विकासन्युज

प्रिमियम मूल्यको आईपीओ रोकिँदै, ९० रुपैयाँ नेटवर्थ अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर निष्काशन तथा बिक्री खुला गर्न कम्पनीहरूलाई अनुमति दिने भएको छ । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि रोकिएको आईपीओ, हकप्रद सेयर, थप सार्वजनिक निष्कासन (एफपीओ) लगायत सेयर निष्काशनका लागि पाइपलाईनमा रहेका कम्पनीहरूलाई अनुमति दिन लागेको सेबोन स्रोतले बताएको छ । हालै सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८ संशोधन गर्दै अध्यक्षको पद रिक्त र नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम गत जेठ पहिलो साता मन्त्रालयले सहसचिव नरेन्द्र कुमार रानालाई सेबोनको अध्यक्ष पदको सपथ खुवाएको थियो । रानाको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकमा सेयर निष्काशन र विविध विषयमा छलफल भएको स्रोतको भनाइ छ । साथै, आगामी बोर्ड बैठकमा सेयर निष्काशन प्रक्रियालाई प्रस्तावका रूपमा पेस गरी पाइपलाइनमा रहेका कम्पनीहरूलाई अनुमति दिने निर्णय गर्ने तयारी भइरहेको स्रोतले बतायो । प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न दिँदा सार्वजनिक लेखासमितिमा मुद्दा परेको थियो । लेखा समितिले नेटवर्थ ९० रुपैयाँ वा सोभन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ निष्काशनका लागि अनुमति दिन सेबाेनलाई निर्देशन दिएको छ । त्यसैले अब ९० रुपैयाँ बढी नेटवर्थ भएका कम्पनीले मात्रै सेयर अनुमति पाउने छन् । साथै, प्रिमियम मूल्यमा सेयर निष्काशन प्रक्रिया रोकेर बुक बिल्डिङ विधिबाट अनुमति दिन समितिको निर्देशन छ । सोही बमोजिम सेबोनले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न नदिई बुक बिल्डिङका लागि सहजीकरण गर्नेछ । ‘सार्वजनिक लेखा समितिले दर्ता तथा निष्काशन नियमावली संशोधन लगानीकर्ताको हितमा नभएकले पुर्नविचार गर्न निर्देशन दिएको छ । बोर्डमा पूर्णकालीन अध्यक्ष नहुँदा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा दुविधा थियो,’ स्रोतले भन्यो, ‘सञ्चालक समितिले ठोस निर्णय नगर्दा सेयर निष्काशन प्रक्रिया स्थगन छ । अब अध्यक्षज्यूले यी सबै विषयमा छलफल र अध्ययन गरेर निर्णय गर्नुहुन्छ । हकप्रद, एफपीओ वा नेटवर्थमा कैफियत नभएका निष्काशन प्रक्रिया अगाडि बढाउन बोर्डले अध्यक्षलाई अख्तियारी दिइसकेको छ । अब छिट्टै सूचारू हुनेछ ।’ तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत वर्ष पुस २० गते सकिएपछि हालसम्म नयाँ अध्यक्ष नियुक्त भएर आएका छैनन् । बोर्डमा अध्यक्ष नहुँदा आन्तरिक प्रशासनीय र नियमित कामबाहेक नीतिगत निर्णय, विकासात्मक कार्य र सेयर निष्काशनका लागि अनुमति दिने काम ठप्प छन् । अहिले सबैभन्दा बढी मर्कामा बीमा कम्पनी, जलविद्युत कम्पनीहरू छन् । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न दबाब दिएपछि अधिकांश बीमा कम्पनीहरूले हकप्रद सेयरको माध्यम रोजेका छन् । तर, हकप्रद सेयर निष्काशनका लागि सेबोनमा आवेदन दिएका कम्पनीहरूले अध्यक्ष नहुँदा अनुमति पाएका छैनन् ।

पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउँछौ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरूको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिनभित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी संयोजक रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिम रूप दिएर मन्त्रीपरिषद्को बैठकमार्फत निणर्य गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायधिकरण गठन, स्वायत नियमनकारी प्राधिकरणको गठन, कर्जा सूचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ विवरण संकलन गर्नेलगायतका ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । छलफलमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीलामन्त्री पदम गिरी, मुख्यसचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवलगायतका सरोकारवालाहरूको उपस्थति रहेको थियो ।

