कलुवापुर-बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन नसकेको हो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग तीन वर्षअघि १३ करोड रुपैयाँ बढी रकममा ठेक्का सम्झौता भएको थियो । सडकखण्डको बन्साहा जङ्गलबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडीसम्मको तीन किमी सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार बन्साहा जङ्गलबाट कलुवापुरसम्मको आठ सय मिटरमा कालोपत्रका लागि बेस राख्ने काम गरिएको छ । बाँकीमा सब बेस राख्ने काम गरिएको छ । ‘कार्यालयका तर्फबाट सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गर्ने कार्य हुँदै आएको छ’, उनले भने, ‘जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन, ढिलासुस्ती गरिँदै आएकाले कार्यप्रति सन्तोष हुनुपर्ने अवस्था छैन ।’ कलुवापुर बजार क्षेत्रमा सडकको क्षेत्राधिकारबारे विवाद हुँदा काम हुन नसकेको उल्लेख गर्दै उनले हाल ह्मपाइप राख्ने काम भइरहेको बताए । ‘सडक क्षेत्रको एकातर्फको ह्मपाइप राख्नका लागि बेस राख्ने काम पूरा भएको छ’, उनले भने, ‘अर्कोतर्फको बेस राख्नका लागि काम अगाडि बढेको छ ।’ कलुवापुरदेखि उत्तरतर्फ बेलडाँडीसम्मको चार किमी सडकमा ग्राभेल राख्ने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीलाई ठेक्का सम्झौता भएको रकममध्ये चार करोड ५० लाख रुपैयाँ रकम भुक्तानी भइसकेको छ । बन्साहा कलुवापुर बेलडाँडी दोमिल्लासम्मको सडक नौ किमी रहेको छ । यस सडकलाई बंक नायल सडकसँग जोडने पूर्वाधार विकास कार्यालयको योजना रहेको छ । सडक कालोपत्रका लागि सन्तोषी–थेगिम जेभीसँग २०७८ साउन २० गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले काम समयमै पूरा नगर्दा स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् । स्थानीय अतुलबहादुर ऐरले सडक निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा निर्धारित समयभित्रै काम सडक कालोपत्रको काम हुन नसकेको बताए । ‘निर्माण व्यवसायीले ठेक्काको म्याद थप्दै जाने नगर्दा सडक कालोपत्रको कामले गति लिन सकेको छैन’, उनले भने । सडक कालोपत्र पूरा गर्नुपर्ने माग अघि सार्दै स्थानीय बासिन्दाले पटकपटक आन्दोलन गर्दै आएका छन् । रासस
बारामा दुई करोड ४३ लाख राजस्व सकंलन
बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजार रुपैयाँभन्दा बढी राजस्व सकंलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी दुई करोड ४३ लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व सकंलन भएको जानकारी दिए । त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरिएको बताए । त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिए ।
राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न पाँच जनाको प्रतिस्पर्धा, को कति बलियो ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम छनोट (सर्ट लिस्ट) गरिएको छ । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरेको हो । बैंकका उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीका अनुसार कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्ट लिष्ट भएका हुन् । बैंकको सीईओ पदका लागि २० जनाले आवेदन दिएका थिए । जसमध्ये सीईओ छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्ट गरी अन्तर्वार्ताका लागि बोलाएको हो । छनोटमा परेका ५ जना उम्मेदरवारलाई आगामी जेठ ९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ । पाँच जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछन् । बैंकको सीईओ बन्नका लागि नेपाल बैंकका पूर्वसीईओसमेत रहेका कृष्णबहादुर अधिकारी अब्बल दावेदारका रुपमा उभिएका छन् । सीईओ छनोट समितिले अधिकारीलाई ५ जनाको सर्ट लिष्टिङ्गमा पहिलो नम्बरमा राखेको छ । उनीसँग बैंकिङ्ग क्षेत्रमा २ दशक बढी काम गरेको अनुभव छ । खुला प्रतिस्पर्धाबाट नेपाल बैंकको सीईओमा नियुक्त भएका उनी गत असोजमा ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । विभिन्न जिम्मेवारीमा रही काम गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । उनले आफ्नो कार्यकालमा बैंकलाई अब्बल बनाएका थिए । यस्तै, देवेन्द्ररमण खनाल राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी सम्हालिरहेका छन् । । