गेट कलेज : फलाउँदै, पकाउँदै, पढ्दै
काठमाडौं । के विद्यार्थी कलेजमा खाना कसरी पकाउने, बारीमा कसरी काम गर्ने भन्नेबारे सिक्न चाहन्छन् ? धेरैको उत्तर आउँछ-अहँ ! कलेजमा त पढ्न पो जाने हो नि । तर, कतिपय यस्ता कलेज छन् जहाँ किताबमा भएका कुरालाई सिकाउने मात्र होइन, सिकेका कुरालाई व्यवहारमा कसरी लागु गर्ने भन्नेबारे पनि सिकाइन्छ । कलेजमा विद्यार्थीहरू आफैं तरकारी, फलफूल रोप्छन् र आफैं पकाउन सिक्छन् । यस्तै एउटा कलेज हो- ग्लोबल एकेडमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) । यो कलेजभित्र विद्यार्थी खेल्ने ठाउँमात्र होइन, काम गर्ने ठाउँ पनि छ । जहाँ कफी गार्डेन र किचेन गार्डेन पनि छ । यो कलेज काठमाडौंस्थित बूढानीलकण्ठ मण्डिखाटारमा छ । त्यहाँ विद्यार्थीले कक्षामा पढ्नेमात्र होइन आफैं विद्यालयको गार्डेनमा गएर काम पनि गर्छन् । हस्पिटालिटी म्यानेजमेन्टको पढाइ भन्ने बित्तिकै खानाका विभिन्न परिकार पकाउन सिक्ने सिपलाई जोड दिएको पाइन्छ । तर, यो कलेजमा विद्यार्थीले बोटविरुवा लगाउँछन् र त्यसबाट उत्पादन भएको फलको खानेकुरा पकाउँछन् । कलेजको गेटबाट भित्र पस्ने बित्तिकै कलेजको प्रांगणमा रहेका कफीका बोटहरूले कलेजलाई थप आकर्षण बनाएको छ । लटरम्म फलेका कफी र अरू बोटविरुवाले कलेज हरियाली छ । बगैंचामा फलेको फूलहरूको सुन्दरता उस्तै । विद्यार्थी आफैंले कलेजको कफीसपमा गएर कफी कसरी बनाउने भन्नेबारे सिक्छन् । कफी दुई प्रकारका हुन्छन् । एउटा अरबीका र अर्को रगुस्था । रगुस्था तल्लो उचाइ (लोअर अल्टिच्युड) मा फल्छ भने अरबीका उच्च उचाइ (हायर अल्टिच्युड) मा फल्छ । गेट कलेजमा भएको कफी अरबीका हो जो अहिले फलेर लटरम्म भएको छ । कलेजमा फलेको कफीलाई विद्यार्थी आफैं कसरी प्रयोगमा ल्याउने, कफी कसरी बनाउने भन्नेबारे सिक्छन् । यसका लागि कलेजमै दुईवटा कफीसप रहेको विद्यार्थी राेहित गैरेले बताए । जहाँ विद्यार्थी आफैंले कफी बनाउने गर्छन् । एक सयदेखि एक सय ५० विद्यार्थी र शिक्षकले त्यही खाने गर्छन् । कलेजमा किचन गार्डेन पनि छ जहाँ लेमनग्रास, आरु, अम्बालगायत स-साना प्लान्टहरू रोपिएका छन् । कलेजको वातावरण सुन्दर होस् र यसले मनमोहक बनाओस् भनेर फूलहरू पनि रोपेको कलेजका विद्यार्थी समित मुडभरी बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान सिकाइरहेको यो कलेज सन २००७ मा स्थापना भएको हो । यो कलेजले मुख्यतया तीनवटा संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालान गरिरहेको छ । हस्पिटालिटी क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था स्वीजरल्याण्डको इएचएलबाट सम्बन्धन प्राप्त यो कलेज हस्पिटालिटी क्षेत्रमा अन्तर्राष्ट्रिय अवार्ड पाउने नेपालको पहिलो शैक्षिक संस्था हो । यसले स्वीजरल्याण्डको इएचएल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र अस्ट्रेलियाको स्वीस होटेल एसोसिएसनसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको छ । कलेजका प्रबन्ध निर्देशक खेम लकाइ नेपालमा जहिले पनि राम्रो विश्वविद्यालय भएन, कलेज भएन भन्ने गुनासो सुनिरहेकाले किन राम्रो बनाउन सकिँदैन भन्ने हेतुले कलेज सञ्चालनमा ल्याएको बताउँछन् । उनी भन्छन्,‘केही फरक गर्नुपर्छ र गर्न सक्छौँ भन्ने हाम्रो उद्देश्य हो, त्यही अनुसारको शिक्षा दिन हामी प्रयास पनि गरिरहेका छौँ । ’ गेट कलेजमा पढेका सबै विद्यार्थी विदेश जान पाउँदैनन् । र, जान पर्दैन पनि । निर्देशक लकाइ उनीहरूले गर्न खोजेको काम नेपालमै कसरी उपलब्ध गराउने भन्ने बारेमा कलेज लागेको बताउँछन् । याे स्वीसको गरेर सिक्ने (लर्निङ बाइ डुइङ) फेलोसिफी हो । ‘हामी जे पढाउँछौ त्यो सँगसँगै काम पनि गराउँछौँ,’ उनी भन्छन्, ‘काम र अध्ययन सँगसँगै गर्ने कुरामा यो कलेज अब्बल छ । ’ यस कलेजमा चार वर्षे कोर्ससँगै सीटीइभीटीसँग आबद्ध भएका छोटो कोर्सहरू पनि पढाइ हुन्छ । यस्तै अन्य ७ महिना, ९ महिनाका कोर्स पनि सञ्चालन हुन्छन् भने कलेजले एक्सचेन्ज कार्यक्रम पनि गरेको छ । जसमा विभिन्न देशबाट विद्यार्थी ल्याउने र त्यहाँ विद्यार्थीलाई विभिन्न देश पठाउने गरिन्छ । नेपालको शिक्षा प्रणालीमा एउट विद्यार्थीले ब्याचलर्स कोर्स पूरा गर्न चार वर्ष लाग्छ । त्यसपछि बल्ल काम खोज्ने क्रम सुरु हुन्छ । निर्देशक लकाइ अब यो प्रणाली बिस्तारै हट्दै जाने बताउँछन् । ‘संसारमा द्रुत विकास भइरहेको बेला चार वर्षमा धेरै कुरा परिवर्तन भइसकेको हुन्छ,’ उनी थप्छन्, ‘अहिलेको विद्यार्थीको आवश्यक्ता भनेको काम गर्दै पढ्दै गर्ने हो, जो हामीले गर्दै आइरहेका छौँ । ’ छोटा कोर्स यो कलेजमा चार वर्षे कोर्समात्र हाेइन केही समय पढेर अभ्यास गर्ने छोटा कोर्स पनि सञ्चालनमा छन् । जसले छोटो समयमा पनि सीप सिकेर प्रयोगमा ल्याउन सक्छन् । अहिले नेपाली युवा स्वदेशभन्दा बढी विदेशमा छन् । उनीहरूले सीप सिकेर जाँदा सहज हुने निर्देशक लकाइ बताउँछन् । कतिपय यस्ता विद्यार्थीहरू आउँछन् जो केही महिना पढेर, सिकेर विदेशमा काम गर्न चाहन्छन् उनीहरूका लागि यस्ता कोर्सहरू पनि पढाउने गरेको कलेजले जनाएको छ । केही महिनाभित्र जुन विद्यार्थीलाई सेफ बन्नु छ उनीहरू सुरुमै त्यही कुराहरू पढ्छन् । जुन ९ महिनामै पढेर सकिन्छ । निर्देशक लकाइ यस्ता कोर्स पढेर गएका विद्यार्थी अन्तर्राष्ट्रिय होटेलको टप सेफ बनेको बताउँछन् । निर्देशक लकाइका अनुसार यो कलेजले सबैभन्दा फोकस गरेको भनेको एक्सप्रेन्स लर्निङ हो । यसमा नयाँ आविष्कार गरेको कुरा नभइ यो सधै पढिरहेको कुरा हो । अब मान्छेले सूचनाका लागि बुद्धिमान मान्छे छनोट गर्नुपर्देन । आफूलाई चाहिने सूचना खोज्न जान्यो भने जस्तोसुकै कुरा पनि उपलब्ध गर्न सक्छ । उसले जसरी सूचना उपलब्ध गर्न सक्छ त्यसैगरी अनुभव गर्न सक्दैन । अनुभव आफैले नगरी थाह नहुने निर्देशक लकाइ बताउँछन् । सिक्ने अनुभव (एक्सप्रेन्स लर्निङ) मा विद्यार्थीले जे सिके त्यो कुरा गर्न पनि पाए भने मात्र त्यो प्रभावकारी शिक्षा हुन्छ । कफीको बारेमा जतिसुकै थेउरी पढे पनि मेसिन खोलेर कफी बनाउन जानेन भने सिकाइ अधुरो हुने उनकाे तर्क छ । यो कलेजले यस्तै अधुरा शिक्षालाई पूरा गर्न सिकाउँदै विद्यार्थीलाई अनुभव गराउने काम गरिरहेको छ । त्यहाँका विद्यार्थी किचनमा आफै पकाउने, सफा गर्ने गर्छन् । लकाइ यो सिकाइ र अनुभवको ठूलो पार्ट रहेको बताउँछन् । अहिलेका पुस्तामा वातावरण अथवा अर्थले दिने सबैभन्दा ठूलो कुराकाे चेतनामा ग्याप देखिन्छ । पढेलेखेका विद्यार्थीले जागिर मात्र गर्ने र श्रम गर्न नहुने भन्ने धेरै भएकाे उनी बताउँछन् । निर्देशक लकाइ नेपालमा धेरै ठूलो खेतीयाेग्य जमिन खाली भएकाे बताउँछन् । यहँ अथाह सम्भावना छ तर पढेको मान्छेले माटो नछुने भन्ने चलन नै दुर्भाग्य भएको बताउँछन् । यही दुर्भाग्यले मान्छे अपूर्ण भइरहेको उनको तर्क छ । नेपालमा प्रकृतिले दिएका धेरै कुराहरू छन् । यसलाई जोगाएर पर्यटन कसरी विकास गर्ने भन्नेबारेमा कलेज चिन्तित रहेको उनले बताए । शिक्षाको परिभाषा नै फरक २१औं शताब्दीमा शिक्षाको परिभाषा फरक भइसकेको छ । अहिले एआइ, टेक्नोलोजीको जमाना छ । अब मान्छेले ज्ञान ग्रहण गर्ने कुरा सजिलो भइसकेको उनी बताउँछन् । प्रबन्ध निर्देशक लकाइ मेसिनले गर्न