कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयो : सांसद केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्र्र्न खालको नआएको बताए । पार्टीका कार्यकर्तालाई सुखी बनाउने कुरामा निर्मम भएर कठोरतापूर्वक वितरण मुखी बजेटलाई नियन्त्रण गरी उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आट अर्थमन्त्रीले लिनुपर्ने भएपनि त्यस्तो भएको जानकारी दिए । उनले भने, ‘मुलुक आर्थिक संकटको दिशामा उन्मुख छ । पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी निर्मम भएर कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरेर उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आट अर्थमन्त्रीले लिनुपर्ने थियो । वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी छ । त्यसले गर्दा सन्तुलित र राम्रो भन्न नसकिने अवस्था छ ।’ उनले साधरण खर्च कटौतीमा गम्भिर हुन आवश्यक रहेको बताए । साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था रहेको बताए । आन्तरिक राजश्व लक्ष्य पूरा हुने अवस्था नभएको भन्दै वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी रहेको जानकारी दिए ।
टेलिकम एमडीमा दरखास्त आह्वान, यस्ता छन् मापदण्ड
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पद (एमडी) का लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो । गत साताको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद र शैक्षिक योग्यता हेरफेर गर्नुका साथै बर्खास्तीको प्रावधान पनि थप गरेको छ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि टेलिकम निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक (डेपुटी एमडी) संगीता पहाडी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । यस पदका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । प्रबन्ध निर्देशकका लागि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा १२ वर्षको कार्यअनुभव र व्यवस्थापकीय पदमा काम गरेको हुनुपर्ने छ । इच्छुक नागरिकले १५ दिनभित्र आवेदन बुझाउनु पर्नेछ ।
नेपाली क्रिकेटप्रेमीका लागि सिद्धार्थ हस्पिटालिटीको विशेष अफर
काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बिचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि निशुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टरले बताए । यस विशेष अफरले नेपाली क्रिकेटप्रेमीहरुलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरुलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको छ । यो अफरमा भाग लिन चाहनेहरुले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोशल मिडिया पेज मार्फत पठाउन सक्नेछन् । सही अनुमान गर्ने दुई जना भाग्यशालीलाई सिद्धार्थ हस्पिटालिटीको आउटलेटमा एक रातको लागि निस्शुल्क रुम तथा ब्रेकफास्टको सुविधा प्रदान गरिनेछ । सिद्धार्थ हस्पिटालिटिले आफ्ना सबै शाखाहरुमा नेपाल सहभागी हुने सबै खेलहरुमा यस्तै प्रकारको अफर राखेको र अन्य देशहरुको खेलमा समेत विभिन्न उपहारहरुको घोषणा गरेको छ । यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरुलाई मनोरञ्जन प्रदान गर्नु रहेको छ । सिद्धार्थ हस्पिटालिटिले यसअघि पनि विभिन्न खेलकुद गतिविधिहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।
हेलम्बु गाउँपालिकाको चेतावनी : माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौं
काठमाडौं । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु-मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिएकी छन् । मगंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु-मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म पानी नपठाउने बताएकी हुन् । सरकारले बारम्बार हेलम्बुवासीका मागहरुको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने अडान लिइन् । स्थानीहरुले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाइन् । उनले अबको बजेटमा सरकारले हेलम्बु-मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताइन् । विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताइन् । एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको जानकारी दिइन् । ‘हामी त्यहाँ थोरै पानीको लेभल बढ्यो भने पनि हामी त्यहाँ घर, स्कुल गुमाउनुपर्ने अवस्था छ । सबैभन्दा पीडित अवस्थामा म आफैँ पनि छु । पानी आउने बित्तिकै बाढी आउँछ भन्ने छ । काठमाडौंवासीले रित्तो गाग्री सडकमा आएर देखाउने बित्तिकै पानी पाउनु हुन्छ भने हामीले पनि हाम्रो माग सम्बोधन गरेपछि मात्रै पानी पठाउँछौँ भन्नेकुरा यो फोरमबाट एडिबीका प्रतिनिधि र नेपाल सरकारले आवाज सुनोस्’, उनले भनिन् । यता राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा.गंगालाल तुलाधरले हेलम्बु-मेलम्चीवासीका जायज मागहरु पनि सरकारले पूर्ण रुपमा गर्न नसकेको बताए । त्यहाँका स्थानीयहरुलाई जोखिमपूर्ण स्थानहरुबाट सारेर व्यवस्थित बनाउनका लागि दिने भनिएको रकमहरु पनि दिन नसकेको जानकारी दिए् । कोप २८ मा समेत हेलम्बु मेलम्चीको कुरा ज्वलन्त ढंगले उठाएको बताए । हेलम्बु-मेलम्चीमा अहिले पनि ठूलो वर्षा भए फेरि पनि जोखिममा पर्नसक्ने, बाढीबाट बग्नुपर्ने परिस्थिति रहेको जानकारी दिए । ‘लस एण्ड ड्यामेजको लागि हामीले कोप २८ मा पनि सशक्त ढंगले कुराहरु उठाउँदा खेरी हेलम्बु मेलम्चीको कुरा ज्वलन्त ढंगले उठाएकै छौँ । त्यहाँ अहिले तत्कालै पनि केही समयपछि ठूलो वर्षा हुने हो र असुरक्षित बस्ती भनिएका, किटान गरिएका बस्तीहरु सुरक्षित स्थानमा नसारिएका मान्छेहरु फेरि पनि जोखिममा पर्नसक्ने, बाढीबाट बग्नुपर्ने परिस्थिति छ । त्यहाँ कति पैसा चाहिन्छ भन्ने प्रकारको पनि सामान्य अध्ययन नभएको होइन भएको छ, त्यसको विकल्पमा पनि धेरै कुराहरु भएका छन्’, उनले भने । सरकार मेलम्ची—हेलम्बुका जोखिम क्षेत्रहरुमा आवश्यक ध्यान दिनबाट चुकिरहेको जानकारी दिए ।
