विकासन्युज

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थागित भएको छ । सहकारी ठगीका विषयमा बनाउन लागिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरूबीच सहमति हुन नसेपछि राष्ट्रिय सभा बैठक आइतबार बस्दै नबसी स्थगित भएको हो। आइतबार दिउँसो १ः१५ मिनेटमा बोलाइएको अपराह्न ३ः१५ मा बस्ने गरी सारिएको थियो । तर, दलहरूबीच अझै कार्यादेशमा सहमति हुन नसकेपछि स्थागित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि (सोमबार) दिउँसो १ः१५ बस्नेगरी बोलाएका छन् ।

‘सीइओ कन्फरेन्स’ आयोजना हुँदै

काठमाडौं । नेपाल व्यवस्थापन सङ्घको आयोजनामा यही जेठ १८ गते ‘सीइओ कन्फरेन्स’ (प्रमुख कार्यकारी अधिकृत) हुने भएको छ । संघले आइतबार पत्रकार सम्मलेन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो । संघका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए । उनले भने, ‘विश्वका मुद्दाहरुका सम्बोधनका लागि यो सम्मेलनले नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।’ सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ रहेको छ । सम्मेलनको उद्देश्य सरोकार भएकालाई प्रविधि, उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक अवधारणद्वारा परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न सकिन्छ र सोबारेमा अन्वेषण गर्न सहयोग गर्नु रहेको उनले जानकारी दिए । सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रममा चारजना विदेशी वक्ताको सहभागिता रहनेछ भने विभिन्न संघ संस्थाबाट दुई सयभन्दा बढी सीइओहरु उपस्थित हुने आयोजकले जनाएको छ ।

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा रजिष्ट्रर गरी कुनै पनि रकमको टप-अप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकले ५० रुपैेयाँको टप-अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकलाई मात्र मान्य हुने बैंकले जनाएको छ । त्यसैगरी, ग्राहकले न्यूनतम १०० रुपैयाँको टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्रमार्फत इयरबर्डस जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहक दुबैलाई मान्य हुनेछ । यसैगरी, कारोबार गर्ने ग्राहकमध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभरि लागु हुनेछ । बैंकले हाल देशभरि १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

सरकारी जग्गा हिनामिना गर्ने ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, अख्तियारले मुद्दा दायर गरेका अरूमा नायब सुब्बा अग्निबहादुर शाही, सर्वेक्षक दशरथ मण्डल, जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् । जिल्लाको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५-०-० बिगाह जग्गा फिल्डबुकमा जंगल कायम भए पनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूले सरकारी जग्गा व्यक्तिका नाममा गर्दा २४ करोड ६ लाख ६९ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएकाे छ । अख्तियारले उनीहरू सबैसँग २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै

ढोरपाटन । कुश्मिसेरा–बरेङ सडकअन्तर्गत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो उडाउँदै गाडी गुड्थे । दक्षिण बागलुङको मेरुदण्डका रुपमा रहेको यो सडक अहिले कालोपत्र भएको छ । ग्रामीण सडक कालोपत्र भएपछि हिजोआज गाउँमा छुट्टै रौनक छाएको छ । स्थानीयको दैनिकीसमेत सहज बन्दै गएको छ । विसं २०६५ देखि ट्रयाक खुलाउन सुरु गरेर विसं २०७० मा बरेङसँग जोडिएको यो सडक तीन खण्डमा स्तरोन्नति र कालोपत्र गर्न थालिएको हो । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि देवलधारासम्मको पहिलो खण्डको जिम्मा पाएको निर्माण व्यवसायी क्याराभान कन्स्ट्रक्सन लामो समय सम्पर्कविहीन बनेपछि अहिले बल्ल काममा फर्किएको छ । दोस्रो खण्ड राङ्खानी देवलधारादेखि बरेङ गाउँपालिका–१ लिउवासम्मको खण्ड कालोपत्र भइरहेको छ । अघिल्लो वर्षदेखि कालोपत्र थालिएको दोस्रो खण्ड यस वर्ष सकिँदैछ । राङ्खानदेखि बरेङसम्मको ११ किलोमिटर सडक पूर्वाधारसहित कालोपत्र गर्नका लागि विसं २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी/धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । गत वर्ष सात किमी सडक कालोपत्र र ढलान गरिसकिएको थियो भने यस वर्ष चार किमीको काम हुँदैछ । हालसम्म तीन किमी सडक कालोपत्र भइसकेको र एक किमी सडकमा काम गर्न बाँकी रहेको छ । उक्त सडक एक महिनामै सकिने पूर्वधार विकास कार्यालयका इञ्जिनियर प्रकाश श्रीसले बताए । बरेङ–१ लिउवादेखि अर्को खण्डका लागि नयाँ ठेक्का खुलाइएको उनको भनाइ छ । लिउवादेखि बरेङ बजारसम्मको सात किमी सडक कालोपत्रका लागि २० करोड रुपैयाँको ठेक्का आह्वान गरिएको इञ्जिनियर श्रीसले जानकारी दिए । इञ्जिनियर श्रीसले भने, ‘राङ्खानी क्षेत्रमा कालोपत्र भइसकेको छ, अघिल्लो र यो वर्ष गरी ११ किमी सडक कालोपत्र भएको छ, यो दोस्रो खण्ड हो, पहिलो खण्डमा लामो समय काम भएको थिएन, अहिले निर्माण कम्पनी काममा फर्किएको छ, तेस्रो खण्ड सात किमी पर्छ, त्यसका लागि नयाँ ठेक्का खोलिएर मूल्याङ्कनको चरणमा छौँ, केही समयमै तेस्रो खण्डको पनि काम सुरु हुनेछ, राङ्खानी खण्डको एक किमी बाँकी छ, अहिले धमाधम काम भइरहेको हुँदा एक महिनामै सकिन्छ ।’ बर्खाको समय राङ्खानी र बरेङ पुग्नका लागि निकै समस्या थियो । गाउँको सडक कालोपत्र भएपछि स्थानीयमा खुसी छाएको छ । सडक कालोपत्र भएपछि पालिकाको केन्द्र कुश्मिसेरासहित, बागलुङ, पोखरालगायका स्थानमा पुग्न सहज भएको जैमिनी–१० राङ्खानीका दलबहादुर श्रीसले बताए । यो सडक खुलेको दशक बढी हुँदा बल्ल कालोपत्र भएको भन्दै पक्की सडकले गाउँलेको जनजीवन फेरिने उनले बताए । सडक कच्ची हुँदा यात्रा र सामान ढुवानीमा निकै समस्या भएको स्मरण गर्दै अहिले घरै अगाडिको सडक कालोपत्र हुँदा विकासको अनुभूति भएको उनको भनाइ छ । सडक कालोपत्र भएपछि बजार जानआउन पनि चाँडो भएको श्रीसले बताए । ‘कच्ची सडकमा गाडी दगुर्दा धुलो सबै घरभित्रै आउँथ्यो, बजार झर्न पर्यो भने गाडीले झ्याक्दा शरीर दुख्ने समस्या, भाडा बढी तिर्नुपर्ने अवस्था थियो, अहिले सडक कालोपत्र भएपछि यात्रा गर्न निकै सहज भएको छ’, श्रीसले भने, ‘पहिले घण्टौँ लगाएर पुग्ने ठाउँमा अहिले एकै छिनमा पुग्न सकिन्छ, गाउँमा विस्तारै विकास आउँदै छ, आजभन्दा १०/१५ वर्ष अगाडि विकट जस्तै थियो यो ठाउँ अहिले हेर्दाहेर्दै सुगम बन्न थाल्यो, माथिपट्टीको सडक कालोपत्र भइसक्यो, तलतिरको अझै भएको छैन, सरोकारवाला निकायले कडाइ गरे त्यो खण्ड पनि चाँडै कालोपत्र हुने थियो ।’ जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले गाउँमा पुगेको कालोपत्र सडकले स्थानीयलाई आयआर्जनसँग जोड्ने बताए । यो सडकले जैमिनीको राङ्खानीलगायत अन्य गाउँलाई जोडेको हुँदा अब यहाँ उत्पादन हुने वस्तु सहजरुपमा बजार पुर्याउन सकिने उनको भनाइ छ । सडकको ट्रयाक खुलाउँदा यस क्षेत्रका नागरिकले ठूलो योगदान पुर्याएको भन्दै अब यातायातमा समस्या भोग्नु नपर्ने उपप्रमुख शर्मा बताउँछन् । पहिलो खण्डमा पनि निर्माण कम्पनी काममा फर्किएको हुँदा नगरपालिकाले समयमै काम सक्नका लागि ताकेता गरिरहेको उनको भनाइ छ । उपप्रमुख शर्माले भने, ‘गाउँमा विकास पुग्दैछ, यो सडक निर्माण भएको लामो समयपछि कालोपत्र भयो, अझै केही खण्डमा कालोपत्र गर्न बाँकी छ, अब गाउँबाट आउने गाडी रित्तो आउने छैनन्, गाउँमा उत्पादन भएका हरेक वस्तु बजारमा पुग्नेछन्, नागरिक उत्पादनसँग जोडिने छन्, त्यसका लागि नगरपालिकाले पनि सहजीकरण गर्नेछ, यात्रा गर्न निकै कठिन थियो, अहिले ११ किमी सडक कालोपत्र भयो, बाँकी अन्य खण्डको पनि काम सकियो भने बरेङदेखि बागलुङसम्म नै पक्की सडक बन्नेछ ।’ रासस

नेप्सेकाे वेबसाइटमा समस्या

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे वेबसाइटमा समस्या देखिएको छ । साताको पहिलो दिन कारोबार बन्द हुनुभन्दा केही समयअघि वेबसाइटमा समस्या  देखिएकाे हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको साइटको सर्भर डाउन भएका कारण समस्या आएको हो । उनी भन्छन्, ‘साइटको सर्भर डाउन भएको हो, अन्य कामहरू भइरहेको छ ।’ समस्या छिट्टै समाधान हुने उनले बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षापछि सेयर बजारमा आज रौनक छाएको थियो ।

मेची भन्सारले संकलन गर्यो ११ अर्ब ५९ करोड राजस्व, २० अर्बको सामान निर्यात

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ ।’ भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो । भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ । रासस

संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले माग्यो समय

काठमाडौं । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच कार्यादेश (टीओआर) बारे छलफल भए पनि बुँदागत रूपमा सहमति जुट्न सकेको छैन । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित बनेको छ । कार्यदलका सदस्य नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार कार्यादेश बनाउने विषयमा नजिकदलहरू सहमति नजिकै पुगेका छन् । आइतबार बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको छ । संसदीय छानबिन समितिको कार्यादेश टुंगो नलगाई सदनका कार्यसूचीमा प्रवेश गर्ने नगर्ने कांग्रेसको अडान छ । कांग्रेसले गृहमन्त्रीको नाम, ठगीमा परेका सहकारीका नाम पनि उल्लेख गरिनुपर्ने विषय राखेको छ भने एमाले र रास्वपाले व्यक्तिको नाम नतोक्ने तर नाम जोडिएको सबै संस्थाको नाम उल्लेख हुने अडान लिइरहेका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।