पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन् । बुलिङटार गाउँपालिका र देवचुली नगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाका दृष्टिले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । देवचुली डाँडा तथा आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्व तथा धार्मिक मान्यताको संरक्षण र सम्वर्द्धन गर्न थालेपछि यहाँ आउने बढ्न थालेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए । ‘चुली, गुफा, भ्यूटावर, रुद्रपुरगढी, गोल पोखरी, शान्ति पार्क, वरचुली, झेरीखण्डे, तीन कन्यामाई यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्,’ उनले भने, ‘यी पर्यटकीय क्षेत्र अवलोकन गर्न पैदल आउने आन्तरिक पर्यटक बर्सेनि बढ्दै गएका छन् ।’ देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले पैदलमार्ग क्षेत्रमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ । करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुने अध्यक्ष गिरीले बताए । ‘यस वर्षसमेत गरी करिब सात सय मिटरमा सिँढी निर्माण भएको छ,’ उनले भने, ‘राजमार्गबाट छोटो दूरीको ठाउँ भए पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार निर्माणमा ध्यान नपुर्याउँदा देवचुलीको पर्यटकीय पूर्वाधारले गति लिन सकेको छैन ।’ यस क्षेत्रमा बिदाको समयमा आउनेको सङ्ख्या बढ्दो छ । बोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरूको गर्मी मौसममा लर्को नै लाग्ने गरेको देवचुली बोझा पोखरी मगर होमस्टेका सचिव हेमलाल बरालले बताए । ‘मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाच यहाँको प्रमुख लोक संस्कृति हुन्,’ उनले भने । देवचुली क्षेत्र जैविक विविधताले समेत धनी क्षेत्र रहेको छ । यो क्षेत्रमा साल, चिलाउने, चाप, लालीगुराँस, काउलो, तेजपत्ताआदि वनस्पति छन् । यसका अतिरिक्त पाखनवेत, पाँच औले, भूतकेस, तिते, सिकारी लहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनी आदि जडीबुटीका कारण यो क्षेत्र विशेष महत्व राख्ने बरालले बताए । पूर्व पश्चिम राजमार्गको दलदले बजारदेखि २० किलोमिटर उत्तरमा देवचुली पर्छ भने कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको तीनकन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको छ । एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन समितिका अध्यक्ष गिरीले बताए । ‘चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको किम्वदन्तीका कारण यस गुफाको छुट्टै महत्व छ,’ उनले भने, ‘गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाका कारण यो गुफा विशेष आकर्षणका केन्द्रविन्दु बनेको छ ।’ यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विभिन्न भूभागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू-भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू-भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।
कालीगण्डकीमा बन्यो युनिक मोटरेवल पुल, घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हट्यो
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका-१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ। पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ। गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो। पुल निर्माणपछि यहाँका स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ। कालीगण्डकी नदी मोटरेवल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले विसं २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताए। ‘स्थानीयवासीको प्रयासले नै पुल निर्माण भइरहेको छ, अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ,’ उनले भने। कालीगण्डकी नदी पुल निर्माण ९० प्रतिशत पूरा भएको उनले जानकारी दिए । वर्षायाममा बाढी आउने समयमा नै सञ्चालनमा आउने गरी पुल निर्माणका काम भइरहेको उनको भनाइ छ। ‘देशकै नमूनाको रुपमा डबल ल्याण्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै आमनागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेवल पुलले तराईतर्फ र पहाडतर्फ जान सहज हुनेछ,’ उनले भने। पुल नहुँदा विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक–पटकको प्रयासले मोटरेवल पुल निर्माण भइरहेको उनले बताए । ‘स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेवल पुल निर्माणले सफलता पाएको छ,’ अध्यक्ष सिग्देलले भने, ‘यहाँ बनेको मोटरेवल पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठूलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहज रुपमा सहयोग लिन सकिनेछ ।’ घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । मोटरेवल पुल २१० मिटर लम्बाइको बन्नेछ । पुल निर्माणका लागि विसं २०७३ असार ३ गते निर्माण सम्झौता भएको हो। शर्मा, युनाइटेड विल्डर्स, रमन जेभीले २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ । कोभिडका कारण केही समय निर्माणका कार्यले तीव्रता पाउन नसक्दा हालसम्म दुई पटक म्याद थप गरी निर्माणको काम अहिले करिब अन्तिम चरणमा पुगेको अध्यक्ष सिग्देलले जानकारी दिए । हालसम्म उक्त पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ। विसं २०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। हालसम्म पुलको ढलान, जडानलगायतका कार्य भइरहेको छ । वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताए । ‘पुल बनेपछि त सजिलै पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ,’ उनले भने । स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेवल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो। यहाँ मोटरेवल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । कालीगण्डकी करिडोरसँग जोडिएकाले सहजरुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ । पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब तीन लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यो दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेवल पुल बनेको हो। यहाँ पुल निर्माण भएपछि यात्राको दूरी कम हुनुका साथै ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा समेत सहज हुनेछ ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले पाए अवकाश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकाश पाएका छन् । ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट अवकाश पाएका हुन् । वि.सं २०७६ बैशाखमा प्राधिकरण (साविक बीमा समिति)को कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि पौडेल कार्यकारी निर्देशक बनेका थिए । तीन दशक बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणमा कार्यरत पौडेलले शनिवारदेखि अवकाश पाउन लागेका हुन् ।
नेपालका गाडी भारतभर चल्न पाउनुपर्छ- अध्यक्ष श्रेष्ठ
काठमाडौं । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले नेपालका गाडीहरू भारतभर चल्न पाउनु पर्ने माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुझाव तथा माग राख्दै अध्यक्ष श्रेष्ठले दुईपक्षीय सम्झौता गरेर नेपालका गाडीहरू भारतभर चल्न पाउनु पर्ने बताए । ‘नेपालबाट भारत निकासी हुने कृषियोग्य वस्तुहरू नाकामा अनलोड गरी भारतका गाडीमा लैजानुपर्ने बाध्यता छ । यसो गर्दा वस्तुहरू बिग्रने गरेका छन्,’ उनले भने, ‘दुईपक्षीय सम्झौता गरी नेपालकै गाडीमा भारतको जुन स्थानसम्म लैजानुपर्ने हो, त्यहाँसम्म लैजान पाउनुपर्छ ।’ साथै, आगामी बजेटमार्फत आलु र प्याजमा लगाइएको भ्याट हटाउनुपर्ने उनले माग गरे । धरानबाट तमोरसम्म सुरूङ मार्ग बनाउने सरकारले निर्णय भएको र डीपीआर पनि सम्पन्न भएकाले निर्माण कार्य अगाडि बढाउन बजेट छुट्याउनु पर्ने उनको माग छ ।
विश्वमा प्रयोग नभएको काठ मापन फर्मूला नेपालमा लागु गरियो
काठमाडौं । नेपाल वन पैदावार व्यवसायी महासंघका महासचिव माधवमणी हुमागाईंले विश्वमा लागु नभएको काठ मापन फर्मूला नेपालमा लागु भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुझाव दिँदै हुमागाईले कुनै पनि देशमा लागु नभएको फर्मूला नेपालमा लागु गरिएको बताए । सरकारले नीति तथा कार्यक्रममा देशलाई काठमा आत्मनिर्भर बनाउने वाक्यांश सन्दा अत्यन्त सुन्दर र आनन्द लाग्दो रहेको भएपनि सो अनुसार काम हुन नसकेको उनको भनाइ छ । तर, विडम्बना त्यही काठमा आधारित उद्योगहरूसँग सम्बन्धित वन नियमावली २०७९ मा काठ मापन गर्ने फर्मूलाको व्यवस्था कुनै पनि देशमा लागु नभएको उनले बताए ‘त्यो फर्मूला नेपालमा लागु गरियो । वन नियमावली जारी भइसकेपछि त्यसमा असहमति राखेका थियौं । प्रधानमन्त्रीलाई भेटेपछि संशोधन गर्छाैं भन्नु भयो । र, त्यो संशोधनको प्रक्रिया वन मन्त्रलायले निर्णय गरेर मन्त्रीपरिषदको विद्यान समितिमा अड्किएको ३ महिना भइसक्यो,’ उनले भने, ‘आत्मनिर्भर बन्ने नीति तथा कार्यक्रम र वन नियमावली संशोधन नभएको विषय कति फरक छ ? यति विरोधाभाषपूर्ण अवस्था राखेर हामी अगाडि जाँदाखेरी हामी आत्मनिर्भर हुन सक्दैनौं ।’ वन नियमावली संशोधनका लागि वन मन्त्रालयले गरेको निर्णय कार्यान्वयन हुँदैन भने मन्त्रीहरूको औचित्य नरहेको उनले बताए । साथै, चालु आर्थिक वर्षको बजेटमा कुल बजेटको १ प्रतिशत मात्रै बजेट वन मन्त्रालयलाई छुट्याएको छ । अब वनमा आत्मनिर्भर बन्न वन मन्त्रालयमा बजेट बढाउनु पर्ने उनले माग गरे । वन क्षेत्रलाई सही सदूपयोग नगर्ने हो भने समृद्धि हासिल गर्न नसकिने उनको भनाइ छ ।