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई बिदाइ

काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइजको नयाँ संस्करणमा कलेजका तीन जना विद्यार्थीहरु छनौट भएका थिए । एक लाख अमेरिकी डलर पुरस्कार राशी भएको हल्ट प्राइजको अन्तराष्ट्रिय प्रतिष्पर्धामा भाग लिन कलेजका लजिता भट्ट, लिजा तामाङ र साइम मानन्धर जुन ७ र ८ मा भारतको मुम्बईमा हुने प्रतिष्पर्धामा भाग लिने मौका पाएका हुन् । उनीहरुलाई बुधबार कलेजले खादा तथा अविर लगाएर बिदाइ समेत गरेको छ । प्रतिष्पर्धामा भाग लिन जाने विद्यार्थीहरुलाई विदाई गर्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालको तथा कलेजको नाम उच्च राख्ने गरी प्रतिष्पर्धामा भाग लिन आग्रह गरे । ‘तपाईहरु कलेजको प्रतिनिधी भएर मात्र हैन देशकै प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, आत्मविस्वासका साथ भाग लिनुहोला ।’ कार्यवाहक प्रिन्सिपल भण्डारीले भने । प्रतिष्पर्धामा भाग लिइरहेका विद्यार्थीहरुले कलेज तथा देशको नाम उच्च राख्ने गरी आत्मविश्वासका साथ प्रतिष्पर्धा गर्ने बताए । ‘हाम्रो कन्सेप्ट पृथक र जीवनोपयोगी छ । विश्वब्यापी प्रतिष्पर्धामा हामीले शतप्रतिशत राम्रो गर्देछौं ।’ विद्यार्थी लजिता भट्टले भने । उनका अनुसार यो पटकको ग्लोवल प्रतिष्पर्धामा उनीहरुले तयार पार्नु भएको अवधारणाले सबैको ध्यान खिच्नेछ । अवधारणा भने प्रतिष्पर्धामा भाग लिएपश्चात मात्र सार्वजनिक गर्ने उनीहरुको सोच छ । यो वर्ष हल्ट प्राइजले सामाजिक उद्यम र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु मध्ये कम्तिमा एउटा विषयलाई संवोधन गर्दै प्रतिष्पर्धा आयोजना गरिरहेको छ । प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजसँगै कसमस इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय लगायतले समेत सहभागिता जनाएका छन् । प्रतिष्पर्धामा ३ देखि ५ जना विद्यार्थीको समुह बनाएर भाग लिने प्रावधान छ । नेपाल इन्निनियरिङ कलेजले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय एक्सपोज प्रदान गर्न हल्ट प्राइज लगायत विभिन्न अन्तराष्ट्रिय प्रतिष्पर्धा र कार्यक्रमहरुमा कलेजकै खर्चमा पठाउने गरेको कलेजले जनाएको छ ।

प्रभु बैंकका ग्राहकलाई कमलादिको हेयर एण्ड शान्तिमा छुट हुने

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको कमलादिस्थित हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा छुट हुने भएको छ । एक समारोहकाबीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा कम्पनीका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति थियो । सम्झौता अनुसार हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धि सेवा लिँदा थ्रेडिङ्ग बाहेकमा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले १० प्रतिशत र कर्मचारीहरुले ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले कर्मचारी परिचयपत्र समेत पेस गर्नुपर्ने छ ।

अर्थ मन्त्रालयसँगै सिंहदरवार घेर्ने चेतावनीपछि प्रधानमन्त्री र अर्थमन्त्री डराए, समानीकरण अनुदान दिने घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान चार किस्तामा भुक्तानी गर्ने घोषणा गरेका छन् । उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै २५ प्रतिशतका दरले चार किस्तामा सो अनुदान वितरण गरिने व्यवस्था गरिएको बताएका हुन् । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशतका दरले भदौ २, कात्तिक २, माघ २ र वैशाख २ निर्धारण गरी चार किस्तामा हस्तान्तरण व्यवस्था गरेको धारणा राखेको बताएका हुन् । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान कटौती गर्ने गरेको थियो । सोही निर्णयअनुसार स्थानीय तहको अन्तिम किस्ताको समानिकरण अनुदान कटौती भएको थियो । त्यो कटौती भएपछि स्थानीय तहका जनप्रतिनिधिले विरोध गरेका थिए भने केही दिन अगाडि अर्थमन्त्रालयमै पुगेर मन्त्रालय घेरेका थिए । त्यसपछि अर्थमन्त्री पुन र प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर अनुदान पठाउने प्रतिवद्धता गरेका छन् । उनीहरूले आगामी आर्थिक वर्षको अनुदान समयमै सुरुको विनियोजन भएअनुसारकै पठाउने प्रतिवद्धता गरेका हुन् । सोही प्रतिवद्धता अर्थमन्त्री पुनले संसदबाट पनि गरेका हुन् । स्थानीय तहका जनप्रतिनिधले अर्थमन्त्रालयपछि सिंहदरवार नै घेर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री र अर्थमन्त्री हच्किँदै अनुदान पठाउन राजी भएका हुन् । सरकारले बजेटमार्फत् वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड रुपैयाँ र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी १ खर्ब ४६ अर्ब २ करोड हस्तान्तरण गर्ने बजेटमा उल्लेख छ ।

