विकासन्युज

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले पाउँछन् किन्न ?

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । यो सेयर खरिदका लागि सर्वसाधारण वा संस्थाहरूले समेत आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित सात दिनभित्र काठमाडौं बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानुन विभागमा लिखिन निवेदन दिन सक्नेछन् । बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थाले समेत खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । डिम्याट खातावालाहरूले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । खातावालाहरूले मुक्तिनाथ क्यापिटल ,मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन् । मेरो सेयर प्रयोगकर्ताले मेरो सेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन । वार्षिक शुल्क भुक्तानी नगरेका खातावालाहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

बीमितलाई दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्पर्कमा नआएपछि बीमितलाई आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको हो । कम्पनीका अनुसार तोकिएको समयभित्र सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाइल बन्द गरिने छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई खरिद आवेदन दिन सक्नेछन् । तोकिएको समयमा आवेदन नपरेमा यो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख एक हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले कुल ४ लाख १२ हजार घरघुरीका १८ लाख १ हजारभन्दा बढी मानिस कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । गतवर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । त्यसको अघिल्लो वर्ष २० लाख बढी प्रभावित हुने अनुमान गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले यसपाली सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन सार्वजनिक गरिसकेको छ । सोही अनुसार यसपाली बढी जोखिम हुने भएकाले सबै निकायलाई आवश्यक तयारीमा लाग्न निर्देशन गरिसकिएको पनि उनले बताए । गृहमन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार भएकाले सोही अनुसार अघि बढेको डा भट्टराईले जानकारी दिए । मौसम विभागका अनुसार अब मनसुन भित्रिने समय नजिकिएको छ । सोही अनुसार गृहमन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

पेवेल र सजिलो पेको बैंक खाता रोक्का, अधिकांश पीएसपी आर्थिक संकटमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो । ‘पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ,’ राष्ट्र बैंकद्वारा सोमबार जारी सूचनामा उल्लेख छ । पेवेल २०७६ असोजमा सञ्चालनमा आएको भुक्तानी सेवा प्रदायक कम्पनी हो । यसको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले आफ्ना ग्राहक ४ लाखभन्दा बढी रहेको र एजेन्टहरु ५ हजार भन्दा बढी रहेको दावी गर्दै आएको थियो । सजिलो पे पेमेन्ट सर्भिसेजले २०७७ चैतमा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो । यसको चुक्ता पुँजी १ करोड रुपैयाँ मात्र छ । अधिकांश भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीहरुले आर्थिक संकट सामना गरिहेको बेलामा दुई कम्पनीहरुमाथि राष्ट्र बैंकले गरेको कारवाहीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर २६ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरु सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश कम्पनी नोक्सानीमा रहेका छन् । आइएमई पे, इसेवा, खल्ती सहित ५ वटा कम्पनीको कारोबार मात्र टिकाउ अवस्थामा रहेको र बाँकी कम्पनीहरु घाटामा चलिरहेको राष्ट्र बैंक स्रोतले बतायो । भुक्तानी सेवा प्रदायक कम्पनीहरुमा कम्तिमा १ करोड देखि ३० करोडसम्म लगानी रहेको छ । सबैभन्दा बढी नमस्ते पे (नेपाल टेलिकम प्रवद्र्धक रहेको कम्पनी)मा ४० करोड रुपैयाँ लगानी भएको छ । आईएमई डिजिटल सोलुसनमा ३० करोड लगानी रहेको छ । इसेवामा १० करोड चुक्ता पुँजी छ ।

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुभारम्भ, १ अर्ब ७ करोड पुग्यो चुक्ता पुँजी

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरु भएको छ । एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितीमा नेपाल क्लियरिङ्ग हाउसले नेप्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुभारम्भ गरेको हो । एनसीएचएलले नेप्सलाई २८ रुपैयाँमा खरिद गरेको हो । सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) अनुसार नेप्सको १ सय कित्ता बराबर एनसीएचएलको २८ कित्ता हुनेछ । एकीकृत कारोबारपश्चात् कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) कायम रहनेछ । साथै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साविक एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधान बनेका छन् । नेप्सलाई प्राप्तिपश्चात् एनसीएचएलको हालको सञ्चालक समिति र व्यवस्थापन टिम नै यथावत रहनेछ । दुई कम्पनीबीच गत चैत २२ गते मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो भने वैशाख १३ गते सम्पन्न विशेष साधारण सभाले एकीकृत कारोबारको मिति तय गरेको थियो । नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ४५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीमा कर्मचारीको संख्या १३२ जना, प्रडक्ट ९ वटा, सदस्य बैंक तथा वित्तीय संस्था ५३ वटा, अन्य सदस्य १ सय बढी पुगेका छन् । साथै, कम्पनीको ट्रान्जिक्सन भ्यालू ११.३० ट्रिलियन र ट्रान्जिक्सन भोलुम १३१ मिलियन पुगेको छ ।