नसक्ने कुरामा मात्र अबकाे शिक्षा रहेको बताउँछन् । अहिले व्यवहारिक शिक्षा बारेमा ज्ञान दिनु सक्ने हाे भने चार घण्टाको लेक्चर सुनेर बस्नु नपर्ने उनकाे भनाइ छ । विद्धवानहरूले लेखेर राखेको सामग्री आफैं अध्ययन गर्न सकिन्छ । तर,प्राविधिक तथा व्यवसायिक शिक्षाको बजार भने कहिले समापन हुँदैन । अब १० वर्ष फेजआउट नहुने स्कील के हो त ? भनेर पढ्नु उपयुक्त हुने लकाइ बताउँछन् । अध्ययन वास्तविकता हो । त्यसैले शिक्षा ग्रहण गर्दा सर्टकटभन्दा दीर्घकालीन सोच राखेर गर्दा नै हित हुने उनकाे भनाइ छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७ सय पुग्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच कृषि कर्जाका लागि सम्झौता
काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ । सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरस् अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैंकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता र व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौ । दैलेख केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले मंगलबार बिहान १०ः३४ मा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिइको जानकारी दिए । उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।’ सोमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ८ः३८ मा भूकम्प महसुस गरिएको थियो ।
नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँछु : विदुषी राणा
काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोहको आयोजना गरिएको थियो । यस कूटनीतिक कोशेढुङ्गाको महत्व झल्काउने महत्वपूर्ण कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विशेष अतिथिको रुपमा सो अवसरमा सम्मान गरेका थिए । उक्त कार्यक्रममा नव नियुक्त महावाणिज्यदुत राणाले दुइ देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपुर्ण भुमिका खेल्ने बताइन् । कार्यक्रममा आइसल्याण्ड गणतन्त्रका राजदूत महामहिम गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने कुरामा विशेष अतिथिका रूपमा सहभागी भए । सभाको माननीय उपसभामुख इन्दरा राणाको प्रमुख व्यक्तित्वको उपस्थिति थियो, उनले महावाणिज्यदुतमा विदुषि राणालाइ नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्नुको साथै महिलाले कुटनैतिक क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन । जसले नेपालको व्यवस्थापिका क्षेत्रमा कार्यक्रमको महत्त्वलाई उजागर गर्यो । कार्यक्रममा संसदका माननीय सदस्यहरु, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नरहरु र विभिन्न महामहिम राजदूतहरुको उपस्थिति रहेको थियो । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख लगायत उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित स्थानीय शासन र व्यवसायी समुदायको राम्रो प्रतिनिधित्व भएको थियो। यसले सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट व्यापक समर्थन र मान्यता पाएको दर्शाउँछ । कार्यक्रममा अवैतनिक वाणिज्य दूतहरू, विशिष्ट व्यक्तिहरू, सरकारी अधिकारीहरू र अन्य उल्लेखनीय व्यक्तित्वहरू सहित ३०० भन्दा बढी उपस्थित भएका थिए । जसले नयाँ कन्सुलेट र विदुषी राणाको नियुक्तिप्रति व्यापक चासो र समर्थन झल्काउँछ । कार्यक्रममा प्रमुख अतिथि माननिय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर भण्डारीले महावाणिज्यदुत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार प्रसार र अन्यक्षेत्रको