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि : आइइए

पेरिस । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आधा ट्रिलियन डलर हुने विश्वको शीर्ष ऊर्जा अनुसन्धान निकायले बिहीबार बताएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले यस वर्ष स्वच्छ ऊर्जामा विश्वव्यापी लगानी दुई ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ जुन जीवाश्म इन्धनमा खर्चिने रकमको दोब्बर हो । नवीकरणीय ऊर्जा र ग्रिडमा भएको संयुक्त लगानीले सन् २०२३ मा पहिलोपटक जीवाश्म इन्धनमा हुने खर्चलाई कम गरेको थियो । ‘स्वच्छ ऊर्जा लगानीले चुनौतिपूर्ण आर्थिक अवस्थामा पनि नयाँ कीर्तिमान स्थापित गरिरहेको छ’, आइइएका कार्यकारी निर्देशक फातेह बिरोलले आफ्नो वार्षिक विश्व ऊर्जा लगानी प्रतिवेदनको साथमा एक विज्ञप्तिमा भने । कम्पनी र सरकारहरूले विश्वव्यापीरूपमा घातक जलवायु परिवर्तनलाई उत्प्रेरित गर्ने जीवाश्म ईन्धनबाट उत्सर्जन हुने कार्बन घटाउन स्वच्छ ऊर्जा उत्पादनमा आफ्नो लगानी बढाइरहेका छन् । आपूर्तिमा सहजता र कम लागतले तथाकथित स्वच्छ ऊर्जाजस्तै सोलर प्यानल, विन्ड टर्बाइन, विद्युतीय कार र हिट पम्प, साथै आणविक उर्जा उत्पादनमा लगानी बढी रहेको छ । जीवाश्म–ईन्धन उर्जाको तुलनामा बिजुली उत्पादनका लागि नवीकरणीय र आणविकमा संयुक्त लगानी दश गुणाले बढ्ने भएको छ जसमा चीनले सबैभन्दा ठूलो हिस्सा लगानी गरेको छ । हाल सौर्य पिभी (फोटोभोल्टिक प्यानल) मा अन्य सबै बिजुली उत्पादनको संयुक्त प्रविधिहभन्दा बढी पैसा खर्च भइरहेको आइइएको प्रतिवेदनमा जनाइएको छ । विगत दुई वर्षमा ३० प्रतिशतले सोलर प्यानलको रकम घटेको छ भने सन् २०२४ मा मोड्युलको घट्दो मूल्यले नयाँ लगानीलाई प्रोत्साहित गर्दा सोलर पिभीमा लगानी ५०० अर्ब डलर बढ्ने देखिन्छ । सन् २०२३ को वृद्धिको तुलनामा सन् २०२४ मा विश्वव्यापी अपस्ट्रीम तेल र ग्याँसमा सात प्रतिशतले लगानी बढेर ५७० अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । आइइएले ऊर्जा लगानी प्रवाहमा असञ्तुलन र कमीहरूका कारण स्वच्छ ऊर्जा परियोजनाहरू विश्वका धेरै भागहरूमा निषेधात्मक रूपमा महँगो भएको चेतावनी दियो । उदीयमान र विकासोन्मुख अर्थतन्त्र भएका देशहरुले लगानी गरेको तीन सय अर्ब डलर यी देशहरूको बढ्दो ऊर्जाको माग पूरा गर्न आवश्यक भन्दा धेरै कम रहेको आइइएले जनाएको छ । आईईएले हानिकारक कार्बन उत्सर्जन घटाउनका लागि मध्यम अवधिको विश्वव्यापी लक्ष्यहरू पूरा गर्न सन् २०३० सम्म विश्वव्यापी रूपमा नवीकरणीय उर्जामा लगानी दोब्बर बनाउन आवश्यक पर्ने बताएको छ । रासस

नेपाली टोलीको प्रत्येक रन र विकेटमा ओमोडाले रुख रोप्ने

काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली टोलीले जोड्ने हरेक रन र ढाल्ने विकेटमा रुख रोप्ने भएको छ । दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा तय गरेको नेपाली टोलीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले ‘नेपाल स्कोर, ओमोडा ग्रोज’ नाराका साथ यो वातावरणीय अभियान सार्वजनिक गरेको हो । यो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एउटा रूख रोप्ने सङ्कल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँचवटा रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० वटा रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने कम्पनीले बताएको छ ।

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

नेपालगञ्ज । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे । उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए । बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ)का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ । साइनिङ अस्पताल (आइएनएफ)का कुष्ठरोग प्रमुख मङ्गल थारूले केही शङ्कास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताए । उनले भने, ‘बिरामी आइरहेका छन् र उपचारपछि घर फर्केका छन् ।’ जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ । प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ  । नेपालगञ्जमा  दिनअघि यहाँको तापक्रम ४४ दशमल दुई डिग्री सेल्सियससम्म पुगेको थियो । रासस