जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । अध्यक्ष यादवले जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अरू संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै उनले उनीहरूको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार अध्यक्ष यादवको रिटमा सोमबारका लागि पेसी तोकिएको छ ।
कांग्रेसले भन्यो-झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् । सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए । संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको जानकारी दिए । समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्नेकुरा पनि उल्लेख गरेर जाने, जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोगबारे पनि उल्लेख गर्न भनेपनि सत्तापक्ष विषयकेन्द्रित हुन नमानेको बताए । ‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । सत्ता पक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले काँग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्ने हो । उहाँहरुको कुरा जिम्मेवारपूर्ण आएन’, उनले भने । प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र कांग्रेस आफूहरुको मागबाट पछि नहट्ने जानकारी दिए ।
नेप्से परिसूचकमा उच्च अकंको वृद्धि, सवा पाँच अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अकंको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । आइतबार परिसूचक ४५.६९ अकंले बढेर दुई हजार ६४.४५ को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयर ७४ हजार नौ सय ९१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ४.३८ र निर्जीवन बीमा समूह ३.८१ प्रतिशतले बढेको छ । चारवटा लघुवित्त कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ करोड ८० लाख ८३ हजार दुई सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फण्ड–२ को चार लाख २१ हजार दुई सय सात कित्ता सेयर किनबेच भएको छ ।
नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा आएको छ । कम्पनीले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका-२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको हाे । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक, अन्न संकलक र खाद्य व्यवसायीमा उत्साह देखिएको कम्पनीले जनाएको छ । नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसको साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् । कम्पनीका महाप्रबन्धक समिर राज सत्याल भन्छन्, ‘मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमबाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ ।’ यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वंयले गरेको निज बताउँछन् । अबको दुई महिना मकै र गँहु को कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्याल बताउँछन् । यसका लागि उनले अहिले २४ सै घण्टा कम्पनी सञ्चालनको व्यवस्था मिलाएको निजले बताउँछन् ।
३५ हजार शुल्क तिरेर २०० जना सीईओले विदेशी विज्ञबाट कक्षा लिँदै
काठमाडौं । मोबाइल र कम्प्युटरबाटै बैंकिङ अभ्यास गर्न मिल्ने भएपछि काम गर्ने तौरतरिका फेरिएका छन् । कोरोना महामारीको समयमा सबै शैक्षिक संस्था, कर्पाेरेट हाउस लगायत सबै कार्यालयका प्रणाली परिवर्तन भए । कोरोना महामारीका समयमा अनलाइन माध्यम र ‘वर्कफर्म होम’ बाटै काम गरे । यसबाट नेपालका शैक्षिक संस्था, कर्पाेरेट हाउस लगायत क्षेत्रमा पर्फमेन्स र सिकाइ घट्यो । तर, हार्वड विश्व विद्यालयले हालै सार्वजनिक गरेको एक अनुसन्धानले अनलाइन तथा ‘वर्कफर्म होम’ को माध्यमबाट काम गर्दा अमेरिकी संस्थाहरूमा उत्पादकत्व बढेको देखायो । यो तथ्याङ्कले नेपालका संस्थाहरूमा कार्यरत उच्च तहका कर्मचारीहरूलाई सोच्न बाध्य बनायो । अब नयाँ सोच र परिकल्पना अनुसार अघि बढ्नु पर्ने उहाँहरूको निष्कर्श रह्यो । आगामी दिनमा सबै संस्थाहरू आर्टिफिसियल इन्टिलीजेन्स (एआआई), डिजिटल रूपान्तरण र प्रविधिमा आधारित भएर सञ्चालन हुने देखिन्छन् । विश्वमा फड्को मारिरहेको प्रविधिको विकासले नेपाललाई स्वभाविक रूपमा असर पार्ने देखिन्छ । यिनै विषयलाई मध्येनजर गरी नेपाल व्यवस्थापन संघ (म्यान)ले नेपाली संस्थाहरूका उच्च तहका कर्मचारी प्रमुख कार्यकारी अधिकृत (सीईओ), नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), जनरल म्यानेजर (जीएम), म्यानेजिङ डाइरेक्टर (एमडी), बोर्ड अफ डाइरेक्टर (सञ्चालक सदस्य), संस्थापकहरूको ‘सीईओ सम्मेलन’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रदान गर्न म्यानले आगामी जेठ १८ गते सीईओ सम्मेलनको आयोजना गर्न लागेको हो । म्यानका कार्यकारी सदस्य तथा सीईओ सम्मेलनका संयोजक अजय कुमार मिश्रका अनुसार विभिन्न ४ जना अन्तर्राष्ट्रिय वक्ताहरूले चार विषयगत सत्रहरू सञ्चालन गर्ने छन् । स्ट्राटेजीका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बगला, एमपी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्केले आफ्नो अनुभव र ज्ञान प्रदान गर्ने उनले बताए । मिश्रका