विकासमा पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै राणाले नयाँ अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कृतज्ञता र प्रतिबद्धता व्यक्त गरिन् । उनले बढेको कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू प्रकाश पारिन् र दुई राष्ट्रहरू बीचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आफ्नो भूमिकाको अपेक्षा व्यक्त गरिन् । काठमाडौंमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल–आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सङ्केत गरेको छ, जसको उद्देश्य सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अतिथिहरूलाई अभारसहित भविष्यमा सहयोगी अवसरहरू बारे छलफलका लागि अनुमति लिदै रिसेप्शनको साथ समापन गरियो । यो अवसर नेपालको कूटनीतिक संलग्नता, सद्भाव बढाउने र आइसल्याण्डसँगको घनिष्ठ सम्बन्धमा महत्त्वपूर्ण कदम सावित हुने छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखा स्थानान्तरण
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखाहरु स्थानान्तरण गरिएको छ । इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं. ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा स्थानान्तरण गरिएको छ । ग्राहकहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीबन बीमाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने र आफ्ना ग्राहकमहानुभावहरुलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा शाखाहरु स्थानान्तरण गरि ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाएको छ ।
प्रभु बैंक र यूएसएआईडीबीच सम्झौता, रोजगारी वृद्धि र आयका अवसरलाई प्रोत्साहन गर्ने
काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसबीच दिगो विकासका लागि कृषि र पर्यटन उद्योगलाई सशक्त बनाउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अन्तर्गत स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि तथा पर्यटन व्यावसायीहरुको विकासमा सहयोग पुग्ने गरी ‘इम्पावरिङ एग्रो एन्ड टुरिजम इन्डस्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामको परियोजना सञ्चालन गरिने भएको छ । यो परियोजना वागमती प्रदेशमा सञ्चालन गरिने भएको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा यूएसएआईडीका प्रतिनिधि मार्क्स मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आयका अवसरहरुलाई प्रोत्साहन गर्न विशेषगरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स १७ औं वर्षमा प्रवेश
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स मंगलबार १६ औं वर्ष पुरा गरेर १७ औं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले १६ औं वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्य वितरण गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी बृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वरी बृद्धाआश्रम र विरगञ्ज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी बागमती प्रदेश अन्तर्गत अपांग पुनस्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहर स्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपांग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्य वितरण, कपिलबस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत विद्यालय, झलारी स्थित बिद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा खाद्यान्य तथा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।