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत खनालले कामु जिम्मेवारी पाएका हुन् । सीईओको दौडमा रहेका प्रकाशचन्द्र अधिकारी एक महिना अघिसम्म एनआईसी एशिया बैंकमा कार्यरत थिए । तत्कालीन कमर्ज एण्ड ट्रस्ट बैंक नेपाल र नेपाल बैंकमा काम गरिसकेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सीईओ छनोटको ५ जनाको सूचीमा परेका विष्णुदेव यादव नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर हुन् । यादव नेपाल एसबिआई बैंकमा २७ वर्षदेखि काम गर्दै आएका छन् । उनले सोही बैंकबाट नै आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा २६ वर्षको अनुभव हासिल गरेका उनीसँग कर्पोरेट बैंकिङ्ग, ट्रेड फाइनान्स र रिकभरीमा राम्रो अनुभव छ । पछिल्लो साढे ३ वर्ष उनले रिष्क र कम्प्लायन्सको जिम्मेवारी वहन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र एमएस्सी गरेका छन् । उनको स्थायी घर महोत्तरी गौसाला नगरपालिका ११ मा हो भने हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् ।
विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ मत पाएका छन् । विपक्षमा कुनै मत नपर्दा तटस्थमा १ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । संसदमा १५८ सांसद उपस्थित थिए । यसअघि कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल एमालेसँग नजिकिएपछि फेरि विश्वासको मत लिएका थिए । पछिल्लो समय जसपा विभाजन भएपछि उनले फेरि विश्वासको मत लिएका हुन् । यसैबीच नेपाली कांग्रेसका सांसदहरुले भने विरोध गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै कांग्रेसले निरन्तर संसद्मा प्रदर्शन गरिरहेको छ ।
हदबन्दी छुटको नीतिगत निर्णयमा ५० खर्बको खेल भएको हुन सक्ने बालेनको अनुमान, १०१ कम्पनी सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी-स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् । मेयर साहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कम्पनीको नाम सार्वजनिक गर्दै लेखेका छन्- ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ । उनले गिरीबन्धु जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरू १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौं बिगाहा जमिन बेच्न पाउने निवेदन दिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ, सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ, तर बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन ।’ बिचौलियाहरू कानुन नै परिवर्तन गर्न कुरेर बसेको उनले भनेका छन् । ‘यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ, जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला, स्वास्थ्य बीमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमिटर रेलको लिक बन्ला, देशले ऋण नै लिन नपर्न सक्ला,’ बालेनले उल्लेख गरेका छन् । दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराइ, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता रहेको पनि उनले बताएका छन् । उनले भनेका छन्र, ‘यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ। त्यो गरीहालौं। अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ। त्यो रकम करोडौं हुन सक्छ। ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरूविरुद्ध ठगी उजुरी सुरु गरौं ।’ जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू : १. केपी ओली ट्रस्ट २. रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर ३. केशरी चिया बगान पाँचथर ४. ओमटी गार्डेन प्रालि इलाम ५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम ६. इलाम टी–स्टेट इलाम ७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम ८. माङमालुङ चियाबगान लि. इलाम ९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम १०. हिम चियाबगान प्रालि इलाम ११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम १२. रोनक टी–स्टेट झापा १३. गोमादेवी टी–स्टेट झापा १४. झापा टी–स्टेट झाप १५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा १६. कल्पना टी–स्टेट झापा १७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा १८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा १९. ज्यामिरगढी टी–स्टेट झापा २०. राज टी–स्टेट झापा २१. पदम टी–टेट झापा २२. इलाम चियाबारी प्रालि झापा २३. पौडेल बन्धु टी–स्टेट प्रालि झापा २४. हिमाल इन्टरनेसनल प्रालि झापा २५. नक्कलबन्दा टी–स्टेट झापा २६. चकचकी टी–स्टेट झापा २७. लक्ष्मी टी–स्टेट झापा २८. सौरभ चिया उद्योग प्रालि झापा २९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा ३०. चन्द्रगढी टी–स्टेट प्रालि झापा ३१. रोमन टी–स्टेट प्रालि झापा ३२. हडिया रियल टी–स्टेट प्रालि झापा ३३. प्रयास चिया उद्योग झापा ३४. ऋद्धि गणेश टी–स्टेट प्रालि झापा ३५. न्यू–गिरी एन्ड सन्स झापा ३६. गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा ३७. कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा ३८. जीपीको इराला फाउन्डेसन मोरङ ३९. इस्टर्न स्टार कृषि तथा सहकारी स।लि मोरङ ४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा ४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा ४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा ४३. चुलाचुली टी–स्टेट प्र।लि धनकुटा ४४. मारुती सिमेन्ट प्रालि सिरहा ४५. केचना टी–स्टेट प्रालि दोलखा ४६. सोलु हाइड्रोपावर प्रालि ९तल्लो सोलु० गार्मा र तिङला, सोलु र रसुवा ४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु ४८. ग्रीनभेन्चर्स प्रालि रामेछाप ४९. हिमालय ऊर्जा विकास क. (अप्पर खिम्ती) चुचुरे रामेछाप ५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा ५१. गिजरा खाडाखारी मिल प्रालि बाँके ५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ ५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे ५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे ५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभ्रे ५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक ५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभ्रे ५८. आदि शक्ति विद्युत विकास कं।प्रालि नुवाकोट ५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा ६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ ६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क। प्रालि लमजुङ ६२. हिमालयन पावर पार्टनरसिप लमजुङ ६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा ६४. सान्जेन जलविद्युत् कं. लि रसुवा ६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर ६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ ६७. सोनापुर सिमेन्ट प्रालि दाङ ६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा ६९. रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी ७०. रोड सो रियल स्टेट प्रालि कास्की ७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर ७२. नारायणी उष्ट प्रालि ललितपुर ७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर ७४. होमल्यान्ड हाउजिङ प्रालि ललितपुर ७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौं ७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर ७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर ७८. उपहार हाउजिङ क।लि। बलम्बु काठमाडौं ७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं ८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं ८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन ८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौं ८३. सि।