अष्ट्रेलियाले गैर-नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने
अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मगंलबार गैर-नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । ‘जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ ।’ रक्षामन्त्री रिचर्ड मार्लेसले बताए । देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ । दुई करोड ६० लाख जनसङ्ख्या रहेको देशले उक्त सामाग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तीका लागि सङ्घर्ष गरिरहेको छ। अस्ट्रेलियन रक्षाबलमा आजका दिनमा लगभग ९० हजार कर्मचारीहरूमा रहेको अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ । रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतिहरूको सामना गर्न अस्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेको बताए । रासस
गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन : सांसद पाण्डे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे । उनले बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे । उनले गणतन्त्रको विकल्प खोजेर अगाडी बढ्नुपर्ने बताए । यसो भएमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाई छ । ‘बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन । टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ अरु कुराहरु केही देखिदैनँ । त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतीको साथ आफूले गरेका गल्तीहरुलाई स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ । यसको लागि म सम्पूर्ण दलका नेताहरुलाई निवेदन गर्न चाहान्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नको लागि अनुरोध गर्दछु’, उनले भने । उनले बजेटमा उल्लेख गरिएका कुराहरु पुरा नहुने जानकारी दिए ।
काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा, प्रेम, सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताए । प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि जानुभएको जानकारी दिए । उनले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए । संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए । काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे । उमहानगरपालिकामा प्रमुखको निर्वाचन जित्दा एमाले आशावादी भएको बताए । काठमाडौं महानगर मुलुकको राजधानी भएकाले महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने जानकारी दिए । ऋषीमुनी र बुद्धले बनाएको सभ्यातामाथि मेयरले धावा बोल्न थालेको बताए । उनले २०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति वागमती, विष्णुमति, मनोहरा करिडोर बनाएको बताए । एमालले महानगरको नेतृत्व गर्दा काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको जानकारी दिए । रानीपोखरी, कमलपोखरी, दरबार स्कुल, काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण एमालेले गरेको भन्दै काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न एमाले तयार रहेको बताए । उनले मेयर बोलन काठमाडौलाई थप सुन्दर बनाउन आवश्यक बजेट कति चाहियो योजना ल्याउन आग्रह गरे । मेयर साहलाई उतेजना फैल्याएर, उश्रृंखल गतिविधिमार्फत लाखौं युवाहरुले भविष्य, सपनालाई धोका नदिन आग्रह गरे । मेयरले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएकोप्रति दुःख लागेको जानकारी दिए । उनले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाए । देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको जानकारी दिए । नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताए । कसैले पनि एमाले माथि कसी लगाउन नपर्ने बताए । महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गरे ।
डिएभी विद्यालयको इन्भेस्टिचर सेरेमोनी र स्पोर्ट्स डे सम्पन्न
काठमाडौं । डिएभी विद्यालयको २ दिने इन्भेस्टिचर सेरेमोनी र स्पोर्ट्स डे सम्पन्न भएको छ । ललितपुर जावलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती विद्यालयले २ दिने इन्भेष्टिचर सेरेमोनी र स्पोर्ट्स डे सशस्त्र प्रहरी मुख्यालयको एपीएफ स्टेडियम हलचोकमा जेठ १९ र २० गते रूपमा सम्पन्न गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकका प्रहरी नायब महानिरीक्षक कुल बहादुर नेम्वाङको मुख्य आतित्थ्यमा सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे र राष्ट्रिय महिला फुटबल टिमकी पूर्व खेलाडी साबित्रा भण्डारी, डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया, प्राचार्य डा. भुवनेश्वरी राव विशेष अतिथिको रुपमा उपस्थित रहेको विद्यालयले जनाएको छ । इन्भेस्टिचर सेरेमोनी कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०२४/२५ का निर्वाचित प्रिफेक्ट काउन्सिलका विद्यार्थीहरुलाई विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । लगत्तै प्रिफेक्ट काउन्सिलका सदस्यहरुलाई पोर्टफोलियो अनुसारका ब्याच प्रदान गरेका थिए । विद्यालयले यसै वर्षदेखि स्पोर्ट्स डे लाई समेत इन्भेस्टिचर सेरेमोनीमा समायोजन गर्दै विभिन्न प्रकारका दौड प्रतियोगिताहरू समेत सञ्चालन गरेको थियो । स्पोर्ट्स डे को अवसर पारी ४०० मिटर रिले रेस, पिग्गि ब्याक र त्रिपल लेग रेस मा सहभागी भएका सिनीयर र मिडल स्कूलका दुई सय विजेता विद्यार्थीहरुलाई गोल्ड, सिल्भर र ब्रोन्ज मेडल द्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यसैगरि सोहि संख्यामा विभिन्न प्रकारका दौड प्रतियोगीतामा सहभागी भएका जुनियर र किनडरगार्टेन तहका विजेता विद्यार्थीहरुलाई सम्मान गरियो । विद्यार्थीसँगै विभिन्न प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने २६ जना अभिभावकहरूलाई समेत सम्मान गरिएको थियो । विशेष अतिथि सावित्रा भण्डारीले मन्तव्य सहित सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई थप हौसला प्रदान गरेका थिए ।