टेलिकमको पीएसटीएन सेवा विस्थापीत, एफटीटीएच सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्ण रुपमा स्तरोन्नति गरेको छ । शुक्रबार टेलिकमको कार्यालय, पाटनमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी हुन् । सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गर्ने कार्य कम्पनीको प्रगतिको कदम भएको उल्लेख गर्दै यस कार्यका लागि अथक प्रयास र प्रयत्न गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरीन् । उनले नेपाल टेलिकम पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि भित्र्याउने लक्ष्य प्राप्तिमा लागेकोे समेत बताईन् । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख प्राविधिक अधिकृत झविन्द्र लाल उपाध्याय, बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र दूरसञ्चार कार्यालय, पाटनका कार्यालय प्रमुख निरज न्यौपाने लगायत विभिन्न वक्ताहरुले कम्पनीले समयक्रम अनुसार नयाँ प्रविधि अवलम्बन गर्ने क्रममा कम्पनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका पुरानो प्रविधि विस्थापित गरिरहेको बताए । उनीहरुले कम्पनीले आधुनिक प्रविधिलाई सदैव आत्मसात गर्ने कार्यलाई जारी राख्ने बताए । कपर प्रविधिको पुरानो जे–र्याक एक्सचेन्जको क्षमता करिव ३६ हजार रहेकोमा हाल पाटन कार्यालयमा एफटीटीएच नेटवर्कको लागि जडान रहेको ओएलटीको क्षमता ५३ हजार ४ सय र सक्रिय ग्राहक २० हजार भन्दा बढी रहेका छन् । त्यसैगरी दूरसञ्चार कार्यालय, सैंवुमा ३ हजार भन्दा बढी ग्राहक छन् । एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रुपमा भइरहको छ र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने कम्पनीले बताएकाे छ ।
समृद्धि फाइनान्सद्धारा खानेपानी र जुस वितरण
काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र बुटवल शाखाबाट जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा निःशुल्क खानेपानी वितरण गरेको थियो । कम्पनीले लगभग ३५० जना भन्दा बढी बौद्ध धर्मालम्वी आगन्तुकहरूलाई निशुल्क खानेपानी र बुटवल १मा अवस्थित पद्म चैत्य विहार समितिलाई प्रसाद प्रयोजनकोलागि फलफुल, सुजि, आटा र पानी वितरण गरेको हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको हो । साथै वनेपामा चण्डी पुर्णिमाको अवसरमा मनाइने चण्डेश्वरी जात्रामा उपस्थित आगन्तुकहरूलाई नि:शुल्क खानेपानी र जुस वितरण गरेको छ । फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
शिक्षक सरूवामा पहुँचवाला र पैसाको चलखेल रोक्न नयाँ मापदण्ड
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सरूवाबारे नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । नयाँ मापदण्डमा शिक्षक सरूवाको नयाँ मापदण्ड विद्यालय व्यवस्थापन समितिको भूमिका कटौती गरेको छ । शिक्षक सरूवामा पहुँचवाला र पैसाको चलखेल रोक्न यस्तो व्यवस्था गर्न लागेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्री सुमना श्रेष्ठले पैसाको चलखेल राक्न नयाँ मापदण्ड ल्याउन लागेकी हुन् । नयाँ मापदण्डमा राखिने प्रावधानको बारेमा छलफल अझै जारी छ । मापदण्डको नियमावलीको अनुसुची १७ मा शिक्षक सरुवा गर्दा विद्यालयबाट सहमती लिनु पर्ने व्यवस्था छ । नयाँ मापदण्डमा नियमावलीको अनुसुची नै हटाएर सहमती आवश्यक नपर्ने व्यवस्था राखेपछि विरोधका आवाज उठ्न थालेका छन् । यसैबिच सामदायिक विद्यालय व्यवस्थापन समिति महासंघले यो अधिकार कटौती गरेको भन्दै आपत्ती जनाएको छ । असन्तुष्ट महासंघले शुक्रबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समितिलाई सक्षम र जिम्मेवार बनाउनुको सट्टा भएको अधिकार पनि कटौति गरेको भन्दै आपत्ति जनाएको छ । महासंघले विद्यार्थीको विद्यालय र कक्षाकोठा भित्रको वातावरण सबैभन्दा नजिकबाट अभिभावकलाई थाह हुने बताउँदै अभिभावकको अधिकार कटौती नगरिदिन ध्यानाकर्षण गराएको छ ।