीहरूले झन्डै ४० लाख डलर नाफा कमाएका छन् । भियतनामी अनलाइन समाचारपत्र भीएनई एक्सप्रेसका अनुसार २५ हजारभन्दा बढी उच्च–मूल्य व्यापार खाताहरू अधीनमा लिन मालवेयर फैलाएको आरोप छ । मालवेयर भनेको प्रयोगकर्ताको सहमतिबिना कम्प्युटरमा स्थापना गरिएको सफ्टवेयर हो जसले पासवर्ड वा पैसा चोर्ने जस्ता खराब कार्यहरू गर्दछ । मालवेयर पत्ता लगाउने धेरै तरिकाहरू छन् तर सबैभन्दा सामान्य खराब फाइलहरू वा प्रोग्रामहरूका लागि कम्प्युटर स्क्यान गर्नु हो । यो समूहको नेतृत्व ३१ वर्षीय दाङ डिन्ह सनले गरेको विश्वास गरिन्छ । उनले फेसबुक प्रयोगकर्ताको खाताको जानकारी चोर्न ४१ हजार दुई सय डलरको मालवेयर स्रोत खरिद गरेका थिए । यो मालवेयर प्रयोग गरी दुई फोटो सम्पादन साइटहरू ‘आर्ट बे एआई’ र ‘इभोटो स्टुडियो’सँग सम्बन्धित दुई लोकप्रिय फेसबुक फ्यान पृष्ठहरू नियन्त्रण गर्नप्रयोग गरेको त्यहाँको मिडियाले जनाएको छ । आर्ट बे एआई (कृत्रिम बुद्धिमत्ता कला) डिजिटल कलाको कुनै पनि रूप हो जुन एआई उपकरणहरूद्वारा सिर्जना वा परिष्कृत गरिन्छ । इभोटो स्टुडिया अर्को पुस्ताको फोटो रिटचिङ उपकरण हो । यसले फोटो सम्पादनका विभिन्न पक्षहरूलाई स्वचालित र वृद्धि गर्न उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिहरू प्रयोग गर्छ । त्यसपछि तिनीहरूले फेसबुक प्रयोगकर्ताहरूलाई एउटा अनुप्रयोग डाउनलोड र स्थापना गर्न प्रलोभन दिएर यसको मालवेयरले प्रयोगकर्ताहरूको उपकरणहरूमा प्रवेश गर्नेछ । चोरी भएको डाटा सङ्कलन गरी सनद्वारा नियन्त्रित सर्भरमा फिर्ता पठाइयो र त्यसपछि टेलीग्राममा पाँच समूहहरूमा वितरण गरियो, ताकि उसको टोलीका सदस्यहरूलाई प्रयोगकर्ता खाताहरू अपहरण गर्न अनुमति होस् । गिरोहले नाफाका लागि उच्च मूल्यका फेसबुक खाताहरू बेचेको थियो । कम मूल्यका अन्य खाताहरू इ–कमर्स प्लेटफर्महरूमा कपडा र अन्य वस्तुहरू बेच्न विज्ञापनहरू चलाउन प्रयोग गरिएको थियो । त्यसबापत अभियुक्तले ३८ लाख डलर कमाएको थियो । अप्रिलसम्म भियतनाम फेसबुक प्रयोगकर्ताहरूको कुल संख्याको आधारमा विश्वमा सातौं स्थानमा रहेको समाचार ऐजेन्सी एएफपीमा उल्लेख भएको थियो । यस्तै एउटा वेबसाइट जसले अन्तर्राष्ट्रिय साइबर ठगीकर्ताहरूलाई ७० हजार ब्रिटिस पीडितहरूलाई बैंक खाता विवरण र पासवर्डहरू जस्ता व्यक्तिगत जानकारीहरू प्रकट र ठगी गर्न अनुमति दिएको लन्डन प्रहरीले बताएको छ । उनीहरूले ल्याबहोस्ट साइट कब्जा गरेको थिए, जसले दुई हजारभन्दा बढी अपराधीहरूलाई ‘फिसिङ’ साइटहरू सिर्जना गर्न सक्षम बनाएको छ । फिसिङ एक प्रकारको सोसल इन्जिनियरिङ आक्रमण हो, जुन प्रायः लगइन प्रमाणहरू र क्रेडिट कार्ड नम्बरहरूसहित प्रयोगकर्ता डेटा चोरी गर्न प्रयोग गरिन्छ । यसले पीडितहरूलाई चार लाख ८० हजार बैंक कार्ड नम्बरहरू र ६४ हजार नम्बरहरू प्रकट गर्न पाएको छ । बेलायत र विदेशमा कानून प्रवर्तनले अप्रिलदेखि ३७ जनालाई गिरफ्तार गरेको र अन्य आठ सय जनाले पुलिसलाई उनीहरूको पहिचान थाहा छ भनेर चेतावनी दिइएको थियो । तीमध्ये धेरैको अनुसन्धान जारी रहेको छ । बेलायती प्रहरीले हजारौँको व्यक्तिगत डाटा चोरी गर्ने साइबर जालसाजी नेटवर्कलाई अवरुद्ध गरेको छ । साइटले ४० हजार घोटाला साइटहरू सेट अप गर्न एक सय ७० कम्पनीहरूको प्रोफाइलहरू प्रयोग गर्न कम प्राविधिक जानकार प्रयोगकर्ताहरूका लागि टेम्प्लेटहरू र कसरी गर्ने पाठ प्रदान गर्यो । पुलिसले २५ हजार बेलायतका पीडितहरूलाई उनीहरूको डेटा सम्झौता भएको बारे सूचित गरेको समाचार ऐजेन्सी एपीले प्रकाशित गरेको छ । डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकहरूमा यो समस्या अझ विकराल बन्दैछ । नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ । मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ । सेक्स टोसन अपराधमा, अपराधीले पीडितलाई आफ्नो निजी र नग्न तस्बिरहरू वा भिडियोहरू फोनमा साझा गर्न प्रलोभन दिन्छ र प्रेरित गर्दछ । धेरै अवस्थामा व्यक्ति डेटिङ एप्स वा वैवाहिक वेबसाइटहरू र एपहरूमार्फत अज्ञात व्यक्तिहरूसँग सम्पर्कमा आउँछन् । तिनीहरूसँग जोडिएका प्रोफाइलहरू प्रायः नक्कली हुन्छन् । उदाहरणको रुपमा एक जना युवतीलाई करिब पाँच महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा युवकको‘फ्रेण्ड रिक्वेस्ट’ आयो । फेसबुक वालमा युवतीको आकर्षक तस्वीर देखेपछि युवकले साथी बन्ने प्रस्ताव पठाएका थिए । युवतीसँग युवकले केहीदिन कुरा गरेपछि युवक युवतीसँग अत्याधिक नजिक हुँदै जान्छन् । करिब एक महिनाको कुरा गरेपछि युवकले युवतीलाई नग्न तस्विरहरू र भिडियोहरू साझा गर्न प्रेरित गर्छन् । पछि युवतीले दिएको नग्न तस्वीरहरू युवकले राखी युवतीलाई ब्ल्याकमेल गर्न थाल्छ । उसले पैसाका लागि युवतीलाई जबरजस्ती गर्न थाल्छ । पैसा नदिएको खण्डमा युवकले युवतीको तस्बिर र भिडियो इन्टरनेटमा उसको परिवार आफन्त साथीहरूसँग सेयर गर्ने धम्की दिन्छ । हाल हाम्रो समाजमा यस्ता घटनाहरु बढिरहेको र साइवर अपराधलाई बढावा दिइरहेको छ । साइवर अपराध २१औँ शताब्दीको प्रमुख समस्या भएको छ । यसलाई समय अनुकूल रोक्न सकिएन भने भोलि कोभिड–१९ भन्दा बढी डरलाग्दो समस्या ल्याउनसक्ने साइवर सुरक्षामा संलग्न व्यक्तिहरू बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समय अनुकूल कडा कानुन निमार्णका लागि जोड दिइरहेको बेला नेपालमा पनि नयाँ कानून ल्याउन लागिएको छ । यसको कार्यान्वयनमा जोड दिन सकिएमा सामाजिक सद्भाव बढाउन र आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ । एजेन्सी

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सूत्रीय अभियानमा लागेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आज काठमाडौंमा आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उनले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताएका हुन् । ‘उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ, म एक्लै भए पनि एक सूत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु,’ मन्त्री भण्डारीले भने । निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानून सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसँग आग्रह गरे । ‘उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीतिको सुधारको माग छ, उनले भने ।

काठमाडौं महानगरको कडाइपछि सहकारीले तोक्न थाले सूचना अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधानबमोजिम कामपाले गत वैशाखभित्र अधिकारी तोकेर विभागमा जानकारी गराउन दिएको निर्देशनलाई आत्मसात् गर्दै सहकारीले सूचना अधिकारी राख्न थालेका हुन् । कामपाको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सहकारीहरुले सूचना अधिकारी तोकेर जानकारी गराउन थालेका छन् । अहिले करिब १५ सहकारीले सूचना अधिकारी तोकेर जानकारी गराइसकेका उनले जानकारी दिए । ‘अन्यले पनि राख्नेबारे जानकारी गराइसकेका छन्,’ प्रमुख त्रिपाठीले भने, ‘यसरी सूचना अधिकारी राख्दा सहकारीकै कर्मचारी वा सहकारीको सदस्य हुनुपर्ने कानूनी व्यवस्था छ ।’ उनका अनुसार हाल कामपामा एक हजार ९ सय सहकारी सञ्चालनमा छन्। एक हजार छ सय २८ बचत तथा ऋण, दुई सय ६४ बहुउद्देश्यीय, तीन श्रमिक, १५ कृषि सहकारी, १३ उपभोक्ता सहकारी, तीन सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन्। सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका एकरएक वटा सहकारी रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भइ सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। कामपामा सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन् । साझा सोच र आवश्यकता भएका व्यक्तिहरुले सामूहिक आर्थिक, सामाजिक, सांस्कृतिक विकास र गतिशीलताका लागि सञ्चालित आर्थिक कारोबार गर्ने उद्देश्यले स्थापित संस्था सहकारी हो । पछिल्लो समय सहकारीहरु ताला लगाएर बेपत्ता भएपछि घरधनीले तालाबन्दी खोलिदिनुपर्‍यो भन्ने निवेदन आउने गरेको कामपाको भनाइ छ । बचत फिर्ता भएन भनेर बचतकर्ताले रकम गराइ पाउन भनेर निवेदन दिने गरेका कामपाको सहकारी विभागका प्रमुख त्रिपाठीले बताए । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बीचको दृष्टि एउटै हुनुपर्ने र सहकारीले आफूलाई इमान्दार तथा स्वनियममा राख्नुपर्ने उनको भनाइ छ । सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, धितो नलिइ वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्नेलगायत कारण रहेका सहकारी विभागले जनाएको छ ।