ई कन्स्ट्रक्सन प्रालि काठमाडौं ८४. बागमती प्रपर्टी डिलर्स प्रालि काठमाडौं भक्तपुर ८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं ८६. आयुषा डेभलपर्स प्रालि काठमाडौं ८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं ८८. हेभेन्स भिलेज प्रालि काठमाडौं ८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं ९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं ९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं ९२. टावर हाउजिङ प्रालि काठमाडौं चितवन ९३. टचउड हाउजिङ प्रालि काठमाडौं ९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि ९५. सीडी डेभलपर्स प्रालि काठमाडौं ९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं ९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ ९८. लिवर्टी इनर्जी कम्पनी लि. लमजुङ ९९. काबेली इनर्जी पाँचथर १००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा १०१. गिरिबन्धु टी-स्टेट प्रालि झापा
कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने
काठमाडौं । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
भेरीगङ्गा । अहिले पनि समाजमा शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई फरक नजरले हेर्ने गरिन्छ । उनीहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य समाजमा अझै कायमै छ । संविधान र विभिन्न ऐन कानुनहरुले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई अधिकार सम्पन्न गराएको छ तर हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्दा अहिले पनि अपाङ्गता भएका व्यक्ति पछाडि पारिएका छन् । हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन् । राज्यको मूलधारमा ल्याउने गरी सरकारले नीति लिए पनि विभिन्न अवरोधका कारण उनीहरु पछाडि पारिएका छन् । तर आत्मबल बलियो बनाएर सङ्घर्ष गर्नेहरु सफलतामा पुग्न सक्छन् भन्ने गतिलो उदाहरण दिनेहरु पनि छन् । जो अहिले सामाजिक अहोदा र नीति निर्माण तहसम्म पुग्न सफल छन् । यस्तै मध्यका एक हुन्, कालिकोटका दुर्गबहादुर रावत । विभिन्न चुनौतीलाई सामना गर्दै दुई पटक सांसद बनेका उनी अहिले कर्णाली प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् । बुबा अकबरे रावत र आमा सेतु रावको कोखबाट २०२५ पुसमा कालिकोटको तिलागुफा नगरपालिका–७ मा जन्मिएका उनी सानैदेखि शारिरीक रुपमा अशक्त भएका व्यक्ति हुन् । उनी हिंडडुल त गर्न सक्छन् तर उनको दुबै खुट्टाले राम्रोसँग काम गर्दैन । सानैदेखि विद्रोही स्वभावका रावतको शिक्षादीक्षा पनि कालिकोटमै भयो । अपाङ्गता भएकै कारण गाउँमा हेर्ने दृष्टिकोण र गर्ने दुव्र्यवहार सहँदै आफूले पढेर समाज रुपान्तरणमा लाग्ने सोचका साथ अगाडि बढे । ‘मैले सानैबाट सङ्घर्ष गरेँ, मलाई केही गर्न सक्दैन पढेर के गर्ने होर ? भन्नेहरु पनि थिए तर सबै चुनौतीको सामाना गर्दै अगाडि बढीरहेँ’, उनले भने । प्रवेशिका उत्तीर्ण गरेपछि उनलाई समाजले हेर्ने दृष्ट्रिकोणमा विस्तारै परिवर्तन हुन थाल्यो । औँलामा गन्नेहरु मात्रै पढे लेखेकाहरु मात्रै गाउँमा थिए । त्यो पनि एसएलसी पास गरेका मानिसहरु त झनै हुन्थेनन् । शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति यसरी अगाडि बढेको देखेर धेरै अचम्भित पनि बनेका थिए । उनी भन्छन्, ‘कर्णाली यसै पनि भौगोलिकरुपमा पछाडि परेको ठाउँ । त्यसमा पनि महिला, दलितहरुको अवस्था नाजुक थियो । अझै त्यसमाथि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था कस्तो थियो होला रु हामी यसरी बाँच्नुपर्ने किन ? भन्ने मलाई भित्रभित्रै विद्रोहको सोच आउँथ्यो ।’ उनले सामाजिक अभियन्ताको कामसमेत गर्न थाले । जनतालाई सचेत बनाउनेदेखि उनीहरुका समस्या समाधानका लागि अगुवाई गर्ने काम गर्दै गए । सँगै उनी २०४२ सालमा स्थायी शिक्षक हुन सफल भए । शिक्षा क्षेत्रमा जोडिएपछि उनको गाउँमा सम्मान बढ्न थाल्यो । कुनैबेला अपाङ्गता भएका व्यक्ति भनेर गलत नजरले हेर्नेहरु पनि विस्तारै सम्मानीत ढङ्गबाट व्यवहार गर्न थाले । विसं २०५४ सम्म शिक्षक पेशामा रहेका उनले त्यतिबेला नै समाज रुपमान्तरणको लागि धेरै अभियानहरु सञ्चालन गरिरहेका थिए । ‘मैले अध्यापनसँगै गाउँका महिला, दलित र समाजलाई सचेत बनाउन विभिन्न सचेतनाका अभियानहरु चलाउथैँ । उतिबेलाको विभेदकारी राज्यले आफूहरुजस्ता अपाङ्गता भएका व्यक्ति, महिलालाई गर्ने फरक व्यवहारमा परिवर्तन गराउनुपर्छ भनेर लागिरहेँ ।’ समाजमा विद्यमान विभेद्का कारण उनीमा राजनीतिक चेतना बढ्दै गयो र २०३६ सालदेखि राजनीतिमा प्रवेश गरे । क्रान्तिकारी सोच राख्ने उनले २०३८ सालदेखि नेपाल मजदूर किसान पार्टीको सदस्य बन्दै १० वर्ष त्यही पार्टीमा रहेर काम गरे । २०४८ सालदेखि नेकपा माओवादीको सम्पर्क कमिटीमा रहे । उतिबेलाको राज्यको विभेदकारी नीतिका कारण कर्णालीका नागरिक मात्रै होइन, पछाडि पारिएका वर्ग समुदाय ठूलो पिडामा छन् भन्ने बुझेका रावत माओवादी जनयुद्धमा होमिदै आफ्नो शिक्षक पेशा त्याग गरी २०५४ सालदेखि भूमिगत भए । जनयुद्धमा होमिदाको सङ्घर्ष रावतलाई अहिले पनि ताजै जस्तो लाग्छ । ‘मेरो सानैदेखि परिवर्तनशील स्वभाव थियो, शिक्षण पेसामा आवद्ध हुँदा पनि धनी र गरिब वर्गका बालबालिकाबीच, महिला र पुरुषबीच, दलित र गैरदलितबीच र अपाङ्गता भएका व्यक्तिहरु माथि विभेद देख्दा यो अवस्थालाई परिवर्तन गर्नैपर्छ भन्ने सोच आएपछि म आफ्नो शिक्षण पेसा छोडेर राजनीतिमा होमिएँ, रावत भन्छन् ।’ रावत माओवादी (केन्द्र) को कालीकोट १० वर्ष जिल्ला अध्यक्ष हुँदै पोलिटब्युरो सदस्यसम्म भए । रावत कालीकोट जिल्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । उनी यसअघि विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । लामो सङ्घर्षबाट राजनीतिमा सफलता प्राप्त गरेका रावत अहिले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । अपाङ्गता भएका व्यक्तिहरुबाट कर्णालीमा मन्त्री बन्ने रावत नै पहिलो हुन् । मन्त्री भइसकेपछि समग्र आफ्ना योजनासँगै अपाङ्गताका क्षेत्रमा केही नयाँ काम गर्ने योजना बनाएको उनी बताउँछन् । ‘म आफू पनि आपाङ्गता भएको व्यक्ति भएर जिएको मान्छे भएको हुँदा अरुले पनि अपाङ्गताको सवाललाई बुझ्न पढ्नुपर्छ । हाम्रो संविधान र ऐन, नियमले त अधिकार दिए पनि अझै अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण विभेद्कारी नै छ । यसमा परिवर्तन गर्नैपर्छ ।’ अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अहिले पनि सबै क्षेत्रमा नपुगेको उनी बताउँछन् । आफूले मन्त्रीको जिम्मेवारी सम्हालिरहँदा अपाङ्गताका क्षेत्रमा केही नयाँ योजना ल्याउने गरी सोच बनाएको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिलो कुरा नीतिमा सुधार गर्न आवश्यक छ, हरेक निकायमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिताको सुनिश्चित गर्ने गरी नीति बन्न आवश्यक छ ।’ साथै, पछाडि पारिएका वर्ग समुदायलाई अगाडि ल्याउने गरी आगामी नीति कार्यक्रम र योजनातर्जुमा गर्न आफू क्रियाशील रहेको उनको भनाइ छ । रासस
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी : विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनुपर्छ
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनेक्रममा नेपाली कांग्रेसले गरेको अवरोधको मूल्य चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर कांग्रेसले आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे । उनले भने, ‘म अवरोधमा रहेका मान्यज्युहरूलाई खासगरी नेपाली कांग्रेसका सबै मान्य सदस्यहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आज गलत गर्नुभयो । तपाईंहरूले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । नेपाली काँग्रेसको लागि याे मूल्य चर्को पर्नेछ, आजको तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रूपमा ।’ प्रधानमन्त्री दाहालले कांग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा कलंकको रूपमा स्थपित हुने बताए ।