अनुसार इयान पालिस्टर यूरोपीयन अनुसन्धानकर्ता हुन् । रणनीति विकास र अभ्यासको रूपमा ३० वर्ष काम गरिसकेका उनी यूरोपीयन देशहरूमा रणनीति विकास, कार्यान्वयन, प्रविधिको प्रयोगका विषयमा आफ्नो क्षमता सिद्ध गरिसकेका छन् । भारतीय अवधारण बारे जानकारी दिने उद्देश्यले इन्भेष्ट इन्डियाका सीईओ तथा एमडी दिपक बगलाले पनि कक्षा सञ्चालन गर्ने छन् । सीटी बैंक, विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायत थुप्रै बैंकको उच्च तहमा ३० वर्ष काम गरिसकेका उनले हालै इन्भेष्ट इन्डिया कम्पनी सञ्चालनमा ल्याएका हुन् । उनले व्यावसायीक रूपमा कन्सल्र्टिङ सेवा प्रदान गर्दै आएका छन् । आफैं संस्था खोलेर सफल उद्यमी बनेका प्रभु रंगराजन एमपी फिनटेकका प्रमुख सञ्चालन अधिकृत हुन् । फिनटेक संस्था सञ्चालन तथा स्थापनामा भोगेका सहजता, चुनौति, समस्या, आरोह–अवरोहको अनुभवले नेपाली फिनटेक उद्योगमा आवद्ध भएका व्यक्तिका लागि थप जानकारीमुलक हुने अपेक्षा म्यानले गरेको छ । नेपाली मुलका अमेरीकी नागरिक हुन् डा. समीर मास्के । उनी फ्युज मेसिनका संस्थापक पनि हुन् । कोलोम्बिया विश्वविद्यालयका प्रोफेसर समेत रहका उनी आर्टिफिसियल इन्टिलीजेन्स (एआई) को क्षेत्रमा काम गरिरहेका छन् । डा.मास्केको कम्पनी फ्युज मेसिन हालै अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ । विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी पनि हो । पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म, तेस्रो सत्र अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रूपान्तरणसम्बन्धी रहेको मिश्रले बताए । सीईओ सम्मेलनबाट नेपालमा कार्यरत सीईओहरूको काम गर्ने शैली, रणनीति, क्षमता विकासमा ठूलो टेवा पुग्ने मिश्रको भनाइ छ । सरकारको भूमिका, नीति नियमबारे सरकारका उच्च पदस्थ व्यवस्थापकबाट समेत एउटा सेसन राख्ने गरी तयारी भइरहेको उनले बताए । सीईओ सम्मेलनमा नेपालका विभिन्न सरकारी तथा निजी संस्थामा आवद्ध २ सय भन्दा बढी सीईओको सहभागीता हुने उनले बताए । साथै, सम्मेलनपश्चात् बजारमा नयाँ छाप छोड्ने उनको दावी छ । यसअघि सन् २०२१ मा पहिलो पटक सीईओ सम्मेलन भएको थियो । यसपटकको सीईओ सम्मेलनको नारा ‘द फ्यूचर अफ वर्क, एडप्टिङ टू चेन्जिङ ल्याण्डस्क्याप’ रहेको छ । पढ्ने र सिकाउने बानी बसाल्न आयोजना हुन लागेको सीईओ सम्मेलनमा सहभागि हुन प्रतिव्यक्ति ३५ हजार रूपैयाँ (प्ल्स भ्याट) शुल्क तोकिएको छ । सीईओ सम्मेलनको कुल लागत ५५ लाख रूपैयाँ रहेको संयोजक मिश्रले बताए । कोरोना महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको बोल सीईओ सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधन गर्न नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्य हुन सक्ने म्यानका अध्यक्ष मोहनराज ओझाले बताए । उनका अनुसार अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारहरूले समाजलाई लाभान्वित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्छ । कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक रहेको उनको भनाइ छ । ‘यी परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित सीईओ सम्मेलन आयेजना गर्न लागिएको हो,’ उनले भने, ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात गर्नुपर्छ । सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग पुग्नेछ ।’
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
उदयपुर । आइतबार बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन् । विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । त्यसैगरी त्रियुगा नगरपालिका-९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए । खम्बा भाँचिदा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान विद्युत प्राधिकरणको छ । विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ । हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । क्षतिको तथ्यांक सकंलन भइरहेको प्रहरीको भनाइ छ । रासस
प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं : माधव नेपाल
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै छन् । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे । प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने स्पष्ट पारे । उनले भने,‘भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुविधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौं ।’ अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने समेत बताए ।
उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ । आइतबार माईतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको, रविको जीविकोपार्जन सहकारी ठगी, गृहमन्त्रीज्यु प्रमाणित भए राजनीति छोड्ने रे, अनि प्रमाणित हुन छानबिन गर्नु परेन, ए रवि दाई, खोइ त जीवि राई, रवि लामिछाने, होइन, होइन ठगि लामिछाने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए । संसद्मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ ।